बोक्सीको आरोपमा दुई महिलामाथि कुटपिट, दुईजना पक्राउ

जलेश्वर नगरपालिका–६ धबौली टोलमा बस्ने ५५ वर्षीया कालोदेवी महतो र सोही ठाउँकी ५४ वर्षीया दुलरिया देवी राममाथि बोक्सीको आरोपमा २६ जेठमा कुटपिट भएको हो।

नेपालभ्युज

बोक्सीको आरोपमा दुई महिलामाथि कुटपिट, दुईजना पक्राउ

जनकपुरधाम। महोत्तरीमा बोक्सीको आरोपमा दुई महिलामाथि कुटपिट भएको छ।

जलेश्वर नगरपालिका–६ धबौली टोलमा बस्ने ५५ वर्षीया कालोदेवी महतो र सोही ठाउँकी ५४ वर्षीया दुलरिया देवी राममाथि बोक्सीको आरोपमा २६ जेठमा कुटपिट भएको हो।

उनीहरुलाई सोही ठाउँका ४५ वर्षीय भुलन राम, ५० वर्षीय तलेवर राम, २५ वर्षीय राकेश राम, २४ वर्षीय रवि राम, ३० वर्षीय रामुराम, २८ वर्षीया सोमनी भनिने सोमारी देवी राम र २५ वर्षीया आरती रामले कुटपिट गरेको पीडित परिवारले जनाएको छ।

उनीहरुले घरबाट बाहिर सडकमा बोलाएर आफूलाई बोक्सी भन्दै कुटपिट गरेको पीडित कालोदेवीले बताइन्। आमालाई घरबाट बाहिर बोलाएर उनीहरुले बोक्सी भन्दै नाङ्गै बनाएर कुटपिट गरेको देखेर छुटाउन जाँदा आफूलाई समेत कुटपिटको प्रयास गरेपछि प्रहरीलाई फोन गरेर जानकारी गराएको कालोदेवीका छोरा अमित कुमार महतोले बताए।

भिठ्ठामोड प्रहरी चौकीबाट प्रहरी आएपछि आमालाई उद्धार गरेर जलेश्वर अस्पतालमा भर्ना गरिएकोमा थप उपचारका लागि सोही दिन धनुषाको जनकपुरस्थित जानकी हेल्थ केयरमा ल्याइएको अमितले जानकारी दिए।

त्यस्तै खेतमा काम गरिरहेकी दुलारी देवी रामलाई पनि नियन्त्रणमा लिएर बोक्सीको आरोपमा कुटपिट गरेका छन्। उनी नजिकैको पोखरीमा हाम फालेपछि स्थानीयले उद्धार गरेको पीडितका छोरा अशोक रामले बताए ।

पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि कुटपिट आरोपमा भुलन र सोमनीलाई २७ जेठमै पक्राउ गरिसकेको छ। कुटपिट गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर सरोज राईले जानकारी दिए। घटनापछि फरार भएका अन्यको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved