प्रिय कथा

इरफान अली

सुन्नुहोस्

“ओहो, यो त निकै डरलाग्दो विषय हो।” मूल चौकीदार निकै चिन्तित देखियो। उसले आफ्नो पल्टनतिर हेरेर फेरि भन्यो, “अब तिमीहरू नै भन यदि यो जेल, जेल जस्तो भएन भने व्यवस्था कसरी चल्छ ? अनि व्यवस्था भएन भने ?”

इरफान अली

(रचनागर्भ- ‘इरफान अली’ शीर्षकको कथा मैले वि. सं. २०४९ को फागुन या चैततिर लेखेको हुनुपर्छ। अहिले म त्यो समयबारे किटानीका साथ भन्न सक्दिनँ। छापिएको मिति भने मलाई थाहा छ- २०५० जेठको ‘मधुपर्क’ मा। कथा छाप्दा उक्त पत्रिकामा सम्पादकले इरफान अलीले भोजपुरी भाषामा बोलेको संवादलाई खस नेपालीकृत गरिदिएका थिए। किन गरे, म भन्न सक्दिनँ। तर त्यो अनुवादले त्यहाँ खास इरफान अली थिएन, कोही अर्कै थियो, धनबहादुर, हर्कबहादुर आदि। २०५१ सालमा कथासङ्ग्रह तयार पार्दा मैले त्यसलाई पुनर्लेखन गर्नुपर्‍यो। ‘मधुपर्क’ को त्यो अनुवादलाई सच्याएर फेरि पहिलेकै हालतमा ल्याएपछि त्यो कथाको रचनाप्रक्रियाले पूर्णता प्राप्त गर्‍यो।

कुनै पनि कलाकृतिको सिर्जनामा संलग्न हुँदा मलाई सदैव पूर्ववर्ती र समकालीन कलाकृतिका संरचना, संगठन, ध्वनि र विम्बहरुले एकैसाथ लखेटिरहेका हुन्छन्। कलाउत्पादनको स्थापित परम्पराको गोरेटोमा हिँडे पनि नवीन राजमार्गको खोजी नै मेरो कलागत धर्म, अनुशासन, संहिता र प्रतिवद्धता बन्ने गरेको छ। ‘इरफान अली’को गर्भाधानमा पनि म यी दबाबहरुबाट मुक्त हुन सकिनँ। त्यसैले पनि यो कथा समग्रमा शास्त्रीय बान्कीको नजिक र अन्तर्यमा यथार्थवादको बान्की बन्न पुगेको छ भन्ने मेरो ठहर छ।

पात्रको रुपमा इरफान अलीसित मेरो प्रगाढ सम्बन्ध थिएन। त्यो नितान्त काल्पनिक विम्ब थियो। राम्रो चिनजान नभए पनि त्यसैले बिस्तारै मेरो मस्तिष्कमा ठाउँ बनाउन थाल्यो। संरचना निर्माणको प्रक्रियामा त्यो तराईको काल्पनिक मुसलमान मेरो संवेद्यताको ग्रन्थीमा बिस्तारै चल्मलाउन थाल्यो। त्यस बखतको अमानवीय व्यवस्थाले हुर्काएका केही विसङ्गत चित्रहरु मेरो मानसपटलमा थिए। निरङ्कुश राज्यसत्ताको सांस्कृतिक सहउत्पादनका विकारग्रस्त सिमानाभित्र म आफैँ पनि सताइएको पात्र थिएँ। त्यसैले म आफूलाई ‘इरफान अली’ मा अनुवाद गर्न चाहन्थेँ। नरकको अँध्यारोमा उज्यालो खोज्दै भड्किएको मेरो मन तानाशाही मूल्यहरुको भत्र्सना र प्रतिवादमा निस्कन चाहन्थ्यो। त्यसैको परिणामस्वरुप ‘इरफान अली’ जन्मियो।)

चोरीको अभियोगमा थुनामा परेको इरफान अलीलाई आठ नम्बर चौकीमा लगियो भन्ने खबर सुकेको खर डढेँझैँ सम्पूर्ण जेलभरि एक्कासि फैलियो।

“त्यसो हो भने आज पनि अनिष्ट हुँदै छ।” जेलभित्रको चौबाटामा बसेको बुढो कैदीले भन्यो।

“साले मुसल्टेलाई साढे सातको दशा लागेको थियो कि ?” अर्काले थप्यो।

दिउँसो चार बजेतिर यो घटना घटेको थियो। चैतको आखिरी दिन भएकाले जाडो निकै घटिसकेको थियो। इरफान अलीले फूलबारीको छेउबाट आल्मुनियमको थोत्रो डेक्चीमा माटो उठायो र आफ्नो कोठातिर लाग्यो। चुलो बनाउने सोच थियो उसको। हिजो मात्र उसलाई वीरगन्जबाट महानगरको यो जेलमा सारिएको थियो। आइपुग्दा राति अबेर भएकाले हिजो र आज बिहान उसले चौकीदारहरुकै भान्सामा खाएको थियो।

इरफान अली भर्‍याङको तीन खुड्किला मात्र उक्लेको थियो, कोठा नाइके दलसिङले पछाडिबाट कठालो समात्यो। दलसिङको श्वास-प्रश्वास निकै गतिमान थियो। यसबाट बुझिन्थ्यो, उसले निकै टाढाबाट इरफान अलीको यो काम देखिइरहेको थियो र तेज रफ्तारमा कुदेर उसको कठालो समात्न आइपुगेको थियो।

“साला मुसल्टे, चौकीमा हिँड्।” दलसिङले घचेट्दै आदेश दियो।

इरफान अली एक छिन हक्क न बक्क भयो। उसले दलसिङको कुरा बुझेन।

“अझै कुरा बुझिनस्, साला ! चौकीमा हिँड्।”

त्यसपछि दलसिङले इरफान अलीलाई आठ नम्बर चौकीमा छिरायो।

आठ नम्बर चौकी कुनै पनि कैदीका निम्ति आतंकको नाम थियो। यो नम्बरमा कुनै कैदीलाई लानु भनेको दुर्भाग्यपूर्ण घटनाको थालनी मानिन्थ्यो। यहाँबाट कुनै कैदी कहिल्यै सग्लो रुपमा फर्किन पाउँदैनथ्यो। पाकेटमारदेखि चोर, डाका, हत्यारा वा राजनेताहरुलाई ठीक ठाउँमा ल्याउनुपर्‍यो भने जेल प्रशासनले त्यहीँ ल्याउँथ्यो। यहाँ ल्याएपछि शारीरिक यातनाको असह्य सिलसिला चलाइन्थ्यो। र, यस्तो यातनाबाट कैयौंले ज्यान पनि गुमाएका थिए।

यो जेलको सनातन र वैधानिक नियम यही थियो। जबकि, कुनै पनि कैदीलाई कुटेर मार्न पाइने व्यवस्था राज्यले पारित गरेका कानूनका पोथीहरूमा थिएन।

इरफान अलीलाई मूल चौकीदारका अगाडि उभ्याइयो। ऊ डरले थरथर कामिरहेको थियो।

“मालिक फूलबारीको माटो चोर्ने मुसल्टे यही हो।”

“वीरगन्ज जेलमा साम्प्रदायिक दङ्गा भएर यहाँ सारिएको कैदी होइन यो ?” मूल चौकीदारले सोध्यो।

“हो मालिक, यसलाई हिजो मात्र यहाँ ल्याइएको हो।” दलसिङले भन्यो।

“ए, त्यसो भए यसलाई त्यहाँ कुनामा लगेर बाँध।” मूल चौकीदारले आदेश दियो।

मूल चौकीदार आफ्नै स्वास्नी मारेको अभियोगमा बीस वर्षे सजाय काटिरहेको थियो। झन्डै चौध वर्ष काटिसकेकाले ऊ जेल र व्यवस्थाप्रति वफादार थियो। किनकि, राजाको आगामी शुभ जन्मोत्सवको आममाफीमा छुट्ने उसको लालसा थियो।

इरफान अलीले आफूलाई यहाँ किन ल्याइयो र किन डोरीले बाँधियो भन्ने पटक्कै बुझ्न सकेन। उसको विचारमा, उसले कुनै गलत काम गरेको थिएन। हिजो यहाँ पसेदेखि नै उसले कसैसित एक शब्द पनि बोलेको थिएन। पहिलो कुरा त ऊ नयाँ थियो। दोस्रो, देहाती भाषा मात्र बोल्न अभ्यस्त थियो। त्यसले पनि उसलाई कठिनाइ उत्पन्न भएको थियो।

बिहान उठेदेखि कसैसित एक शब्द पनि नबोल्ने हुनाले उसको कसैसित झगडा हुने प्रश्न नै उत्पन्न हुँदैनथ्यो। फेरि ऊ झगडालु स्वभावको मानिस पनि थिएन।

त्यसो भए उसलाई यो नर्कमा किन ल्याइयो ? के अपराध थियो उसको ?

तर, त्यो समय मुलुकमा तानाशाही व्यवस्थाको दबदबा थियो र त्यो अवस्थामा कुनै पनि प्रश्नको उत्तर पाइँदैनथ्यो।

इरफान अलीले यो प्रश्न आफ्नै आत्मालाई सोध्यो। आत्मामा अल्लाह बसेका हुन्छन् भन्ने उसको विश्वास थियो। कुरान उसले पढेको थिएन। तर, पढ्नेहरूले उसलाई त्यही भनेका थिए।

धेरै समयसम्म प्रश्नको प्यासले छट्पटिएको इरफान अलीमाथि एक्कासि दलसिङका लात, घुस्सा र डन्डा वर्षन थाले। उसको अनुहार क्रमशः रङ्गहीन हुन थाल्यो। यसरी श्याम वर्णको त्यो सज्जन मुसलमानको अनुहारको आकृति पीडा र भयले गर्दा नराम्रोसित खजमजियो।

“मालिक, दया करीं। हमर कुछो भूल नैखे।” उसले भन्यो।

“अझ भूल छैन भन्छ ए रण्डीको छोरो त !” मूल चौकीदार कड्कियो।

“जेल परेपछि जेलको काइदा-कानून पालन गर्नुपर्छ भन्ने थाहा छैन, गधा !” मूल चौकीदारकै आवाजमा लय थप्दै दलसिङ पनि गर्जियो। आवाजको विस्फोट हुन थालेपछि इरफान अलीले फेरि आफ्नो आत्माको ईश्वरलाई सोध्यो, “अल्लाह, मबाट के गल्ती भयो ? कुनै गल्ती गरे जस्तो त लाग्दैन।”

अनि प्रकटमा मूल चौकीदारतिर फर्केर भन्यो, “मालिक, हमरा से जे भइल, अनजानमा भइल। हमर कुछो भूल नैखे, दया करी !”

उसले जतिसुकै विनम्र भावमा माफी मागे पनि मूल चौकीदारको मन पग्लेन। उसको मन मैनझैँ कमलो पनि थिएन। दयावन्त हुँदो हो त मूल चौकीदारको पद कसरी प्राप्त हुन सक्थ्यो ? किनकि जेलको अलिखित विधान अनुसार त्यस्तो व्यक्ति मात्रै चौकीदार बन्न सक्थ्यो, जो अत्यन्त क्रुर र जटिल हुन्छ।

नक्खु घटनापछि जेल अरू बढी कडा भएको थियो।

उपत्यकामा रहेको अर्को जेल नक्खुमा झापा आन्दोलनका राजबन्दीहरु पैंतालीस मिटर लामो सुरुङ खनेर फरार भएपछि गृह मन्त्रालयले जेल प्रशासनहरुलाई अझ बढी कडिकडाउ गर्न आदेश दिएको थियो। त्यसै अनुरुप जेलभित्र कुनै पनि प्रयोजनका निम्ति माटो खन्न निषेध गरिएको थियो। सेन्ट्रल जेलका सबै कैदीलाई यो कुरा थाहा थियो। बिचरा इरफान अलीलाई मात्र थाहा भएन।

“होइन ए गाँठे, यसले यस्तो कडा कानूनलाई कसरी चुनौती दिन आँट गर्‍यो, हँ !” मूल चौकीदारले उदेक मान्दै प्रश्नको ओथारो हाल्यो।

“यो पनि अराष्ट्रिय तत्वकै एउटा मतियार होला, मालिक ! नत्र कसरी यत्रो जोखिम मोल्न सक्छ ?” दलसिङले आफ्नो हाकिमको समर्थनमा केही शब्द थुपार्‍यो।

समय बित्दै गयो। आठ नम्बर चौकीमा सुत्ने मूल चौकीदारको पल्टन विभिन्न कामबाट फर्कियो। अब त्यो सुरुङ जस्तो लामो कोठामा झन्डै एक दर्जनजति शासक कैदीहरू उपस्थित थिए।

त्यसपछि अझ बढी जङ्गली यातनाको पटकथा आरम्भ भयो। त्यहाँ प्रदर्शित बर्बरताको दृश्यावली कुनै पनि भलादमीले आफ्नै आँखाले हेर्न सक्दैनथ्यो।

सबैभन्दा पहिले इरफान अलीमाथि एक घैँटो पानी खन्याइयो। त्यसपछि उसको चिसो कपाल भुत्ल्याउँदै मुखैमुखमा प्रहार गरियो। मुखबाट रगतको तातो झोल बग्न थाल्यो अनि यातनाको असह्य पीडाले बटारिँदै उसले फेरि प्रार्थना गर्‍यो, “हे अल्लाह, हमर कुछो भूल नख दया करीं।”

तर, इरफान अलीको यो प्रार्थना कसैले सुनेन। लगभग आधा घण्टासम्म यातनाको सिलसिला जारी भएपछि आक्रोश र घृणा मिसिएको स्वरमा उसले जेल प्रशासनका मानिसहरुतिर फर्केर भन्यो, “हाय अल्लाह ! शैतान के हात से हम असहाय के रक्षा करीं।”

उसको गाली मूल चौकीदारले राम्ररी सुन्यो। आफूलाई शैतान भनिएकामा उसको रिसको तह अचानक उकालो चढ्यो।

“के भनिस् ? कसलाई भनिस्, ए रण्डीका छोरा ? तिमीहरूले सुन्यौ, यसले के भन्यो ? अब म ठोकेर भन्छु, यो अराष्ट्रिय तत्व नै हो। यो सामान्य कैदी हुनै सक्दैन।”

“ठीक मर्जी भो, मालिक। यो अराष्ट्रिय तत्व नहुँदो हो त यसलाई किन जेल सरुवा गर्नुपथ्र्यो ?” दलसिङले भन्यो।

“ओहो, यो त निकै डरलाग्दो विषय हो।” मूल चौकीदार निकै चिन्तित देखियो। उसले आफ्नो पल्टनतिर हेरेर फेरि भन्यो, “अब तिमीहरू नै भन यदि यो जेल जेल जस्तो भएन भने व्यवस्था कसरी चल्छ ? अनि व्यवस्था भएन भने ?”

“ठीक भन्नुभो, मालिक !” कैदी पल्टनका तीन-चार जना एकै स्वरमा कराए।

इरफान अलीको पछिल्लो भनाइपछि उनीहरू विभिन्न कोणबाट उसको जीवन चरित्रबारे आआफ्नो ज्ञान र बुद्धि अनुसार विचार मन्थनमा सामेल भए। उता, इरफान अलीको पूरै शरीर रगतले लतपत भइसकेको थियो।

“भन् ए मुसल्टे, तँ कुन उग्रवादीको दलाल होस् ? कुन एम्बेसीको पैसा खान्छस्, भन् ?” मूल चौकीदार आफ्नो खाटबाट उठ्यो र आफैं इरफान अलीतिर जोतियो।

तर, इरफान अलीले मूल चौकीदारको प्रश्नको जवाफ दिएन। पहिलो कुरा त यो प्रश्न नै उसका निम्ति अमूर्त चित्रकला जस्तो क्लिष्ट थियो। दोस्रो, लगातारको पिटाइले ऊ यति क्लान्त भइसकेको थियो, अब आवाज भन्ने चीज उसको जिब्रोबाट धेरै टाढा भइसकेको थियो।

जेलको विधान अनुसार यातनाको दोस्रो परिच्छेद आरम्भ भयो। सामान्य शिक्षादीक्षाले नपुग्ने कैदीलाई यो परिच्छेदमा गहकिलो व्यवहार गरिन्थ्यो। नङमा पिन घुसार्ने, पैतालामा तातो फलामको रडले पोल्ने र उँधो मुन्टो पारेर झुन्ड्याउने आदि कर्महरू यो प्रकरणमा पर्थे।

दोस्रो परिच्छेद आरम्भ भएको एकै छिनमा इरफान अलीको मुखबाट मानिसको कान र हृदयले सुन्नै नसक्ने चीत्कार निस्किन थाल्यो। यस पटक आठ नम्बर चौकीमा उत्पन्न भएको चीत्कार त्यसका भित्ता र प्वालहरू नाघेर जेलका अरू कोठासम्म पनि पुग्यो। त्यसपछि ऊ अनन्त अनन्तसम्मका निम्ति बेहोश भयो।

जेलको नियम अनुसार साँझ छ बज्दा-नबज्दा सबैले खाना खाइसक्नु पथ्र्यो। जेलको आन्तरिक प्रशासनलाई पनि यो नियम लागू हुन्थ्यो। त्यसैले उनीहरू डोरीले बाँधेर लडाइएको मृत इरफान अलीलाई त्यहीं छोडेर भान्साकोठातिर हिँडे। त्यस दिन साँझको भान्सामा सबैले खानेकुराको भन्दा पनि उही अभागी कैदीले माटो खनेको विषयलाई लिएर अनेक किसिमका व्याख्यान र तर्कहरू पेश गरे।

सात बजेको समाचार आयो। जेलभरिका कैदीहरू विभिन्न कोठाबाट रेडियो सुन्न जेलको माझको चौतारामा आए। तर, आज कसैले पनि समाचारमा कान लगाएन। सबैका निम्ति इरफान अली नै त्यस दिनको चर्चित र ठूलो समाचार थियो।

“अभागी मुसल्टे ! काम गर्नुअघि हामीसित सोधेको भए कम से कम यस्तो दुर्भाग्यमा त फस्ने थिएन।” समाचार सुन्ने निहुँमा त्यहाँ उभिएको एउटा कैदीले नजिकैको अर्को कैदीसित भन्यो।

“त्यो अलि कपटी खालकै रहेछ। कम से कम आएपछि कसैसित मित्रभाव पनि राख्न सकिन्थ्यो।” साथी कैदीको कुरामा अर्काले थप्यो।

“आएदेखि निकै उदास-उदास देखिन्थ्यो। जेल परेपछि त व्यवहार चौपट भएर पीर गरेको थियो कि ?” अर्काले दुःख व्यक्त गर्‍यो।

“त्यसलाई किन त्यति विधि शङ्का गरियो ? कुन राजनीतिक पार्टीतिर लागेकै थियो कि त्यो ?”

समाचार सकिएपछि सबै कैदी आआफ्ना कोठातिर लागे। बाहिर शहरमा आवाजहरूको कोलाहल अझै मत्थर भएको थिएन, तापनि जेल चाँडै शान्तिपूर्वक सुतेको अजिङ्गरझैँ देखियो। त्यसपछि पहरेदारको ‘खबरदार ! खबरदार !’ कर्कश आवाजमा मुखर हुन थाल्यो।

उता, आठ नम्बर चौकी भने अझै आफ्ना गलत र अमानवीय कर्तुतहरूका निम्ति सक्रिय र जागरूक थियो। यी सबै गतिविधिले दर्शाउँथे- तत्कालीन नेपालको प्रतिविम्ब यहाँ प्रदर्शित छ। अर्थात्, राजधानीको जेलको त्यो कोठा एउटा दर्पण हो जहाँ सिङ्गै नेपालको छाया हेर्न सकिन्छ, जहाँ देशको अन्याय र अत्याचार हेर्न सकिन्छ। इरफान अलीमाथि नाहकमा भएको अत्याचार पनि त सिङ्गै मुलुकमा हुने अत्याचारको एउटा बोन्साई रूप न थियो।

रातको दश बजेसम्ममा मूल चौकीदारको पल्टन रक्सीले टिल्ल परिसकेको थियो। जेलभित्र यही एउटा वर्गलाई मात्र रक्सी खाने छूट थियो।

त्यसै बेला अघिपछि बन्दुक बोकेका गार्डहरू लिएर जेलर आइपुग्यो। सामान्यतया जेलर आउने समय पनि त्यही थियो। आउन साथ उसले सोध्यो, “के छ यसको हालखबर ?”

“एकदमै ठीक छ, सर !” मूल चौकीदारले भन्यो।

“शिक्षादीक्षा पायो कि पाएन अधमले ?” पुनः जेलरले सोध्यो।

“शिक्षादीक्षा मात्र होइन सर, त्यसले त पूरै मुक्ति पाइसक्यो।” मूल चौकीदारले भन्यो।

आन्तरिक प्रशासनका कैदीहरूको उत्साह बढाएर चौकीबाट जेलर हिँडेपछि इरफान अलीको शरीरको लुगा फुकालियो। त्यसैबीच मूल चौकीदारले दलसिङलाई भन्यो, “ए दले, हेरहेर यो असली मुसलमान हो कि नक्कली ?”

“कसरी थाहा हुन्छ मालिक यो कुरा ?”

“त्यति पनि थाहा छैन, गधा ! त्यो असली मुसलमान हो भने गुप्ताङ्गको छाला काटिएको हुन्छ।”

त्यसपछि मूल चौकीदार ठूलो स्वरमा हाँस्यो र पछि त्यो हाँसोलाई नेता मानेर कोठाभित्रका सबै कैदी अट्टहास छोड्न थाले।

रातको एघार बजेतिर नाङ्गो इरफान अलीलाई ओल्टाइपल्टाइ पारियो। उसको छातीमा मुटु र फोक्सो चलेको छ कि छैन भनेर दलसिङले विभिन्न ठाउँमा घोचपेच गयो। रक्सीले रन्थनिएर होला, एक छिनसम्म उसले ठम्याउन सकेन त्यहाँ जीवन छ या मृत्यु। तर केही समयमै थाहा भयो- उसको शरीरमा कतै तातो छैन। त्यो हिउँको डल्लोमा परिवर्तन भइसकेको छ।

“यसले सिलटिम्मुर खाइसक्यो, मालिक !” निकै समयको खोजपछि दलसिङले घोषणा गयो।

त्यसपछि जेलको धर्म-परम्परा अनुसार उसको देहलाई जेलबाट बाहिर रहेको अस्पतालतिर लगियो। यो त्यो अस्पताल थियो, जसले मानिसको हत्यालाई सहज दुर्घटना भनेर प्रमाणपत्र लेख्ने गथ्र्यो। त्यो घटनामा पनि त्यस्तै गरियो।

भोलिपल्ट।

भोलिपल्ट बिहानैदेखि घाम राम्रो लागेन। जेलमाथिको आकाश उदास बादलका काला पत्रहरूले ढाकियो। मध्याह्न बाह्र बजेतिर सिधा थाप्ने ठाउँमा सबै कैदी जम्मा भए। त्यसै बेला मूल चौकीदारले अन्य कैदीलाई सम्बोधन गर्दै भन्यो, “सुन ए कैदीहरू, जेलभित्र नियम नमान्नेहरूले इरफान अली नामको मसल्टेले झैं आफ्नो जीवनको अन्त्य रोज्नुपर्छ। त्यसैले म तिमीहरूलाई भन्छु, कसैले पनि त्यसले जस्तो नीच काम नगरोस्। सरकारले सबैलाई दुई छाक खान दिएकै छ बिरामी पर्दा ओखतीमूलोको बन्दोबस्त पनि गरेकै छ। यहाँ बस्दा सकभर तकलिफ नहोस् भनेर हर वर्ष बजेटको रकम वृद्धि गरिएको छ। त्यसैले सबैले सरकारको जय मनाउनुपर्छ। सरकारको द्रोह गर्नेलाई देशद्रोही, उग्रवादी वा अराष्ट्रिय तत्व भनिन्छ। तिमीहरूले मैले भन्न खोजेको कुरा त बुझ्यौ, होइन ?”

“बुझ्यौँ।” विद्यालयका बालबालिकाझैँ केही कैदी एकैस्वरमा चिच्याए। साथै त्यसरी जवाफ दिँदा उनीहरूका आँखाबाट आँसुका ससाना गेडाहरू तलतिर गुडे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved