निबन्ध

लेखनले जगाउँछ जिजीविषा

साहित्यले हामीलाई सभ्य बनाउँछ, जिन्दगी राम्रो हुन सक्दछ भनी सिकाउँदछ। जिन्दगीमा जे हुनु पर्ने हो त्यसतर्फ इंगित गर्दछ। लक्ष्य भेट्टाउने आकांक्षा हामीभित्र जगाउँछ।

लेखनले जगाउँछ जिजीविषा

लेख्नको लागि पढ्नु आवश्यक छ। साहित्य सृजनको लागि साहित्य पढ्नु धेरै आवश्यकता छ। पढ्नु एउटा जिज्ञासा हो, एउटा लत हो। एकचोटी जसलाई यो लत लाग्यो ऊ यसको फन्दाबाट कहिल्यै पनि निस्कन सक्दैन। किन निस्कन चाहने ? जब यो पढ्नेले एउटा नयाँ जिन्दगी जिउने अवसर प्राप्त गर्दछ, प्रत्येक दिन एउटा नयाँ लोकमा घुम्न पाउँदछ। यसले जिन्दगीलाई सपनामा र सपनालाई जिन्दगीमा परिवर्तन गराउँदछ।

सृजन क्षमता जसमा हुन्छ उ पढ्न छाड्दै छाड्दैन। वास्तवमा सृजन क्षमता भएकाहरू पढ्नुको साथसाथै लेख्ने पनि गर्दछन्।

उपलब्धिहरूले सामाजिक मान्यता प्रायशः तब पाउने गर्दछ जब सृजन गर्नेलाई प्रेरणा दिने ऊबाट टाढा गइसकेको हुन्छ, यो लोक छाडिसकेको हुन्छ। यसकारण सामाजिक मान्यता प्राप्त हुँदाको खुसी प्रेरणाको स्रोतसँग साझेदारी गर्ने अवसर पाउँदैन।

ती सृजनकर्ता भाग्यशाली हुन्, जीवनभर प्रेरणा दिने मानिसको सानिध्य प्राप्त गर्दछ र उसलाई साहित्य लेख्नको लागि घच्घच्याइरहन्छ जब पनि ऊ, उसको आस्था डगमगाउँदछ भर दिने मानिस उसले भेट्टाई रहन्छ।

लेख्ने काम सजिलो छैन। लेखेर मात्र जीवनयापन गर्न अझ धेरै गाह्रो छ। आफ्नो शैली, आफ्नो भाषा र आफ्नो अलग पहिचान बनाउन महागाह्रो छ। जुन देशको बहुसङ्ख्यक जनता गरीब र अशिक्षित छ, पाठकको संख्या अति न्यून छ, के लेख्ने काम त्यहाँ एक किसिमको ऐयासी होइन र ? यो प्रश्न प्रत्येक लेखकले आफैँसँग गर्नै पर्दछ। यस प्रश्नको उत्तर पनि स्वयम्ले नै दिनु पर्दछ। यस्ता शङ्काहरूले लेख्ने काममा भाँजो हाल्नु हुँदैन, लेख्नु पर्दछ र विश्वासपूर्वक लेखिरहनु पर्छ यसो नगर्ने हो भने साहित्य लेखन कहिल्यै हुने नै छैन।

वास्तवमा साहित्यले समाजलाई समृद्ध बनाउँछ, सुसंस्कृत बनाउँछ।

साहित्य नभएमा हामीलाई स्वतन्त्रताको मूल्य थाहा हुँदैन। खासगरिकन जब कुनै तानाशाहको पाइतालामुनि हामी च्यापिएका हुन्छौं। साहित्य जीवनको एउटा सशक्त अभिव्यक्ति हो र राजनीतिलाई जीवनबाट अलग गर्न सकिँदैन। साहित्यले हामीलाई सौन्दर्य र प्रशन्नताको सपनामा मात्र डुलाउँदैन, यसले हामीलाई हरेक किसिमका दमनको विरुद्धमा सचेत गराउँदछ। यदि यस्तो नहुँदो हो त सत्तामा बसेकाहरूले यसलाई प्रतिबन्धित गर्ने कुरो नै सोच्दैनथ्यो। जसले जन्मदेखि लिएर मृत्युसम्म जनताको जीवनलाई नियन्त्रित गर्न चाहन्छ त्यस्ताले यसकारण स्वतन्त्र विचार बोकेको लेखकहरूका कृति जनताको आँखाभन्दा टाढा राख्नको लागि सेन्सरसिपको प्रावधान गर्दछ।

जनता जागरूक भएमा तिनीहरूसँग प्रश्न सोध्नेछन्। जसको उत्तर दिन तिनीहरू चाहँदै चाहँदैन। रचनाकारले पाठकलाई ज्ञात गराउँदछ संसार धेरै सुन्दर र समृद्ध बनाउन सकिन्छ। जब जनताले यो कुरा बुझ्छ तब तानाशाहको खोटो टक (सिक्का) चल्न सक्दैन। साहित्यको प्रभाव भेदभावविना सबै मानिसलाई प्रभावित गर्दछ। प्रत्येक युगको आफ्नो भयंकरता हुने गर्दछ। हाम्रो युग फैनेटिक मानिसको हो। यो सुसाइडल बम, टैरिस्टीको युग हो। जसले सोच्दछ ऊ सत्यको ठेकेदार हो र उसैद्वारा प्रतिदिन सम्पूर्ण विश्वमा असंख्य मानिसलाई बली चढाउने गरेको छ।

साहित्य सबै किसिमको राष्ट्रवादको विरुद्धमा हुन्छ। धर्मलाई पनि संकिर्ण दृष्टिकोणको वाहक मान्दछ।

राष्ट्रवादले नश्लवादलाई प्रोत्साहित गर्छ। बौद्धिकतालाई नष्ट पार्दछ। इतिहास साक्षी छ यसले कसरी मनुष्यतालाई समाप्त पारेर नरसंहार गरेको छ। विश्वयुद्ध र थुप्रै देश यसको उदाहरण हो। संहारक र विस्फोटक संकलन गर्नमा जुन धन खर्च हुने गरेको छ, त्यो धन स्कुल, पुस्तकालय र अस्पताल बनाउनमा लगाउनु पर्ने थियो। आफ्नो जन्मभूमिप्रति माया र ममता एउटा कुरो हो र अन्ध राष्ट्रवाद एउटा फरक कुरा हो।

जहाँ हामीले जन्म लिएका छौँ। जहाँ हाम्रा पूर्वज रहेका थिए, हाम्रो सपना बनेको छ, प्रियजन बसेका छन्। त्योसँग जोडिएको मीठा स्मृतिहरू हामी जहाँ बसे पनि हामीसँगै रहन्छ। जन्मभूमि प्रतिको ममता हाम्रो हृदयमा सधैँ रहन्छ।

बाल्यावस्थादेखि नै साहित्यले स्वर्गको अनुभूति दिन्छ। राम्रा पुस्तकहरूको अध्ययनले अप्ठ्याराहरूसँग जुध्न सहयोग गराउँछ। वरपरको कटुता, एकाकीपनलाई किताबको संसारमा रमाउँदा भुल्न सकिन्छ। कल्पनाको संसार मन पराउन थालिन्छ। कल्पनाको संसारमा स्वतन्त्र र प्रसन्न बन्न पाइन्छ। विद्रोह, पलायन, विरोध र बाँच्ने प्रयास साहित्य बन्न पुग्दछ। साहित्य लेखनले निराशा हटाउँछ।

साहित्य लेखनले अपूर्व शान्ति प्राप्त हुन्छ। जीवनको लक्ष्य देखा पर्दछ। लेख्दाखेरी रुखोपन पनि आउँदछ, त्यस्तोमा कल्पना अनुर्वर बन्ने गर्दछ।

वास्तविक साधकले महिनौँ वा वर्षौं एउटा रचना रच्नमा लगाउने गर्दछन्। यस्तोमा आनन्द प्राप्त हुन्छ। प्रारम्भमा सबै कुरा अनिश्चित रहन्छ, लेखक बेचैन र उत्साहित बन्दछ अनि बिस्तारै बिस्तारै यसले आकार लिन थाल्दछ। जब लेखन अघि बढ्दछ आफैँ सबै कुरा स्वाभाविक बन्दै जान्छ लेख्नु भनेको रति सुख जस्तै हो। दिन, हप्ता, महिनौँ कुनै युवतीलाई निरन्तर माया गर्दै रहनु जस्तै हो। साहित्य जीवनको मिथ्या प्रतिनिधि हो जसले हामीलाई जीवनबारे राम्ररी बुझ्नको लागि सहायता  गर्दछ।

वास्तविक जीवनमा फ्रस्टेशन र कमीहरूको क्षतिपूर्ति गर्दछ। हामी जन्मन्छौँ, बाँच्छौँ र मर्दछौँ, यथार्थ जीवन हामीमा जुन विडम्बना र फ्रस्टेशन लाद्दछ त्यसको लागि साहित्य एक किसिमको मल्हम, एक किसिमको सट्टा भर्ना हो। साहित्यको कारणले नै धेरैजसो मानिसले जिन्दगीको दुरूहतालाई आंशिक रूपमा भए पनि बुझ्दछन्। खासगरिकन त्यस्ता मानिस जसले आफ्नो विचारबाट शंका उत्पन्न गर्दछ त्यस्ताको लागि साहित्य भन्दा ठूलो कुनै पनि शरण लिने स्थल हुन सक्दैन। साहित्य लेखन या पढ्न जे गर्दा पनि लाभै लाभ छ। साहित्यले हामीलाई बाँच्ने तरिका सिकाउँछ। जिन्दगीलाई बुझ्ने अवसर प्रदान गर्दछ।

साहित्यले हामीलाई सभ्य बनाउँछ, जिन्दगी राम्रो हुन सक्दछ भनी सिकाउँदछ। जिन्दगीमा जे हुनु पर्ने हो त्यसतर्फ इंगित गर्दछ। लक्ष्य भेट्टाउने आकांक्षा हामीभित्र जगाउँछ। हाम्रा पूर्वजका जीवन धेरै अप्ठ्यारो थियो। यस कुराको कल्पना वर्तमानमा साहित्यमा लेखिन्छ। हाम्रा पूर्वजहरूका सम्मुख एउटा अज्ञात र खतरै खतराले भरिएको संसार थियो। उनीहरूलाई आवश्यक भोजन, प्रकृतिको अप्ठ्यारोबाट रक्षा, शिकार र सम्भोग नै जीवन लागेको हुँदो हो।

जीवन सपना, प्रशन्नता र कल्पनाको उडान, एउटा आन्दोलनकारी योजना बन्यो होला। जीवन जिउने लालसा, परिवर्तन गर्ने चाहना, राम्रो बनाउने इच्छाले महत्वाकांक्षा जन्मियो होला।

वरपरका रहस्यहरूको भेदले फंतासी रचना गर्ने इच्छा जागृत भएको हुनुपर्छ। र, जब लेखन प्रारम्भ भयो त तब यो कहिल्यै नरोकिने प्रक्रिया अझ समृद्ध भयो यानी साहित्यमा स्थायित्व आयो। साहित्य मनोरञ्जन भन्दा धेरै कुरो हो, यो बौद्धिक कसरत मात्र होइन। यसले संवेदनालाई तिखार्छ र आलोचनालाई जागरूक बनाउँदछ।

सभ्यताको अस्तित्व कायम राख्नको लागि साहित्यको एकदम आवश्यकता पर्दछ।

हामीभित्र जुन सर्वोत्तम छ, त्यो बचाउन र सम्हाल्नको लागि साहित्य हुनु एकदम आवश्यक छ। किनभने पुनः हामी एकाकीपनको पशुतातर्फ नफर्कियौं, जीवन विशेषज्ञहरूको प्रयोजन मुलुकमा खुम्चिएर नरहोस्, जहाँ वस्तुलाई एउटा खास कुनाबाट मात्र हेर्ने गरिन्छ। वातावरणमा त्यसको वरपर, अगाडि–पछाडि जे जति हुन्छ उपेक्षापूर्वक छाड्ने गर्दछ।

जुन मेसिन मानिसको सुख सुविधाको लागि आविष्कृत गरिएको छ हामी त्यसको गुलाम बन्नु भएन। साहित्य नभएको संसार इच्छाविहीन, आदर्श नभएको अश्रद्धाको हुनेछ। रोबोटको संसार हुनेछ। साहित्यले हामीलाई गन्तव्यमा पुर्‍याउँछ, हामीलाई अरूसँग सम्पर्क गराउँदछ। यसले हाम्रो सपनालाई साकार गर्ने शक्ति दिन्छ। यसले हामीलाई डरलाग्दो, आलश्य र आत्मतल्लीनतामा डुब्नबाट बचाउँछ।

कुनै अरू कुरोले हामीलाई यति व्याकुल बनाउँदैन, हाम्रो जीवनमा, हाम्रो कल्पनामा खलबली ल्याउँदैन जति साहित्यले ल्याउँछ। साहित्यले जीवनमा मिथ्यालाई जोड्दछ जसको कारण हामी महान् रोमाञ्चक यात्राको नायक बन्दछौं, यसले हामीलाई त्यो महान् आवेग दिन्छ जुन वास्तविक जीवनमा हामीले कहिल्यै प्राप्त गर्न सक्दैनौँ।

साहित्यको यो अमृत, यो असत्य पाठकद्वारा सत्यमा परिणत हुन्छ। पाठकलाई लालसाको संक्रमण लाग्दछ र जिन्दगीको मिडियोक्रिटीमा सधैँ प्रश्न गर्न थाल्दछ।

यसले हामीमा आशा जगाउँदछ कि हामी त्यो बनौँ जो छैनौँ, हामीसँग त्यो होस् जे छैन। यसले एउटै समयमा हामीलाई अमत्र्य र मरणशील दुवै बनाउँछ। हामीमा विद्रोह जगाउँछ, सम्पूर्ण बहादुरीको कार्यको पछाडि जसको हात हुन्छ। जुन बहादुरीले गर्दा मानिसको सम्बन्ध थोरै क्रुर भएको छ, अत्याचार घटेको छ। अत्याचार घटेको छ तर समाप्त भएको छैन। सौभाग्यले साहित्य कहिल्यै समाप्त हुँदैन यो अधुरो छ। यसकारण लेखन कार्य बढिरहेछ।

साहित्य लेखन गर्नेले सपना देख्न, पढ्न र लेख्न कहिल्यै छाड्नु हुँदैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved