प्रिय कथा

प्रेम, प्रहरी र होटल

झण्डै एक महीना अगाडि स्वयम्भूको जंगलबाट प्रहरीले खेदेपछि रन्थनिएर उनीहरू चोभार पुगेका थिए, शरणार्थी झैं। तर त्यहाँ पनि नजिकै झुन्ड्याइएको ठूलो बोर्डमा लेखिएको थियो– अँगालो हालेमा रु. एक हजार जरिवाना, चुम्बन गरेमा पन्ध्र सय…।

प्रेम, प्रहरी र होटल

(रचना गर्भ– मैले यो कथा आजभन्दा ७/८ वर्षअघि लेखेको हुँ। त्यतिबेला केही समाचार पढेर मलाई यहाँ प्रेम गर्ने जोडीहरूका लागि उपयुक्त ठाउँ नभएको जस्तो महसुस भएको थियो। काठमाडौंमा प्रेम गर्न वर्जित छ भने झैँ वातावरण बनेको थियो। प्रेमिहरूका लागि नियम बनाइएको थियो। गस्ती गरेर अपराधी खोजे झैँ प्रेमजोडीलाई समात्न थालिएको थियो। स्वयम्भूको आनन्द विहार नजिक जंगलमा रूखमुनि बसेका युवा जोडीलाई प्रहरीले बस्न नदिएर लखेटेको समाचार नै आएको थियो।

पशुपतिको मृगस्थलीमा पनि युवा जोडीलाई एकान्तमा बस्न दिइँदैन थियो। भक्तपुर जिल्ला प्रशासनले त रेस्टुरेन्टमा चुकुल लगाएर बस्न नपाइने नियम नै बनाएको थियो। त्यति नै बेला एकजना पूर्वमेयरले प्रेमपार्क बनाउने अवधारणा पनि ल्याएका थिए। यी सबै परिवेशले मलाई यस विषयमा कथा लेख्न प्रेरित गर्‍यो। प्रेमलाई वर्जित होइन व्यवस्थित गर्नुपर्छ भन्ने लागेर यो कथा लेखेकी हुँ।)

“चुकुल् खोल्नुस् ……… चुकुल् खोल्नुस्”।

रेस्टुराको बेयरा कराउँदै प्रत्येक ढोकामा ढकढक गर्दै हिँडिरहेको थियो। सबै पाहुनाले ढोकाभित्रबाट छेस्किनी खोले। तर २ नम्बर कोठाको एक जोडीले ढोका खोलेनन्। बेयराले फेरि ढकढक गर्दै अलि ठूलो स्वरमा भन्यो–

‘‘सर् ! चुकुल् खोलेर बस्नुस् है ! नत्र हामीलाई अप्ठ्यारो पर्छ !”
त्यसपछि २ नम्बर कोठाको सिद्धार्थले ढोका खोल्यो र सोध्यो–

‘‘के भो भाइ ? किन चुकुल खोल्न भनेको ? हामीले पैसा तिरेर यो कोठा लिएपछि चुकुल लगाएर बसौँ वा नलगाएर, हाम्रो मर्जी हुँदैन ?”

‘‘होइन सर्। कुरा त्यस्तो होइन। प्रहरीले अनुगमन गर्दै हिँडेको छ। चुकुल लगाएर बस्यो भने समात्छ र थुन्न लान्छ। तपाईँलाई पनि अप्ठ्यारो, हामीलाई पनि अप्ठ्यारो।” बेयरा रिसायो।

यस्तो डेटिङमा आज पहिलो पटक गेस्ट हाउसमा आएको सिद्धार्थ, प्रहरीले समात्छ भन्ने शब्द सुन्नासाथै झस्कियो र एकछिन रन्थनियो।
“चुकुल खोलेर बस्नु पर्ने भए यहाँ किन आउनु ?”

“सर एक महीना हुन लागिसक्यो, भक्तपुर जिल्ला प्रशासनले रेष्टुरेन्ट वा गेस्ट हाउसमा ग्राहकले चुकुल लगाएर बस्न नपाउने नियम बनाएको छ।”

यो कुराले सिद्धार्थकी प्रेमिका प्रिया पनि डराई।

सिद्धार्थले केही दिनअघि पत्रिकामा समाचार पढेको सम्झियो। ए हो त ! तर अब के गर्ने ? बल्ल बल्ल ठूलो आँट गरेर उनीहरू आज डेटिङमा आएका थिए। उनीहरू एकअर्काप्रति प्रेम दर्शाउन निकै आतुर थिए।

झण्डै एक महीना अगाडि उनीहरू स्वयम्भूको आनन्द विहार नजिक जंगलमा गएका थिए। त्यहाँ पुग्ने बित्तिकै एउटा रुखमुनि बसेका मात्रै के थिए, पुलिसले खेदेको थियो। तिमीहरूको घर छैन ? छाडाहरू ! घरमा फोन गरिदिउँ ? अनि उनीहरू त्यहाँबाट रन्थनिएर टौदह चोभार पुगेका थिए शरणार्थी झैं। तर त्यहाँ पनि उनीहरूको प्रेम गर्ने योजना चकनाचूर भयो जब त्यहाँ उनीहरूको आँखा नजिकै झुन्ड्याइएको ठूलो बोर्डमा पर्‍यो। त्यहाँ लेखिएको थियो–
अँगालो हालेमा रु. एक हजार जरिवाना, चुम्बन गरेमा रु. पन्ध्र सय जरिवाना…।

कुनै तारे होटलको खानाको मेनु जस्तो जरिवानालाई सजाएर लिपिबद्ध गरिएको थियो। यसरी टौदहलाई पनि प्रेम वर्जित क्षेत्र घोषणा गरेको देखेर उनीहरू निराश भएर फर्केका थिए। काठमाडौंमा कतै पनि प्रेम गर्ने वातावरण नपाएपछि उनीहरू भक्तपुर शहरबाहिरको यो रेस्टुरा खोज्दै आएका थिए।

सिद्धार्थलाई निकै झोंक चल्यो। प्रेम गर्नेहरूका लागि यत्रो नियम ! जताततै निषेधित क्षेत्रमात्र ! खोइ त हाम्रालागि ठाउँ ?

“म पुलिसलाई टेर्दिनँ। समात्छ भने समातोस्।” ऊ चर्कियो तर उसकी प्रेमिकाको अनुहार डरले कालोनिलो भयो।

“भैगो भैगो सिद्धार्थ जिद्दी नगर। पुलिसले समात्यो भने हामी कसैलाई पनि राम्रो हुन्न। थाहै छ तिमीलाई हाम्रो समाज।” युवतीले सुझाव दिई। सिद्धार्थले नटेरेपछि बेयरा तल ओर्लियो।

सिद्धार्थ जीवनका सबैखाले नैतिक नियम पालना गर्छ। इमानदार र निष्ठावान् मान्छेमा गनिने युवक हो ऊ। तर किनकिन आज उसलाई जिल्ला प्रशासनको यो नियम मान्न मनै लागेन। ऊ सोच्न थाल्छ– मनबाट गरिने प्रेमका कुरालाई नियम बनाएर हुन्छ र ! मान्छेले प्रेम गर्न पनि नपाउने ? कस्तो समाज हो यो ? उसले महानगरका एकजना पूर्वमेयरको आश्वासन सम्झियो। मेयरले चुनाव घोषणापत्रमा ‘म प्रेम गर्नेहरूका लागि प्रेमपार्क बनाउने छु’ भनेको थियो तर पछि उसले बाचा बिर्सेको थियो। ऊ कल्पिन थाल्यो– आहा ! कति मजा हुन्थ्यो यदि मेयरले आश्वासनमा भनेको जस्तो प्रेम पार्क बनेको भए।

ऊ कल्पनामा निकै माथि उक्लिन थाल्यो।
“ए भाइ !…” यस पटक ढोकाबाहिर कराउने साहुजी थियो।

सिद्धार्थले ढोका खोल्यो र भन्यो : “साहुजी हामी चुकुल लगाएर नै बस्छौं। प्रहरी आए छन् भने म कुरा गर्छु। तपाईँ जानुस्।”

युवकका कुरा सुनेर साहुजी छक्क पर्‍यो। उसको अनुहार अहिले झन् भयरहित छ। उसले आफ्नी प्रेमिकाको सम्झौतावादी प्रस्तावलाई समेत टेरेन।

“होइन भाइ ! त्यस्तो जोखिम नलिउँ। चुकुल खोलेर नै बस्नुस्। प्रहरीले समातेर लग्यो भने त हाम्रो रेस्टुराँको पनि बदनामी हुन्छ।”

बीस मिनेट अगाडि अर्थात दिउँसो २ बजे उनीहरू त्यहाँ आएका थिए। बाहिरबाट सुनसान देखिएको त्यो ‘लभ बर्ड रेस्टुराँ’को हलमा सबै टेबुल भरिएको देखिन्थ्यो। बस्ने ठाउँ नदेखेर उनीहरू अलमलिएका थिए। त्यहीबेला १५/१६ को बेयरा आएर भनेको थियो–

“दाइ माथि रुम पनि छ।” त्यसपछि उनीहरू त्यो केटाको पछि लागेका थिए। केटाले २ नम्बर लेखेको ढोका खोलिदिएको थियो। प्रिया कोठा देखेर छक्क परेकी थिई। सानो कोठाको बीचमा एउटा जापानी मोडलको होचो टेबुल र चारवटा चकटी अनि एक छेउमा लम्पट ओछ्याइएको थियो।

सिद्धार्थले सोधेको थियो– “यस्तो रुम यहाँ कतिवटा छ भाइ ?”

केटोले जवाफ दिएको थियो– “बीसवटा छ दाइ।”

“अरू रुममा पनि मान्छे छन् ?”

“छन् दाइ। तर अब सबै प्याक भयो। दाइ ! आज त प्रेम दिवस रे नि। हरेक वर्ष यो दिन धेरै जोडी आउँछन्।” केटो हाँस्यो। केटोको प्रेमसम्बन्धी कुराले उनीहरू पनि मुखामुख गरेर हाँसेका थिए। “रुमको छुट्टै पैसा लाग्छ दाइ।”

“ए हुन्छ तिरौंला नि।”

“तपाईँहरू के लिनुहुन्छ ?”

“पहिले दुई कप चिया ल्याऊ, अनि अरू पछि अर्डर गरौंला”।

अरू रुममा पनि मान्छे छन् भनेपछि उनीहरू ढुक्क भएका थिए।

“रेष्टुरेन्टवालाहरूले हामी जस्तालाई भनेर नै यसरी रुमको व्यवस्था गरेका छन् बुझ्यौ।” बेयरा केटो गएपछि सिद्धार्थले भनेको थियो।

“गजबको ठाउँ रहेछ। यस्ता ठाउँ बनेका छन् भनेर यसअघि मलाई थाहा थिएन।”

“मलाई पनि त थाहा थिएन। बल्ल आनन्दको ठाउँ पाइयो।”

प्रिया असजिलो महसुस गर्दै कोठाको चारैतिर हेर्दै थिई। सिद्धार्थ चकटीमा बसेपछि प्रियालाई नजिकैको अर्को चकटीमा बस्न भनेको थियो।

“तर मलाई त यहाँ पनि डर लाग्दैछ, सिद्धार्थ।”

“अहिले चिया ल्याएपछि ढोकामा चुकुल लगाएर बसौंला नि। पुलिससित किन डराउनु ? उसको के बिगार्‍या छ र हाम्ले ? प्रेम गर्ने हो भने यति आँट त गर्नै पर्छ प्रिया।”

एकैछिनमा ढोका ढकढक गर्दै रेष्टुरेन्टको केटो चिया लिएर आएको थियो र ‘अरू केही चाहिएमा घण्टी बजाउनु होला’ भन्दै ढोका ढेपेर फर्केको थियो।

तर त्यो चिया खान पनि नभ्याउँदै फेरि यो साहुजी आएर चुकुल खोलेर बस्न भन्दैछ। के सिद्धार्थ र प्रियाको आजको दिन पनि त्यसै बिग्रने भयो त ?

साहुजी र प्रियाले करकर गरेपछि सिद्धार्थ केही लच्कियो र भन्यो– “हुन्छ त ! अहिले म चुकुल खुलै राख्छु, उनीहरू गएपछि लगाउँला”।

“ए…..ल हुन्छ सर्”। साहुजी चित्त बुझाउँदै फक्र्यो।

उनीहरू बाँकी रहेको चिसो चिया सिध्याउन थाले।

अब उनीहरू बिस्तारै सामान्य हुन थाले।

“टेलिफोन, मोबाइलमा मात्रै कुरा गरेर धित नै नमर्ने रहेछ। जतिबेला पनि नजिक बसिरहुँ र एकले अर्कालाई हेरीरहुँ जस्तो लाग्छ। यो प्रेम भन्ने चिज कस्तो अनौठो पो हुँदो रहेछ हगि प्रिया !” सिद्धार्थले नायक आर्यन सिग्देलको जस्तो आफ्नो आकर्षक दाह्री चलाउँदै भन्यो र बिस्तारै प्रियाको हात समातेर मुसार्न थाल्यो। सिद्धार्थ रोमान्टिक हुँदै गएको देखेर पुतलीको जस्तो बाक्लो परेला भएका मनमोहक आँखालाई लाजले ढप्काउँदै प्रियाले भनी– “त्यो त हो तर ढोका…….?”

“ए तिमी पीर नगर। एकैछिनको लागि यो लगाइदिन्छु अनि फेरि खोली हालौंला नि !” यति भन्दै उसले उठेर ढोकाको चुकुल लगायो। उनीहरू आज पहिलो पटक नजिक भएका थिए। दुवैले जीवनको पहिलो प्रेम र रसास्वादन गर्न थाले। वातावरण सुनसान भएको थियो र उनीहरूको मुटुको ढुकढुक मात्र सुनिन थालेको थियो।

तर फेरि ढोकामा ढकढक…..ढकढक…. आवाज आयो।

कस्तो असत्ति आवाज !

उनीहरू झस्किए। एक अर्कामा समातिएको हात र आलिंगन छुट्टियो।

“ढोका खोल्छौ कि फोडौं” बाहिरबाट कडा आवाज आयो।

अब बोल्ने बेला आए जस्तो छ भन्दै युवकले ढोकाको चुकुल खोल्यो। दुई जना प्रहरी पोशाकमा ठिङ्ग उभिरहेका थिए। पछिल्तिर उभिएका रेष्टुरेन्टका साहुजी झर्केर बोले– “मैले भनेको होइन तपाईहरूलाई ढोका नलगाउनुस् भनेर !”

“ल, तिमीहरू हामीसँग हिँड।” अगाडिको प्रहरीले अलिकति भित्र पस्दै भन्यो। उसको काँधमा एउटा फुली थियो। उसले वाकीटकीबाट बाहिर रहेको भ्यानको चालकलाई ‘गाडी ठीक पारेर राख्’ भन्ने आदेश दियो। अर्को फुली नभएको प्रहरीचाहिँ कोठाभित्र ‘सर्च’ गरेर ढोका बाहिर उभियो।

“हामीहरूको अपराध के हो सर ?” सिद्धार्थले विनम्रतापूर्वक भन्यो।

“भा* केटी लिएर होटलमा आउने अनि के अपराध भन्ने ?” प्रहरी कड्कियो।

“उनी त्यस्ती केटी होइनन् सर।” युवकले स्पष्ट गर्न खोज्यो। तुरन्तै प्रिया पनि सिद्धार्थको हात समात्दै अगाडि उभिई र भन्न थाली–

“उसलाई यस्तो आरोप नलगाउनुस सर् ! हामी एकअर्कालाई प्रेम गर्छौं र केही समयपछि हामी विवाह पनि गर्दैछौं”।

“सुरुमा सबै यस्तै भन्छन्। ल अब दुवै जना हिँड हामीसित”। प्रहरी कड्कियो।

“हामीलाई कुन अपराधमा लैजानुहुन्छ सर ? के प्रेम गर्नु अपराध हो ? हामीले देशलाई, समाजलाई हानी पुर्‍याउने कुन काम गरेका छौं र ! हो यदि प्रेम नै गरेको अपराधमा हामीलाई सजाय दिनुहुन्छ भने ठीक छ लैजानुस तर यो देशमा प्रेम गर्ने हामी मात्रै होइनौं। के सबैलाई समात्नुहुन्छ ? प्रेम वर्जित गरेर कस्तो समाज बन्ने हो र ?”

“सर, खासमा हामी एकै पटक यहाँ आएका थिएनौं। हामी धेरै ठाउँमा गयौं। कतै लखेटियौं भने कतै निषेधित क्षेत्र तोकिएको पायौं। हामीलाई खोई त्यस्तो ठाउँ ? यदि यो ठाउँमा हामी आउन हुँदैन भने यस्ता होटल, रेष्टुरेन्ट कसरी चल्छन् ? कि होटल नै बन्द गराउनुस्”। प्रिया चर्केर बाझ्न थाली।

एक फुलीवाला प्रहरीले यिनीहरू वास्तविक प्रेम जोडी हुन् भन्ने बुझ्यो तर आफ्नो पद र ड्युटीको मान कायम राख्नका भन्यो– “तिमीहरू एकआपसमा प्रेम गर्छौ भने प्रमाण देखाऊ”।

“प्रेम अमूर्त विषय हो। यस्तो अमूर्त कुराको प्रमाण कसरी दिन सकिन्छ र सर ?” सिद्धार्थले डटेर प्रश्न गर्‍यो।

“ठीकै छ हाम्रो प्रेमको तपार्इँलाई प्रमाण चाहिन्छ भने म मेरो कलेज र घरको ठेगाना दिन्छु। मेरो बारेमा बुझ्न सक्नुहुन्छ। हाम्रो समाजमा एउटी छोरी मान्छेले प्रेम गर्ने आँट गर्नु नै पर्याप्त छैन र ? तर मलाई लाग्छ तपाईँले हाम्रो पछि लाग्नुभन्दा वास्तविक अपराधीको पछि लाग्नु बेस होला। हाम्रो देशमा धेरै भ्रष्ट र राष्ट्रघाती छन्, तिनीहरूलाई समात्न आफ्नो शक्ति खर्च गर्नोस्।” प्रिया कडकिई।

अहिलेसम्म प्रहरीको रिस र आवेग हराइसकेको थियो। शायद ऊ पनि प्रेमको अनुभवी थियो। उसले भन्न थाल्यो– “वास्तवमा हामी पनि प्रेमका तानाशाही होइनौं। तर के गर्ने प्रेमको नाटक गरेर चेलीबेटीको इज्जत लुट्ने र बेचबिखन गर्ने अपराध रोक्नका लागि नै हामीले यस्तो अभियान चाल्नु परेको हो। लौ लौ। तिमीहरूको प्रेम अमर रहोस, ह्यापी भ्यालेन्टाइन”।

“थ्याङ्क्यू सर” सिद्धार्थ र प्रियाले एकै स्वरमा भने।

(‘ह्याप्पी भ्यालेन्टाइन’ रहेको कथाको शीर्षक परिवर्तन गरिएको)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved