मधेशमा आफ्नो दललाई पहिलो शक्ति बनाउन नेताहरूको दौड

३० वैशाखमा स्थानीय तह निर्वाचन छ। निर्वाचनमा आफ्नो दललाई जिताउन नेताहरू हरसम्भव प्रयासमा छन्। यतिबेला मधेशका जिल्लामा नेताहरूको सक्रियता हेर्न लायकको बनेको छ। २०७४ सालको चुनावपछि शहरकेन्द्रित भएका नेताहरू फेरि चुनाव नजिकिएसँगै गाउँगाउँ पस्न थालेका छन्।

मधेशमा आफ्नो दललाई पहिलो शक्ति बनाउन नेताहरूको दौड

जनकपुरधाम । एमाले पोलिटब्युरो सदस्य रघुवीर महासेठ पछिल्लो केही महीना यता जनकपुरमै छन्। महासेठ पत्नी एमाले केन्द्रीय सदस्य जुली महतो पनि जनकपुरमै देखिन्छिन्। यो दम्पती धनुषाको निर्वाचन क्षेत्र ४ मा केन्द्रित छन्।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव चैतको पहिलो सातादेखि मधेशमै अड्डा जमाएर बसेका छन्। चैतयता उनी एक साता मात्रै काठमाडौं बसे। बाँकी समय मधेशमै छन्। उसो त यादव गएको माघदेखि नै मधेश दौडाहामा थिए। उन पार्टीको मधेश कमिटी बैठकमा आफैं सहभागी हुन थालेका छन्। मधेश प्रदेश धेरैजसो स्थानीय तहमा उपस्थित भइसकेका छन्।

लोसपा अध्यक्ष महन्थ ठाकुर, पार्टीका वरीष्ठ नेताहरू राजेन्द्र महतो, शरद्सिंह भण्डारी, अनिलझालगायत नेताहरू पनि मधेशमै छन्। पूर्वदेखि पश्चिमसम्म पार्टी प्रशिक्षण कार्यक्रम गरेको लोसपाले १९ चैतमा आफ्ना शीर्ष नेताहरूको उपस्थितिमा वीरगञ्जमा स्वाभिमान यात्रा गरेको थियो।

त्यस्तै कांग्रेस पनि मधेशकेन्द्रित बनिरहेको छ। पार्टी सभापति तथा प्रधामन्त्री शेरबहादुर देउवा हालै एक दिनका लागि वीरगञ्ज पुगेका थिए। १४ औं महाधिवेशन क्रममा भएका जिल्ला अधिवेशनमा ७७ मध्ये पर्साका पदाधिकारीलाइ मात्रै प्रमाणपत्र बाँड्न देउवा वीरगञ्ज पुगेका थिए। त्यसलाई धेरैले आसन्न स्थानीय तह निर्वाचनसँग जोडेर हेरेका थिए। कांग्रेसका अन्य शीर्ष नेताहरू पनि पछिल्लो समय लगातार मधेश दौडाहामा देखिन थालेका छन्।

३० वैशाखमा स्थानीय तह निर्वाचन छ। निर्वाचनमा आफ्नो दललाई जिताउन नेताहरू हरसम्भव प्रयासमा छन्। यतिबेला मधेशका जिल्लामा नेताहरूको सक्रियता हेर्न लायकको बनेको छ। २०७४ सालको चुनावपछि शहरकेन्द्रित भएका नेताहरू फेरि चुनाव नजिकिएसँगै गाउँगाउँ पस्न थालेका छन्।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि केही दिनअघि मधेश प्रदेशमा व्यस्त भए। महोत्तरी र सिराहामा सबैभन्दा बढी समय बिताएका उनले त्यहाँका जनतासँग अब माओवादी मधेशमा झनै बलियो भएर आएको बताएका थिए। त्यस क्रममा उनले आफू प्रधानमन्त्री हुँदा मधेशमा गरेका विकास र माओवादीको लोकप्रियता बखान गरेका थिए।

त्यस्तै नेकपा (एमाले) अध्यक्ष केपी ओली पनि ३ वैशाखमा सर्लाहीको मलंगवामा भएको पार्टीप्रवेशमा सहभागी भए। उनी त्यहाँबाट मधेशकेन्द्रित दलप्रति खनिए। आफ्नो पार्टीले सधैं मधेशको न्याय गरेको बताएका ओलीले बरु मधेशकेन्द्रित दलका नेताहरूले मधेशमा मसिहा बनेका र विकासमा उनीहरू पछि परेका बताए। कविलासी नगरपालिकाका मेयरलाई आफ्नो पार्टीमा प्रवेश गरकाएका उनले मधेशमा एमालेले विकासको लहर नै चलाएको दाबी गरे।

हुलाकी राजमार्ग र रेल्वे सेवा आफू प्रधानमन्त्री भएकै बेला ल्याएको बताएका ओलीले मधेशमा एमाले अबको चुनावमा पहिलो शक्ति बनेर उदाउने दाबी गरे।

आन्तरिक समस्या हल गर्न नेताहरू व्यस्त

चुनावका लागि मधेश झरेका नेताहरू पार्टीभित्रको किचलोमा बढी रुमल्लिएका छन्। खासगरी सत्ता गठबन्धनभित्रका दलहरूलाई पार्टीभित्रबाट उम्मेदवार सिफारिस गर्न सकस भएको छ। जसले गर्दा उनीहरू जनतासँग जोडिन सकिरहेका छैनन्।

“जिल्लादेखि प्रदेशसम्मका कमिटीमा समस्या छन्। नेकपालाई अदालतले पूर्ववर्ती एमाले र माओवादीकै अवस्थामा फर्काएपछि एमाले फेरि विभाजित भयो। त्यसपछि एमालेका विभिन्न तहमा आएको समस्या हल गर्न यहीँ बसिएको हो,” नेकपा (एमाले) सचिव रघुवीर महासेठले भने।

तर एमाले नेतृ जुली महतो भने आफू सधैं जनताकै बीचमा रहेको दाबी गर्छिन्। जनकपुरमा भेटिएकी पूर्वमन्त्रीसमेत रहेकी उनले पार्टी फुटेपछि तल्लो तहमा समस्या रहेको बताइन्। “यो स्वाभाविकै हो, तर अब सबै मिलिसकेको छ, एमालेको संगठन पूर्ण रूपमा अरूसँग निर्वाचन लड्न सक्षम छ।”

महतोले यस्तो दाबी गरे पनि विभाजित भएको एमालेलाई मधेशमा भनेजसरी चुनाव जित्न भने गाह्रो छ। एमाले मात्र होइन, नेपाली कांग्रेसबाहेक मधेश प्रदेशमा ठूला भनिएका सबै दल फुटबाट पीडित छन्।

त्यही भएर पनि जसपा अध्यक्ष उपेन्द्र यादव सबै जिल्लामा पुगेर सबै स्थानीय तहमा रहेका आफ्ना पार्टीका नेतासँग छुट्टाछुट्टै कुरा गरेर समस्या सुल्झाउन व्यस्त छन्।

जनकपुरका एक जना नागरिक अगुवा भोगेन्द्र झाका अनुसार फुटको मार खेपेको दलदेखि कांग्रेसमा पनि आन्तरिक समस्या छ। र निर्वाचन नजिकिँदै जाँदा केन्द्रीय नेताहरू त्यसलाई सुुल्झाउन मधेशमा बेलैमा झरेका उनको बुझाइ छ। “मधेशको जनसंख्या बढी छ, यहाँ स्थानीय तहको संख्या पनि अन्य प्रदेशभन्दा बढी छ”, झाले भने, “त्यही भएर यहाँको संगठनलाई सबै पार्टीहरूले बढी महत्व दिएको स्वाभाविकै हो।”

झाले महाअधिवेशन क्रममा भएको आन्तरिक ध्रुवीकरणले कांग्रेसमा र नेकपाको फुटले एमाले, माओवादी तथा नेकपा एसमा र जसपाको फुटले मधेशी नेताहरूलाई आन्तरिक चुनौती थपिएको बताए।उनले भने, “नेताहरू बढी दौडाधुपको कारण यही नै हो।”

पकड बलियो बनाउने ध्याउन्न

अघिल्लो स्थानीय तह निर्वाचनमा मधेश प्रदेशमा नेपाली कांग्रेस पहिलो, जसपा नेपाल दोस्रो, लोसपा तेस्रो, माओवादी चोथो र एमाले पाँचौं शक्ति बनेको थियो । त्यही बेला एक्लाएक्लै भिडेका मधेशी पार्टीहरू प्रदेश र संघीय निर्वाचनमा तालमेल गरेर गएपछि प्रदेशमा बहुमत ल्याएका थिए।

पछिल्लो समयमा दलहरूको विगतको समीकरण फेरिएको छ। र, फेरिएको समीकरणमा दलहरू आफ्नो पार्टीलाइ सक्दो बढीभन्दा बढी सिट कसरी ल्याउन सकिन्छ भन्ने देखिन्छ। वीरगञ्जमा बस्दै आएका मधेश मामिलाका विश्लेषक चन्द्रकिशोर मधेशमा यो पटक कसको पकड बलियो भन्ने कुरा महत्वपूर्ण हुने बताए।

“स्थानीय तह निर्वाचनपछि यही वर्ष प्रदेश र संघको निर्वाचन पनि हुन्छ,” चन्द्रकिशोरले भने, “त्यही भएर यसलाई दलहरूले शक्ति आधार परीक्षणको रूपमा लिएका छन्।” साथै अहिलेको निर्वाचनले संघ र प्रदेशको स्थानीय चुनावमा मनोवैज्ञानिक असर पार्ने भएकाले नेताहरू अहिले बढी सक्रिय भएका पनि उनले बताए।

अघिल्लो निर्वाचनमा मधेशमा कमजोर देखिएको एमालेले अन्य पार्टीहरूबाट असन्तुष्टलाई तानिरहेको छ। कांग्रेस आन्तरिक द्वन्द्व व्यवस्थापन गरेर पहिलो बन्ने दाउमा छ। त्यसैगरी राजनीतिक आधार क्षेत्र मधेश भएकाले जसपा र लोसपा पनि सक्दो बढी सिट हत्याउने दाउमा छन्।

तर पार्टी फुटेपछि मधेशकेन्द्रित दलहरू भने आलोचित छन्। उनीहरूमाथि बिनाकुनै कारण सत्ता स्वार्थमा फसेर पार्टी फुटाएको आरोप छ। विगतमा एमाले अध्यक्ष केपी ओलीलाई मधेश प्रवेश निषेध नै गरेको घोषणा मधेशी नेताहरू पालौपालौ ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए। ओलीकै कारण पार्टी फुटेको गुनासो पनि मधेशमा छ। जसको असर स्थानीय तह निर्वाचनमा पर्ने देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved