मलंगवामा भारतीय बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

नेपालभ्युज

मलंगवामा भारतीय बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
सांकेतिक तस्वीर।

सर्लाही। जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मलंगवामा भारतीय बसको ठक्करबाट एक साइकलयात्री र साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

मलंगवा नगरपालिका–१२ चमेलिमाई मन्दिर नजिकै आज भारतीय बसको ठक्करबाट साइकलयात्री कविलासी नगरपालिका-९, का ५८ वर्षीय शङ्कर रायको मृत्यु भएको प्रहरीले जनाएको छ।

हरिवनमा तीर्थयात्रीलाई छाडेर सदरमुकाम मलंगवातर्फ फर्कँदै गरेको बीआर ०६ टी एफ १०७४ नम्बरको मिनी बसले साइकलयात्री रायलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।

घाइते भएका रायलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलंगवामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। दुर्घटनापछि बसका चालक फरार छन् भने बस प्रहरीको नियन्त्रणमा छ।

त्यस्तै साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मलंगवा नगरपालिका–१० जिविसचोक निवासी राममोहन पण्डितका छोरा १४ वर्षीय जितकुमार पण्डितले चलाएको साइकलको ठक्करबाट कविलासी नगरपालिका–५ निवासी ६८ वर्षीय अच्छेलालराय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

मलंगवा–१० स्थित बाटो क्रस गर्ने क्रममा पैदलयात्री रायलाई पण्डितले चलाएको साइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते अच्छेलाललाई तत्काल उपचारका लागि ओम अस्पताल मलंगवा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ठक्कर दिने साइकल र साइकल चालक पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved