संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मंगलबार युक्रेनमा युद्धबाट विस्थापित शरणार्थीहरूको संख्या आगामी एक-दुई दिनमा २० लाख पुग्न सक्ने बताएका छन्।
उनले भने, ‘मलाई लाग्छ कि आज वा भोलितिरै विस्थापित शरणार्थीको सङ्ख्या २० लाख पार गर्नेछ।’ शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीले ओस्लोमा पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्।
यसैबीच युक्रेनको सुमी शहरमा भएको बम विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ।
युक्रेनको कीभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी शहरमा भएको हवाई हमलामा दुई बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको उद्धार सेवाले मंगलबार जनाएको छ।
सोमबार राति ‘शत्रु विमानहरूले कपटी ढंगले अपार्टमेन्ट भवनहरूमा आक्रमण गरेको’ उद्धार सेवाहरूले राति ११ बजे घटनास्थलमा आइपुगेपछि टेलिग्राममा उल्लेख गरेका छन्। रुसी सिमाना नजिकै रहेको सुमी शहर केही दिनदेखि चर्को लडाइको चपेटमा परेको छ।