भारतमा फेरि फैलिँदै कोरोना, नेपालमा त्रास

भारतमा कोरोना भाइरसको भेरियण्ट ओमिक्रोनको उप–प्रजाति ‘बीए १’ र ‘बीए २’ नामक भाइरस फैलिन थालेको छ । उक्त दुवै उपप्रजातिको वर्णशंकर प्रजाति ‘एक्स ई’ नामको भेरियण्ट पनि देखिएको छ । नेपालमा पहिलो र दोस्रो लहर शुरु हुनुमा छिमेकी मुलुक कारक रहेकाले यस पटक पनि त्यही ‘ट्रेण्ड’ दोहोरिनसक्ने स्वास्थ्य विज्ञहरुको अनुमान छ।

भारतमा फेरि फैलिँदै कोरोना, नेपालमा त्रास

काठमाडौं। भारतमा पुनः कोरोनो संक्रमण फैलिन थालेपछि नेपालमा पनि संक्रमण फैलिने आशंकाले त्रास देखिएको छ।

अहिले भारतमा कोरोना भाइरसको भेरियन्ट ओमिक्रोनको उप-प्रजाति ‘बीए १’ र ‘बीए २’ नामक भाइरस फैलिन थालेको छ। उक्त दुवै उपप्रजातिको वर्णशंकर प्रजाति ‘एक्स ई’ नामको भेरियन्ट पनि देखिएको छ।

भाइरोलोजिस्ट डा. जनक कोइरालाका अनुसार, भारतमा संक्रमण फैलिनु भन्दा पहिला सिगांपुर, इङल्याण्ड, अष्ट्रेलियालगायत पूर्वका अन्य राष्ट्रमा भने ‘बीए १’ र ‘बीए २’ को मिक्स भएर ‘एक्स ई’ भेरियन्ट देखिएको छ। दक्षिण एसिया क्षेत्रमा ‘बीए २’ बढी देखिएको समेत उनले जानकारी दिए।

टेकु अस्पतालमा कार्यरत सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, नेपालमा ‘बीए १’ तेस्रो लहरको शुरुआती चरणमा देखिएको थियो भने ‘बीए २’ तेस्रो लहरको बीचतिर देखिएको उनी बताउँछन्।

भारतमा संक्रमण फैलिनुभन्दा पहिला सिगांपुर, इङल्याण्ड, अष्ट्रेलियालगायत पूर्वका अन्य राष्ट्रमा भने ‘बीए १’ र ‘बीए २’ को मिक्स भएर ‘एक्स ई’ भेरियन्ट देखिएको भाइरोलोजिस्ट डा. कोइरालाले बताए।

भारतमा केही महिनाअघि ओमिक्रोन भेरियन्टले दैनिक लाखौंको संख्यामा संक्रमित बनाए पनि बीचमा संक्रमितको संख्या निकै कम भएको थियो। भारतमा आइतबार मात्र २ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने सोमबार एक हजार २४७ जना नयाँ संक्रमति थपिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

भारतमा अहिले कोभिडका ११ हजार बिरामी छन्। भारतजस्तै चीनमा पनि संक्रमितको संख्या बढ्दै गइरहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। दुवैतर्फका छिमेकी भारत र चीनमा संक्रमितको संख्या बढ्दै जाँदा नेपाल पनि उच्च जोखिममा रहेको डा. पुनको विश्लेषण छ। नेपालमा पहिलो र दोस्रो लहर शुरु हुनुमा छिमेकी मुलुक कारक रहेकाले यस पटक पनि त्यही ‘ट्रेण्ड’ दोहोरिनसक्ने स्वास्थ्य विज्ञहरूको अनुमान छ।

स्वास्थ्य मन्त्रालयले नेपालमा हाल कोरोना संक्रमणदर शून्य दशमलव २१ प्रतिशत मात्र रहेको जनाएको छ। अर्थात्, नेपालमा कोरोनाका नयाँ बिरामी फाट्टफुट्टमात्र देखिन थालेका छन्। गत २४ घण्टामा ४ हजार ४ सय ३ जनाको परीक्षण हुँदा १० जनामा मात्र संक्रमण पुष्टि भएको छ।

मन्त्रालयले पाँच प्रतिशतभन्दा कम संक्रमण दर हुनुलाई संक्रमणको सामान्य अवस्था मान्ने गर्छ। केही दिनदेखि मृत्यु हुनेको संख्या शून्यमा झरेका छ। यो करिब दुई वर्षपछि देखिएको सुखद पक्ष हो। अहिले नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित बिरामीको संख्या ३३४ रहेको छ। तीमध्ये पनि थोरै मात्र अस्पतालमा छन्।

फेरि महामारी फैलिन सक्ने जोखिम 

सरुवा रोग विशेषज्ञ डा. पुनले भारतमा पछिल्लो समय बढिरहेको संक्रमणको असर पक्कै पनि नेपालमा पनि पर्ने बताए। नेपालभ्यूजसँग उनले भने, “भारतमा फैलिएको संक्रमणले नेपालमा कति असर पु¥याउन सक्छ भन्ने विगतमै पुष्टि भइसकेको छ। त्यसैले यसमा लापरर्वाही गर्न हुँदैन।”

डा. पुनले भने, “तेस्रो लहरमा जस्तै संक्रमण फैलन सक्ला। दोस्रो लहरमा जस्तो जीवन क्षति धेरै भएन, तेस्रोमा। अब फेरि दोस्रो लहरमा डेल्टा भेरियन्टले जस्तो जोखिम ल्याउने सम्भावना म देख्दिनँ।”
पहिलो, दोस्रो र तेस्रो लहरमा भन्दा अहिले खोप लगाउनेको संख्या पनि वृद्धि भइसकेकाले पनि भाइरसले त्यति समस्या नल्याउने उनको भनाइ छ।

“अब भाइरसले समस्या ल्याउने भनेको खोप नलगाएको उमेर समूहमा हो”, डा. कोइरालाले भने, “सबै ज्येष्ठ नागरिकले अझै पनि खोप लगाइसकेका छैनन्। १२ वर्षसम्मका बालबालिकाले खोप नलगाएको अवस्थामा यो समूहलाई प्रभावित गर्न सक्छ।”

विगतमा भाइरसले आफ्नो स्वरुप बदल्दै आएका धेरै उदाहरण भए पनि अहिले आएर जीनमा मात्र परिवर्तन नभएर फरक-फरक भेरियन्ट मिसिएर ‘हाइब्रिड बनिरहेको उनको भनाइ छ। भर्खरै मात्र छिमेकी मुलुकमा संक्रण देखिएकाले नेपालसम्म आइपुग्न केहि हप्ता लाग्न सक्ने भाइरलोजिस्ट डा. जनक कोइरालाले बताए। “तत्कालै नेपालमा संक्रमण आइहाल्नेजस्तो म देख्दिनँ,” उनले भने।

डा. पुनका अनुसार, भारतमा फैलिरहेको संक्रमण र नेपालमा हुँदै गरेको स्थानीय चुनावले संक्रमण फैलाउनमा मद्दत गर्न सक्छ। विगतका दिनहरूमा पनि यस्तै सभा-सम्मेलनहरूबाट संक्रमण फैलिएर विकराल रूप लिएको थियो। त्यसबाट शिक्षा लिएर स्वास्थ्यका मापदण्डहरू पालन गर्नुपर्ने कुरामा उनले जोड दिए।

आमिक्रोनको ‘बीए १’ र ‘बीए २’ नेपालमा पनि आइसकेको र गम्भीरताका हिसाबले त्यति घातक नभएको समेत डा. कोइरालाले दाबी गरे। उनले भने, “यी भेरियन्टले गम्भीर बनाउँदैन। रुघामर्की गराउँछ तर वृद्धवृद्धा, दीर्घरोगीलाई बढ्ता समस्या बनाउँछ।”

उनले थपे, “ओमिक्रोनले पनि सीयोपीडी, ब्रोङ्काइटिस र धुमपान गर्ने तथा धूवाँधुलोमा बढी काम गर्नेलाई बढी समस्या पारेको थियो। ओमिक्रोनको अर्को भेरियन्ट आयो भने पनि त्यस्तै समस्या निम्त्याउन सक्छ।”

डा. कोइरालाका अनुसार, अहिले नयाँ भेरियन्ट फैलिएको ठाउँमा संक्रमण ठाउँमा मृत्यु हुनेको संख्या तुलनात्मक रूपमा न्यून छ। “भारतमा फैलिएको संक्रमणबाट पाठ सिक्नुपर्छ। आगामी चुनावमा बढ्ने चहलपहलले संक्रमण फैलाउन सक्ने खतरा छ।”

डा. कोइरालाले स्वास्थ्यका मापदण्डहरू पालना गरेनन् भने चुनावी भीडभाडबाटै संक्रमण ह्वातै फैलिन सक्नेतर्फ सचेत गराए। उनले भने, “फेरि संक्रमण फैलियो भने हवाई मार्ग मात्र बन्द गरेर हुँदैन। भारतसँग सीमा जोडिएका सीमानाकामा कडाइ गर्नुपर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved