मेयर शाक्यसहित तीन जनालाई सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वाेच्चको आदेश

नेपालभ्युज

मेयर शाक्यसहित तीन जनालाई सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वाेच्चको आदेश

काठमाडौं। सर्वाेच्च अदालतको आदेशविपरीत काष्ठमण्डपको लोकार्पण गरेको भन्दै अधिवक्ता सञ्जय अधिकारी, अर्णव चौधरी र रुबी स्थापितले दायर गरेको मुद्दामा विपक्षीलाई लिखित जवाफ पेश गर्ने आदेश दिएको छ।

हनुमानढोका दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको काष्ठमण्डपमा चार ओटा गणेश र गोरखनाथको नयाँ मूर्ति राखिएको छ। नयाँ मूर्ति राख्न रोक लगाउन माग गर्दै अधिवक्ता सञ्जय अधिकारीलगायतले सर्वोच्चमा मुद्दा हालेका थिए।

उक्त रिटमा सर्वोच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म यथास्थितिमा राख्न आदेश दिएको थियो।

आज (२४ गते) सर्वाेच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, हनुमानढोका दरबार हेरचाह अड्डा कार्यालय प्रमुख सन्दीप खनाललाई सात दिनभित्र लिखित जवाफ लिई आफैं उपस्थित हुन आदेश दिएको छ।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र काठमाडौं महानगरपालिका २० वडा कार्यालयलाई आफै वा प्रतिनिधिमार्फत जवाफ पेश गर्न आदेश दिएको हो।

अदालतको आदेश आएपछि अधिवक्ता अधिकारीले भने, “आज सम्मानित अदालतले विपक्षीलाई स्वयं उपस्थित हुनू भनी भनेबाट कानूनभन्दा माथि कोही छैन र यो देशमा विधिको शासन जीवित रहेको छ भन्ने अनुभूति भएको छ।”

काष्ठमण्डपभित्र रहेका गोरखनाथ र ४ वटा गणेशका मूर्ति परिवर्तन गरी नयाँ हालेको भन्दै २८ पुसमा जनहित संरक्षण मञ्चको तर्फबाट अधिवक्ता सञ्जय अधिकारीले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए।

मुद्दाको सुनुवाइपछि सर्वोच्चबाट ३ माघमा ‘काष्ठमण्डपभित्र रहेका गोरखनाथ र ४ वटा गणेशका प्राचीन मूर्तिहरूको पुरातात्विक, सांस्कृतिक तथा ऐतिहासिक महत्व रहेको देखिँदा उल्लिखित मूर्तिहरू विस्थापित गरिएमा पुरातात्विक महत्वका चिजवस्तुहरूको उपयोगिता र धार्मिक आस्थामा समेत असर पर्ने देखिएकोले साविकदेखिका पुराना मूर्तिहरू विस्थापित गर्नेलगायत कार्य नगरी प्रस्तुत रिट निवदेन अन्तिम किनारा नलागेसम्म यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश जारी गरेको थियो।

तर भएको मूर्तिलाई कोठामा बन्द गरी राखी अदालतलको अन्तरिम आदेशको अवहेलना गरेको भनी अधिवक्ता सञ्जय अधिकारीले २० चैतमा मुद्दा दायर गरेका थिए।

यो पनि पढ्नुहोस्

राष्ट्रपति भण्डारीद्वारा गोरखनाथ र गणेशका प्राचीन मूर्तिबाहेक नै काष्ठमण्डप लोकार्पण


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved