मकवानपुरमा गठबन्धन : संघमा विरोध र डिनाको दाबी, माओवादीले नपाउने सम्भावना

खतिवडाले हालसम्म मकवानपुरबाट निर्वाचन हारेका छैनन् । उनले कांग्रेस नेतृ डीनालाई मात्रै तीन पटक पराजित गरेका हुन्। यसअघि २०४८ र २०५१ मा भएको निर्वाचनमा डीनालाई पराजित गरेका थिए । यसअघि उनी २०४८, ०५१ र ०५६ र ०७४ को निर्वाचनमा पनि विजयी भइसकेका छन् ।

मकवानपुरमा गठबन्धन : संघमा विरोध र डिनाको दाबी, माओवादीले नपाउने सम्भावना

हेटौंडा । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारीसँगै मकवानपुरमा सम्भावित उम्मेदवारको चर्चा सुरू भएको छ । सरकारले चुनाव मिति घोषणा गरेसँगै मकवानपुरमा प्रदेश र प्रतिनिधिसभाको टिकट कसले पाउँलान् भन्ने अड्कलबाजी सुरु भएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा हाल क्षेत्र नम्बर १ मा नेकपा एमालेका कृष्णप्रसाद दाहाल र २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा सांसद छन् । दुई क्षेत्रमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले सिट दाबी गर्दा माओवादी रित्तै हुने अवस्था देखिन्छ । गठबन्धनबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री खतिवडाले दाबी गरेका छन् ।

रोचक कुरा त के छ भने अघिल्लो चुनावमा एक अर्काका प्रतिस्पर्धी खतिवडा र ‘डिना’ आगामी निर्वाचनमा जिल्लामा गठबन्धन हाँक्ने तयारीमा छन् । खतिवडाले अघिल्लो चुनावमा क्षेत्र नम्बर दुईमा डिनालाई १२ हजार भन्दा बढी भोटले पराजित गरेका थिए । त्यतिबेला खतिवडा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त उम्मेदवार थिए ।

खतिवडाले हालसम्म मकवानपुरबाट निर्वाचन हारेका छैनन् । उनले कांग्रेस नेतृ डीनालाई मात्रै तीन पटक पराजित गरेका हुन्। यसअघि २०४८ र २०५१ मा भएको निर्वाचनमा डीनालाई पराजित गरेका थिए । यसअघि उनी २०४८, ०५१ र ०५६ र ०७४ को निर्वाचनमा पनि विजयी भइसकेका छन् ।

यसरी संघमा विरोध र डीनाको दाबीसँगै माओवादीले भाग नपाउने अवस्थामा प्रदेशसभामा टिकट दिएर सन्तुलन मिलाउने प्रयासमा सत्ता गठबन्धन लागेको छ । गत स्थानीय तहको निर्वाचनमा मकवानपुरमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो भएका छन् । त्यसैलाई टेकेर कांग्रेसले एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभामा दाबी गरेको छ । त्यस्तै माओवादीले प्रदेशको तीन सिटमा दाबी गरेपनि दुई सिटमा सहमत हुने सम्भावना छ ।

नेपाली कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँलाई १ नम्बर क्षेत्रमा उठाएर ‘डिना’लाई समानुपातिक सूचीमा राख्ने कांग्रेस भित्र चर्चा चले पनि बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री बन्न पुनः प्रदेशसभामै लड्ने मनसायमा देखिन्छन् । गठबन्धनबाट आलोपालो मुख्यमन्त्री बन्ने लिखित सहमति भए पनि नपाएका बानियाँ प्रदेशमै चुनाव लड्ने तयारीमा रहेको कांग्रेस नेताहरु बताउँछन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमै क्षेत्र नम्वर १ बाट उम्मेदवार बन्ने तयारी गरेका बानियाँ अन्तिम क्षणमा कमल थापालाई आफ्नो क्षेत्र सुम्पेर क्षेत्र नम्बर २ को ‘क’ बाट लडेका थिए ।

मकवानपुरमा गठबन्धनले प्रदेशसभा निर्वाचनमा भागबण्डाको ड्राफ्ट गरिसकेको जनाइएको छ । यसरी प्रदेशतर्फ माओवादी र कांग्रेसले २-२ सीट लिने गरी भागबण्डा गरेका छन् । संघको टिकट नपाउँदा माओवादीले प्रदेशको ३ सिट दाबी गरेको छ । तर, लेनादेना गर्दा २–२ सिटमा कुरा मिल्नुपर्ने कांग्रेस नेता बताउँछन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ माओवादी र ‘ख’ कांग्रेसले लिनेबारे छलफल भइरहेको जनाइएको छ । ‘क मा माओवादीका प्रेमबहादुर पुलामीको सम्भावना छ । माओवादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष पुलामी गत निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए । उनले गत निर्वाचनमा २१ हजार बढी भोट प्राप्त गरेका थिए । उनले नेपाली कांग्रेसका धर्मराज लामिछानेलाई २८ सय भन्दा बढि भोटले पराजित गरेका थिए ।

प्रदेशसभा १ ‘ख’ मा कांग्रेसबाट आनन्दराम पराजुलीको चर्चा छ । स्थानीय तहमा हेटौँडा उपमहानगरपालिकाको मेयर पदका दाबेदार रहेका पराजुली सत्ता गठवन्धनको भागवण्डाको कारण मेयर बन्न पाएका थिएनन् । त्यसकारण पनि उनी यो पटक प्रदेशसभाका स्वत दाबेदार बताइएको छ । प्रदेशसभा १ ख मा यसअघि एमालेबाट डोरमणि पौडेलले जीत हासिल गरेका थिए । उनी बागमती प्रदेशका पहिलो मुख्यमन्त्री समेत बनेका थिए ।

त्यस्तै समाजवादीका नेता खतिवडा उम्मेद्वार बन्दा क्षेत्र नम्बर २ को क ‘क’ माओवादीलाई र ‘ख’ कांग्रेसलाई पर्ने सम्भावना छ । उक्त दुवै क्षेत्रमा पुरानै उम्मेदवार दोहोरिन सक्ने चर्चा छ । ‘क’ मा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान र ‘ख’ बाट इन्द्रबहादुर बानियाँ नै उम्मेदवार हुन सक्ने चर्चा छ ।

यसअघि कांग्रेसको भागमा परेको क्षेत्रबाट पार्टीको जिल्ला सभापति रहेका बुद्ध लामा उम्मेद्वार बन्ने चर्चा समेत चलेको थियो । तर अहिले भने बाँनिया नै पुन ∶ उठने देखिएको छ । उनले आफ्नो क्षेत्रमा चुनावी गतिविधि समेत बढाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved