वसन्त : चार कविता

खुशीले बिस्तारै प्वाँख फिँजाउन लागेको छ
अब यहाँ फेरि पनि वसन्त आउन लागेको छ।

नेपालभ्युज

वसन्त : चार कविता

वसन्त

-भूपी शेरचन

सारा ढोका र झ्यालहरू लातले खोलेर
डाँकाझैँ आउँछ हावा कोठाभित्र
र एक छिनमै दराजहरू उघारेर,
कागजपत्रहरू पल्टाई हेरेर
केही नपाउँदा रिसले रन्थनिएर
अरू झ्यालहरूबाट हाम्फालेर भाग्दछ।
आकाशको आँखा दुखेको छ
ऊसित आँखा जुधाउँदा आफ्नै आँखा पीरो हुन्छ,
ज्वरपीडित सूर्य सकी नसकी हिँडिरहेछ आकाशमा
तुवाँलो भुवाको खास्टो ओढेर
झ्यालमा उभिएर एक्लै,
म बाहिर हेरिरहेछु
हेरिरहेछु र सोचिरहेछु- यो कस्तो वसन्त हो
यो चैतको दिनको कस्तो उराठलाग्दो पहर हो !
यो कस्तो मुर्दा शहर हो !

सडकका दुई किनारमा वसन्तको स्वागतार्थ
हरियो सारी हतार-हतार बेरेर उभिएका झ्याङहरू
अबीरका थाल बोकेका आरुका रुखहरू,
लावाका थाल बोकेका आलुबखडाका रुखहरू
अनि स्कुलका केटाकेटीहरूझैँ
रङ्गीन झन्डाहरू हल्लाइरहेका फूलका सानासाना बोटहरू
म हेरिरहेछु
देखिरहेछु
र सोचिरहेछु
वसन्त यहाँ किन आउँछ विदेशी पाहुनाझैँ
यो कस्तो औपचारिकता
किन आउँदैन ऊ त्यसरी
यसरी युवावस्थामा जुँघारेखी आउँछ ?
या हर्षमा मुस्कान
आफैं, अनायास र अनजान,
उफ् यो कस्तो वसन्त हो !
जता हेर्‍यो उतै देखिन्छ
भित्र ठोस हुन छाडेर
बाहिर बाहिरै मात्र बढेर अग्ला भएका
बाँसका ठानाहरूलाई नुहेर
पश्चाताप गरिरहेका आफ्नो खोक्रोपनमाथि
आफ्नो हातको बलभन्दा
गह्रुँगो रातो फूल समाएका
कल्कीका बोटहरूलाई
दुई हात तल झारेर उभिइरहेका
यी लत्रेका हातहरूले रातो फूल समात्ने के दर्कार
के अधिकार
टाढा-टाढासम्म उभिएका छन्
न्यास्रो अनुहार लाएका असंख्य मौन घरहरू
प्रत्येक घरको मुखमा झुन्डिएको छ विदेशी ताल्चा
भोटे ताल्चा अथवा हिन्दुस्थानी ताल्चा
कुनै घरको मौलिक ओठ छैन
यो कस्तो वसन्त !
खोइ मानिसहरूले चोला फेरेका ?
खोइ
खोइ
खोइ
म चिच्याउन चाहन्छु- खोइ
तर खोइ मेरो आवाज किन निस्कन्न ?
के भयो मेरो आवाजलाई
यो के हो डल्लो गुच्चाजस्तो मेरो घाँटीमा
जो मैले घाँटी खोल्दा मुखमा गई अड्कन्छ
र मुख खोल्दा घाँटी थुन्न पुग्दछ
अनि यस्तो लाग्छ मानौं
अब ममा कुनै उम्लाइ छैन
कुनै उत्तेजना छैन
कुनै आवाज छैन
कुनै विस्फोट छैन
मभित्रको मानिस मरिसक्यो
अब त फगत् मेरो रुपमा उभिएको छ,
पड्किसकेको सोडाको एक बोतल-
एउटा खाली बोतल ?

000

वसन्त

-विमल निभा

पखेरुहरू सबै जागिसके
वृक्षहरूले शरीर तन्काइरहेका छन्
उत्सुक नयन शायद पुष्पकलीहरूका हुन्
वसन्त, तिम्रो वासस्थान कहाँ छ ?
शीघ्र आउँ वसन्त
एक कवि तिम्रो खोजमा छ
यहाँ यो देशरुपी उद्यानमा
तिम्रो प्रतीक्षा भइरहेछ।
(रामानन्दको ‘डायरी’ बाट)

यहाँ रुखहरूको मुख बन्द गराइएको छ
र हावा भूमिगत छ
यहाँ
पुतलीहरूको प्वाँखको नाउँमा
वारन्ट छ
र फूलहरूको सौन्दर्य गैरकानूनी
सावित भइसकेको छ
यहाँ
शीतको थोपाको चमक
खतरनाक ठहर भएको छ
र सुगन्धको लागि
हत्कडी तयार छ
यहाँ
लोखर्केका साना-साना बच्चाका खेलमाथि
कडा पहरा छ
र इन्द्रधनुका रंगहरू
असंवैधानिक ठानिन्छ
यहाँ
हरियालीको निरन्तर
पिछा भइरहेछ
र सूर्यको प्रकाश उग्रवादी
घोषित गरिएको छ
यहाँ
भवँरा र चराहरूका स्वरपछि
जासुस लागेका छन्
र छहारी, शीतलता, उज्यालो, आनन्द
सबै संदिग्ध मानिन्छ
यहाँ
हो, यहाँ
यहाँ
यस प्रकारको बगैंचामा
एक्लो, उदास र चुपचाप
तिमी कुन मौसमको
प्रतीक्षा गरिरहेछौ कवि ?
वसन्तलाई त
छापा मारेर
हिजो राति नै
यहाँ
गिरफ्तार गरिसकिएको छ।

000

वसन्त आउन लागेको छ

-कुन्ता शर्मा

उठ्दैछन् अझ पनि सन्तापका भुमरीहरू
घरीघरी छातीमा
चिमोट्दैछन् विषादका तिखा नङ्ग्राहरूले
कोमल अनुभूतिहरूमा
तर बिर्सन पर्ने छ लगलग कपाउने
सुस्केराहरू हेमन्तका
खुशीले बिस्तारै प्वाँख फिँजाउन लागेको छ
अब यहाँ फेरि पनि वसन्त आउन लागेको छ।

उघारेर चिसा पत्रहरू हिउँका
छातीमा अनन्त अनन्त लहरहरूको
सृजना गर्दै
नदी फेरि कुल्कुलाउन लागेको छ
अहाँ ! अब फेरि पनि यहाँ वसन्त आउन लागेको छ।

निष्ठुर ठिहीहरूको बीचमा कक्रिएको
निरीह कोपिला जस्तो मन
फेरि फुल्ला कि नफुल्ला भन्ने आशंकाको
तुवाँलो पन्छाएर
पुनः मुस्कुराउन लागेको छ
यो फुंग उडेको उजाड धर्तीमा
अहाँ ! फेरि पनि वसन्त आउन लागेको छ।

शिशिर दत्तचित्त हुँदै बढार्दैछ
सारा तृण पत्करहरू
नांगा रुखहरूमा कोमल पालुवा अंकुराउन लागेको छ
मृत प्रफुल्लताहरू चट्पटाउँदै छन्
विस्तार विस्तार
पुनः कोमलताले काख फैलाउन लागेको छ
अहाँ ! यहाँ फेरि पनि वसन्त आउन लागेको छ।

चिसा स्याँठहरू पत्तै नपाई फेरिएछन्
मधुरसयुक्त झोक्काहरूमा
विरहनीहरू निभ्दै गएछन्
कम्पन फेरिँदै गएछन् मधुर आकांक्षाहरूमा
शिथिल स्वप्नहरूमा अदृश्य हत्केलाहरू फैलाउँदै
छरेछ कसले सञ्जीवनी
मृत भावना बिस्तारै चल्मलाउन लागेछ
अहाँ ! यहाँ फेरि वसन्त आउन लागेछ।

उड्दैछन् जताततै शुष्क तृण अनि पत्करहरू
टल्कँदै छन् माथि उठ्दैछन् बालुवाका कणहरू
नाँच्दैछन् मन-मयुर बिर्सेर पीडाका बोधहरू
च्याँतिदैछन् तुवाँलोका पर्दाहरू पलप्रतिपल
सूर्य रोमाञ्चि हुँदै छर्दैछ तप्त किरणहरू
झलमल
सबै जडनाहरू प्रफुल्लित हुँदैछन्
भावनाहरू सङ्लदैछन्/आकांक्षाहरू
अन्तरिक्ष छुँदैछन्
पत्तै नपाई नौला सम्भावनाहरूले
प्वाँख फिँजाउन लागेको छ
अहाँ ! यहाँ फेरि पनि वसन्त आउन लागेको छ।

जाँगरका भुवाहरूले पुछपाछ पार्दैछन्
यत्नपूर्वक झार्दैछन् मनका विषादहरूलाई
हर्षका लहरहरू उठ्दैछन्, तरंगित हुँदैछन्
प्रवाहित गर्न मनका अवशादहरूलाई
समयले अनायास कोल्टे फेर्न लागेको छ
अहाँ ! यहाँ फेरि पनि वसन्त आउन लागेको छ।

बतास छुसछुसाउँदै आउँछ र
कानमा साउती मार्दै जान्छ
लामो समयदेखि निर्जीव रहेका
बन्द पलेटाहरू थपथपाउँदै जान्छ
उघार्दै जान्छ
कहिले बग्छ सलल मैदानी नदी जस्तो
कहिले तीव्रतम हुँकार भर्छ
झर्दैछन् पहेंला पातहरू सुस्तरी सुस्तरी
अब उल्लासले मुरली बजाउन लागेको छ
घाइते हुँदाहुँदै पनि मन पक्षी
प्वाँख फट्फटाउन लागेको छ
शिथिल मन बिस्तारै चिरबिराउन लागेको छ
अहाँ ! यहाँ वसन्त आउन लागेको छ।

000

यो वसन्त ऋतु हो ?

-विष्णुविभु घिमिरे

अनुहारमा
खुसीका मुनाहरू कतै पल्हाएका छैनन्
मनमा
इच्छाका फूलहरू कतै फुलेका छैनन्
बाटो दोबाटो कहीं निर्धक्क यात्रा चलेको छैन।
कसैको ओठमा पनि स्निग्ध मुस्कान सल्बलाएको छैन
कसैको आँखामा पनि उज्यालो चम्केको छैन
तिमी भन्छौ यो वसन्त ऋतु हो।

पहाड उदास छ
हिमाल झोक्राइरहेछ
तराई शून्य शून्य छ
कतै उमंग रंग छैन
कतै उत्साहको तरंग छैन
कतै आनन्दको संगीत बज्दैन
तिमी भन्छौ यो वसन्त ऋतु हो !

फ्याउरा र श्यालहरू कराइरहेछन्
कुकुरहरू एउटा हाडमा झगडा गरिरहेछन्
मुसाहरू भित्रभित्रै राष्ट्रियता काटिरहेछन्
बाजहरू झम्टी झम्टी संस्कृति ठुंगिरहेछन्
जहाँ सपनामा कुनै खुसीको इन्द्रेणी छैन
जहाँ विपनामा सुरक्षाको कुनै आकाश छैन
फेरि पनि तिमी भनिरहेछौ यो वसन्त ऋतु हो

प्रत्येकको अनुहारमा त्रास र गतिमा हडबड छ
बोली मुक्त छ तर बोली लठ्याङ्ग्रो छ

‘कहाँ जाने ?’ सोध्नुहोस् कसैलाई पनि
‘थाहा छैन’ भनोस् कसरी ?
बाटो फेला परेकै छैन
सधैँ शिशिर बाँच्न बाध्य हामीहरूलाई
तपाईंहरूले धेरै ढाँट्नु भो
अब कसैले पनि नढाँटे हुन्छ महाशय
यो वसन्त ऋतु हो।


Comment

One thought on “वसन्त : चार कविता

  1. जीवनका बशन्तहरु टाढा टाढा क्षितिजमा पनि नदेखिंदा प्राकृतिले रंगाएका बशन्तहरु फिका लाग्दो रहेछन ! तथाकथित भाग्य बिधाताहरुले नढाँटिदिएको भए हामी पनि प्राकृतिक बसन्त संगै जीवनको बशन्तको होली खेलिरहेका हुने थियौं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved