कृष्णराज बर्माको स्मृति: केशरजङ्ग शुन्यवादी, पुष्पलाल उग्रवादी

०४६ को जनआन्दोलनपछि जब चुनावको कुरा आयो, चुनावमा भाग लिन निर्वाचन आयोगले ‘एउटै नाम नेपाल कम्युनिस्ट पार्टी भनेर धेरै दल दर्ता हुन सक्दैनन्’ भन्यो। त्यसपछि हामीले बर्मा समूह झुन्ड्याई दियौँ।

कृष्णराज बर्माको स्मृति: केशरजङ्ग शुन्यवादी, पुष्पलाल उग्रवादी
स्वर्गीय कृष्णराज बर्मा

मेरो जन्म सप्तरी जिल्लाको हनुमाननगरमा भएको हो। पछि मेरो परिवार राजविराजमा आयो। जन्म हनुमाननगर भए पनि पढाइ, लेखाइ र हुर्काइ राजविराजमा भएकाले जन्मस्थान पनि हामी राजविराज नै भन्छौँ। जन्म १९८७ पुस २५ गते भएको थियो। तर, लेखाइमा दुई वर्ष बढेकाले त्यही नै कायम छ।

हामीहरू मध्यम वर्गीय परिवार हौँ। बुबा नुवाकोटको हो भने मुमाचाहिँ धनकुटाको। राजविराजमै उहाँहरूको भेटघाट हुन पुग्यो। विवाह पनि अन्तरजातीय हो।

बुबाले मलाई शुरूमा संस्कृत पढाउने जमर्को गर्नुभयो। हामी खनाल ब्राह्मण हौँ। ११ वर्षको उमेरमा हामी राजविराज सयौँ। त्यहाँबाट भने अंग्रेजी पढ्ने मौका मिल्यो। त्यसअघि अंग्रेजी पढ्ने ठाउँ नै थिएन। एक जना मास्टर आएर बसेका थिए। हुने खानेले घरमै मास्टर राखेर बच्चा पढाउँथे।

१५ वर्ष उमेरमा पटना युनिभर्सिटी मातहत शिक्षा प्राप्त गर्नुपर्‍यो। त्यसबेला हाम्रो ‘बोर्ड’ले काम गर्दैनथ्यो। त्यसै बेलामा ००७ सालको क्रान्तिको समय आइहाल्यो। पढ्न चाहनेहरूमा पनि व्यवधान आउन थाले। पढ्न चाहनेहरूले भारततिर गएर मात्र पढ्न सकिने अवस्था बन्यो।

कर्णले चन्द्रबहादुर थापाको निगाह भए नेपालमै पढ्न सकिन्थ्यो, नत्र गाह्रो हुन्थ्यो। ००६ सालको कुरा हो- मैले सोभियत संघका बारेमा लेखिएका केही प्रचार सामग्री तथा पुस्तकहरू पढ्न थालेँ। ती किताबमा पहिलो पञ्चवर्षीय सम्बन्धी कुराहरू थिए। त्यहाँ गाउँका सुधार, स्थानीय विकासलगायतका १० पढ्न पाइयो। त्यसको अत्यन्तै प्रभाव पर्‍यो। संजोगले म सप्तरीकै कमलपुर भन्ने ठाउँमा गएँ। त्यहाँ एक जना कार्की थरका स्थापित मानिस कुराहरू पढ्न आधा कमलपुर हुनुहुन्थ्यो। उहाँले ‘गाउँलेहरूलाई जम्मा गरिदिन्छु, तिमीहरूले विकासका बारेमा केही बताइदिनू’ भन्नुभयो। मैले डेढ-दुई सय जना भेला भएको ठाउँमा प्रगतिशील कुरा राखें। त्यही राती कांग्रेसले त्यो गाउँमा पर्चा छरेको रहेछ। बडाहाकिमका खास मान्छे सीआईडीका रूपमा मैले बोलेको कार्यक्रममा आएका पनि रहेछन्।

तुरुन्तै म राजविराज फर्केर आएँ। आउनासाथ मलाई बडाहाकिमले बोलाउन पठाए। उनी मसँग कराउन थाले। उनी हाम्रो नाताभित्र पनि पर्दथे। उनले ‘मैले हेडमास्टरलाई भन्दिसकेको छु, आजैदेखि गएर पढाउन थाल, विभिन्न मान्छेसँग बरालिएर नहिँड’ भने। घर गएँ, जानेबित्तिकै हेडमास्टरले बोलाइहाले। म शिक्षक भएँ। त्यसपछि भने हाम्रो राजनीतिक जीवन बल्ल शुरू हुन थाल्यो। त्यहाँ अर्को पनि एक जना कमर शाह भन्ने शिक्षक हुनुहुन्थ्यो। हामी बराबर राजनीतिका कुरा गर्थ्यौँ त्यही क्रममा ००७ सालको क्रान्ति शुरू भइहाल्यो।

भागेर क्रान्तिमा

त्यसपछि घरमा चिट्ठी लेखेर सिरानमा हालें र क्रान्तिका लागि राती उठेर घरबाट हिँडे। तर, क्रान्ति र क्रान्तिकारीका बारेमा जस्तो परिकल्पना हाम्रो थियो, त्यो पूरा भएन। क्रान्तिको झण्डा समाउन हामी सीधै क्याम्पमा गयौँ, बन्दुक बोक्ने मान्छेहरूको व्यवहार ठीक लागेन। क्याम्पको नेता इन्डियाका सोसलिस्ट पार्टीका अवध सिंह थिए। प्रयागलाल यादव र उनीबीच खटपट भयो। क्याम्प सप्तरीकै चतुरा गोविन्दपुरको पारि इन्डियाको बोर्डरको जंगलमा थियो। त्यहाँ खटपट परेपछि क्याम्प पारि सारियो। क्रान्ति नै तीन-चार महिनाभित्र सम्पन्न भइहाल्यो। त्यसपछि कता लाग्ने भनेर हामी अलमलमा पर्‍यौँ। पछि केही पर्चाहरू रक्सौलमा निस्किएको छ भन्ने थाहा पाइयो। त्यसलाई कसरी प्राप्त गर्ने भन्ने चिन्ता भयो। हामी पर्चाको खोजीमा निस्कियौँ। ती पर्चाहरू ल्याएर लुकेर छर्न थालियो। त्यतिबेला वीरगन्जमा प्रजा परिषद्को कार्यालय खुलिसकेको थियो। मदनमणिजीहरू लागिरहनुभएको थियो। हामीले त्यहाँ सम्पर्क गरी कुरा मिलायौँ। पार्टी खोलियो। झण्डा लगाइयो। भूमिगत पार्टी तयार गर्ने भनेपछि ठूलो संख्यामा कार्यकर्ता खोज्ने कसरी भन्ने प्रश्न आयो। नेपाली कांग्रेसको क्रान्तिमा संलग्न रहेका अजित (भूमिगत नाम)लाई रातारात गएर ल्यायौँ।

त्यसपछि म कलकत्ता गएँ। त्यहाँ अल इन्डिया कन्फरेन्स थियो। सांस्कृतिक-राजनीतिक सम्मेलन थियो। म त्यसको प्रतिनिधि थिएँ। काठमाडौंबाट २७ जना गएका थिए, त्यसमध्ये तुलसीलालजीकी बहिनी पनि हुनुहुन्थ्योक। हामीलाई पार्टी सम्मेलनको प्रतिनिधि बनाइएको थिएन। हामी आफ्नो सम्मेलनमा थियौँ। उहाँहरू पार्टीको प्रथम सम्मेलनमा भाग लिइरहनुभएको थियो। त्यो सम्मेलन अति गोप्य थियो, त्यसैले पनि हामीले चासो राखेनौं।

सन् १९५१ मा यो सम्मेलन भएको थियो। त्यसपछि म जिल्ला कमिटीमा आबद्ध भएँ। हामीले पार्टी सदस्यता पनि ००८ सालमा पाएका हौं। त्यतिबेला दक्षिण गण्डक प्रान्त कोसी नदीदेखि चितवनसम्मलाई भनिन्थ्यो। त्यस प्रान्तका मानिसहरू मेरै घरमा भेला भएका थिए। पार्टी सदस्यता पाउनेमा म, कमर शाह, कृष्णप्रसाद अधिकारी, मधु सिंह, इन्द्रबहादुर मल्ललगायत थियौँ। काम गर्दै गयौँ। पहिलो अधिवेशन भयो। ०१० सालमा पाटनमा भएको अधिवेशनबाट म केन्द्रीय सदस्यमा निर्वाचित भएँ। त्यसपछि लगातार पार्टी काममा लागियो।

कू’ हुँदा आकाशमा

०१५ सालको निर्वाचनमा म ३७ नम्बर क्षेत्र सप्तरीबाट उठेको थिएँ। तर, १ सय ७ मतले हारें। ०१७ सालको घटना हुँदा हामीहरू जहाजमा थियौँ। ०१७ साल असोज महिनामा केन्द्रीय कमिटी बैठक भएको थियो। पार्टीको तेस्रो सम्मेलन गर्नुपर्ने आवाज उठिरहेको थियो। दोस्रो महाधिवेशनमा पारित भएका कुरालाई अर्थ्याउने विषयमा पनि विवाद भइरहेको थियो।

मस्कोमा विश्वका ८१ देशका कम्युनिस्ट तथा मजदुर पार्टीहरूको सम्मेलन हुने तय भएपछि निम्तो आयो। यहाँबाट हामीहरू डा. केशरजंग रायमाझी, म, कमर शाह, हिक्मतसिंह भण्डारी र शम्भुराम श्रेष्ठ गयौँ। उताबाट फर्कन सवा महिना लाग्यो। किनभने, एक महिना त बैठक नै भयो। धेरै लम्बियो। चीनसँगको सम्बन्धलगायतका विषयमा बहस चले। हामी त्यहाँबाट मंसीर ३० गते हिँड्यौँ। डा. रायमाझी उपचारका लागि भन्दै उतै बस्नुभयो। मबाहेक तीन जना सीधै काठमाडौँ आउने र मचाहिँ राजविराज गएर काठमाडौँ आउने तयारी थियो। म पटना आएपछि विमानस्थलमा अर्जुननरसिंह केसीलाई त देखें तर आमुन्ने-सामन्ने मात्र भयो, कुरा हुन पाएन। सीधै राजविराज आउने क्रममा म गिरफ्तार भएँ र ०१९ सालमा रिहा भएँ।

मतभेदको शुरूआत

०१७ सालमा ‘कू’ भयो। त्यसपछि पुष्पलालजीसँग केही मतभिन्नता बढ्यो। पुष्पलाल, मनमोहन र केशरजंगबीच तीन शक्तिजस्तो देखियो। मनमोहन तीन वर्ष जति उपचारकै क्रममा चीनमा रहनुभयो। त्यसैले प्रमुख भूमिकामा लामो अवधिसम्म केशरजंग देखिए। त्यसैबेला पार्टीमा तीनओटा धारा देखापरेका थिए। एउटा धारा पुष्पलालको, एउटा धारा केशरजंगको र एउटा धारा हाम्रो। हाम्रो धारा बहुमतमा भएकाले केशरजंग हामीलाई चित्त बुझाएर हामीले भनेको कुरामा सही गरेर लामो समयसम्म बसे।

केशरजंगलाई महासचिव बनिरहनुपरेकाले जहिले पनि हामीलाई सन्तुलन गरिरहे। पुष्पलालजीलाई सन्तुलन गरेर उनलाई के फाइदा ? किनभने, उनी त्यतातिर जानै सक्दैनथे।

रायमाझीलाई त हामी शून्यवादी भन्थ्यौँ। उनको व्याख्या-द्वन्द्व कसैसँग छैन भन्ने थियो। धेरै दिनसम्म त उनी खुलेनन्। तर, पछि यो कुरामा खुल्नैपर्‍यो। जर्मनीमा मार्क्सवादीहरूको एउटा अन्तर्राष्ट्रिय सम्मेलन थियो। त्यसमा संसारका सबै कम्युनिस्ट पार्टीहरूले प्रतिनिधित्व गरेका थिए। त्यो ठाउँमा भाषण दिने क्रममा रायमाझीले खुलेर बोले। त्यहाँ उनले लेखपढ गर्न सजिलोका लागि मदनमणि दीक्षितलाई लगेका थिए। त्यहाँ गएर उनले प्रस्ट भने कि नेपालमा कसैसँग पनि अन्तरविरोध छैन, अन्तरविरोधहीन अवस्थामा हाम्रो समाज चलिराख्या छ भन्नु शून्यवादमा जानु हो।

हामी पुष्पलालजीको उग्रवादतिर पनि लाग्न सक्दैनथ्यौँ। हामीले उनलाई यस अर्थले पनि समातिराख्नुपयो। भाग्न दिनु भएन। हामीले एकैचोटि पुष्पलालजी र केशरजंग दुवैसँग लडाइँ गर्न सक्ने अवस्था थिएन।

हामीले चौथो महाधिवेशनमा केशरजंगको खिलाफमा विष्णुबहादुर मानन्धरलाई अघि सार्‍यौँ। उनलाई अध्यक्षमा लग्यौँ। मैले जेलमै बस्दाखेरी पुष्पलाल, तुलसीलालजीलाई ३२ पानाको चिट्ठी लेखेको थिएँ। त्यो चिट्ठी कहाँ छ, थाहा भएन। गलत नीति भए हामी जेलबाट छुटेर आएपछि पनि लडौँला तर पार्टी फोरी नहालौँ भन्ने मेरो आशय थियो। पुष्पलालजीले त जवाफ दिनुभएन तर तुलसीलालजीले सुझाव दिँदा मेरो चिट्ठीलाई ‘धेरै महत्त्वको चिट्ठी छ, धेरै राम्रो सुझाव छ तर पनि हामीमा केही बाध्यताहरू छन्’ भनेर लेख्नुभएको थियो। म छुटिसकेपछि पहिलो काम के छ स्थिति भनेर काठमाडौँ आएर सबैसँग भेट्ने काम गरें। पार्टीको केही पोलिसीमा मेरो पनि भनाइ थियो। पुष्पलालजीहरू बाहिर बस्ने, भित्र संगठन छैन। अवस्था जटिल थियो। त्यसैले तेस्रो सम्मेलन गराएँ। त्यसको मुख्य प्रतिवेदन मैले नै तयार गरें। त्यसमा केशरजंगले अलि-अलि संशोधन गरे। त्यसबीचमा भएका गतिविधिका आधारमा केही नीतिमा परिवर्तन आवश्यक ठानेर मैले परिवर्तनका केही कुरा अघि सारें। केशरजंगले निर्देशित तन्त्रको नीतिमा हामी सबैलाई सहमत गराउन खोजेका थिए। हामीले त्यसको विरुद्धमा मोर्चाबन्दी गयौँ।

रायमाझीको प्रतिवेदन अस्वीकृत

०३८ सालमा विष्णुबहादुरजी छुट्टिनुभयो। २७ जनाको केन्द्रीय कमिटीमा १२ या १३ जना उतातिर गए। उहाँहरू निस्किसकेपछि बाँकी त हामीहरू मात्र भयौं। केशरजंगलाई मैले एउटा नयाँ अनुहारका साथ पार्टीलाई अगाडि बढाऔं भनें। उनले ‘अहिले अरू के गर्नुपर्‍यो र ? भ्रातृ संगठन विस्तार गर्नेतिर जाऊँ’ भने। उनले नमान्दानमान्दै पनि हामीले निर्णय गरेर सम्मेलन बोलाउने भयौँ। प्रतिवेदन मैले नै तयार गरें। काठमाडौँमै सम्मेलन डाक्ने तय भयो। उनले आफ्नो प्रतिवेदन तयार गरेछन्। प्रतिनिधिहरूलाई जहाँ-जहाँ बसाइएको थियो, त्यहाँ-त्यहाँ गएर आफ्नो प्रतिवेदन पढ्नका लागि दिएछन्। सबै टिमबाट उनको प्रतिवेदन अस्वीकृत भयो। उनले व्यवस्था गरेको आवासतर्फका प्रतिनिधिहरूले पनि उनको प्रतिवेदन अस्वीकृत गरेपछि उनीहरूलाई निकालिदिएछन्। हामीले उनीहरूलाई अन्यत्र बासको प्रबन्ध गर्‍यौँ। प्रतिवेदन मेरो स्वीकृत भयो। नेतृत्व चयनको कुरा उठ्यो। पदाधिकारी कसरी राख्ने भन्ने विषयले सम्मेलन लम्बियो। उनको प्रतिवेदन अस्वीकृत भएपछि नेतृत्वको कुरा पनि संकटमा पर्‍यो। उनका केही खास मान्छे केन्द्रीय कमिटीमा थिए। त्यसकारणले तिनीहरूको समर्थन डा. केशरजंगलाई हुने नै भइहाल्यो।

हामीलाई त्यसैबेला एउटा निम्तो आयो। मस्कोबाट आएको त्यो निम्तो तीन जनालाई थियो। छलफल गरेर दुवैथरीका कुरा बुझेर एकै ठाउँमा मिलाइदिने तिनीहरूको सोच रहेछ सायद। तर, केशरजंग जान मानेनन्। ‘तपाईंहरू जानुस, म पछि जाउँला’- उनले भने। केशरजंग, म र कृष्णदास श्रेष्ठ जानुपर्ने थियो। हामी दुई जना मात्र गयौँ। उनीहरूले सानो पार्टी विभिन्न घटकमा विभाजित हुँदा अघि बढ्न गाह्रो हुन्छ भन्ने सुझाव दिएका थिए।

अध्यक्ष पद नै खारेज

केशरजंग रायमाझीको छोरीको विवाहमा राजालाई बोलाउने कार्यक्रम रहेछ। ठिकै छ, विवाह हो, निम्ता गर्छन् नै, त्यसमाथि उनी ठूलाबडाका खलक भनेर चित्त बुझाइयो। मस्कोबाट फर्किएपछि उनको गतिविधि झनै शंकास्पद हुँदै गयो। हामीले कस्दै जान थाल्यौँ। उनी वैचारिक-सैद्धान्तिक रूपमा उम्किँदै जान थाले। केन्द्रीय कमिटी बैठक पहिल्यै तय गरेर मस्को गइएको थियो। हामी आयौँ तर उनीचाहिँ केन्द्रीय कमिटी बैठक शुरू हुनुभन्दा तीन दिनअघि हिँडे। त्यसले सबै सदस्यहरूमा आक्रोश थप्यो। केन्द्रीय कमिटी बैठक बस्यो। गम्भीर छलफल भयो। बैठक लम्ब्याइरहने कुरा भएन। बैठक सकिएकै दिन उनी नेपाल आए। उनलाई लिखित रूपमा स्पष्टीकरण लिने गरी प्रश्न बनाएका थियौँ। ‘लिखित जवाफ दिने वा आफैँ आएर हामीलाई सन्तुष्ट पार्ने’ भनेर सन्देश पठायौँ। उनी आएनन्। नआएपछि पाँच जनाबाहेक सबै उनको विपक्षमा भयौँ। उनको पक्षमा हुनेमा दुई जना त उनकै साला थिए।

त्यही बैठकबाट अध्यक्षको पद नै हटाइदियौँ।

०४६ को जनआन्दोलनपछि जब चुनावको कुरा आयो, चुनावमा भाग लिन निर्वाचन आयोगले ‘एउटै नाम नेपाल कम्युनिस्ट पार्टी भनेर धेरै दल दर्ता हुन सक्दैनन्’ भन्यो। त्यसपछि हामीले बर्मा समूह झुन्ड्याई दियौं।

एकताको प्रयास विफल

पहिलेका सबै कम्युनिस्ट पार्टीलाई एकीकृत पारौं भन्ने मेरो सोच थियो। त्यसका लागि सक्दो प्रयास गरेँ। विष्णुबहादुरजी सबैभन्दा पछि एउटै पार्टीबाट फुट्नुभएको हुनाले उहाँले असाध्यै तनावको स्थिति झेल्नुपर्‍यो। कुनै पनि प्रकारले हामीसँग सम्बन्ध नराख्ने भन्ने उहाँहरूको सोच थियो। मनमोहन, तुलसीलाल र सहनाजीको नामबाट पार्टी खुल्यो। उहाँहरूसँग त राम्रै कुरा भइरहेको थियो। त्यसैले पाँचओटा हाम्रा पार्टी र पहिलेका पाँच जना मान्छेहरू एकै ठाउँमा बस्नुपर्छ भन्ने मेरो भनाइ थियो। मिल्ने भन्ने कुरामा सहमति भयो। सहानाजीकहाँ अन्तिम बैठक डाकियो। त्यसमा हामीले पनि आफ्नो प्रतिवेदन लेखेर ल्याउने, उहाँहरूले पनि ल्याउने भन्ने कुरा भएको थियो। विष्णुबहादुरजीलाई पनि बोलाइएको थियो। उहाँकै कारण त्यो बैठक भएन। महेशमणि दीक्षित पनि सहानाजीकहाँ जानुभएको रहेछ र सहानाजीलाई उहाँले के भन्नुभयो थाहा छैन। तर, उहाँ निस्कँदा तुलसीलालजीलाई भेट्नुभएछ। तुलसीलाललाई बैठक रद्द भइसक्यो भनेर बीच बाटोबाट फर्काइदिनुभएछ। पछि म गएँ। मनमोहनजी पनि आउनुभयो। सहानाजीकहाँ बस्यौँ। तीन जना मात्र छौँ। त्यो पनि भएन। तैपनि, मेरो प्रयास जारी थियो। त्यसैले ०४२ मा पाँचओटा पार्टीको मोर्चा बनाएर नेपाली कांग्रेसको सत्याग्रहलाई समर्थन गर्ने घोषणा गर्‍यौँ। कम्युनिस्टहरूको पहिलो मोर्चा नै सायद त्यही थियो। त्यही मोर्च अघि बढ्दै जाँदा ०४६ मा वाममोर्चा बन्यो।

०४८ सालमा पहिले त तुलसीलालजी र हाम्रो पार्टीबीच मिल्ने कुरा भएको थियो तर सम्भव भएन। हरेक पार्टीमा एकखाले तत्त्व हुन्छन्, जसले एकता हुन दिँदैनन्। पछि मिल्ने कुरा भयो। जनकपुरमा एउटा सम्मेलन बोलाएका थियौँ। त्यहाँ एमालेका तर्फबाट साना पार्टीमाथि हमला शुरू भयो। ‘सकेसम्म फोरफार गरेर मान्छेहरू आफ्नो पार्टीमा ल्याउने, नभए विघटन वा विभाजन खडा गर्ने’ उनीहरूको सोच रहेछ।

प्रतिनिधि बसेको ठाउँमा हेर्न जाँदा पनि आधाभन्दा बढ्ता एमालेकै मान्छे रहेछन्। सम्मेलनचाहिँ तीनओटा पार्टीको तर मान्छे भरिभराउ एमालेका मात्र छन्।

त्यो सम्मेलन सकिएपछि त्यसमा सहभागी हुने एउटा ठूलै समूह एमालेमा प्रवेश गर्‍यो। एमालेको योजना त्यसबेला सफल भयो। अन्ततः पार्टी विघटन
०४८ को चुनावी परिणामपछि हाम्रो जनमत कम आयो। चुनावी परिणामलाई हेरेर ‘हाम्रो पार्टी सानो ठहरियो, स-साना पार्टी खोलेर काम छैन’ भन्ने निष्कर्षमा पुगें। ‘वाम-प्रजातान्त्रिक गठबन्धनतर्फ लागौँ, होइन भने स-साना पार्टी राखेर कुनै अर्थ छैन’ भन्ने मेरो निष्कर्ष थियो। त्यसै बीचमा मेरा पार्टीका मान्छेहरू छानी-छानी एमालेले लियो र हाम्रो पार्टी यत्तिकै निष्क्रिय भयो।

(विष्णु रिजाल र शन्तराम बिडारीको प्रस्तुती। २२ फगुनमा निधन हुनुभएका पुराना वामपन्थी नेता कृष्णराज बर्माको यो लेख विष्णु रिजालको सम्पादनमा पुष्पलाल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक ‘फर्केर हेर्दा’ (पुराना कम्युनिस्टहरूको संस्मरण)बाट सम्पादकको अनुमतिमा पुनः प्रकाशन गरिएको हो।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved