पालुङटारलाई गण्डकी प्रदेशको दोस्रो ठूलो शहर बनाउनेछौँ- दीपकबाबु कँडेल

गठबन्धन किन भाँडियो भन्ने कुरा मलाई होइन सभापति शेरबहादुर देउवालाई सोध्नुस्। मेरो व्यक्तिगत विचारमा चुनावमा गठबन्धन गर्नुहुँदैन। हरेक पार्टीले आफ्नो बलबुतामा चुनाव लड्नुपर्छ।

नेपालभ्युज

पालुङटारलाई गण्डकी प्रदेशको दोस्रो ठूलो शहर बनाउनेछौँ- दीपकबाबु कँडेल

गोरखाको पालुङटारमा कांग्रेसबाट मेयरका उम्मेदवार हुन्, दीपक दीपकबाबु कँडेल।उम्मेदवारहरू घर–घरमा पुगेर मतदातालाई भेटेर मत माग्न व्यस्त छन्। गोरखाको ११ स्थानीय तह मध्ये पालुङटार नगरपालिकाले सबैको ध्यान तानेको छ। देशका विभिन्न ठाउँमा गठबन्धन गरेका सत्तारुढ दलको पालुङटारमा गठबन्धन भत्काएपछि चुनावी प्रतिस्पर्धा रोचक बनेको हो। प्रमुख प्रतिस्पर्धी कांग्रेसबाट मेयरका उम्मेदवार दीपकबाबु कँडेल र जसपाबाट प्रेमबहादुर गुरुङ उम्मेदवार मानिन्छन्। प्रस्तुत छ, कांग्रेसबाट मेयरका उम्मेदवार दीपकबाबु कँडेलसँग गरिएको कुराकानी।

तपाईँको उम्मेदवारी किन?

पालुङटार नगरपालिकाको समृद्धि र सम्मानित नगरपालिका निर्माणको लागि मेरो उम्मेदवारी हो। मैले यसअघि निर्वाचित भएर गरेका काम र मास्टर प्लान निर्माण गर्नका लागि उम्मेदवारी दिएको हुँ। जनताको चाहना र पालुङटारबासीले मेरो आवश्यकता महसुस गरेपछि उम्मेदवारी दिएको हुँ। उहाँहरूले यहाँको नेतृत्वका लागि मलाई रुचाएपछि चुनावी मैदानमा आएको हुँ। जनचाहना र पालुङटारबासीको सल्लाह, सुझाव अनुसार समग्र नगरपालिकाको विकास गर्न नै मुख्यत मेरो उम्मेदवारी हो। गोरखाको पालुङटार चौतर्फी विकासको लागि मेरो उम्मेदवारी हो।

प्रचारको अन्तिम दिन आइपुग्दा चुनावी प्रचार कस्तो भयो ?

अहिले हामी घरदैलो अभियानमा लागेका छौँ। एकदमै उत्साहका साथ प्रचार गरिरहेका छौँ। १० वटै वडामा प्रचार तीव्र छ। समय थोरै छ, प्रचारप्रसार भइरहेको छ। मतदाता भेटेर मत माग्ने र उहाँहरूको गुनासो, दुखेसो सुन्ने काम गरिरहेका छौँ। हामी सबै दलसँग स्वास्थ्य प्रतिस्पर्धामा छौँ।

घरदैलो अभियानमा जाँदा मतदाताको कस्तो प्रतिक्रिया पाउनुभयो ?

मतदाताहरूले हामीबाट ठुलो अपेक्षा राखेका छन्। हामीमाथि उहाँहरूको भरोसा छ, विश्वास छ। हामी अहिले मतदातामाझ छौँ। उहाँहरूकै घरदैलामा पुगिरहेका छौँ। समस्या र गुनासो सुनिरहेका छौँ। यहाँका जनताकै समस्या र गुनासाहरू समाधान गर्ने हाम्रो प्रतिबद्धता छ। उहाँहरूले हामीलाई विश्वास दिनुभएको छ। आउने दिनमा उहाँहरूको मन जित्ने छौँ भन्ने म विश्वास दिलाउन चाहन्छु।

सबैको एउटै जिज्ञासा छ, देशका विभिन्न ठाउँमा गठबन्धन भए पनि यहाँ बनेको गठबन्धन पनि भाँडियो। किन?

त्यो त अब पार्टी सभापति शेरबहादुर देउवालाई सोध्नुपर्छ। मेरो व्यक्तिगत विचार सोध्नुहुन्छ भने चुनावमा गठबन्धन गर्नुहुँदैन। हरेक पार्टीले आफ्नो बलबुतामा चुनाव लड्नुपर्छ। विषम परिस्थिति बाहेक आफ्नो आइडोलोजी बचाउन हरेक दल चुनावमा एक्लै जानुपर्छ। इसैले हामीले केन्द्रले गठबन्धन गरे पनि हामीले हुँदैन भनेर नमानेका हौँ।

यसअघि पनि तपाई नै मेयर हुनुहुन्थ्यो। आफ्नो कार्यकालको कसरी समीक्षा गर्नुहुन्छ? फेरि पनि यहाँका जनताले तपाईँलाई नै जिताउनु पर्ने किन?

अघिल्लो कार्यकाल मेरो कठिन परीक्षाको घडी थियो। मैले पाँच वर्षको अन्तरालमा सीमित स्रोत र साधनको प्रयोग गरेर परीक्षा दिए। यसमा मैले डिस्टिङसन पाइसकेको छु। अब अर्को परीक्षा दिन बाँकी छ। अघिल्लो चुनावमा यहाँका जनताले पालुङटार नगरपालिकामा कांग्रेस नेतृत्वको सरकारलाई जनसमर्थन दिएकै हो। यहाँ थुप्रै विकास निर्माणको कामहरू भएकै हुन्। धेरै कामहरू गर्न बाँकी पनि छन्। जनप्रतिनिधिबाट जनअपेक्षा बढी हुन्छ। त्यो स्वाभाविक हो। जनअपेक्षा अनुसार बाँकी रहेका विकासका काम नयाँ ढङ्गले अघि बढाउन आफ्नो काँधमा जिम्मेवारी लिन खोजिरहेका छौँ। त्यसका लागि पार्टीले पनि जनचाहना अनुसार हामीलाई जिताउनुपर्छ। जिताउने छन् भन्ने विश्वास छ।

तपाईँको घोषणापत्रमा क कस्ता विषयहरू समेटिएका छन् ?

पहिलो पूर्वाधार हो। शिक्षा र स्वास्थ्य पनि छ। पूर्वाधारमा सडक खानेपानीको बिस्तार गर्ने काम हो। यो पटक त्यो पुरा गर्नेछौँ। हाम्रा वडाका बाटाहरू सडकहरू रामे र गुणस्तरीय बनाउनेछौँ। सरकारी अस्पतालको सेवा राम्रो बनाउने छौँ। त्यसको सेवा सुधार गर्न मेयरको भूमिका निकै ठूलो हुन्छ। विशेषज्ञसहितको अस्पताल बनाउने, क्षमतावान शिक्षक सरकारी विद्यालयमा नियुक्त गर्ने योजना छ। पालुङटारको परिवेशअनुसार भौतिक पूर्वाधारको विकास गर्नेछौँ। वर्गीय हिसाबले गरिबका लागि पनि हामी काम गर्छौँ। पालुङटार उर्वर भूमि हो। यहाँ व्यावसायिक खेती र पशुपालन सम्भव छ। हामीले त्यहाँ दिनुपर्ने अनुदान दिन्छौँ, वडा नम्बर ५ मा भूमिगत सिँचाइको व्यवस्था गछौं।

तपाईँ निर्वाचित भएपछि के गर्नुहुन्छ?

मैले अघिल्लो पटक थालेका कामलाई पूर्णता दिन र सपना पुरा गर्न मलाई निर्वाचित गराउनुपर्छ। शिक्षा विकासको एउटा मेरुदण्ड हो। अहिले पालिकाभित्रका विद्यालयहरूको व्यवस्थापन अघिल्लो कार्यकामा भएको छ। यसलाई थप विस्तार गर्नु छ। स्वास्थ्य क्षेत्रमा पनि थप सुधार पुरा गर्ने कार्यभार छ। स्थानीय स्तरमै भरपर्दो र राम्रो स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण जारी छ। किसानका निम्ति पनि कृषि क्षेत्रमा व्यापक सुधार भइरहेको छ। यसलाई पुरा गर्नुपर्ने छ। यी विषयहरू मेरो पहिलो प्राथमिकतामा छन्। पालुङटारको लागि धेरै सोचेको छु। यहाँ भनेर साध्य छैन। अघिल्लो कार्यकालमा पनि धेरै काम गरेको छु। अब पनि काम गरेर देखाउँछु।

तपाईँको मुख्य प्रतिस्पर्धा कुन पार्टी वा उम्मेदवारसँग हुन्छ जस्तो लाग्छ ?

हाम्रो मुख्य प्रतिस्पर्धा भनेको कसैसँग छैन। हामी अरूभन्दा धेरै नै अगाडि छौँ। मतदाताहरूको माया, आशीर्वाद र रेस्पोन्स देख्दा त हामी विजयी हुन्छौँ भन्नेमा म पुरै विश्वस्त छु।

पालुङटारमा कस्तो सम्भावना देख्नुभएको छ?

पालुङटार नेपालको नदीले बनाएको सबैभन्दा ठूलो टार हो। यो मस्यार्दी भ्यालीको केन्द्र बन्नेछ। समृद्धि बन्नको लागि गण्डकी प्रदेशको दोस्रो ठूलो शहर र सीटीको रूपमा पालुङटार बन्नेछ। समृद्ध र सुन्दर पालुङटार निर्माणका लागि नेतृत्व लिन हामी चुनावी मैदानमा आएका छौँ। पालुङटारलाई राम्रो, समुन्नत र समृद्ध बनाउन यहाँ हाम्रो विकल्प छ जस्तो मलाई लाग्दैन। मसहित मेरो टिमलाई विजयी गराएर पालुङटारको विकासको सम्पूर्ण अभिभारा हामीलाई दिन सम्पूर्ण नगरबासी मतदातालाई आग्रह गर्दछु। पालुङटार नगरपालिकालाई डिजिटल स्मार्ट सिटी बनाउने मेरो चाहना छ। हामी त्यो बनाउँछौ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved