१ वैशाखमा मात्र फुल्ने फूल हेर्न र पूजाअर्चना गर्न दर्शनार्थीहरूको भीड

१ वैशाखमा मात्र फुल्ने फूल हेर्न र पूजाअर्चना गर्न दर्शनार्थीहरूको भीड

जनकपुरधाम। सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? सिरहाको सलहेश फूलबारीमा रहेको रुखमा वर्षको एकपटक मात्रै नयाँ वर्षको दिन फुल्ने एउटा दुर्लभ फूल हेर्न अहिले नेपाली मात्रै नभएर भारतीय पर्यटकको पनि भीड लागेको छ।

इसाको छैटौं र सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्छ र साँझपख ओइलाएर जान्छ, जो आफै्रमा एउटा आश्चर्य हो।

दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तराष्ट्रियस्तरमा पूजनीय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रूख प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ।

मधेस प्रदेश अन्तर्गत पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन त्यो दुर्लभ फूल फुल्ने गर्दछ।

धार्मिक पर्यटकीय स्थलको रूपमा रहेको १ वैशाखमा मात्र फुल्ने फूल हेर्न र पूजाअर्चना गर्न दर्शनार्थीहरूको आज बिहानैदेखि भीड लागेको छ।

फूलबारीभित्र रहेको राजा सलहेश र मालिनीको गहवर (मन्दिर)मा पूजाअर्चना गर्न र मन्दिरसँगै टाँसिएको हारम जातको रुखमा हरेक वर्ष नयाँ वर्षमा मात्र फुल्ने जनविश्वास छ।

तराईका पासवान जातिको इष्टदेव मानिने सलहेशको पूजा गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोगलगायतका रोगब्याधि नलाग्ने जनविश्वास छ। फूलबारीभित्र दुर्लभ जातिका जडिबुटी खोज्न भारतको विहार, पश्चिम बंगाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषालगायतका जिल्लाबाट हजारौंको संख्यामा दर्शनार्थीहरू आउने गर्दछन्।

हरेक वर्षको १ वैशाखमा मात्र पूजा हुने सलहेश फूलबारीमा भव्य मेला समेत लाग्ने गर्दछ।

सलहेश गाथामा उल्लेख गरिएअनुसार तेह्रौँ शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहे पनि प्रेम असफल भएपछि सलहेशको प्रतीक्षा गर्दै मालिनी मालाको रूपमा १ वैशाखमा फुल्ने गरेको सलहेश गहवरका पुजारी हरिसिंहदेव दनुवार बताउँछन्।

१२ बिघा क्षेत्रफलमा फैलिएको सलहेश फुलबारी मेला कोरोना संक्रमणका कारण गत वर्ष नलागेकाले यस वर्ष विगतको तुलनामा मेला भर्न आउनेहरुको संख्या अत्यधिक देखिएको छ।।

यस्तो छ सलहेशको इतिहास

१३ औ शताब्दीमा मिथिलाको मैसोथा भन्ने ठाँउमा सलहेश जन्मिएका थिए। मैसोथा हालको सिरहा नगरपालिका हो। सलहेश जन्मिने कालमा मिथिलामा सामाजिक र राजनीतिक अराजकता ब्याप्त थियो।

स-सना ग्रामपिताबचको अन्तरद्वन्द्वले आम जनता पिल्सिएका थिए। सलहेशले तात्कालिन समान्त विरुद्ध सुसंगठित शक्तिको निर्माण गरेर सबैलाई परास्त गर्दै राज्य स्थापना गरे।

पूर्वमा कोशी पश्चिममा गण्डकी उत्तरमा चुरे पर्वत श्रृखला र दक्षिणमा गंगासम्मको मैदानी भागमा सलहेशको शासन सत्ता स्थापना भयो।

बाहिरी आक्रमणकारीबाट यी क्षेत्रलाई सुरक्षित बनाउन सलहेशले अत्यन्त कुशल र युद्धकलामा निपुण सैन्य शक्ति स्थापना गरेका थिए।

गाम जनताको जिविकाको माध्यम कृर्षि र पशुपालन तथा प्राकृतिक श्रोत साधनमा आमजनातको पहुचलाई सुनिश्चित पारेका थिए।

बिकेन्द्रिकृत शासन प्रणालीको स्थापना, न्याय प्रणालीलाई विश्वसनिय र छरितो बनाउन सहलेश आफ्ना योगदानका कारण देवताका रुपमा पुजित छन्। सयौ बर्ष बितिसक्दा पनि सहलेशलाई मिथिलाको प्रत्येक गाँउमा मन्दिर स्थापना गरि लोक नायकको रुपमा पूजा गर्ने गरिन्छ।

पछिल्लो समयमा सलहेशलाई दलित जातका दुसाध जातीको रुपमा अपब्याख्या गरिने कार्य भयो। तत्कालिन अवस्थामा अछुत मानिएको दुसाधको मात्र देवता सलहेशको योगदानलाई अस्वीकार गर्ने अभिजातिय सोचको परिपाटी थियो।

सहलेश मिथिला र नेपालको भूमिलाई वाह्य आक्रमणबाट रक्षा गर्ने देशभक्त थिए। मिथिलाको साँस्कृतिक परिचय सलहेश विना अपुरो हुन्छ। सलहेशको व्यतित्वको आकर्षणको प्रभावमा अहिले पनि सम्पूर्ण मिथिला क्षेत्रमा रहेको छ।

सलहेशको समाजमा प्रभाव

तत्कालिन समाजमा सलहेश अन्यन्त न्यायप्रेमी शासक मानिएका छन्। जातिय द्वन्द्व चर्किएको बेलामा सलहेशले सबैलाई संगठित गरेका थिए।

सबै जात जातीले सलहेशको नेतृत्वलाई स्वीकार गरेका थिए। मिथिला समाजमा सलहेश र उनका सहयोगी पात्रलाई सयौ बर्ष बितिसक्दा पनि कसैले बिर्सिएका छैनन्।

सलहेशलाई न्यायको प्रतिमूर्ती मान्छन्,भने कुनै पनि इच्छा रोग भोक ऋण, पीडाबाट मुक्तिको लागि अहिले पनि सलहेशको भाकल गर्ने परम्परा छ। सलहेशका भाई मोतिरामलाई पहलमानहरु स्मरण गरि मात्र अखडामा उत्रन्छन्।

वनबाट काठ र अन्य उत्पादित समाग्री ल्याउन जानेहरु हिंर्सक बन्यजन्तुसंग बँच्न सलहेश भान्जा करिकन्हा। बहिनी बनसप्तीको पूजा गर्दछन्। अर्थात मिथिलाको समाजिक जीवन सलहेशको प्रभाव व्यापक विस्तृत छ।

किराँतसँगको सम्बन्ध

मिथिलामा सलहेशले राज्य स्थापना गरिसकेपछि सबैभन्दा ठूलो चुनौति जनतालाई एक जुट बनाउनु र यसैको बलमा सीमालाई सुरक्षित पार्नु थियो।

मिथिलालाई गण्डक, गंगा र कोशीले एक प्रकारको सुरक्षा चक्र प्रदान गरेको थियो।

उतर तिरबाट मात्र मिथिलामा आक्रमण हुन सक्ने बढी खतरा थियो। तिब्बत र भुटानका नरेश संगको संलग्नता र मिथिलाका खुंखार डाँकु(दस्यु) चुहरमलको सहयोगमा पटक पटक आक्रमण भईरहेको थियो।

मिथिलाको समथर भूमि अन्न र पशुधनको दृष्टिले अत्यन्त समृद्ध रहेको हुँदा आक्रमणकारीहरुले यस क्षेत्रमाथि आँखा गाडेका थिए। आक्रमणगरि फर्कने तिब्बती सैनिकहरु महाभारत पर्वत श्रृखलामा बसोबास रहेको किरातीहरुलाई पनि लुटपाट गर्दथे। अर्थात मिथिला र किराँत दुवै समान रुपमा आक्रमणको पीडा भोग्न बाध्य थिए।

त्यति बेला मैथिल र किराँत संयुक्त सैन्य निर्माण गर्ने र सामूहिक शत्रुलाई सामुहिक प्रतिवाद गर्ने सलहेशको प्रस्ताव किराँती सैन्य पति केबला किराँतले स्वीकार गरे।

केही दिनपछि पकरियागढ र तरेगनागढको लडाईमा तिब्बत भुटान र चोहरमलको संयुक्त सैन्य शक्तिलाई परास्त गरि भुटानी नरेश सुंगलाई सलहेश बन्दी बनाउन सफल भएका थिए।

अर्थात् किराँतसँगको संयुक्त सैन्य निर्माणपछि बाह्य आक्रमणकारी पराजित पनि हुन थालेका थिए। तर त्यसैकारण भयभित हुन थालेका थिए। यी क्षेत्रहरु सुरक्षित हुन थालेको थियो।

सलहेशका उपसाकहरु,उनलाई देवताका रुपमा पूजा गर्नेहरु,मन्दिर स्थापना भएका ठाँउहरुमा अहिले पनि सैन्य भेषमा मंगोलियन अनुहार देखिन्छ। त्यो केबल किराँती हो। मिथिला अहिले पनि आठसय बर्ष अगाडी स्थापित सम्बन्धलाई उतिकै सम्मान गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved