प्रतिनिधिसभा निर्वाचन

काठमाडौं ७ : कांग्रेसबाट निलकाजीसहित आधा दर्जनको दाबी, एमालेबाट स्थापित कि मानन्धर ?

अघिल्लो निर्वाचनमा विजयी भएका रामवीर मानन्धर एमालेका बलियो उम्मेदवार हुन् । तर, स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध गएकाले एकथरी नेता कार्यकर्ता उनीसँग निकै असन्तुष्ट छन् । चुनावमा मानन्धरले स्थापितको खुलेर आलोचना गरेका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत हेर्दा काठमाडौं ७ मा कांग्रेस बलियो देखिएको छ । एमालेको भन्दा उसको झन्डै दुई हजार मत बढि छ । त्यसमाथि गठबन्धनका दलको समर्थन पाए  सहजै निर्वाचन जित्न सक्ने कांग्रेसको आकलन छ ।

काठमाडौं ७ : कांग्रेसबाट निलकाजीसहित आधा दर्जनको दाबी, एमालेबाट स्थापित कि मानन्धर ?

काठमाडौं ।  निर्वाचनको मिति घोषणासँगै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका सम्भावित उम्मेदवारको चर्चा सुरु भएको छ । काठमाडौं-७ मा पनि चुनावी सरगर्मी बढेको छ । संघीय निर्वाचनमा उम्मेदवार बन्न चाहनेले प्रभावशाली नेतासँगको भेटघाट बढाएका छन् ।

काठमाडौं ७ बाट संघीय सांसदको उम्मेदवार बन्न केन्द्रीयदेखि क्षेत्रीय तहका नेताहरूले आकांक्षा राखेका छन् । स्थानीय तहको मतमा पहिलो शक्ति बनेको कांग्रेसमा आकांक्षी धेरै छन् । यद्यपि, २०७४ को निर्वाचनमा यो क्षेत्रबाट एमालेका रामवीर मानन्धर निर्वाचित भएका थिए । उनले कांग्रसले समर्थन गरेको राप्रपाका उम्मेदवार विक्रम थापालाई हराएका थिए । माओवादीको समर्थन पाएका एमालेका मानन्धरले राप्रपाका थापालाई ८ हजार भन्दा बढी मतको फराकिलो अन्तरले पराजित गरेका थिए । मानन्धरले १८ हजार १०२ मत प्राप्त गर्दा थापाले १० हजार ७९ मात्रै पाएका थिए ।

एमाले नेता मानन्धरले यसअघि ०७० सालमा कांग्रेसकी प्रमिला डंगोल र माओवादीकी हिसिला यमीलाई पराजित गरेका थिए । तर, योपटक समीकरण ठीक उल्टो देखिन्छ । नेकपा माओवादी कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनमा छ भने राप्रपाले एमालेसँग तालमेलका लागि छलफल गरिरहेको छ । गठबन्धनमा रहेको कांग्रेसलाई भने यो क्षेत्र नछोड्न कार्यकर्ताको दबाब छ । स्थानीय तहमा प्राप्त गरेको मतका कारण आकांक्षी थप हौसिएका छन् ।

अहिले कांग्रेसबाट आधा दर्जन भन्दा बढी आकांक्षीको चर्चा छ । गठबन्धन भए एमालेका उम्मेदवारलाई सहजै जित्न सकिने उनीहरूको आकलन छ । कांग्रेसमा आकांक्षी खुले पनि गठबन्धनमा रहेका अरू दलले भने कार्यदलको निर्णय पर्खिरहेका छन् । त्यसो त उनीहरूसँग कांग्रेसको भन्दा निकै कम मत छ ।

कांग्रेसका दाबेदार 

अहिले क्षेत्र नम्बर ७ बाट संघीय सांसदको उम्मेदवार बन्न कांग्रेसमा आधा दर्जनभन्दा बढी अनुहार देखिएका छन् । कतिपय नेता त पार्टीबाट टिकट नपाउँदै मतदाता भेट्ने र आफ्नो माहोल बनाउन सक्रिय देखिन्छन् ।

महाधिवेशन प्रतिनिधि विजयबहादुर मालीले योपटक आफूले टिकट पाउनुपर्ने बताउँदै आएका छन् । प्रकाशमान सिंहका निकट रहेका माली नेपाली कांग्रेस काठमाडौंका पूर्व जिल्ला उपसभापति समेत हुन् । यता सिंहकै छत्रछायाँमा रहेका दक्ष पौडेलले पनि लबिइङ गरिरहेका छन् । व्यापारिक पृष्ठभूमिका पौडेलले शशांक कोइरालासँग पनि छलफल गर्न थालेको बताइन्छ । उनी पनि कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।

यस्तै, प्रकाशमान निकट प्रमोदहरि गुरागाईंले पनि चाहना राखिरहेका छन् । त्यसो त यसअघि दुई-दुईपटक संविधान सभाको निर्वाचनमा पराजय भोगेकी प्रमिला सिंह डङ्गोलले पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न लबिङ गरिरहेकी छन् ।

यता युवा पुस्ताका नेता सुशील भट्ट पनि काठमाडौं-७ बाट उम्मेद्वार बन्ने लबिइङमा छन् । नेता कृष्णप्रसाद सिटौलाको निकट रहेका सुशील स्थानीय राजनीतिमा भने क्षेत्रीय सभापति मुकुन्द रिजालको नजिक छन् । प्राय: धेरैजसो कार्यक्रममा उनी रिजालसँगै देखिन्छन् ।

यस्तै काठमाडौं महानगरपालिकाको प्रमुखमा दाबी गरेका नीलकाजी शाक्य पनि टिकटका लागि इच्छुक देखिएका छन् । कांग्रेसको महानगर सभापति समेत रहेका शाक्य मेयरको टिकट नपाएकाले प्रतिनिधिसभामा पाउनुपर्ने भन्दै लागेका छन् । तरुण दलको नेतृत्व गरेर काठमाडौंमा उनले दुई कार्यकाल काम गरेका थिए । कांग्रेसले यिनै मध्येबाट एक जनालाई टिकट दिने सम्भावना छ ।

एमालेबाट मानन्धर कि स्थापित ?

नेकपा एमालेले पनि अहिले निर्वाचन केन्द्रीत छलफल गरिरहेको छ । गठबन्धनलाई हराउन को उम्मेद्वार बनाउँदा ठिक हुन्छ भनेर उसले आन्तरिक जाँच गरिरहेको छ । हालका सांसद रामवीर मानन्धर र मेयरमा पराजित केशव स्थापित यो क्षेत्रबाट मुख्य दाबेदार हुन् ।

स्थानीय तह निर्वाचनमा चर्चामा रहेका दुई व्यक्ति नै प्रतिनिधिसभाको उम्मेद्वार बन्ने चर्चामा छन् । यी मध्ये एमालेले कसलाई टिकट देला या राप्रपासँग तालमेल गर्ला यो चासोको विषय बनेको छ । स्थानीय तहको निर्वाचनमा मेयरमा तेस्रो स्थानमा रहेका स्थापितले फेरि सुरसार गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू निर्वाचनको तयारीमा लागेको संकेत पनि गरेका छन् ।

यता, अघिल्लो निर्वाचनमा विजयी भएका रामवीर मानन्धर एमालेका बलियो उम्मेदवार हुन् । तर, स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध गएकाले एकथरी नेता कार्यकर्ता उनीसँग निकै असन्तुष्ट छन् । चुनावमा मानन्धरले स्थापितको खुलेर आलोचना गरेका थिए ।

एकीकृत समाजवादीले पनि दाबी गर्न सक्ने

विगतमा नेकपा एमालेबाट रामवीर मानन्धरसँग मुख्य प्रतिस्पर्धी रहेका बसन्त मानन्धर यसपटक एकीकृत समाजवादीमा छन् । उनी हाल प्रदेश सांसद छन् । एकीकृत समाजवादीको पनि उल्लेख्य मत रहेकाले यो क्षेत्रमा बसन्तका  लागि दाबी गर्ने सम्भावना छ । किनकी उनी यो क्षेत्रमा उनी लोकप्रिय पनि मानिन्छन् । तर एकीकृत समाजवादीको मत कांग्रेसको भन्दा निकै कम छ । जसका कारण गठबन्धनमा यो क्षेत्र कांग्रेसले नै पाउने देखिन्छ । केही गरी एकीकृत समाजवादीले पाएमा भने बसन्त नै उम्मेद्वार हुने छन् ।

यस्तै नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले पनि यो क्षेत्रबाट चुनाव लड्ने चाहना राखेकी छन् । गठबन्धनबाट नेसपालाई यो क्षेत्र दिने सहमति भएमा मानुषी नै उम्मेदवार हुनेछन् । प्रतिनिधिसभामा नपाए मानुषी प्रदेशसभामा जाने सम्भावना पनि छ ।

कांग्रेस बलियो

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत हेर्दा काठमाडौं ७ मा कांग्रेस बलियो देखिएको छ । एमालेको भन्दा उसको झन्डै दुई हजार मत बढि छ । त्यसमाथि गठबन्धनका दलको समर्थन पाए  सहजै निर्वाचन जित्न सक्ने कांग्रेसको आकलन छ ।

स्थानीय तहको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसले १४ हजार १ सय ६७, एमालेले १२ हजार २ सय २, एकीकृत समाजवादीले ३ हजार ८ सय ३९, राप्रपाले २ हजार २७, माओवादीले ५ सय ५६ र जनता समाजवादी पार्टीले १ सय ६२ मत प्राप्त गरेका थिए । गठबन्धनको मत जोड्दा एमालेको भन्दा ६ हजार ५ सय २२ बढि हुन्छ । यदि, एमाले र राप्रपाबीच तालमेल भयो भने पनि सत्ता इतरको गठबन्धनमा १४ हजार २ सय २९ मत  हुन आउँछ । यो मत पनि गठबन्धनको भन्दा ४ हजार ४ सय ९५ कम हो ।

मंसिर ४ गते हुने निर्वाचनमा मतदाता समेत थपिएकाले र उम्मेदवारको व्यक्तिगत प्रभावले पनि अर्थ राख्ने भएकाले अहिले नै यकिन गर्न भने सकिदैन । आफूले टिकट पाए र गठबन्धनका सबै दलले इमानदारिता देखाए एमालेलाई सहजै हराउन सक्ने कांग्रेस नेताको बुझाइ छ । यस क्षेत्रमा काठमाडौं महानगरपालिको वडा नं १६,१७, १५ र २५ तथा नागार्जुन नगरपालिकाको वडा न १ र तारकेश्वर नगरपालिकाको ३ र ५ पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved