सिर्जना-गर्भ

प्रगतिशील लेखनमा विविधता हुनुपर्छ

पीडालाई सम्झँदै मैले लेखेँ, ‘दलानमा बसेर, मनमा कुरा गुनेर
बस्थिन् सधैँ बुढी आमा छोरा कुरेर…।’

प्रगतिशील लेखनमा विविधता हुनुपर्छ

१. गाउँ गाउँबाट उठ…

मैले लेखेका गीतहरूमध्ये सबभन्दा धेरै चर्चित गीत हो यो। यो मैले २०३१ सालतिर लेखेको हुँ।

२०२८/०२९ सालतिर म उच्च अध्ययनका निम्ति भोजपुरबाट धरानस्थित कलेजमा पढ्न झरेँ। कलेजमा पढ्न थालेपछि त्यहाँको राजनीतिक माहोलले मलाई छुँदै लग्यो। कलेजमा पढ्दा साहित्यिक र राजनीतिक माहोलमा सामेल हुँदै गएँ। वामपन्थी नेताहरूले हामीजस्ता विद्यार्थीलाई राजनीतिसम्बन्धी प्रशिक्षण दिन्थे। प्रगतिशील स्रष्टाहरूले साहित्यसम्बन्धी कक्षा लिन्थे।

त्यो बेला नेपालको वामपन्थी राजनीतिमा चिनियाँ राजनीतिको सिधा प्रभाव थियो। हामीलाई राजनीतिक प्रशिक्षण दिनेहरूले पनि ‘गाउँले शहर घेर्नुपर्छ’ भन्ने कुरा गर्थे। नेपालजस्तो मुलुकमा गाउँ नै राजनीतिको केन्द्र हो, थलो हो भन्ने कुरा सिकाइन्थ्यो। त्यही बेला मलाई प्रगतिशील साहित्य पढ्नमा रुचि बढ्न थाल्यो। राल्फाको गीतहरू पनि सुन्न थालेँ। यी कुरा मेरो मस्तिष्कमा गढेर बसिरहेको थियो।

त्यही समय भोजपुरबाट पढ्न आएका विद्यार्थीहरूले कलेजको तर्फबाट कार्यक्रम गर्ने निधो गरे। ‘अब हामी आफैंले गीत लेखेर गाउनुपर्छ’ भन्ने प्रस्ताव राखे साथीहरूले मसामु। मेरो दिमागमा गढेर बसेको कुरा गीतको रुपमा अभिव्यक्त भयो र जन्मियो- ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ…।’

यो गीत लेखिसकेपछि मैले नै संगीतबद्ध गरेँ। त्यतिबेला गितार बजाउन असाध्यै रहर लाग्थ्यो। हाम्रा लागि त्यो नयाँ वाद्यसामग्री थियो। संगीत गरेपछि कलेजको कार्यक्रममा मसहित अरू दुई जना साथीले यो गीत गायौं। पछि यो गीतलाई रामेशले गाउनुभयो र चलचित्र ‘बलिदान’ मा पनि समाविष्ट छ।

२. बिहानी भो आकाशमा घाम उदायो…

२०४६ सालको अन्त्यतिर पञ्चायती व्यवस्थाको अवसान भई देशमा बहुदलीय व्यवस्था पुनस्र्थापना भयो। २०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएर सरकार गठन गर्‍यो। तर, २०५१ सालमा मध्यावधि निर्वाचन भएपछि भने नेकपा (एमाले) को सरकार गठन भयो।

एमालेको सरकारले जनताले प्रत्यक्ष अनुभूति गर्न पाउने कार्यक्रमहरू ल्यायो। जसमा एउटा थियो, ‘आफ्नो गाउँ आफैं बनाऔं’। स्थानीय तहमा गएको बजेटले जनतामा काम गर्ने हौसला प्राप्त भयो। यो कार्यक्रमले बजेट गाउँमा पुग्यो र गाउँको विकासमा टेवा पुर्‍यायो। साथै, जेष्ठ नागरिकलाई भत्ता दिएर सम्मान पनि गर्‍यो। यी सबले गर्दा आम मानिसमा जुर्मुराहट पाएँ मैले।

जनतामा पलाएको उत्साहलाई प्रतिविम्बित गर्दै मैले यो गीत लेखेँ। त्यतिबेलै मैले यो गीत लेखे पनि संगीतबद्ध भने भएको थिएन। तर, गएको वर्ष यो गीत संगीतबद्ध भयो। रामेश दाइले गाउनुभएको यो गीत सुरेन्द्र श्रेष्ठले संगीतबद्ध गर्नुभएको हो।

३. दलानमा बसेर, मनमा कुरा गुनेर…

यो गीत मैले २०५८ सालतिर लेखेको हुँ। तत्कालीन समय देश द्वन्द्वमा भुङ्ग्रोमा परेको थियो। त्यतिबेला धेरै छोराहरू हराए, छोरीहरू हराइन्। हराएकामध्ये कतिपयको लास भेटियो, कतिपय अझैसम्म फेला पर्न सकेका छैनन्। न सास, न लासको अवस्थामा धेरै बेपत्ता नै छन्।

२०६२/०६३ को जनआन्दोलनयता देश गणतन्त्रको यात्रामा छ। देशमा परिवर्तन आएको डेढ दशक बितिसक्यो। तर बेपत्ता हुनेहरूको अझै पत्ता लागेको छैन। बेपत्ता भएका आफ्ना सन्तानलाई सम्झेर, दलानमा कुरेर बस्ने बुढी आमाहरू धेरै छन्, बुढा बाहरू धेरै छन्। धेरै दिदी, बहिनी, भाइहरू छन्। यही पीडालाई सम्झँदै मैले लेखेँ, ‘दलानमा बसेर, मनमा कुरा गुनेर
बस्थिन् सधैँ बुढी आमा छोरा कुरेर…।’

यो गीतको संगीत उदय श्रेष्ठले गर्नुभएको हो भने स्वर चाहिँ आकाश थापाको रहेको छ।

४. फूलसरी दिलै खोली हाँस्दैछौ फूलमाया

भन तिमीलाई के भो, भन के भो…
हामीकहाँ वैदेशिक रोजगारमा जाने लामो युवापंक्ति छ। मलाई लाग्छ, वैदेशिक रोजगारको अँध्यारो पाटो छ र अलिअलि उज्यालो पाटो पनि छ। मैले वैदेशिक रोजगारको उज्यालो पाटोबारे यो गीतमा उल्लेख गरेको छु।

वैदेशिक रोजगारमा जानेहरू लास बनेर फर्किएका धेरै घटना छन्। तर, यस्तो कहालीलाग्दो दृश्य देखिए पनि वैदेशिक रोजगारीमा जानेहरूको ताँती घटेको छैन। झनै बढ्दो छ।

पूर्ववर्ती समयमा ब्रिटिस गोर्खा सेनामा भर्ति भएर जानेहरूले गाउँ फर्किएपछि निकै सकारात्मक कार्यहरू गरे। उनीहरूले गाउँमा स्कुल खोले। शैक्षिक जागरण फैलाउन मद्दत पुर्‍याए। ब्रिटिस सेनामा भर्ति भएर विभिन्न देशमा पुगी नयाँ कुरा सिकेर स्वदेश फर्किएका हुँदा नयाँ चिकित्सा प्रणालीको फैलावटमा पनि योगदान पुर्‍याए। सेनामा भर्ति भएर अरूका देशका निम्ति युद्ध लडे, कतिपय मरे पनि। यो एउटा पाटो भयो। तर, स्वदेश फर्किएपछि शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा उनीहरूले जुन योगदान पुर्‍याए, त्यो वैदेशिक रोजगारको सकारात्मक पाटो थियो।

अहिले वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता देशमा रोजगारीको अवसर नभएर नै हो। लाखौं युवा-युवती अर्कैको मुलुक बनाउन जानु एउटा पाटो रह्यो। तर वैदेशिक रोजगारमा गएर फर्किएकाहरूले केही धनआर्जन गरेका छन्, केही सीप सिकेर आएका छन्। यही पाटोलाई छोएर मैले यो गीत लेखेको हुँ।

५. विश्वभरिका मानव सारा गाइरहेछन् एउटै गाना

स्टे होम, स्टे सेभ, बाइबाई कोरोना…
२०७६ सालको जाडो मौसमदेखि सिंगो विश्वलाई कोभिड-१९ को महामारीले गाँज्यो। हामी पनि त्यो महामारीबाट अछुतो रहन सकेनौं। हामीकहाँ कोरोना महामारीले हजारौं मानिसलाई निले, हजारौं त्यसको चपेटामा परे।

मलाई लाग्छ, प्रगतिशील फाँटमा कलम चलाउने स्रष्टाहरूले प्रायः एउटा ढाँचाका गीत लेख्छन्। सामन्ती व्यवस्था वा अन्याय, अत्याचारको विरोधमा कलम चलाउँछन्। संघर्ष र आन्दोलनका कुरा गर्छन्। तर प्रगतिशील लेखनमा कसरी विविधता ल्याउने भन्नेबारे हामीले सोच्नुपर्छ। त्यही विविधता दिने हेतुले मैले केही पृथक गीत पनि लेखेको छु र कोरोनासम्बन्धी लेखिएको यो गीतमा पनि त्यही विविधता झल्किन्छ।

हुन त मैले कोरोनाकालमा लेखेका ५-७ वटा गीत रेकर्ड भइसकेका छन्। त्यसमध्ये यो गीत चाहिँ सिधै कोरोनासँग सम्बन्धित छ। यो गीतको संगीत अशोक राईले गर्नुभएको हो भने सञ्जय तुम्रोक र श्रेयसी चेम्जोङले गाउनुभएको छ।

६. मनभित्र के छ ठुली…

२०४६ सालपछि देशमा राजनीतिक परिवर्तन त आयो। तर तल्लो तहका मानिसलाई परिवर्तनले कुनै नौलो अनुभूति गराउन सकेन। जनतामा परिवर्तनको कुनै प्रत्याभूति नभएको देखेपछि मैले यो गीत लेखेको हुँ, त्यस्तै २०४८/०४९ सालतिर।

कुनै पनि सोझो र सिधा मानिस न बोल्न सक्छ, न उसको कुरा नै बिक्छ। त्यही भावलाई पक्डेर मैले लेखेको थिएँ, ‘मनभित्र के छ ठुली, किन बोल्दिनौ ?’। उक्त गीतमा मैले बिहानीले हिमालको सिउँदो रंग्याए पनि र जोडी परेवाले खुला आकाश पाए पनि बोल्न नसक्ने मानिसहरूले बोल्न सकिरहेका छैनन्, उनीहरूले परिवर्तनको आभास पाउन सकेका छैनन् भन्ने भाव यो गीतमा उतारेको छु।

संयोगवस, यो गीत संगीतकार न्हू बज्राचार्यको हातमा पर्‍यो र उहाँले संगीतबद्ध गर्नु भएपछि सुविख्यात गजल गायक गुलाम अलीले गाउनु भयो। सुन्दर संगीत संयोजन र स्वरमा रहेको यो गीत पनि धेरै चर्चित रह्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved