आफ्नो चिह्न नमूना मतपत्रमा नभएपछि धर्नामा उत्रिए जनकपुरधामका स्वतन्त्र उम्मेदवार साह

“आधिकारिक वेबसाइटमा नमूना मतपत्रमा १७ ओटा छाप मात्रै देखाइएको छ। ११ जना उम्मेदवारको चिह्न देखाइएको छैन,” उनले भने, “हिजोदेखि मैले कुरा राखेको छु, तर अहिलेसम्म राखेको छैन।”

आफ्नो चिह्न नमूना मतपत्रमा नभएपछि धर्नामा उत्रिए जनकपुरधामका स्वतन्त्र उम्मेदवार साह

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार मनोज साह मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना बसेका छन्।

निर्वाचन आयोगले आइतबार प्रकाशित गरेको नमूना मतपत्रमा आफ्नो चुनाव चिह्न समावेश नगरी अपुरणीय क्षति पुर्याएकाले चुनावको मिति सार्नुपर्ने माग राख्दै उम्मेदवार साह आफ्ना समर्थकसहित धर्नामा बसेका हुन्।

नेपाली कांग्रेस पार्टीबाट टिकट नपाएपछि साह नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर समितिको सभापतिबाट राजीनामा दिँदै मेयरमा स्वतन्त्र उम्मेदवार बनेका हुन्।

आज बिहान जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा समर्थकसहित धर्नामा बसेका साहले नमूना मतपत्रमा आफूलाई दिइएको घन्टाघर छाप समावेश गर्न पटक पटक निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदा पनि २४ घण्टा बितिसक्दा समेत मतपत्रको पुनः प्रकाशन नभएकोले धर्नामा बस्नुपरेको जानकारी दिए।

“आधिकारिक वेबसाइटमा नमूना मतपत्रमा १७ ओटा छाप मात्रै देखाइएको छ। ११ जना उम्मेदवारको चिह्न देखाइएको छैन,” उनले भने, “हिजोदेखि मैले कुरा राखेको छु, तर अहिलेसम्म राखेको छैन।”

अन्य उम्मेदवारहरु जनताका घरआँगनमा जाँदा निर्वाचन आयोगको गम्भीर त्रुटिको कारण आफूले घरदैलो गर्न नपाएको उम्मेदवार साहले बताए। भने, “नमूना मतपत्र वितरण गर्न सकेको छैन। त्यसैले निर्वाचनको मिति नै सारेर अब मसँग न्याय गरिनुपर्छ।”

अधिकृतको कार्यालयले गल्ती सच्याउँछौँ भनिरहे पनि काम नगरेको साहले बताए। भने, “कति समय लाग्छ पनि भनेको छैन। केन्द्रको हातमा छ भनेका छन्। केन्द्रले के गर्न खोजेको हो? चुनाव प्रचार गर्नुछ, हाम्रो २४ घण्टा खेर गएको छ।”

निर्वाचन आयोगले भने स्वतन्त्र उम्मेदवार धेरै भएका ठाउँमा पुनः मतपत्र छपाइ गर्ने तयारी गरेको छ।

धर्नामा बसेका साहलाई निर्वाचन कार्यालयका अधिकारीहरुले नमूना मतपत्र सच्याउन आयोगको केन्द्रीय कार्यालयलाई आग्रह गरिएको बताएका छन्।

आयोगले अनुमान गरेभन्दा धेरै संख्यामा उम्मेदवारी परेपछि केही जिल्लाका स्थानीय तहमा फेरि मतपत्र छपाइ गर्नुपरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved