बाँकेमा धार्मिक महोत्सव शुरू

नेपालभ्युज

बाँकेमा धार्मिक महोत्सव शुरू

बाँके। असहाय तथा ज्येष्ठ नागरिकलाई आश्रयस्थल निर्माण गर्न नेपालगञ्जमा निलसागर बाँके धार्मिक महोत्सव सुरुआत गरिएको छ। संस्थाको निर्मार्णाधीन भवनलाई पूरा गर्न बजेट अभाव भएकाले धार्मिक महोत्सव गरिएको आयोजकले जनाएका छन्।

निल सागर सेवा आश्रमका उपाध्यक्ष अमन सुवेदीले आश्रममा असहायको सङ्ख्या बढ्दै जाने र आर्थिक स्रोत नहुँदा धान्न नसक्ने अवस्था आएपछि आश्रमले महायज्ञ गरेर आर्थिक स्रोत जुटाउन महोत्सव गर्न लागेको बताए।

उपाध्यक्ष सुवेदीले पवित्र कार्यको महायज्ञ लगाएकाले त्यसले सार्थकता पाउने विश्वास व्यक्त गरे। महायज्ञ दैनिक बिहान ६ देखि १० बजेसम्म, बेलुका ६ देखि राति १२ बजेसम्म सञ्चालन हुनेछ।

नेपालगञ्जमा गर्मी हुने भएकाले दिउँसो महायज्ञका कार्यक्रम नराखेको आयोजकले जानकारी दिएका छन्। उनले धार्मिक कार्यमा सहभागी भएर लाभ उठाउन र असहाय तथा ज्येष्ठ नागरिकलाई सहयोग गर्न अनुरोध गरे।

आश्रमले महायज्ञको प्रचारका क्रममा जङ्गलमा एक मनोसामाजिक समस्या भएका करिब ४० वर्षीय व्यक्तिलाई भेटेपछि उद्धार गरेर आश्रम ल्याएको छ। महायज्ञको पहिलो दिन नरैनापुर गाउँपालिकाले रु पाँच लाख सहयोगको घोषणा गरेको छ। वैशाख ४ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा पण्डित नाराण न्यौपानेसहित तीन जनाले प्रवचन दिनेछन्।

महोत्सवमा नगदभन्दा पनि भौतिक सामग्रीलाई जोड दिइएको उपाध्यक्ष सुवेदीले जानकारी दिए। बाँकेस्थित आश्रममा कूल १७२ जना भएकोमा अभिभावकविहीन बालबालिका ४५ र अन्य छ जना रहेका छन्।

यस आश्रमको दाङ, पाल्पा, बर्दियाको गुलेरियामा शाखा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved