सपना बाँड्दै उम्मेदवार, आशा नभएका मतदाता

दुवै पार्टीले संविधानमा उल्लेखित मौलिक अधिकारको आधारमा शिक्षा, स्वास्थ्य, रोजगारी, फोहोर व्यवस्थापनलगायत विषयमा काम गर्ने लेखेका छन्।

सपना बाँड्दै उम्मेदवार, आशा नभएका मतदाता

काठमाडौं। आज चुनावी प्रचार अभियानको अन्तिम दिन। स्थानीय तहका उम्मेदवार भोट माग्न व्यस्त छन्। उम्मेदवारहरू मतदातासँग हात जोड्दै चुनाव जिते आफूले गर्ने कामको फेहरिस्त सुनाउँदैछन्। तर, तिनलाई मतदाताका कुरा सुन्न भने फुर्सद छैन।

गत बुधबार ललितपुरको वडा नम्बर ५ मा ललितपुर महानगरको मन्दिरको मूल ढोकामा एक जोडीले आफ्नो जीवनको वैवाहिक जीवनको शुरुआत गर्दै थिए। विवाहको धार्मिक कार्यक्रम सकिसकेका उनीहरू आफ्नो घर जाने तयारीमा थिए।

मन्दिर परिसरमै नेपाली कांग्रेसका कार्यकर्ता रमाइलो नाचगानमा व्यस्त थिए। करीब ५० जनाको समूहमा रहेका कांग्रेसजनहरू स्थानीय तहको निर्वाचनको माहोल तताउँदै थिए। रूख छापसहितका झण्डा बोकेका कार्यकर्ताहरू ललितपुर महानगरका मेयर पदका उम्मेदवार चिरिबाबु महर्जनको पखाईमा थिए।

उनीहरूले महालक्ष्मी मन्दिर वरिपरिका घरहरूमा गएर भोट मागे। भोट माग्दा महर्जनले मेयरमा आफूलाई दोस्रो पटक पनि जिताए ‘यसो गर्छु, उसो गर्छु’ भन्दै आफ्ना योजना सुनाए। उनले जनताका कुरा भने सुन्ने इच्छा नै व्यक्त गरेनन्।

उनका प्रमुख प्रतिस्पर्धी एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारको र्‍यालीमा पुग्दा पनि त्यस्तै दृष्य देखिए। गत हप्ताको सोमबार निर्धारित समयभन्दा झण्डै एक घण्टा ढिलो हस्याङफस्याङ गर्दै र्‍याली शुरू भएको स्थानमा आइपुगेका व्यञ्जनकारले स्थानीयका कुरा सुन्न आवश्यक नै ठानेनन्।

ललितपुरको वडा नम्बर ११ क्षेत्रमा घरदैलो अभियानमा व्यस्त व्यञ्जनकार उपमेयरकी उम्मेवार मञ्जली शाक्य र वडाका उम्मेदवारसँगको र्‍यालीमा हिँडे। चोक चोक पुग्दा आफ्नो समुहमा फोटो खिचाउनचाहिँ उनी भुलेनन्। त्यहाँका गल्ली गल्लीमा खादा र फूलमालासहित हिँडेका भावी जनप्रतिनिधिहरूले आफ्नो प्रतिबद्धतापत्र बाँड्दै हात मात्रै जोडे।

यी दुई प्रतिनिधि उदाहरण मात्रै हुन्, स्थानीय तहको चुनावी दौडमा रहेका सबैजसो उम्मेदवारलाई यतिबेला जुनसुकै शर्तमा पनि आफ्नो मत तान्ने हतारो छ। उनीहरूलाई जनताका कुरा सुन्न होइन आफ्ना कुरा सुनाउने चटारो छ।

कोही कसैले सुनिहाले पनि मतदाताका समस्याको जवाफ उनीहरू एकमुष्ठ रूपमा दिन्छन्। उम्मेदवारहरू भोट माग्न चोक चोकमा र घरघरमा पुगी स्थानीयलाई नमस्कार गर्दै भोट माग्दा कोही सामुन्नेबाट र कोहीले घरका झ्यालबाट नमस्कार फर्काउँदै गर्छन्। तर, अधिकांशले उम्मेदवार जानेबित्तिकै नाक खुम्च्याउँछन्। अधिकांश मतदाता भन्छन्, “यिनीहरू आउँछन् जान्छन्। विश्वासचाहिँ छैन।”

ललितपुर वडा नम्बर ११ को इकाछेँका स्थानीय युवराज बज्राचार्यले भने, “भोट त एउटालाई हालुँला तर, केही गर्लान् भन्ने विश्वास छैन। केही नगरे पनि भ्रष्टचार नगरुँन्।” त्यही भेटिएकी चन्द्रमाया बज्राचार्यले पनि नेताहरूको विश्वास नै नभएको बताइन्। उनी भन्छिन्, “नेताहरू जितेर आफ्नो मात्रै पेट भर्छन्।”

यिनीहरूले के गर्ने ? भोट माग्दा त अनेक भन्छन्। चोकको पोल देखाउँदै नारायणी देवीले भनिन्, “यो चोकमा एकछिमै अन्धकार हुन्छ। कतिचोटि भनिसकें मैले। एउटा बत्ती जोड्ना नसक्नेले के गर्ला?”
ललितपुर महानगरको मेयरमा आफूलाई जिताए यसो उसुो गर्ने भन्दै प्रमुख दुइ प्रतिस्पर्धी दलहरूले प्रतिबद्धतापत्रमा महानगर विकास विभिन्न विषय अघि सारेका छन्।

दुवै पार्टीले संविधानमा उल्लेखित मौलिक अधिकारको आधारमा शिक्षा, स्वास्थ्य, रोजगारी, फोहोर व्यवस्थापनलगायत विषयमा काम गर्ने लेखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved