दुई लघुकथा

बिचरा बिरालो ! मुसा कसरी खाओस् त ? न ऊसँग मुसा समात्ने नङ्ग्रा छ न ऊसँग मुसा चपाउने दाँत नै छ। कथम् कदाचित् मुसाको शिकार गर्ने प्रयत्न गर्यो‍ भने पनि उल्टै मुसाले नै लछारपछार पारेर उसलाई सिध्याउन बेर छैन। यो कुरा धूर्त बिरालोले राम्रोसँग बुझेको छ।

दुई लघुकथा

बिरालोको त्याग

बिरालोले जीवनभरि मुसा मारेर पेट भर्यो‍ र बुढो भएपछि अन्तिममा घोषणा गर्यो‍– “म अबदेखि मुसा खान्नँ।”

उसका छाउराहरूले उसलाई महान् र त्यागी भन्दै राजनेताको पगरी गुथाए र उसको हदैसम्मको तारिफ गरे।

बिचरा बिरालो ! मुसा कसरी खाओस् त ? न ऊसँग मुसा समात्ने नङ्ग्रा छ न ऊसँग मुसा चपाउने दाँत नै छ। कथम् कदाचित् मुसाको शिकार गर्ने प्रयत्न गर्यो‍ भने पनि उल्टै मुसाले नै लछारपछार पारेर उसलाई सिध्याउन बेर छैन। यो कुरा धूर्त बिरालोले राम्रोसँग बुझेको छ।

अझ शहरमा यतिसम्म हल्लाखल्ला चल्दै छ कि उसका धुपौरेहरूले त उसका बारेमा ‘बिरालो महात्म्य’ नामको एउटा ग्रन्थ तयार पार्दै छन् रे र घाघडान्–घाघडान् वक्ताहरू बोलाएर यसै हप्ता भव्य कार्यक्रमको आयोजना गरेर विमोचन पनि गर्दै छन् रे।

मलाई निम्ता छैन

मैले छ वर्षका लागि आयोगमा नियुक्ति पाएको थिएँ। मेरो पद माननीय सरहको थियो। राज्यले मलाई तलब, भत्ता, क्वार्टर, पिए, गार्ड र गाडी सबै दिएको थियो। ड्राइभर भने मैले राख्न पाउँथेँ। तर उसको तलब पनि राज्यले नै दिन्थ्यो। शायद ड्राइभर आफ्नो विश्वासिलो मान्छे हुनुपर्छ भनेर त्यसो गरिएको होला। मलाई यो मनासिब लाग्यो।

मैले एउटा मान्छे खोजेँ ड्राइभरको लागि। गाउँको केटो। बेरोजगार थियो। खासै पढेको थिएन। गाडी चलाउन जानेको थियो। मैले उसलाई काठमाडौँमा बोलाएँ। ऊ खुसी भएर आयो। आयोगले उसलाई करारमा नियुक्ति दियो अनि ऊ मेरो गाडी चलाउन थाल्यो।

मलाई काम विशेषले कहिले कता कहिले कता गइरहनुपर्थ्यो। कहिले गाउँ कहिले शहर। कहिले राष्ट्रपतिकहाँ त कहिले प्रधानमन्त्रीकहाँ भेटघाट भइरहन्थ्यो। कहिले मन्त्रीहरूकहाँ त कहिले माननीयहरूकहाँ, कहिले मेयर त कहिले जिल्ला सभापतिहरूसँग कार्यक्रम भइरहन्थ्यो। त्यस्तै गरी कहिले विभिन्न समुदायका जनतासँग त कहिले विभिन्न तह र वर्गसँग मेरो भेटघाट भइरहन्थ्यो। महिनामा आधि बाहिरै डुलिन्थ्यो र बाहिरै खाइन्थ्यो। मेरो कार्यक्षेत्र भने देशभरिकै थियो।

मेरो ड्राइभर रिसाहा थियो। जोससँग पनि रिसाउँथ्यो। आफूलाई निकै जान्नेसुन्ने छु भन्थ्यो। तर गाडी राम्रो चलाउँथ्यो। त्यसै भएर मैले उसलाई राखेको थिएँ। ऊ दिनहुँ रक्सी पिउँथ्यो। साँझमा र बिदाका दिनहरूमा त ऊ ढलपल नै हुन्थ्यो।

एक पटक मेरो कार्यक्रम पाँच तारे होटलमा भएको थियो। मैले रातिको खाना त्यहीँ खाएँ। गाडी चढेर फर्किने बेलामा बाटोमा मैले उसलाई सोधेँ– “तिमीले खाना खायौ ?”

उसले भन्यो– “खाइनँ सर !”

मैले फेरि उसलाई किन खाएनौ ? भनेर सोधेँ। उसलाई तारे होटेलहरूको खाना मीठो लाग्दैन रे। त्यसै भएर नखाएको भन्यो। ओर्लिने बेलामा मैले उसलाई पाँच सयको नोट हातमा राखेर खाना खाएर जाऊ है ? भनेँ र आफ्नो क्वाटरभित्र पसेँ। एवम् रितले मैले उसलाई तारे होटेलहरूमा कार्यक्रम भइरहँदा खाना खान पैसा दिइरहेँ।

एक दिन मलाई राष्ट्रपतिले भेट्न बोलाउनु भयो। मैले त्यो कुरा उसलाई भनेँ र त्यहाँ लैजाऊ भनेँ। उसले मलाई “सरलाई मात्र निम्ता आएको रहेछ। मलाई निम्ता छैन। म कसरी जाउँ ?” भनेर आलटाल ग¥यो। मैले अर्कै ड्राइभरलाई लगेँ। अर्को पटक मलाई प्रधानमन्त्रीबाट निम्ता आउँदा पनि उसले त्यसै भन्यो र मैले फेरि अर्कै ड्राइभर लगेँ।

त्यसपछि मैले उसलाई जागिरबाट निकालेँ। अचेल ऊ गाउँ फर्केर भट्टीभट्टी चहार्दै हिँड्छ रे। सुनेको छु– गाउँका केटाहरूले बेलाबेलामा उसलाई भकुर्छन् रे अनि ऊ पनि त्यसैमा रमाएको छ रे।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved