लागूऔषधसहित १३ जना पक्राउ

सर्लाही, बारा, कैलाली, धनकुटा र कञ्चनपुरका विभिन्न ठाउँबाट १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

नेपालभ्युज

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौं। अवैध लागूऔषधसहित पाँच जिल्लाबाट १३ जना पक्राउ परेका छन्। सर्लाही, बारा, कैलाली, धनकुटा र कञ्चनपुरका विभिन्न ठाउँबाट १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सर्लाहीकाे ब्रहमपुरी गाउँपालिका-४ त्रिभुवननगर झिलपुल जाने बाटोबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम एक हजार दुई सय १५ ट्याब्लेट सहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बागमती नगरपालिका-११ बस्ने २१ वर्षीय रोहित वोट र सोही ठाउँ बस्ने २० वर्षीय रोशन शर्मा रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.२-०३-००६ प ९२२९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित प्रहरीले पक्राउ गरेकाे हाे।

बाराबाट दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ। कलैया उपमहानगरपालिका-१० मटिअर्वा पुरानो चाेकस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन ४ सय एम्पुल, डाईजेपाम ४ सय एम्पुल र नुर्फिन ४ सय एम्पुल सहित दुई जना सोमबार दिउँसो पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ भवानिपुर बस्ने ४२ वर्षीय निर्वान मियाँ र सोही उपमहानगरपालिका-६ मदर्शा टोल बस्ने ४० वर्षीय ओसी अहमद रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको ना.८ प ७७५५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूबाट लागूऔषध बरामद गरिएकाे प्रहरी चौकी मटिअर्वा बाराले जनाएकाे छ। उनीहरुमाथि लागूऔषध मुद्दामा जिल्ला अदालत बाराबाट पाँच दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको छ ।

यस्तै कैलालीकाे धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट करिब ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित गोदावरी नगरपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट करिब चार सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तीन जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा डडेल्धुरा आलिताल गाउँपालिका-३ बस्ने २७ वर्षीय भरत महरा, धनगढी उपमहानगरपालिका-१२ बस्ने २३ वर्षीय पुरन विक र डोटी गैरा घर बताउने २३ वर्षीय मोहन ओली रहेका छन्।

धनकुटाकाे साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट करिब ७ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सजित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर र सोही नगरपालिका-३ बस्ने २२ वर्षीय मिसेक राई रहेका छन्। तेह्रथुम शुक्रबारेबाट धरानतर्फ जाँदै गरेको को१ ख ५१०५ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा बसमा सवार उनीहरूकाे साथबाट उक्त लागूऔषध बरामद भएकाे प्रहरीले जनाएकाे छ।

कञ्चनपुरबाट तीन जना पक्राउ परेकाे प्रहरीले जनाएकाे छ। बेलौरी नगरपालिका-८ कालो पुलबाट करिब १० ग्राम ७२ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित बेलौरी नगरपालिका-८ कलकत्ता बस्ने २३ वर्षीय दिनेश चौधरी समेत तीन जनालाई मंगलबार दिउँसो पक्राउ गरिएकाे ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved