निर्वाचनमा दलहरूले थिचोमिचो शैली अपनाए : पूर्वप्रधानन्यायाधीश

नेपालभ्युज

निर्वाचनमा दलहरूले थिचोमिचो शैली अपनाए : पूर्वप्रधानन्यायाधीश

काठमाडौं। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरूले स्थानीय तहको निर्वाचनमा धावा बोलिरहेको बताएका छन्।

मंगलबार आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धी प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताएका हुन्।

स्थानीय निर्वाचनमा स्थानीयस्तरका सरोकार र समस्याको सम्बन्धमा छलफल गर्नुपर्ने भएपनि राजनीतिक दलका शीर्ष नेतृत्वहरूबाट स्थानीय निर्वाचनलाई थिचोमिचो गर्ने शैली अपनाइएको उनले बताए।

स्थानीय निर्वाचनमा स्थानीय आवश्यकता र स्थानीय पहिचानलाई परिपोषण गर्नुपर्नेमा नेताहरूले त्यसलाई विस्थापित गरेको उनको भनाइ छ। उनले भने, ‘‘हामी स्थानीय तहको निर्वाचन गरिरहेका छौँ। स्थानीय निर्वाचन गर्दा आफ्ना समस्याहरू, आफ्नै नेतृत्वका विकासका सम्भावनाहरूलाई खोजी गर्ने वातावरण निर्माण गर्नुपर्ने हो। तर नेताहरू थिचोमिचोमा उत्रिएका छन्।’’

दलका शीर्ष नेताहरूले वाकयुद्ध गरिरहेकाे उनले बताए। नेताहरूबीच सभ्य, सम्मानजनक र जवाफदेही संवाद हुन नसकेको उनको भनाइ छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लोकतन्त्रको विकासका निम्ति निर्वाचन स्वच्छ हुनुपर्ने बताइन्। उनले निर्वाचनमा उम्मेदवार र जनता अनुशासित भएमा दुईजना व्यक्तिले मात्रै हजारौँ हजारको निर्वाचन गराउन सक्ने उनकाे तर्क छ।

स्वच्छ निर्वाचन गराउन निर्वाचन आयोगले पहल गराउनुपर्ने र जनता पनि शिक्षित हुनुपर्ने उनी बताउँछिन्। उनले भनिन्, ‘‘निर्वाचनमा जनता र उम्मेदवार दुवै अनुशासित हुने हो। अनुशासनको वातावरण राम्रो भयो भने दुईजना व्यक्तिले हजारौँ हजारको निर्वाचन गराउन सक्छ। लोकतन्त्रको विकासको निम्ति निर्वाचन स्वच्छ हुनुपर्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved