प्रिय कथा

१९ नम्बर

टाइ लगाएर भलाद्मी झैँ देखिएका लेक्चररहरू हतारिएर क्याम्पसतिर लम्केका छन्। कसैका हातमा सानो नोटकापी छ, कसैका हातमा फाइल र कसैका हातमा किताबका ठेली। कसैले हाते झोला बोकेका छन्। कसैले एकापट्टी काँधमा झोला भिरेका छन्।

१९ नम्बर

(रचनागर्भ– ‘१९ नम्बर’ कथा दुई वटा घटनाले सिर्जना गरायो।

कुन वर्ष हो भुलेँ, एसएलसीमा फेल भएपछि काभ्रेकी शर्मिला गिरीले आत्महत्या गरिन्। त्यो साल एसएलसी नतिजाको २४ घन्टामा ६ जनाले आत्महत्या गरे। जजसले आत्महत्या गरे ती अंग्रेजीमा फेल भएका थिए। त्यतिबेला मैले समाचार टिप्पणी लेखेथेँ ‘कान्तिपुर दैनिक’मा हिँड्नु पर्ने बाटो लामो छ, ‘जीवनमा उत्तीर्ण हुनुपर्ने एसएलसीभन्दा ठूल्ठूला परीक्षाहरू धेरै छन्, त्यसैले आत्महत्या नरोज।’ त्यतिबेला मैले शर्मिलामाथि एउटा कविता पनि लेखेको थिएँ, ‘शर्मिलाको मृत्यु’ शीर्षकमा जुन मेरो कविता संग्रह सबुतमा छ।

तर मलाई यो घटनाले बिथोलिरहेका बेला ‘समाचारपत्र दैनिक’मा काम गर्दाको अर्को घटना याद आयो। घटना थियो, अपराध अनुसन्धान शाखा हनुमान ढोकामा मेरा एकमित्र प्रहरी निरीक्षक थिए। एकदिन कफिगफमा थरीथरीका सुसाइड नोटबारे उनले सुनाए। मलाई त्यसको अध्ययन गर्न मन लाग्यो र झन्डै हप्ता दिन मैले हनुमानढोका गएर दैनिक अनेक सुसाइड नोट पढेँ। त्यसमध्ये एउटा शिक्षाशास्त्रमा स्नातक गर्दै गरेको सुदूर पश्चिमको युवकको तोकिएको समयमा स्नातक पूरा गर्न नसकेपछि आत्महत्या गरेको र उसले लेखेको सुसाइड नोट फेला पर्यो‍। उसले लेखेको थियो, ‘अब मैले बीएड दिन पाउँदिनँ। म फेरि फस्ट इयरबाट पढ्नु पर्छ। यत्रो वर्ष अंग्रेजी पास गर्न सकिनँ। आफैँलाई लाज लाग्यो। अंग्रेजीमा मेरो नम्बर यसपालि पनि १९ मात्रै आयो।’

उसको नोट पढेपछि मैले सुसाइड नोटहरू पढ्नै छाडिदिएँ। यसले मलाई निकै पछिसम्म बिथोलिरह्यो। जब काभ्रेमा शर्मिलाले आत्महत्या गरिन् म एकदम अधैर्यजस्तै भएँ। त्यसपछि मलाई केही लेख्ने हुट्हुटीले सताइरह्यो। र, मैले यो कथा लेखेँ।

हामी अंग्रेजी मोहमा छौँ। सामुदायिक विद्यालयको अंग्रेजी अहिले पनि दया लाग्दो छ। र, सामुदायिकका धेरै विद्यार्थी अंग्रेजीमा फेल हुन्छन्। हाम्रो सिकाइ विद्यार्थीको क्षमता र रुचि अनुसारभन्दा शिक्षकको निर्देश र इच्छा अनुसार चल्छ। त्यसको परिणाम के हुन्छ ? अंग्रेजी त भाषा हो, अंग्रेजी नजान्दैमा आकाश खस्दैन। अंग्रेजी संसारको सञ्चार भाषा त हो त्यसो भन्दैमा कसैले अंग्रेजी जान्दैन भने हियाउनु पर्दैन। जान्नु राम्रो हो, तर नजान्न छुट सबैलाई छ।

म आफू बाँचेको समाज र समयसित संवाद गर्न कथा लेख्छु। किनभने हजारौँ भोल्टको करेन्ट बोकेर हिँडेको समयले हामीलाई हर सेकेन्ड झट्का दिएर तरङ्गित बनाइरहेको छ। तिनै तरंगमा आउने समाजका अनेक जीवन, अनेक भावना र अनेक दुष्चक्रका लहरहरूलाई म कथामा समेट्ने कोसिस गर्छु। ‘१९ नम्बर’ त्यही एउटा लहर हो।)

अखबारमा उसको आत्महत्याको खबर छापियो।
ऊ आफैँले आफ्नो आत्माको स्वविवेक वा अविवेक हत्या गरेको थियो। उसकाबारे लेखिएको खबर पढेपछि मेरो आँखामा नाचेको दृश्य यस्तो थियो—

In the dark times

Will there also be singing?

Yes, there will also be singing

About the dark times.

                                        Bertolt Brecht

यी कवितांश पढ्दा रोहितकुमार ठकुरी मसँग ढेप्पिएर बसेको थियो।
विश्वविद्यालयको हरियो पाखे चौरमा अरू पनि यसरी बसेका थिए। एउटा पोथ्राइलो रुख हामीलाई सियाल दिइरहेको थियो। मन्द हावामा रुखका पातहरू एक अर्कामा ठोक्किएर निस्केको आवाजले हाम्रो आवाज दबाउन सकेको थिएन। हामी आपसमा कुराकानी पनि गरिरहेका थियौँ र कविता पढि पनि रहेका थियौँ। हावाको झोक्काले झरेको एउटा सुकेको पात रोहितको टाउकोमा खस्यो। मैले त्यसलाई जतनसाथ टिपेँ र पर पुगोस् भनेर हुत्त्याएँ। पात भुईँमा खसिनसक्दै उसले आफ्नो दाहिने हात तालुमा कुदायो। एक पल्ट मलाई हेर्यो‍।

त्यसपछि आँखा झिमझिम पारेर रुखका हाँगा र पातहरू हेर्यो‍।
त्यसपछि आकाशतिर आँखा डुलायो।
त्यसपछि मेरो कुममा चिउँडो अड्याएर ऊ झन् छेउमा ढेप्पियो।
त्यसपछि मैले सस्वर वाचन गरेको कविता सुन्यो।

सडक छेउकै सियालमा कोही पाण्डुलिपि लेख्दै थिए। कोही पाण्डुलिपि पढ्दै थिए। कोही नोटकापी घोक्दै थिए। कोही हातमा नोटकापी र अंग्रेजी किताबका ठेली बोकेर त्यसै टोलाएर बसेका थिए। कोही जोडी बनेर गफिइरहेका थिए। तिनले खित्का छाडेर हाँस्दा हामी बेलाबेला त्यता नजर दिन पनि भ्याइरहेका हुन्थ्यौँ।

हामीभन्दा अलि परको एउटा जोडी यसरी नजिकिएको थियो कि उनीहरूका जोडिएका ओठ छुट्टिन मानिरहेका थिएनन्। केटी केटाको काखैमा बसेकी थिई। दुवैले एक अर्कालाई अँगालोमा कसेका थिए। त्यो दृश्य हामीले देखे नदेख्यै गरेका थियौँ।

‘ह्या…कति पढ्नु जति पढे पनि दिमागमा घुस्दैन’, निधार खुम्च्याएर रोहितले भन्यो।

‘अब एकछिन पढौँ, सबैजना पढिरहेकै त छन्। डेरा गएर पनि के गर्नु छ र?’ मैले भनेको थिएँ, ‘यो कवितांशबाट परीक्षामा आउने सम्भावना धेरै छ भनेर प्रोफेसरले पटकपटक भनेको छ, घोक्नु त पर्यो‍ नै।’

त्यसपछि ऊ चौरमा नोटकापी र किताब सिरानी लगाएर उत्तानो पल्टेको थियो। त्यतिखेर आकाश खुलेको थियो। जहाँ कतै पनि बादलको निशान थिएन। निलो आकाश छ्याङ्ग थियो। रुखका हाँगा र पातले छोप्न नभ्याएका मसिना छिद्रबाट ऊ ती सबै हेरिरहेको थियो। तर बोलेको थिएन। आँखा चिम्लेको पनि थिएन।

परीक्षा नजिकिँदै थियो म उसलाई ब्रेख्तको उही कवितांश दोहोर्‍याएर सुनाइरहेको थिएँ।

यसरी एउटा साँझ हामी त्यो पाखे चौरबाट निस्केका थियौँ।

बाहिर फुस्रो घाम लागेको थियो।

मलाई भने रोहित ठकुरीको आत्महत्याको खबरले घोचिरहेको थियो। आखिर मान्छेले दुई दिनको चोला किन आत्महत्या गरेर सक्छ ?

मैले यस्तो सोचिरहँदा विश्वविद्यालयको मूल सडकमा तालु खुइले प्रोफेसरहरू अंग्रेजीमा गफिदै हिँडेका छन्। टाइ लगाएर भलाद्मी झैँ देखिएका लेक्चररहरू हतारिएर क्याम्पसतिर लम्केका छन्। कसैका हातमा सानो नोटकापी छ, कसैका हातमा फाइल र कसैका हातमा किताबका ठेली। कसैले हाते झोला बोकेका छन्। कसैले एकापट्टी काँधमा झोला भिरेका छन्। हतारिएर बतासिएका मोटरसाइकलको आवाजले त्यहाँका वातावरण खल्बल्याएको छ।

विद्यार्थी हुल पनि आफ्नै तालमा मस्तराम हिँडिरहेको छ। विद्यार्थी आफैँमा मस्तराम प्राणीहरूको आत्मा हो। विद्यार्थी कोही हुलमा छन्, कोही एक्लै हिँडिरहेका छन्।

शायद परीक्षा फर्म खुलेको छ, उपकुलपति कार्यालय सामुन्ने थुम्कोमा रहेको बैंकमा विद्यार्थीको लाम निकै लामो छ। तिनको हातमा एउटा लामो चिर्कटो छ। त्यो भौचर हुनुपर्छ। परीक्षा शुल्क तिर्न भौचर बोकेका यी आत्माहरू आपसमा गफिइ पनि रहेका छन्। बैंकमा भौचर भरेर रकम जम्मा गरेपछिमात्रै परीक्षा फर्म भर्न पाउने नियमको उनीहरूले पालना गरिरहेका छन्।
00

 

धेरैसित उसको हिमचिम थिएन। कसरी कसरी हामी चाहिँ घनिष्ट नै भयौँ। क्याम्पसमा कक्षा नहुँदा चौरमा गफिने, क्यान्टिनमा चिया पिउने सँगै हुन थाल्यो। बिस्तारै सँगै हिँड्ने र सँगै पढ्ने वातावरण बन्दै गयो। मेरो पनि ऊ नजिकको साथी बन्दै गयो।

 

‘कहिले सकिन्छ यो लाइन’, पछाडि सुर्के झोला भिरेको एउटा ख्याउटे अनुहार बोलेको सुनियो, ‘यहाँ जहिले पनि यस्तै लाइन हुन्छ भन्या, पालो कुर्नु त राम्रो हो तर पालो कुरेर दिन बिताउन त्यति सजिलो छैन जीवनमा।’

‘त्यै त, यहाँका कर्मचारीलाई कहिल्यै हतार हुँदैन’, हल्का दारी जुँगा आउँदै गरेको मोटोमोटो केटोले देब्रे लर्काएको कपाल मिलाउँदै उसको कुरामा सही थप्यो।

‘त्यै भएर त केटाहरू झ्याल फुटाउँछन्’, गाला पुक्कपुक्क भएको अर्कोले धम्कीको भाषामा बोल्यो, ‘ढुङ्गा नहानी कसैले केही सुने पो त यो देशमा।’

मैले सम्झेँ,
रोहितसित मेरो पहिलो भेट यही थियो र यहीँ बैंकमा भएको थियो। म पनि फर्मको शुल्क बुझाउन भौचरको चिर्कटो र फारम लिएर लाइन बसेको थिएँ। ऊ पनि लाइनमै थियो। अन्तिम समय भएर होला लाइन तुरुन्तै घटी हाल्ने खालको छोटो थिएन।

‘कति पढ्नु ?’ अल्छीलाग्दो दिग्दारीमा बोलेको थियो।

‘पढेर कहिल्यै सकिन्न। जीवन एउटा लामो सिकाइ हो’, मैले नचिनेरै पनि उत्तर फर्काएको थिएँ, ‘जुन दिन सिक्ने कुरा सकिन्छ नि हो त्यो दिन हाम्रो जीवन सकिन्छ।’

‘भन्न त शिक्षक, प्रोफेसर यसै भन्थे। तर जीवनको सिकाइ सकिएला, यो पढेर नसिकिने भैयो’

‘हैट्, यसरी ऐले नै हरेस खाएपछि देश कसरी बन्छ’, म हाँसेको थिएँ।

मेरो भौचर बुझाउने पालो आयो। मैले बुझाएँ।

मेरो लगत्तै पछि उसले पनि फारम बुझायो।

‘लौ न मलाई अलिकति सहयोग गर्नुपर्‍यो’

‘पैसा त मसित छैन त’

‘पैसा होइन, जीवनमा सहयोग भनेको पैसा मात्रै हुँदैन। त्यो पनि मैले भौचर बुझाइ सकेँ। यो फारम भर्न अलिकति मद्दत गरिदिनुपर्‍यो।’

फारममा लेखेका केही अंग्रेजी शब्द नबुझेर उसले त्यो ठाउँ खाली राखेको थियो। मैले जानेजति भनिदिएँ, अर्थ्याइदिएँ। उसले ढिलो गरी अंग्रेजीका अक्षरहरू फर्ममा भर्यो‍।

हामीले परीक्षा नियन्त्रण कार्यालय गएर फर्म सँगै बुझायौँ।

त्यसपछि विश्वविद्यालयमा प्रायः नियमित भेट हुन थाल्यो।

कम बोल्थ्यो। सारै अग्लो पनि थिएन। सारै ज्यानदार पनि थिएन। कालो सुर्के झोला पछाडि पिठ्यूँमा कहिल्यै छाडेको हुँदैनथ्यो। ठूलो निधार, बाक्लो कालो र फिल्मको नायकले जस्तो सर्लक्क देब्रे फर्काएको कपाल, लामो नाक र पातला ओठ थिए। ओठमाथि जुँगाका रेखी बाक्लै देखिन्थे।

धेरैसित उसको हिमचिम थिएन। कसरी कसरी हामी चाहिँ घनिष्ट नै भयौँ। क्याम्पसमा कक्षा नहुँदा चौरमा गफिने, क्यान्टिनमा चिया पिउने सँगै हुन थाल्यो। बिस्तारै सँगै हिँड्ने र सँगै पढ्ने वातावरण बन्दै गयो। मेरो पनि ऊ नजिकको साथी बन्दै गयो।

बिदाको दिनमा हामी क्याम्पस चौरमा भेला भएर पढ्न थाल्यौँ। यसरी पढ्दा म उसलाई कथा र कविता सुनाउँथेँ। नेपाली अंग्रेजी दुवै। ऊ प्रेम कविता खुब मन पराउँथ्यो। अंग्रेजी कविता सुनाउँथेँ, ऊ टोलाउँथ्यो।

‘साला, यो अंग्रेजी नजानी जीवन सकिने भयो। जति गरे नि आउन्न। के हुन्छ यो अंग्रेजीमा ?’ मैले अंग्रेजी कविताको भाव नेपालीमा अर्थ्याएपछि ऊ बोलेको थियो, ‘मसितै पढेकी त्यो केटी म खरर अंग्रेजी बोल्ने भएर गाउँ फर्केको हेर्न चाहन्छे। मेरा बाआमा म हेडमास्टर भएको देख्न चाहन्छन्। आफूलाई अङ्ग्रेजीको भूतले कहिल्यै छाड्दैन। कैले पास हुनु खै यो तालले ?’

‘को हो त्यो केटी ?’

‘मायालु, औधी माया लाग्छ’

‘अनि’

‘बेलाबेलामा चिठी पनि लेख्छु। केही वाक्य अंग्रेजीमा पनि लेखि पठाउँछु।’

‘ए’

मायालुलाई पठाउने चिठीमा लेख्न रहेछ, नेपालीमा लेखेका वाक्यलाई अंग्रेजी अनुवाद गर्न कहिलेकाहिँ रोहितले मेरो सहयोग मागेको थियो। सामान्य अर्थका र अंग्रेजीमा सामान्य वाक्य बनाउन सकिने कुनै चिठीमा उसले प्रेम कविता पनि पठाएको थियो।

‘ती सारेका कविता हुन् मेरा हैनन्। मैले ती कविता कहिल्यै आफ्नो भनेर दावी गरिनँ।’

‘लेख्न त तिमी पनि त प्रेम कविता लेख्छौ त’

‘लेख्न त लेख्छु तर त्यति राम्रो हुँदैन’

00

रोहितकुमार ठकुरी पहाडी गाउँको मध्यम परिवारमा हुर्केको केटो थियो। ठकुरी भएकाले उसका बाले कक्षा ३ सम्म पढेका थिए। गाउँमा ठकुरी सानसित बसेका थिए। उनकै पहलमा गाउँमा प्राथमिक स्कुल खुलेको पनि थियो। स्कुलको नाम पनि उनैले जुराएका थिए, कर्मप्राप्ति प्राथमिक विद्यालय।

र। त्यही विद्यालयमा उसले साउँ अक्षर चिनेको थियो।

केटाकेटी छँदा ऊ पुतलीसित खेल्न मन पराउँथ्यो। सुप्लाको हवाइजहाज बनाएर, पाइपको पांग्रा बनाएर र काठको गाडी बनाएर कुदाउँदै हिँड्न उसलाई मन पथ्र्यो। उसका बा भन्थे, ‘ठकुरीको छोरो यसरी खेलेरमात्रै हुन्छ ? राम्ररी पढ केटा राम्ररी पढ। अझ अंग्रेजी पढ, अंग्रेजी पढेर पछि यो स्कुललाई माध्यमिक बनाएर तैँले यहा हेडमास्टर हुनुपर्छ। मलाई रोहित हेडमास्टरको बा हुने रहर छ।’

बाका सबै कुरा उसले बुझेको थिएन। बाका अंग्रेजी पढ्ने कुरा भन्दा उसलाई पाइपको पांग्रो गुडाउनमै मजा थियो।

स्कुलमा तामाङ, माझी, मगर र केही कामीहरू पढ्थे। ठकुरीबा जतिपल्ट स्कुल जान्थे र हेडमास्टरलाई भन्थे, ‘मेरो केटोलाई अंग्रेजीमा अलि जोड बल गरिदिन परो है हेडसर।’

तिनताका हेडमास्टर रहेका पदम विश्वकर्मा भन्थे, ‘हस् सर, अंग्रेजी त म आफैँले पढाउने ग¥या छु। म यिनलाई छुलछुल मुताएर भए पनि अंग्रेजी रटाएरै छाड्छु।’

र, त्यसपछि ख्याउटे ज्यानका उनी सिर्कनो हल्लाउँदै कक्षातिर लागेका थिए। त्यो दिन पदम सर कक्षामा आउँदा रोहितकुमार ठकुरी एक पानो कापी च्यातेर कागजको हवाइजहाज बनाउँदै थियो। यो ऊ कक्षा ४ पढ्दाको कुरा हो।

‘बा अंग्रेजी पढाउनु छोरालाई भन्छन्, तँ यहाँ हवाइजहाज बनाइ बस्या छस् ?’ यति भनेर पदम सरले एक सिर्कनो उसको पिँडुलामा लगाइसकेका थिए।

उसै पनि पदम सर स्कुलको हेडमास्टर थिए। पदम सर भनेपछि सारा विद्यार्थीको सातो जान्थ्यो। कक्षा ४ देखि उनी अंग्रेजी पढाउँथे। तर उनी अंग्रेजी नेपालीमा पढाउँथे, यसरीः
‘जिओओडी गुड, गुड माने राम्रो’

अनि विद्यार्थी पनि लोली मिलाएर भन्थे, ‘जिओओडी गुड, गुड माने राम्रो’

‘आरएयाम राम राम माने भेडा’

विद्यार्थी त्यही बोलीमा लोली मिलाउँथे।

‘आइ, आइ माने म’

‘वाइओयु यु यु माने तिमी’

‘केएनआइएफइ कनाइफ कनाइफ माने छुरा’

विद्यार्थी दोहो¥याउँथे, ‘केएनआइएफइ कनाइफ कनाइफ माने छुरा’

‘भोलि सबले माने घोकर आउनी’, कक्षामा पदम सरको उर्दी आयो, ‘नजानेको सजाय के हुन्छ त्यो भोलि नै थाहा हुन्छ।’

भोलिको दिन आयो, रोहित कुमार ठकुरीलाई माने आएन। दस शब्दमा मुस्किलले उसले तीन शब्द भन्यो, त्यसपछि स्पेलिंग नआएर पदम सरले प्रतिशब्द एक सिर्कनो दुवै हत्केलामा बजाए। ऊ रोयो र छुलुक्क मुत्यो।

अंग्रेजीका नाममा लौरो खाएको यो पहिलो पल्ट थियो।

त्यो वर्ष कक्षा ४ मा ऊ अंग्रेजीमा फेल भयो।

पदम सरले रिजल्टको दिन भने, ‘रोहितकुमार ठकुरी तँ ल्वाँठ छस्, तँलाई अंग्रेजी फिटिक्कै आउन्न। तँ गइस केटा खोलै खोला। तेरो जीवन त गयो अब।’

उसको अरू विषयमा आएको नम्बर र जानेको ज्ञानको चर्चा कसैले गरिदिएन। कक्षा ४ मै अंग्रेजीमा फेल भएको सुनेपछि उसका बा पनि खुस हुने कुरा आएन।

‘अरू जेजे जाने पनि तैँले अंग्रेजी नजानेर राम्रो गरिनस् हेर’, साँझ घर फर्केपछि उसका बाले भनेका थिए, ‘तैले कसै गरे त्यो जान्न पर्छ हेर। हाम्रा भाइ खलकका छोराहरू खरर अंग्रेजी बोलेर हेडमास्टर भएका छन्। पदम सर कामी नै भए पनि अंग्रेजी जानेर हेडमास्टर भए। अब तँ ठकुरीको छोरो अंग्रेजी नजानेरै सकिने भइस् कि क्याहो है।’

एवम् रितले उसको अंग्रेजी सिकाइको स्तर कायम रह्यो। कक्षा ५ पछि नजिकैको अर्को माध्यमिक तहको विद्यालयमा उसको भर्ना गरियो। कक्षा ६ हुँदै एसएलसी दिउन्जेल पनि अंग्रेजीमा फेल भएरै ऊ कक्षा चढिरह्यो।

अंग्रेजीमा फेल भएकैले तरबार बलियो कि कलम भन्ने माध्यमिक तहको वादविवादमा जिल्ला प्रथम, अन्तरस्कुल कविता प्रतियोगितामा दोस्रो र ‘देशको माया’ शीर्षकमा माध्यमिक तहमा भएको जिल्लास्तरीय निबन्ध प्रतियोगितामा प्रथम भएको उपाधीको गणना भएन। उसलाई कविता लेख्न मन थियो, निबन्ध लेख्न मन थियो, कराँते खेल्न मन थियो तर ती इच्छा पूरा भएनन्। कारण उसले अंग्रेजी सुधार्नु पर्नेथ्यो। तर उसको अंग्रेजी कहिल्यै सुध्रेन।

कर्मप्राप्ति स्कुलमा उसले खासै कर्म पाउन सकेन। पदम सरको सिर्कनोको याद भने उसलाई त्यो स्कुल सकेपछि पनि आइरह्यो।

उसले मलाई बताए अनुसार माध्यमिक तह पढ्दा अंग्रेजीका विषय शिक्षक नै थिएनन्। केही महिना आउने र छोडिजाने सरहरूले अंग्रेजी धानिदिएका थिए।

कुनै पनि सरले कहिल्यै अंग्रेजी अंग्रेजीमा पढाएनन्। विद्यार्थी आआफ्नै मिहिनेतले, नजिकैको शहरमा ट्युसन पढेर कक्षा १० को एसएलसीमा सहभागी भए।

६० जना सहभागीमध्ये १३ जनामात्रै उसको स्कुलबाट पास भएका थिए। १३ जनामा ऊ परेको थिएन। जो जो परेका थिए तिनको पनि उत्तीर्णांक ३२ भन्दा बढी आएको थिएन।

उसले भनेकी मायालु पनि त्यही माध्यमिक तह पढ्दा भेटेको थियो। उनीहरू सँगै पढ्थे। एसएलसीमा अंग्रेजी विषयमा ऊ दुई पल्ट फेल भई। त्यसपछि परीक्षा नै दिइन।

‘फेल भएर के भयो र अहिले गाउँको अर्को प्राथमिक स्कुलमा ऊ मास्टर भएकी छे। व्यवस्थापन समितिमा उनका बा अध्यक्ष छन्। व्यवस्थापन समितिमा बा हुनु भनेको मास्टर जागिर पक्का हुनुजस्तै हो।’

‘ए’, मैले भनेथेँ।

‘मैले पनि तेस्रो पल्ट पास गरेको, त्यै पनि बल्ल ३२ आएछ। धन्य त्यो मास्टरलाई, जसले मेरो किरिङमिरिङ अक्षर लेखिएको कपि जाँच्यो’, उसले भन्यो, ‘मैले तेस्रो पल्ट पनि एसएलसीमा अंग्रेजी पास नगरेको भए म कहाँ विश्वविद्यालयको अनुहार देख्न पाउने हुन्थेँ र ? कामका लागि कतार, दुवई वा मलेसिया पुगिसकेको हुन्थेँ’, उसले आफ्नो एसएलसीबारे मलाई यस्तै सुनाएको थियो।

आफू पास भएकामा पनि ऊ साह्रै खुसी थिएन। किनभने आफ्नी प्रेमिका फेल भएकोमा ऊ बढी चिन्तित थियो।

‘उसले एसएलसी गर्नु पथ्र्यो’, बेला बेला भन्थ्यो, ‘एसएलसी पास भएको भए हामी सँगै सहर आउँथ्यौँ र कलेज पढ्न पाउँथ्यौँ। यहाँ घुमघाम सँगै हुन्थ्यो नि त। तर त्यस्तो भाग्य कहाँ ? अंग्रेजीले खोस्द्यो नि।’

उसले मलाई यस्तो पनि सुनाएको थियो, आफू फेल भए पनि ऊ पास भएकोमा सयौं माइल परको सुदूर गाउँमा रहेकी उसकी प्रेमिका निकै खुसी छे। ऊ चाहिँ त्यति धेरै खुसीले उफ्रिसकेको छैन। आफू पास हुनु भनेको उसलाई छाडेर सहर पढ्न आउनु थियो, जो उसको मनले मानेको थिएन।

‘यता सहर आउने बेला मैले उससित वाचा गरेको छु, म अंग्रेजी पास नभई गाउँ फर्किन्न’, एक साँझ रोहितले गम्भीर भएर सुनायो, ‘फर्केर ऊसित भेट होलाजस्तो पारा छैन। आई.ए.मा बल्ल पाँचौं पल्ट अंग्रेजी पास गरेँ। बीएको यो सातौं पल्ट परीक्षा दिँदैछु। अब पनि फेल भएँ भने मैले कसरी उसलाई फेल भएको मेरो अनुहार देखाउनु ? त्यतिखेरसम्म त उसले अर्कैसित विहे गरिसकेकी हुन्छे होली।’

एक साँझ उसले प्रेमिकाको तस्वीर पनि मलाई देखाएको थियो। पोस्टकार्ड साइजको त्यो रंगीन फोटोमा उसकी प्रेमिकाले हरिया कुर्ता सलवार लगाएकी थिई। दुई चुल्ठी बाटेकी, ठूलो निधार र पातला ओठ भएकी थिई। जसलाई ऊ जतनसाथ मनि ब्यागको भित्री कुनामा लुकाएर राख्थ्यो र बेलाबेलामा हेथ्र्यो। देखाउँथ्यो।
भन्थ्यो, ‘कस्ती भई होली।’
००

मैले यो पनि सम्झेँ,
दाह्री र कपाल तिलचामले भएको प्रोफेसरको अंग्रेजी कक्षाको अन्त्यतिर उसले एक दिन केही प्रश्न पनि सोधेको थियो,
‘सर अंग्रेजी नजाने के हुन्छ ?’, उसले अत्यन्त गम्भीर भएर नेपालीमा सोधेको थियो, ‘के सारा संसार अँध्यारो हुन्छ ? ज्ञानका सबै ढोका बन्द हुन्छन् ? संसारका सबै मान्छे अंग्रेजीमै बात मार्छन् ? अंग्रेजी नजाने हेडमास्टर बन्न सकिन्न सर ?’

प्रोफेसरले यस्तो प्रश्न अपेक्षा गरेकै थिएन। ऊ ट्वाँ पर्यो‍।

‘अंग्रेजी जान्नेहरू सपना पनि अंग्रेजीमै देख्छन् हो सर ?’

प्रोफेसरले गालाका झपक्कै तिलचामले दारी दाहिने हातले मुसार्यो‍। एकछिन अकमक्क पर्यो‍। नाकको डाँडीसम्म आएको चस्माको फ्रेमबाट उसलाई हेर्यो‍। चस्मालाई दाहिने हातको चोरीऔंलाले हल्का माथि ठेल्यो।

प्रोफेसरको उत्तरको प्रतीक्षामा कक्षा चकमन्न भयो।

उत्तर दिने शब्द नभेटेर हो वा कस्तो लद्दु विद्यार्थी रै’छ जाबो अंग्रेजी पनि जान्दैन भन्ने सम्झेर हो त्यो दिन प्रोफेसरले उसको प्रश्नको उत्तर दिएन। प्रोफेसरको भृकुटी खुम्चेको प्रष्ट देखियो। पावरदार चस्मालाई फेरि हल्का माथि धकेलेर प्रोफेसर पूर्ववत् कविताको व्याख्यामा लाग्यो।

उसले कविता बुझ्यो बुझेन प्रोफेसरले सोधेन। कक्षा शान्त थियो, ऊ पनि शान्त भएर बस्यो। कति विद्यार्थी प्रोफेसरलाई ट्वाँ परेर हेरिरहेका थिए। केही विद्यार्थी आफ्नो नोटकापीमा प्रोफेसरले भनेका वाक्यहरू हतारहतार टिपोट गरिरहेका थिए।
त्यसपछि उसले कुनै पनि प्रोफेसरलाई कहिल्यै कक्षामा प्रश्न सोधेन।
00

प्रहरीले आत्महत्याको मुचुल्का उठाए। रिपोर्ट बनाए। सुदूर गाउँबाट सयौं नदी, जंगल र पहाड छिचोलेर सहरको विश्वविद्यालय आइपुगेको केटोले किन आत्महत्या गर्यो‍ ?

‘उसका केही डायरी र सुसाइड नोट हात परेको छ’, अनुसन्धानमा संलग्न एउटा प्रहरी अधिकृतले पत्रकार सम्मेलनमा भन्यो, ‘कुनै गहिरो मानसिक चोटले आत्महत्या गरे जस्तो लाग्छ। डेड बडीलाई हेर्दा पनि त्यस्तै देखिन्छ। अनुसन्धान जारी छ।’

मानसिक चोट डेड बडी हेर्दा कसरी थाहा लाग्छ ? प्रहरी अधिकृतको कुरा बुझिएन। यद्यपि पत्रकार सम्मेलनमा यसबारे कुनै पत्रकारले प्रश्न सोधेको मैले चाल पाइनँ।

प्रहरी अधिकृतले के पनि दावी गर्यो‍ भने उसले जे बोलेको छ, अनुसन्धान गरेका सामग्रीका आधारमा बोलेको थियो।

‘हामीले अनुसन्धानमा मृतकको नोटकापी र नोटकापीमा कोरिएका दैनिकीजस्ता लाग्ने तीन थान पत्र फेला पारेका छौँ, मृतकको साहित्यमा रुचि भएको देखिन्छ। किनभने अरू केही डायरीमा कविता र निबन्धहरू लेखिएका छन्।’

यति भनेर पत्रकार सम्मेलन सकिएको थियो।

रोहितको आत्महत्याको खबरले मलाई बेचैन बनाएको थियो।

म प्रहरी कार्यालयमा उपस्थित भएँ।

‘मलाई उसको नोटकापी र ती पत्र हेर्नु छ सर’, मैले प्रहरी अधिकृतलाई भने।

सुरुमा तिनले आनाकानी गरे।

‘तपाई मृतकको को हो ?’, प्रहरी अधिकृतले सोधे।

‘साथी’ भनेर मैले ऊसितका सबै कुरा बताइ दिएँ। त्यसपछि उनले एउटा फाइल टेबुलमा ल्याए र मतिर बढाए।

प्रहरी हिरासतमा रहेका उसका नोटकापीका पन्ना पन्ना पल्टाएँ। नेपाली र अंग्रेजीमा लेखिएका खिरिला अक्षरहरू आँखामा सल्बलाए। त्यहीँ मैले भेटेँ, उसले आत्महत्या गरेका दिन लेखेका पत्र पढेँ। पत्रको व्यहोरा यस्तो थियोः

प्रोफेसर, रिजल्ट आयो। म फेरि फेल भएँ। अंग्रेजीमा मेरो यसपालि पनि १९ कटेन। यसको दोषी मै हुँ। तर यसको आंशिक दोष तिमीसित पनि जोडिएको छ। साताै‍ पल्ट विश्वविद्यालय फेल हुँदा मसित भएका सबै सपनाहरू खरानी भएका छन्। म यही खरानीको डंगुरमा यी अक्षर लेख्दैछु।

 

पत्र–१

तिम्रो पत्र पाएँ।
म उत्तर लेख्न सक्ने अवस्थामा छैन। के लेखुँ ? परीक्षाफल आएको छ र म सातौं पल्ट फेरि अंग्रेजीमा फेल भएको छु……..।
यतिखेर म तिमीलाई सम्झिरहेको छु। तिम्रा मसिना परेला र मोटो आँखाको डिलको झल्को मेरो आँखामा छ। तिमीसित गरेको वाचा पूरा गर्न म यो जुनीमा सक्छुजस्तो छैन। यसरी म तिम्रो आँखामा आफूलाई हेर्न सकुँला र ?

बीएड पास गरेर हेडमास्टर हुने मेरो धोको पूरा भएन। म सातौं पल्ट पनि अंग्रेजीमै फेल भएँ। अरू विषयमा मेरो नम्बर नराम्रो छैन। अंग्रेजीमा यसपालि पनि १९ नै आएको छ। अब म ब्याक पेपर दिन पाउन्न। मैले फेरि पहिलो वर्षदेखि अर्को ३ वर्ष नियमित पढ्नु पर्छ। फेरि पास भएर तिमीलाई भेट्न आउने बेलासम्म म शायद बुढो भइसक्छु। त्यहाँ तिम्रो बिहे भइसक्ने छ। तिमी बच्चा बच्चीको आमा भइसक्ने छ्यौ।

म अंग्रेजीमा फेल भएको कुरा तिमी बुझ्न सक्छ्यौ तर म मेरा बालाई यो कुरा बुझाउन सक्दिनँ। यी सबै कुरा सम्झिँदा मलाई यस्तो लाग्दैछ, हामीबीच अब पार गर्नै नसक्ने दह बन्दैछ, पुल नभएको नदीको दहजस्तो। हाम्रोबीचमा अब पहाडका पर्खालहरू ठडिने छन्। अब तिमीले मलाई बिर्सिँदै गए राम्रो हो।

त्यसका लागि तिमीले गर्नु पर्ने धेरै छैन, मैले लेखेका पत्र र ती मैले पठाएका प्रेम कवितालाई दया गरेर डढाइ दिनू। मेरो अंग्रेजी डिस्नरी र अंग्रेजीका सबै पुस्तकहरू कतै लगेर गाडिदिनू या नदीमा बगाइदिनू। मैले कहिल्यै खिप्न नसकेका अक्षरहरूसित तिम्रो कुनै सम्बन्ध नहोस् भन्ने म चाहन्छु।

साँच्चै अर्को जुनी हुने रहेछ भने फेरि भेटाँैला मेरी मायालु।
उही तिम्रो मायालु
रोहितकुमार ठकुरी

पत्र पढेर मेरो दिमागमा झट्का हान्यो। मैले उसकी प्रेमिकाको तस्वीर सम्झेँ। उसले लेख्ने गरेको प्रेम पत्र र प्रेम पत्रको बीचमा घुसाउने गरेका प्रेम कविता पनि सम्झेँ। आँखाहरू एकतमासका भए। दिमाग फनन घुमेजस्तो अनुभव भयो।
आँखा दोस्रो पत्रमा पुग्यो। पढेँ। लेखिएको थियो,

 

पत्र–२

प्यारी,
त्यो खोल्सो लेउ लागेर हरियै भएको होला। तिमी बिदाको शनिवार बाख्राको बथान धपाउँदै खोला–जंगल गरिरहेकी हौली। अरू दिन चक डस्टर समातेर साना केटाकेटीसित खेल्दी हौ। तिमी चिप्लो किनार हिँड्छ्यौ, त्यहाँ नहिँड्नू। लड्न सकिन्छ। म यहाँ अंग्रेजीको बाटोबाट लडेको छु। तिमी त्यो लेउमा चिप्लिन सक्छ्यौ।

म यहाँ तिम्रो थाप्लामा बस्ने नाम्लोको डाम सम्झिन्छु, मलाई अंग्रेजीले पिर्छ। गारो भत्किएको र बेन्ची नभएको तिम्रो स्कुल सम्झिन्छु, मलाई अंग्रेजीले पिर्छ। अंग्रेजी पढेर छोरो हेडमास्टर हुन आउँछ भन्ने आस पालेर बसेका आमाबाउको प्रेम सम्झिन्छु, मलाई अंग्रेजीले थप्पड हान्छ। अंग्रेजीमा १९ लेखिएको त्यो मार्कसिटले मेरो दिमाग घोचिरहन्छ। मलाई एउटै पीडाले सताइरहन्छ, मैले किन यो अंग्रेजी बुझिनँ ?

अब अंग्रेजीसँगै जीवनका सबै कुरा एक साथ बिर्सन चाहन्छु। जस्तो म हिँड्ने बेला तिमीले दिएको रातो रुमाल र औंठी जसमा कस बस्दै गएको छ। तिमीले दिएको त्यो कलमः जसले म यो पत्र लेख्दैछु। त्यो कलमले यहाँ मैले केही कविता पनि लेखेँ। एउटा परीक्षा पनि लेखेँ। संयोगले त्यो अंग्रेजीकै परीक्षा थियो। तर म अंग्रेजीमा पास भइनँ। म अब अंग्रेजी बिर्सिन चाहन्छु।

मेरो मनमा गाँठो परेर बसेको तिम्रो प्रेम पनि बिर्सन चाहन्छु। म सबैलाई बिर्सिन चाहन्छु। मलाई थाहा छ यो मेरो जीत होइन, तर मलाई यो पनि थाहा छ प्रिय यो मेरो हार पनि होइन।
उही तिम्रो मायालु
रोहितकुमार ठकुरी

मेरो दिमागमा अर्को झट्का लाग्यो। दिमागमा अनेक प्रश्नहरू खेल्न थाले, अंग्रेजी पास नभएकैले हिनताबोध गरेर उसले आत्महत्याको बाटा रोजेको हो ? अंग्रेजी भाषा हो, सिकाइ हो, सिकाइको सीप सबैसित उस्तै हुनु पर्छ भन्ने छ ? उसले भनेजस्तै अंग्रेजी नजानेर साच्चै संसार अँध्यारो हुन्छ ? आखिर अंग्रेजी संसारमा सिर्जना भएको पहिलो भाषा पनि त होइन।

त्यो त पक्कै हुँदैन। त्यसो भए किन उसले यस्तो तुच्छ निर्णय गर्यो‍ ?

रातो मसीले लेखेको अर्को पत्र देखेपछि सोचको लम्बाइ त्यही खुम्चियो। पत्र यस्तो थियो,

 

पत्र–३
प्रोफेसर,
मैले नेपालीमा सोधेँ अंग्रेजी नजाने के संसार अँध्यारो हुन्छ। कक्षामा तिमीले मेरो प्रश्नको उत्तर दिएनौ। मैले तिम्रो कक्षाको. स्वाद कहिल्यै लिन सकिनँ।
यदि मैले अंग्रेजी पास गरेको भए यति लेखिरहदैन थिएँ।
प्रोफेसर, रिजल्ट आयो। म फेरि फेल भएँ। अंग्रेजीमा मेरो यसपालि पनि १९ कटेन। यसको दोषी मै हुँ। तर यसको आंशिक दोष तिमीसित पनि जोडिएको छ। साताै‌ँ पल्ट विश्वविद्यालय फेल हुँदा मसित भएका सबै सपनाहरू खरानी भएका छन्। म यही खरानीको डंगुरमा यी अक्षर लेख्दैछु।

यो खरानीको डंगुरमा तिम्रो पनि सपना छ प्रोफेसर।

प्रोफेसर तिमीले त मलाई कहिल्यै सोधेनौ तिम्रो सपना के हो ? तिमीले मैले सोधेको प्रश्नको उत्तर पनि दिएनौ जुन म भित्रैदेखि जान्न चाहन्थेँ।

जे होस्, अब त्यो कक्षा कोठामा हाम्रो भेट हुँदैन। फन्टुस प्रश्न सोध्ने एउटा विद्यार्थी अब तिम्रो छेउ पर्दैन। अंग्रेजी परीक्षाको कपीमा मैले थुप्रै ठाउँ फुलस्टपहरू दिएको थिएँ। प्रोफेसर यो पत्रमा म अन्तिम पल्ट फुलस्टप दिँदैछु। र, जीवन यात्रालाई नै पूर्णविराम दिँदैछु।
एउटा लद्दु विद्यार्थी
रोहितकुमार ठकुरी

तीन थान पत्र पढिसक्दा मेरो आत्माले केही सोचेन। म चुपचाप चुपचाप भएँ। प्रहरी अधिकृतलाई धन्यवाद दिएँ। फाइल उसैलाइ फिर्ता दिएँ र प्रहरी कार्यालयबाट कीर्तिपुर डेरातिर निस्किएँ।
00

विश्वविद्यालयको यो पाखे चौर उस्तै हरियो थियो। म पोथ्राइलो रुखको सियालमा थिएँ। हातमा अखबार थियो। र, अखबारमा उसको आत्महत्याको खबर छापिएको थियो।

मेरै छेउछाउमा कोही लेख्दै थिए। कोही पाण्डुलिपी पढ्दै थिए। कोही नोटकापी घोक्दै थिए। कोही हातमा नोटकापी र अंग्रेजी किताबका ठेली बोकेर त्यसै टोलाएर बसेका थिए। केही जोडी खित्खिताइरहेका थिए।

पर बाटोमा तीलचामले कपाल भएका, छत्रे टोपी लगाएका, टाइ लगाएका प्रोफेसरहरू हतारहतार विश्वविद्यालय क्याम्पसतिर पाइला बढाइरहेका थिए।

उसको आत्महत्याबारे मेरो आत्माले केही सोचेन। अखबारलाई एकातिर थन्क्याएँ। झोलाबाट पुरानो डायरी निकालेँ। र, उनै कवितांश फेरि एकपल्ट दोहोर्‍याएँ।

In the dark times

Will there also be singing?

Yes, there will also be singing

About the dark times.

                                        –Bertolt Brecht 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved