स्थानीय तह प्रमुखमा महिला उम्मेदवार न्यून : मेयरमा १०० मध्ये १०, अध्यक्ष ६ मात्र

अघिल्लो निर्वाचनमा जस्तै यसपाली पनि स्थानीय तहका प्रमुख पदमा महिला उम्मेदवारी नगण्य बराबर छ, संविधानको बाध्यकारी प्रावधानले मात्रै महिलाले ‘उप’ पदमा मौका पाएका छन्।

स्थानीय तह प्रमुखमा महिला उम्मेदवार न्यून : मेयरमा १०० मध्ये १०, अध्यक्ष ६ मात्र

काठमाडौं। व्यवस्था फेरियो, संविधान फेरियो तर अझै पनि फेरिएन महिलाको अवस्था । स्थानीय निर्वाचनका लागि दलहरूले गरेको उम्मेदवारी दर्ताको आँकडाले यस्तै भन्छ।

निर्वाचन आयोगले अहिलेसम्म अद्यावधिक गरेको पछिल्लो तथ्यांक केलाउँदा स्थानीय सरकारका प्रमुख पदहरूमा महिला उम्मेदवारी नगण्य बराबर पाइएको छ। नगरपालिकाका  १०० जना मेयर उम्मेदवारमध्ये  १० महिला छन् भने  १०० जना  गाउँपालिका अध्यक्षमा ६ मात्र महिला उम्मेदवार रहेका छन् ।

नगरपालिकामा  १० प्रतिशत महिला

महानगर, उपमहानगर र नगरपालिका गरी सबै खालका नगरपालिकाहरूमा एक सयजना उम्मेदवारमध्ये जम्मा १० जना मात्र महिला उम्मेदवार छन्।

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार नगरपालिकाको प्रमुख पदमा सबै दल गरी एक हजार नौ सय ९१ जनाले उम्मेदवारी दिएका छन्। उक्त तथ्यांकमा स्वतन्त्र उम्मेदवार भने समावेश गरिएको छैन।

ती उम्मेदवारमध्ये महिला भने जम्मा एक सय ९६ जना छन् अर्थात् जम्मा ९ दशमलव ८४ प्रतिशत। पुरुष उम्मेदवार भने एक हजार सात सय ९५ जना छन्। जुन कूल उम्मेदवारको ९० दशमलव १५ प्रतिशत हो।

धेरै उम्मेदवारी दिने ठूला सात दलको आँकडा हेर्दा संख्यात्मक हिसाबले नगरपालिका प्रमुख पदमा सबैभन्दा धेरै महिला उम्मेदवार उठाउने दल नेकपा (एमाले) हो। उक्त दलले २७ जना महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको छ।

यद्यपि उसले उठाएका कूल उम्मेदवारको प्रतिशतका हिसाबले भने त्यो साह्रै न्यून हो। एमालेले जम्मा दुई सय ९० जना प्रमुख पदका उम्मेदवार खडा गरेको छ। यस हिसाबले महिला उम्मेदवार जम्मा ९ दशमलव ३१ प्रतिशत हो अर्थात् एमालेबाट प्रमुख पदका सय उम्मेदवारमध्ये जम्मा नौ जना महिला हुन्।

खडा गरिएका कूल उम्मेदवारको अनुपातिक प्रतिशतका हिसाबले सबैभन्दा धेरै महिला उम्मेदवार खडा गर्ने दल भने नेकपा (एकीकृत समाजवादी) हो। उसले आफूले खडा गरेका उम्मेदवारमध्ये १५ दशमलव ३३ प्रतिशत महिला उम्मेदवार उठाएको छ अर्थात् एकीकृत समाजवादीबाट प्रमुख पदका सय उम्मेदवारमध्ये १५ जना महिला छन्।

गाउँपालिकामा सयमध्ये ६

लैंगिक कोणबाट महिला उपस्थिति गाउँपालिकाका अध्यक्ष पदमा झनै न्यून छ। प्रतिशतका आधारमा हेर्दा सयमा सात जना जति मात्र महिला गाउँपालिकाका अध्यक्ष प्रत्याशी छन्।

कूल दुई हजार तीन सय उम्मेदवारमध्ये महिला जम्मा एक सय ४५ जना छन् अर्थात जम्मा ६ दशमलव ४७ प्रतिशत। पुरुष उम्मेदवारमध्ये जम्मा दुई हजार एक सय ५१ जना उम्मेदवार छन्। त्यो भनेको कूल उम्मेदवारको ९३ दशमलव ७२ प्रतिशत हो।

नगरपालिका र गाउँपालिका दुवैतिर धेरै उम्मेदवारी दिने सात राजनीतिक दलमध्ये गाउँपालिकामा सबैभन्दा धेरै महिला उम्मेदवार उठाउने दल भने नेकपा (माओवादी केन्द्र) बन्नपुगेको छ। उसले खडा गरेका दुई सय ९० अध्यक्ष प्रत्याशी मध्ये २९ जना महिला छन्। प्रतिशतका हिसाबले पनि यही पार्टी नै धेरै महिला अध्यक्ष उम्मेदवार खडा गर्ने दल बन्न पुगेको छ, १० प्रतिशत।

गठबन्धनको मारमा महिला, स्थानीय तहमा पुरुष नै पुरुष

बाध्यताले ‘उप’

नेपालको संविधानले स्थानीय सरकारका उपल्ला दुई पदमध्ये एक महिला हुनैपर्ने बाध्यकारी व्यवस्था गरेकाले नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षमा भने महिलाले स्थान पाएका छन्।

नगरपालिकामा उम्मेदवार बनाइएका उपप्रमुखमध्ये सयमा ८१ जना महिला छन्। कूल उम्मेदवार एक हजार सात सय ११ जनामध्ये एक हजार तीन सय ८२ जना महिला छन्। त्यो भनेको कूल उम्मेदवारको ८० दशमलव ७७ प्रतिशत हो।

यसरी उपप्रमुखमा बाध्यताले महिला उम्मेदवार खडा गर्दा पनि प्रमुख र उपप्रमुख दुवै पदका समग्र उम्मेदवारमध्ये महिला कम नै छन्।

नगरपालिकाका प्रमुख र उपप्रमुखमा कूल तीन हजार सात सय दुई जना उम्मेदवार छन् जसमध्ये दुई एक सय २४ जना पुरुष र एक हजार पाँच सय ७८ जना महिला हुन्। प्रतिशतमा हेर्दा ५७ दशमलव ३७ प्रतिशत पुरुष छन् भने ४२ दशमलव ६२ प्रतिशत महिला।

त्यस्तै गाउँपालिकामा पनि उम्मेदवार बनाइएका उपाध्यक्षमध्ये सयमा ८१ जना महिला छन्। कूल दुई हजार १३ जना उपाध्यक्ष उम्मेदवार छन् जसमध्ये एक हजार ६ सय २९ जना महिला हुन्। त्यो भनेको कूल उम्मेदवारको ८० दशमलव ९२ प्रतिशत हो।

अध्यक्ष र उपाध्यक्ष दुवै पदका उम्मेदवार जोड्दा पनि महिलाको संख्या भने कम नै हुन आउँछ। दुवै पदमा गरी कूल चार हजार तीन सय १३ जना उम्मेदवार छन् जसमध्ये दुई हजार पाँच सय ३३ जना पुरुष हुन् भने एक हजार सात सय ७८ जना महिला। प्रतिशतमा हेर्दा ५८ दशमलव ७७ प्रतिशत पुरुष उम्मेदवार छन् भने ४१ दशमलव २२ प्रतिशत महिला।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved