कला–संसार

‘सेलिब्रेटी’ कि भीड जुटाउने माध्यम !

पछिल्ला दशकहरूमा राजनीतिक दलहरूले फिल्मी कलाकार वा लोकप्रिय गायक\गायिकालाई पार्टी प्रवेश गराउने र उनीहरूलाई भीड जुटाउन ‘प्रयोग’ गर्ने क्रम निकै बढ्दो छ। पूर्ववर्ती समयमा ‘राजनीति’ शब्द सुन्नासाथ उदासीनता देखाउने कलाकर्मीहरूमा पनि पछिल्लो समय राजनीतिक दलमा आबद्ध हुँदा प्राप्त हुने लाभको पद, सम्मान र पुरस्कार देखेपछि तछाँडमछाँड चल्न थालेको छ।

‘सेलिब्रेटी’ कि भीड जुटाउने माध्यम !

विक्रमाब्द चालीसको दशकपछि नेपाली सिने जगत्मा निकै चम्किएका नायक भुवन केसी पछिल्ला दशकहरूमा भने सिनेवृत्तबाट करिब–करिब अदृश्य नै रहे।

एउटा, उनले अभिनय गर्ने ‘शैली’का सिनेमाहरू कम बन्न थाले र त्यस्ता सिनेमाहरू निर्माण भए पनि नयाँ पुस्ताले उनको स्थान लिए। अर्को, उमेरहद पनि उनको फिल्मी–यात्रामा तगारो बन्न पुग्यो। पछिल्लो समय केवल अभिभावकको रुपमा मात्र उनको भूमिका खुम्चिँदै गइरहेको थियो।

पछिल्लो समय भने तिनै केसी फेरि चर्चामा आए। यस पटक भने कुनै ‘सेक्स स्क्यान्डल’ का कारण नभई चलचित्र विकास बोर्डको अध्यक्षजस्तो गरिमामय पद पाउन सफल भएपछि उनी सिनेवृत्तमा पुनः चर्चाको केन्द्रमा रहे। उनले त्यो पद सामान्य रुपमा पाएका भने थिएनन्। आफूलाई सत्तारुढ दलको छहारीमुनि उभ्याएपछि मात्र विकास बोर्डको नेतृत्व सम्हाल्न अग्रसर अरू आकांक्षीहरूलाई उछिन्दै उनले सो पद पाएका हुन्।

नेपाली कांग्रेसमा बकाइदाले प्रवेश गरेपछि मात्र उनी विकास बोर्डको अध्यक्षका निम्ति लायक ठहरिए। कांग्रेसमा प्रवेश गर्नुअघि भने उनी नेकपा (एमाले) निकट थिए। २०७४ को संघीय निर्वाचनअघि एमालेलाई रोजेका उनले संघीय निर्वाचनमा टिकट पाउने अपेक्षा सँगालेका थिए। काठमाडौंको आफू बसोवास गर्ने क्षेत्रमा उनको दावी पनि रह्यो। तर, निर्वाचनमा टिकट नपाएपछि र त्यसयता एमाले र माओवादी केन्द्रको एकतापछि नेकपाको सरकार बनेपछि कुनै लाभको पद नपाएपछि केसी मौन बसेका थिए। पछिल्लो समय भने दल परिवर्तन गरेरै भए पनि उनले चलचित्र विकास बोर्डको अध्यक्ष उछिट्ट्याए, जुन सिने क्षेत्रमा सक्रिय कलाकर्मीहरूका निम्ति आकर्षक र सुविधाको उच्चतम पद हो।

नायक केसी ताजा उदाहरण मात्र हुन्। कलाकारिताबाट राजनीतिक इलाकातिर बसाइँ सर्ने अधिकांश कलासाधकहरू कि त लाभको पद उछिट्याउने ध्येय सँगालेर कुनै प्रभावशाली राजनीतिक दलको फेर समात्दै राजनीतिको मैदानमा उत्रिएका हुन्छन्, उनीहरू कि त राजनीतिक दलमा लाग्छन्– राज्यद्वारा प्रदान गरिने ठुला मान–सम्मान, पदवी वा पुरस्कार पाउने तीव्र लालच बोकेर। त्यस्ता कलासाधकहरूले राजनीतिलाई नितान्त व्यक्तिगत लाभ र पदीय लोभका निम्ति केवल भ¥याङ बनाउने ध्येयभन्दा अरू सोचेका देखिँदैन।

आम जनतामा फिल्मी–कलाकार वा चर्चित गायकहरूप्रति ‘क्रेज’ हुनु स्वाभाविकै हो। पर्दामा देखिइरहने सिनेकर्मी वा कुनै गायक\ गायिकालाई प्रत्यक्षतः देख्न र हेर्न पाउने लालसा हाम्रोजस्तो समाजका बहुसंख्यक जनहरूलाई हुनु अन्यथा ठान्न मिल्दैन।

दोहोरो स्वार्थ

हामीकहाँ कलाकर्मबाट विश्राम लिने–लिने समयताका राजनीतिलाई अँगाल्ने र सक्रिय कलाकर्मकै बेलामा पनि राजनीतितिर आकर्षित हुने, दुवै तप्काका कलाकर्मीहरू छन्। कुनै कलाकर्मीले राजनीतिक दलको सांस्कृतिक मोर्चामै आबद्ध भएर क्रियाशीलता देखाइरहेका छन्, कुनै–कुनैले चाहिँ केवल दलविशेषप्रति आबद्धता मात्र जनाउँदै आएका छन्।

एकाधलाई छाडेर बहुसंख्यक कलाकर्मीहरू दल–बदलको ‘बिमार’बाट पीडित त छन् नै, उनीहरू विनास्वार्थ न राजनीतिक दलमा प्रवेश गर्छन्, न सदस्यता ग्रहण गर्न रुचाउँछन् भन्ने दृष्टान्त कुनै राजनीतिक दलमा प्रवेश गरेलगत्तै महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेबाटै प्रष्ट हुन्छ।

उदाहरण नै दिनुपर्दा लोकप्रिय गायिका कोमल वलीलाई नै लिन सकिन्छ। केही वर्षपूर्व मात्र हिन्दू राष्ट्र र राजतन्त्रको वकालत गर्ने राप्रपा (नेपाल) मा रहेर राजनीति गरिरहेकी वली पछि भने एकाएक एमालेमा प्रवेश गरिन्। सोही अवधिताका नायिका रेखा थापाले चाहिँ राप्रपा ‘ज्वाइन’ गरिन्। एमाले प्रवेशसँगै वली राष्ट्रिय सभामा मनोनीत भइन्, एमालेको दसौं महाधिवेशनपछि केन्द्रीय सदस्यसमेत बनिन्। एमालेकै सांस्कृतिक वृत्तमा आजीवन सक्रिय मधु गुरुङजस्ता साधकहरूचाहिँ केन्द्रीय कमिटीमा पर्नबाट वञ्चित बनिन्।

एमाले–प्रवेश गायिका वलीलाई त फलिफाप नै सावित भयो। एमालेले पनि वलीलाई पार्टीमा स्वागत गर्दा पार्टीगत लाभ देखेरै भित्र्याएको हुनुपर्छ। किनभने, जन–मनोविज्ञानलाई राजनीतिक दलहरूले यति दरिद्र तुल्याइसकेका छन्, कुनै चुनावी सभा हुँदा होस् वा जनसमूह जुटाउने कुनै कार्यक्रम गर्दा होस्, सेलिब्रिटीहरूलाई उभ्याउँदा अतिरिक्त मिहिनेत गरिरहनु पर्दैन भन्ने कुरा राजनीतिक पार्टीहरूले राम्ररी ठम्याइसकेका छन्। धन्न, अहिलेसम्म नायक राजेश हमालले कुनै पार्टी रोजिसकेका छैनन् तर कुनै समयका उनका जोडी नायिका करिष्मा मानन्धर भने केही समयपूर्व एमाले प्रवेश गरेकी थिइन्।

‘सेलिब्रेटी’हरूलाई चुनावी सभामा भीड जुटाउनका निम्ति कसरी प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण राजनीतिक दलहरूले दशकौंअघि महसुस गरिसकेका हुन्। २०५६ सालको आमनिर्वाचनमा रौतहट–१ र ४ बाट एमालेका तत्कालीन नेता माधवकुमार नेपालले जिते। नेपालले दुई निर्वाचन क्षेत्रमा जितेका हुँदा केही महिनापछि रौतहट–४ मा उपनिर्वाचन सम्पन्न भयो। सो उपनिर्वाचनमा नेपाली कांग्रेसका नेता प्रकाश कोइराला उठेका थिए।

निर्वाचनका प्रत्यासी आफ्ना बाबु कोइरालालाई जिताउन बलिउड नायिका मनिषा कोइराला दिलोज्यान दिएर रौतहटको गाउँ–गाउँमा घुमिन्। बाबुको पक्षमा मत मागिन्। नायिका मनिषा जुन–जुन ठाउँमा पुग्थिन्, जनसमुदायको थामिनसक्नु भीड लाग्थ्यो। मनिषालाई एक नजर लगाउन आउनेहरूको यति भीड जुटेको थियो कि, भीडमात्र जुटाउन कुनै कसरत गरिरहनु परेको थिएन। परिणामस्वरुप, कोइरालाले उपनिर्वाचनमा सफलता पाए।

आम जनतामा फिल्मी–कलाकार वा चर्चित गायकहरूप्रति ‘क्रेज’ हुनु स्वाभाविकै हो। पर्दामा देखिइरहने सिनेकर्मी वा कुनै गायक\ गायिकालाई प्रत्यक्षतः देख्न र हेर्न पाउने लालसा हाम्रोजस्तो समाजका बहुसंख्यक जनहरूलाई हुनु अन्यथा ठान्न मिल्दैन। अझ, सेलिब्रेटीहरूको क्रेज कतिसम्म हुँदोरहेछ भन्ने दृष्टान्त माओवादी नजरमा ‘बुर्जुवा’ रेखा थापालाई सडकमा नचाउन कुनै समय सो राजनीतिक शक्ति तयार रहेबाटै ठम्याउन सकिन्छ। २०६६ सालतिर माओवादीले सडक आन्दोलन गरेको बेला रेखा थापालाई भद्रकालीनिर नचाएबाट नै थाहा हुन्थ्यो कि, सेलिब्रेटीहरूलाई पार्टीको कार्यक्रम वा आन्दोलनमा सरिक गराउँदा भीड बटुल्न यथेष्ट सहयोग मिल्छ। नभए, गायिका वलीलाई एमालेमा प्रवेश गराएपछि अध्यक्ष केपी शर्मा ओलीले उनलाई आफ्ना कार्यक्रममा गीत गाउन किन लिएर हिँड्थे ?

पछिल्ला दशकहरूमा राजनीतिक दलहरूले फिल्मी कलाकार वा लोकप्रिय गायक\गायिकालाई पार्टी प्रवेश गराउने र उनीहरूलाई भीड जुटाउन ‘प्रयोग’ गर्ने क्रम निकै बढ्दो छ। पूर्ववर्ती समयमा ‘राजनीति’ शब्द सुन्नासाथ उदासीनता देखाउने कलाकर्मीहरूमा पनि पछिल्लो समय भने राजनीतिक दलमा आबद्ध हुँदा प्राप्त हुने लाभको पद, सम्मान र पुरस्कार देखेपछि तछाँडमछाँड गरी पार्टीहरूमा आबद्ध हुने लहर नै चल्न थालेको छ। कुनै समय राजनीतिक दलका नेता र कलाकारबीच ‘सम्मान’ को सम्बन्ध थियो, अब भने त्यो सम्बन्ध स्वार्थमा परिणत भइसकेको छ।

छैन कामधन्दा, राजनीतिमा मोह

आगामी मंसिर ४ गते संघीय र प्रदेश सभाको निर्वाचनको मिति घोषणा भइसकेको छ। निर्वाचनको प्रारम्भिक सरगर्मीसमेत सुरु भइसकेको छ। कतिपय त आफ्नो उम्मेदवारीको दावी गर्ने उपक्रममा समेत जुटिसकेका छन्।

अबका दिनहरूमा ‘फलानो कलाकारको नेतृत्वमा यति कलाकार फलानो पार्टीमा प्रवेश गरे’ वा ‘फलानोले फलानो राजनीतिक दलको चुनावी गीत लेखे वा गाए’ भन्ने आशयका समाचार आउँदा अचम्म मान्नु पर्दैन।

त्यसो त, निर्वाचनको पूर्वसन्ध्यामा लहर लागेर पार्टी–प्रवेश गर्दा त्यसले सम्बन्धित राजनीतिक दललाई अनेक कोणबाट फाइदा हुनेमा कुनै सन्देह देखिँदैन। राजनीतिक दलहरूले मूलतः केही पक्षमा लाभ बटुल्नका निम्ति कलाकर्मीहरूलाई पार्टी–प्रवेश गराउन चाहन्छन्। एक त, कलाकर्मीहरूलाई निर्वाचनको बेलामा प्रयोग गर्दा मतदाताहरूलाई सहजै प्रभावित तुल्याउन सकिन्छ। दोस्रो, मिडियाको पनि राम्रै ‘कभरेज’ पाइन्छ। सबभन्दा मुख्य त भीड जुटाउनु हो र कुनै चुनावी सभा आयोजना गर्दा भीड जम्मा गराउन ‘सेलिब्रिटी’हरूको उपस्थितिले ठुलो सहजता ल्याउँछ।

कतिपय कलासाधक ‘दीर्घकालीन स्वार्थ’ बोकेर निर्वाचनको बेला राजनीतिक दलहरूमा आबद्ध हुन चाहन्छन्। तर कतिपय भने अल्पकालीन वा चुनावी समयसम्मका लागि मात्र। जस्तैः चुनावी गीत तयार पार्ने वा चुनावी सभाहरूमा सम्बन्धित राजनीतिक दलको प्रचार–गीत गाउने कलाकारहरूले राजनीतिक प्रतिबद्धता भन्दा पनि बकाइदाले आर्थिक लाभ लिएरै काम गरेका हुन्छन्। यस्ता अनेक दृष्टान्त छन्। चाहे बद्री पंगेनी हुन् वा अरू कलाकार। उनीहरूले निश्चित पारिश्रमिक लिएरै चुनावी सभामा गीत गाउँछन् भन्ने कुरा बाहिर आइसकेको विषय हो।

निर्वाचनमा सफलता प्राप्त गर्ने ध्येय सबै राजनीतिक दलले सँगालेका हुन्छन्। त्यसका निम्ति अनेक हतकण्डा अपनाउन चाहन्छन्, सबै दल। चाहे सामाजिक सञ्जाललाई प्रयोग गरेर होस् वा कलाकारहरूलाई हातमा लिएर होस्। ‘सेलिब्रिटी’हरूलाई पार्टीमा प्रवेश गराएर वा कुनै आर्थिक लाभ दिएर होस्, प्रयोग गर्नुलाई पनि एक किसिमको हतकण्डा नै मान्न सकिन्छ।

बलिउड र भारतीय राजनीतिबीचको सम्बन्ध यति कसिलो रह्यो कि, भारतका राजनीतिक दलका शीर्षस्थ नेतृत्वले समेत बलिउडका कलाकारहरूसँग निकट सम्बन्ध राख्नुका साथै निर्वाचनको बेला भरपूर सहयोग लिने क्रम लामो समयदेखि चल्दै आइरहेको छ।

बलिउड कलाकारको ‘राजनीति–क्रेज’

सन् २००३ मा भारतको गुजरात प्रान्तको विधानसभा निर्वाचन हुँदाताका भारतीय टेलिशृंखलाका चर्चित कलाकार स्मृति इरानी भाजपा (भारतीय जनता पार्टी) मा प्रवेश गरिन्। भाजपामा प्रवेश गर्दा उनले भनेकी थिइन्, ‘म जमिनसँग जोडिएको कार्यकर्ता बन्न चाहन्छु।’

कलाक्षेत्रमा लोभलाग्दो उचाइँ बनाइरहेकी बेला इरानीले किन राजनीतिको कष्टप्रद मैदानमा हिँड्ने रुचि देखाइन् ? यो प्रश्नको समाधान पछि आफैँ भयो। समयान्तरमा तिनै इरानी ‘कार्यकर्ता’मा मात्र सीमित भइनन्। पछि त उनी भाजपाको प्रभावशाली नेतृकी रुपमा पार्टी–राजनीतिमा उदाइन्। नरेन्द्र मोदी नेतृत्वको सरकारमा दुई–दुई पटक प्रभावशाली मन्त्रीसमेत बनिन्। उनी अहिले अल्पसंख्यक मामिला मन्त्री छिन्।

अर्को उदाहरण हुन्, मनोज तिवारी। भोजपुरी फिल्मका चर्चित यी नायकले पछिल्लो समय पूरै राजनीतिलाई रोजे। उनको लोकप्रियतालाई भजाउँदै भाजपाले राजधानी नयाँदिल्लीको पार्टी प्रमुख बनायो। नयाँदिल्लीको विधानसभा निर्वाचन उनकै नेतृत्वमा लडियो। नयाँदिल्लीमा भाजपालाई सफलता मिलेन तर मनोजको ‘अनुहार’का कारण भाजपाले सम्मानजनक स्थान पायो।

कलाक्षेत्रमा चम्किएर राजनीतिमा प्रवेश गरी सफलता बटुल्ने कलासाधकहरू भारतमा दर्जनौं छन्। रजनीकान्त वा कमल हासन ‘व्याक’ हुनुलाई अपवाद मानिएला, तर भारतमा यो उपक्रम सन् साठीको दशकदेखि नै सुरुआत भएको हो। खासगरी, दक्षिण भारतीय कलाकारहरूले यो क्रमको सुरुआत गरे। कुनै समयका फिल्मको पटकथा–लेखक एम. करुणानिधि र फिल्मी कलाकार एम.जी. रामचन्द्रन तमिलनाडुको मुख्यमन्त्री बने। कलाकारितामै चम्किएकी जयललिताले पछि राजनीतिलाई रोजिन् र उनी पनि बनिन्, तमिलनाडुकै मुख्यमन्त्री।

निकै लामो सूची बन्छ। अमिताभ बच्चनदेखि हेमा मालिनीसम्मका। जयप्रदा, राज बब्बर, शत्रुघ्न सिन्हा, परेश रावलले कसैले चुनावमार्फत र कसैले मनोनयनमार्फत भारतको संसद भवनमा टेकिसकेका छन्। भारतीय नेताहरूमा फिल्मको प्रभाव यति गहन देखिन्छ कि, कुनै समय बिहारका मुख्यमन्त्री लालुप्रसाद यादवले समेत एउटा फिल्ममा आफ्नो अभिनय क्षमता देखाएका थिए।

बलिउड र भारतीय राजनीतिबीचको सम्बन्ध यति कसिलो रह्यो कि, भारतका राजनीतिक दलका शीर्षस्थ नेतृत्वले समेत बलिउडका कलाकारहरूसँग निकट सम्बन्ध राख्नुका साथै निर्वाचनको बेला भरपूर सहयोग लिने क्रम लामो समयदेखि चल्दै आइरहेको छ।

बलिउडमा होस् वा हामीकहाँ नै, फाइदा दुवैले उठाइरहेका छन्, राजनीतिक दल र कलाकारहरूले। अझ, राजनीतिक दलहरूलाई त ‘सेलिब्रिटी’हरूलाई चुनावमा उभ्याउँदाका अतिरिक्त लाभ पनि छ। किनभने, चुनाव जित्नलाई कुनै दरिलो सांगठनिक आधार चाहिन्छ तर ‘सेलिब्रिटी’ उठे भने वा उनीहरूलाई प्रयोग गरियो भने सांगठनिक आधार पनि तपसिलका विषय बन्न पुग्छन्।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved