‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्नु पहिलो प्राथमिकता : राष्ट्रपति भण्डारी

भण्डारीले भनिन्, “मुलुकको अधिकांश क्षेत्र हिमाली र पहाडी भएका कारण द्रूतगतिमा प्रवाह हुने धेरै नदीहरुले जलविद्युतको विकास र विस्तारमा ठूलो योगदान पुर्‍याउन सक्दछन्।”

नेपालभ्युज

काठमाडौं। राष्ट्रपति विद्या भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी ‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्नु प्राथमिकताको विषय रहेको बताएकी छन्।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयातित बिजुलीका कारण केही वर्षअघि मात्रै हामीले लोडसेडिङबाट मुक्ति पाएको उल्लेख गर्दै यसको दीर्घकालीन समाधान भनेको हाम्रो आफ्नै उत्पादन हुनु रहेको पनि स्पष्ट पारिन्।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनमा पनि विद्युत व्यापारका लागि प्रशारण लाइन निर्माण गर्ने काम शुरु भएको भन्दै त्यसले मुलुकमा यस क्षेत्रको विकासका लागि लगानी गर्न प्रतिस्पर्धाको वातावरण बन्ने विश्वास समेत व्यक्त गरिन्।

“हाम्रो मुलुक अथाह जलसम्पदाले सम्पन्न छ। विद्युतको आन्तरिक खपत गरी निर्यात गर्ने क्षमतासमेत हामी राख्दछौं,” भण्डारीले भनिन्, “मुलुकको अधिकांश क्षेत्र हिमाली र पहाडी भएका कारण द्रूतगतिमा प्रवाह हुने धेरै नदीहरुले जलविद्युतको विकास र विस्तारमा ठूलो योगदान पुर्‍याउन सक्दछन्।”

राष्ट्रपति भण्डारीले हाम्रो राष्ट्रिय ऊर्जा आवश्यक्ता पूरा गर्ने उद्देश्य राखेर जलविद्युत विकासका लागि योजनावद्ध प्रयास हुन थालेको समेत आधा शताब्दी भइसकेको बताइन्। तर, जनताको ठूलो संख्याले अझै बिजुली बाल्न नपाएका भन्दै उनले हाम्रा उद्योगहरुले आज पनि माग अनुसार बिजुली प्राप्त गर्न नसकेको बताइन्।

राष्ट्रपति भण्डारीले साना र मझौला जलविद्युत आयोजनामा लगानी गरेर उज्यालो गाउँ बनाउने अभियानलाई तीव्रता दिन पनि निजी क्षेत्रलाई आग्रह गरिन्। उनले ठूलो जलविद्युत आयोजना सम्पन्न गर्न समय लाग्ने भएकाले त्यसले तत्काल ऊर्जा आपूर्ति हुन नसक्ने पनि दोहोर्‍याइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved