‘जब एउटा मान्छे हराउँछ’ मा हराउँदा

‘जब एउटा मान्छे हराउँछ’ मा हराउँदा

जीवनमा खुशी हुन गीत गाइरहनु पर्छ, चाहे त्यो सुखमा झुम्न लगाउने गीत होस् वा त पीडाको आँशु बगाउने। कसैलाई सम्झिएर वा खुशी भएर गीतमा डुब्नुको आनन्द विछट्टै मिठासपूर्ण हुन्छ। पानीमा रूझेर होस् वा आगोमा रापिएर, कसैका सामु झुकेर बस्दा होस् वा आफ्नै अहंकारको ज्वालामा दन्किएको बेला वा यो अस्तित्वमाथि नै प्रश्न गरिरहेको बेला नै किन नहोस्, हामी बस् मान्छे भएर गीत गुन्गुनाइरहेकै हुन्छौं।

जेलिइरहन्छन् समस्याहरू
भत्किरहन्छन् यात्राहरू
तर हरेक बिहान, उदाउँछ आशको नयाँ घाम
डढेलोले खाएको ठुटोमाथि बसेर एउटा चरीझैँ
गीत गाइरहन्छ जीवन !
(गीत गाइरहन्छ जीवन, पृष्ठ १९)

हामी आफूपछि सबैभन्दा बढी जे सोचिरहेका हुन्छौं त्यो हो- देश। देश प्रेम, मन र मस्तिष्कमा जति नै बोकेर बसे पनि त्यसलाई निकम्मा बनाउन लागिपरेको हुन्छ देशलाई कथित रूपमा चलाउन अघि सरेको सरकार। सरकारले जनतालाई एक संख्या, एक भोटसिवाय अरू कुनै दर्जा दिनै जान्दैन। हड्डी देख्नेबितिक्कै जसरी कुुकुरले झम्टिन्छ, त्यसैगरी सरकारले देशको ढुकुटीमा र्‍याल चुहाउने बाहेक केही गरेकै छैन। कवि चन्द्र गुरुङको जब एउटा मान्छे हराउँछ कवितासंग्रहभित्रका यी पंक्तिले यस्ता प्रश्न उठाउँछन्।

अलपत्र छ अनिकालमा छोडेर गएको घरजस्तै
भूकम्पमा ध्वस्त कुनै गाउँजस्तै
नयाँ बल्ब फेरिएको छैन
नयाँ रङ रङ्गाइएको छैन
ठडिएको छ यो बूढो ल्याम्पपोस्ट झैँ
समयको अँध्यारोमा मेरो देश ।
(बूढो ल्याम्पपोस्ट, पृष्ठ ३०)

चराहरू जसरी गुँड छोडेर जान विवश हुन्छन् जनताहरू। रातदिन एक गरेर आफैले बनाएको गुँडमा ओत नपाएपछि परायाको गुँडमा आश्रय पाउने मृगतृष्णा पालेर उडिहिंड्न बाध्य हुन्छन् जनताहरू।

आफन्तहरूबाट टाढिनुपरेपछि यादको भरमा हरेक पटक श्वास लिंदै आफुलाई जिवित राख्न अभिसप्त हुनुपरेको स्थितिमा प्रेम र विश्वासको दियो जलाई जूनको भरोसामा रात छर्लङ्ग बनाउनेहरूका निम्ति सुगन्धमय बन्नु परेको छ रगत र पसिना चुहाएरै पनि।

चराहरूले छोडेर गएपछि
झोक्रयाइरहन्छ एउटा रूख एक्लो एक्लो
झरिरहन्छ आँसुको नरमाइलो बर्सात्
ओइलिन्छन् जीवनका गीतहरू
कि रमाउँदै चिरबिराउने चराचुरुङ्गीहरू
उडी गएका छन् टाढाको परदेश ।
(चराहरूले छोडेर गएपछि, पृष्ठ ४९)

आफन्तसँग वर्षौंपछि पुन भेट हुँदा केही ठीकठाक नभए पनि सबै ठिकठाक भएको स्वाङ पार्दै आफ्ना ससाना बालबालिकाको खुशीमा खेल्नैपर्ने बाध्यताबिच मनमा शान्ति छाएको र अपुरै रूपमा भए पनि समयलाई जितेको अनुभूति गर्नुको कुनै विकल्प रहन्न यहाँ। त्यसपछि कवि बन्दै कविताको स्वाद जीवनमा मिसाउने काम गर्नु कुनै ठुलो पहाड चढ्नुभन्दा गाह्रो बन्दैन। कवि र कविताका विच अन्योन्याश्रित सम्बन्ध कायम गर्न मातृभाषाको भरपुर उपयोग गर्नु एकमात्र उद्देश्य बन्न जान्छ।

युगौंदेखि
उमङ्गका वसन्तहरूमा
अभावका शिशिरहरूमा
हुर्काउँदै हृदयको कुनामा कविताका पालुवा
बाँचेको छ कुनै कविझैँ
त्यो बूढो पहाड ।
(त्यो बूढो पहाड, पृष्ठ ८३)

भौतिक सम्पत्तिले सम्पन्न हुनपुगेपनि छुवाछुतजस्तो अति नै निच व्यवहार कायम राख्नु हिमाल हिउँले जकडिए जस्तै भएको छ। सेतै हिउँले ढाकिएको हिमाललाई हेर्दा गर्वले छाती फुलाउनेहरू भने सेतै वस्त्रमा विधवालाई बेरेर राख्दै उनको अस्मितामाथि प्रश्न खडा हुन नदिने तुच्छ सोच पालेर बसेको छ यो समाज। भुइँचालोले सारा सहर सोत्तर बनाए पनि फूल भने मगमगाउनै पर्ने रे! काँडाबिच हाँसेरै फुल्नु पर्ने रे फूलले १ फूलको उपमा पाएका सृष्टिकै सुन्दर रचनाहरूले जति नै ठुलो भुइँचालो आएपनि आफ्नो अस्तित्व बचाउन हरदम प्रयासरत रहनुपर्ने र समाजमा सुगन्ध छरिरहनुपर्ने यो कस्तो पावन्दी सिर्जना गरिएको होरु के फूलले सधैं आफु चोखो भएको प्रमाण दिइरहनुपर्ने हरदमरु मालीले दिएको जुनसुकै पानी स्विकार्नुपर्ने तर फूलले भने छोइछिटो सहनुपर्ने कहाँको न्याय होरु

पानी–पँधेरोतिर
गल्ली–आँगनतिर
मेला–जात्रातिर
गाउँ–सहरतिर
सबैले भन्छन्–
तिमी पानी नचल्ने मान्छे !
(पानी नचल्ने मान्छे, पृष्ठ ९१)

यस्तो स्थितिमा एउटा मान्छेमा पलायन हुने सोच पलाउँछ र ऊ घरबाट, समाजबाट अनि देशबाटै हराउँछ। एउटा होइन दुइवटा होइन अनेकौं देशहरूमा भौंतारिन पुग्छ ऊ। यसको मूल्य परिवारले , समाजले र देशले नै चुकाउनुपर्छ। सजाय भने उसलाई जन्म दिने आमाले मुटु नै चिरिने गरी भोग्नुपर्छ, उसको मातृभूमिले बेहोर्नु पर्छ सारा नतिजा। यो जस्तो विसादपूर्ण दृष्य अरू केही हुनसक्छरु जब एउटा मान्छे हराउँछ यस्तै यस्तै परिस्थिति उद्घाटित हुन जान्छ सर्वत्र अनि मन भारी र शरीर कुँजो बन्न पुग्छ अन्तिम श्वाससम्म।

दैनिकीको सुरताल हराउँछ
आँसु थाप्ने हातको स्पर्श हराउँछ
समयको रूपरङ्ग हराउँछ
चराचुरुङ्गीको मधुर चिरबिर हराउँछ
हराउँछ मनको भित्ताबाट खुसियालीको चित्र
जब एउटा मान्छे हराउँछ ।
(जब एउटा मान्छे हराउँछ, पृष्ठ ११२)

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved