इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम दिगो बन्नेमा आशंका, गाजामा खुसीयाली

७२ घण्टामा १५ बालबालिकासहित ४४ जनाको मृत्यु

युद्धविरामको घोषणासँगै गाजामा हजारौं मानिसले सडकमा निस्किएर खुसीयाली मनाएका छन् । स्थानीय नुर अबु सुन्तानले घरभित्रै लुकेर यस घोषणाको प्रतीक्षा गरिरहेको बताए । ‘हामी धेरै दिनदेखि सुतेका छैनौं । गर्मी, आक्रमण र रकेटको मारमा थियौँ, हामीमाथि उडिरहेको हवाईजहाजको आवाज पनि डरलाग्दो थियो,’ २९ वर्षीय अबुले भने । 

नेपालभ्युज

इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम दिगो बन्नेमा आशंका, गाजामा खुसीयाली

काठमाडौं । इजरायल र प्यालेस्टाइनको सैन्य समूह इस्लामिक जिहादले युद्धविराम घोषणा गरेका छन् । यससँगै तीन दिनदेखि गाजा क्षेत्रमा इजरायलले लगातार गरिरहेको बम वर्षा समाप्त हुने आशा गरिएको छ । यस अवधिमा प्यालेस्टाइनमा कम्तिमा ४४ जनाको मृत्यु भयो, जसमध्ये १५ जना बालबालिका छन् ।

आइतबार ११ बजे ३० मिनेट जाँदा युद्धविराम सुरु भएको हो । तर, आफूमाथि कुनै आक्रमण भएमा त्यसको जवाफ आक्रमणले नै दिने चेतावनी पनि दुवैले एकअर्कालाई दिएका छन् । युद्धविराम घोषणासँगै गाजा शहरका स्थानीय सरकारी कार्यालयले सेवा खुला गरेका छन् । त्यस्तै, विश्वविद्यालयहरूले पढा पुनः सञ्चालन गर्ने जनाएका छन् । गाजा महानगर र अन्य नगरपालिकाहरूले पनि बम बिस्फोटबाट ध्वस्त भएका संरचनाहरूको भग्वावशेष हटाउन जनशक्ति तथा उपकरण पठाउने घोषणा गरेका छन् ।

शुक्रबारयता इजरायलले लगातार हमला गर्दा यहाँका भवन ढलेका थिए । त्यसैगरी, शरणार्थी शिविर वरपर पनि आक्रमणको असर परेको थियो । इजरायलले इस्लामिक जिहादका सदस्यलाई निशाना बनाएर आक्रमण गरिरहेको दाबी गरेको छ । यद्यपि, सर्वसाधारणले भने आक्रमणमा ठूलो क्षति व्यहोर्नुपरेको छ । प्यालेस्टाइनी अधिकारीका अनुसार मृत्यु भएका ४४ जनामध्ये आधा भन्दा बढी सामान्य नागरिक छन्। यस्तै,  ३ सय ५० भन्दा धेरै प्यालेस्टाइनी घाइते भएका छन् ।

इस्लामिक जिहादले पनि इजरायलतर्फ सयौं रकेट प्रहार गरेको थियो । तर तीमध्ये अधिकांश रकेटलाई इजरायलले भुइँमा नखस्दै निस्क्रिय बनाइदियो । इजरायली अपतकालीन सेवाका अनुसार तीनजना मानिस छर्रा लागेर घाइते भएका छन्, त्यस्तै, ३१ जनालाई हल्का चोट लागेको छ । गत वर्ष गाजामा ११ दिनसम्म यस्तै, युद्ध चलेको थियो, त्यसक्रममा २ सय ५० जनाले ज्यान गुमाएका थिए ।

बन्दी रिहा
संयुक्त राष्ट्रसंघ र कतारको सहयोगमा इजिप्टले आइतबार इस्लामिक जिहाद र इजरायलबीच मध्यस्थता गराएको हो । इस्लामिक जिहादका महासचिव जियद अल नाखालाका अनुसार इजरायलमा बन्दी बनाइएका दुई नेतालाई रिहा गर्ने विषयमा पनि वार्तामा सहमति जुटेको छ । ‘इस्लामिक जिहाद आफ्ना शर्तहरूमा कायम छ । पहिलो, सबै प्यालेस्टाइनीलाई एकीकृत बनाउने । दोस्रो, भोक हड्ताल गरिरहेका खलिल आवादा र सेख बस्समे अल सादीलाई रिहा गरिनुपर्ने,’ इरानको राजधानी तेहरानमा आयोजित पत्रका सम्मेलनमा अल नाखालाले भने ।

इजिप्टले विज्ञप्ति जारी गर्दै आवादाको रिहाइ गर्न र उनलाई उपचारका लागि पठाउन आफूले सक्दो पहल गरिरहेको जनाएको छ । त्यस्तै, चाडैँभन्दा चाडैँ अल सादीको रिहाइका लागि पनि कोसिस भइरहेको जनाएको छ । इजरायलले यस विषयमा कुनै टिप्पणी गरिसकेको छैन ।

पछिल्लोपटक युद्ध सुरु हुनुको एउटा मुख्य कारण अल सादीको पक्राउ हो । उनलाई गत साता इजरायलले वेस्ट बैंकबाट पक्राउ गरेको थियो । यसपछि इजरायली फौजले गाजा क्षेत्रमा लगातार हमला थाल्यो, सादी पक्राउ परेपछि इस्लामिक जिहादले प्रत्याक्रमण गर्नसक्ने भन्दै इजरायलले त्यसअघि नै निशाना साँधेको थियो । आक्रमणका क्रममा शुक्रबार इस्लामिक जिहादका दुई कमान्ड ताइसिर अल जाबारी र खलिद मन्सुर मारिए ।

त्यसैगरी, इस्लामिक जिहादका १९ थप सदस्यहरूलाई पनि इजरायलले पक्राउ गरेको छ । ‘इजरायलको विषयमा भन्नुपर्दा यो अपरेसन समाप्त भइसकेको छ । इजरायलीहरूको लक्ष्य इस्लामिक जिहादलाई सके समाप्त गर्ने नभए कमजोर बनाउने थियो । अहिले यसका शीर्ष नेताहरू मारिएका छन्,’ वेस्ट जेरुसलेमबाट नताशा घोनियमले भनिन् ।

हमास र इस्लामिक जिहादबीच समेत इजरायलीहरूले विभाजन सिर्जना गरेको घोनियमले बताइन् । गाजापट्टीमा धेरै वर्चश्व हमासकै छ । २००७ मा यस क्षेत्र कब्जामा लिएयता हमासले चारपटक इजरायलसँग लडिसकेको छ । ‘यदि, यो अपरेसन चलिरह्यो र मृतकको संख्या बढ्यो भने हमास पनि युद्धमा सहभागी हुन्छ भन्ने चिन्ता थियो । तर, अहिलेलाई त्यस्तो भएको देखिएन, हमास साइड लाईनमै बस्यो,’ घोनियमले भनिन् ।

हजारौँ मानिसले मनाए खुसीयाली

युद्धविरामको घोषणासँगै गाजामा हजारौँ मानिसले सडकमा निस्किएर खुसीयाली मनाएका छन् । स्थानीय नुर अबु सुन्तानले घरभित्रै लुकेर यस घोषणाको प्रतिक्षा गरिरहेको बताए । ‘हामी धेरै दिनदेखि सुतेका छैनौँ । गर्मी, आक्रमण र रकेटको मारमा थियौँ, हामीमाथि उडिरहेको हवाइजहाजको आवाज पनि डरलाग्दो थियो,’ २९ वर्षीय अबुले भने ।

संयुक्त राष्ट्रसंघ र अमेरिकाले पनि यस घोषणाको स्वागत गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना इजिप्टेली समकक्षी अब्देल फतेह इल सिसीलाई युद्धविरामका लागि मध्यस्थता गर्न सफल भएकोमा धन्यवाद दिएका छन् । उनले सर्वसाधारणले ज्यान गुमाउनु दु:खद् रहेको भन्दै यसबारे अनुसन्धान हुनुपर्ने बताएका छन् ।

तत्काललाई युद्ध रोकिए पनि गाजामा रहेका प्यालेस्टाइनीले जीवन सामान्य अवस्थामा नफर्कने बताएका छन् । ‘गाजाका मानिस सामान्य अवस्थामा फर्कने छैनन् किनकि उनीहरू अझै पनि इजरायलको कब्जामा बाँचिरहेका छन् । विगत १५ वर्षदेखिको यो एक शान्त हिंसा हो । जो, इजरायलका पूरुष, महिला र बालबालिकामाथि २४ सै घण्टा, ३ सय ६५ दिन भइरहेको छ ,’ कब्जामा रहेका प्यालेस्टाइनी भूभागबारे रिपोर्टिङ गर्ने वेबसाइट द इलेक्ट्रोनिक इन्तिफादाका निर्देशक अली अबुनिमाहले भने, ‘र, विडम्बना यो दु:खद् छ । फेरि यस्तो हुनेवाला छ । यो भोलिपल्टै हुन्छ वा एक सातामै हुन्छ वा वर्षमा हुन्छ भनेर म ठोकुवा गर्दिँन । तर, फेरि यस्तो हुनेवाला छ किनकि, प्यालेस्टाइनी जनतामाथि अपराध गर्न इजरायललाई छुट छ । छुट मात्रै होइन, उसले यस्तो हर्कतका लागि साथ सहयोगसमेत पाएको छ । याद गर्नुस्, अमेरिका, ईयु र क्यानाडाले पठाएका हतियारबाटै इजरायलले गाजामा बमबारी गरेको थियो । उनीहरू सबै इजरायलको पक्षमा छन् ।’

उनले थपे,‘यी तीनै देश हुन्, जसले युक्रेनमा आक्रमणको प्रतिरोध गर्न खर्बौं डलर पठाएका छन् । तर, यहाँ उनीहरूले इजरायललाई भूमि कब्जा गर्न, आक्रमण गर्न र सर्वसाधारणमाथि आतंक सिर्जना गर्न सघाइरहेका छन् ।’

अल जजिराबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved