भूकम्प स्मृति दिवसका अवसरमा मैतीदेवीमा गरियो क्षमा पूजा

नेपालभ्युज

भूकम्प स्मृति दिवसका अवसरमा मैतीदेवीमा गरियो क्षमा पूजा

काठमाडौं । भूकम्प स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा क्षमा पूजा गरिएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर नित्य पूजा आराधनामा प्रभाव पारेकाले क्षमा माग्दै पूजा आराधनाको सुरुआत गरिएको पुजारी तीर्थज्योति बज्राचार्यले राससलाई जानकारी दिए। अब यस्तो विपत्ति नआओस् भनेरसमेत देवीसँग प्रार्थना गरिएको उनले सुनाए।

विगतमा मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करिब दुई रोपनी जग्गामा भूकम्पजस्ता प्राकृतिक प्रकोपका बेला सुरक्षित रुपमा बस्न सकिने र अरू बेलामा पनि मानिसले पुनर्ताजगीका लागि उपयोग गर्नसक्ने गरी बगैँचा बनाउने अभियानसमेत यहाँ थालिएको छ।

बगैँचा बनाउन काठमाडौँ महानगरपालिकाले रु एक करोड ३५ लाख बजेट विनियोजन गरेको वडा नं ३० का निवर्तमान अध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए। मन्दिर परिसरमा आकर्षक बगैँचा निर्माणसँगै रेलिङ, बार पनि परिवर्तन गरिने छ।

बगैँचाको काम सुरु गर्न गत आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेकामा त्यसबाट काम हुन नसकेको उनले सुनाए। विसं २०७४ अघि सहरी विकास तथा भवन निर्माण विभागले गठन गरेको प्रबन्ध समितिले मन्दिर क्षेत्र व्यवस्थापनको काम गर्दै आएको थियो। त्यसबेला जनअपेक्षा अनुरुप काम हुन नसकेको गुनासो बढ्ने गरेको थियो।

विसं २०७४ मा स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएसँगै प्रबन्ध समिति महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो। मन्दिर क्षेत्रमा धोबीखोला मैतीदेवी छुट गुठीका नाममा पहिले करिब ३० रोपनी जग्गा भए पनि हाल दुई रोपनीमात्र बाँकी छ। बाँकी भएको जग्गालाई महानगरपालिकाले बगैँचा निर्माण गरेर संरक्षण गर्न लागेको महानगरपालिकाले जनाएको छ। बगैँचाको डिजाइन(नमुना) बनाउने काम सम्पन्न गरिएको छ। ठेक्कामार्फत काममा ढिलाइ हुने भएपछि उपभोक्ता समितिमार्फत काम गर्न लागिएको समितिका सदस्य¬–सचिव सुरेन्द्र श्रेष्ठले बताए।

महानगरपालिकाको वडा नं ९, २९ र ३० मा मन्दिरका नामको राजगुठीको जग्गा रहेको छ। वडा नं ९ को जग्गा खाली छ। वडा नं २९ र ३० को जग्गामा भने घर बनिसकेको गुठीका गुठियार नाइके सत्य मुनिकारले बताए। वडा नं ९ खाली जग्गामा पनि मोहीहरूका बीचमा मुद्दा चलिरहेको छ।

मन्दिर क्षेत्रको जग्गा संरक्षण गर्ने उद्देश्यले महानगरपालिकाले बगैँचा निर्माण प्रक्रिया सुरु गरेको हो। अरु जग्गालाई पनि मन्दिर मातहत ल्याउँदै जाने समितिको प्रतिबद्धता छ।

मन्दिर परिसरमा पुरातत्व विभागले तामाको छाना राखेर सांस्कृतिक पाटी निर्माण सम्पन्न गरेको छ। पाटीसँगै पुजारी घर पनि निर्माण भइरहेको समितिले जनाएको छ। मन्दिर परिसरमा रहेको मयुर कुण्ड पनि संरक्षण गर्न लागिएको समितिको अध्यक्षसमेत रहनुभएका कार्कीले बताए। मयुर कुण्डभित्र रहको नाग र नागिनीको मूर्ति पनि भक्तजनले दर्शन एवं पूजा आराधना गर्नसक्ने गरी व्यवस्थापनको तयारी भएको छ।

गोरखा मनकामनाको आमा मैतीदेवी

गोरखास्थित मनकामना माईको दर्शन गरेर फर्कने भक्तजनले मयुरकुण्डको जल मैतीदेवीलाइ चढाएपछि मात्र फल मिल्ने किम्बदन्ती प्रचलनमा छ। मनकामना पूरा गर्न यो विधि पूरा गर्नुपर्ने भएपछि यो धेरैलाई थाहा नभएको पुजारी बज्राचार्यले सुनाए। थाहा हुनेहरूले यसको पालना गर्छन्। मनकामनालगायत धेरै देवीको आमाका रुपमा मैतीदेवीलाई सम्मान गरिने भएकाले नै मैतीदेवी नामकरण भएको उनले सुनाए।

मैतीदेवी क्षेत्रमा सहरीकरण हुनुअघि राजकुलो यहाँबाट पुतलीबजार पुगेको थियो। राजकुलाको यो जग्गा मैतीदेवी प्रहरी बिटबाट नै मिचिएको छ। यस क्षेत्रका नौ दशवटा सटरको आधा भागमा सार्वजनिक जग्गा पर्ने वडा कार्यालयले जनाएको छ।

मन्दिरको नाममा रहेको गुठी जग्गामा आकर्षक बगैँचा निर्माण गर्न समितिसहित स्थानीयवासी पनि लागिपरेको जनाइएको छ। साथै मिचिएको मन्दिरका नामको जग्गाको पनि खोजी सुरु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved