नेपाली कांग्रेस अधिवेशनमा धनुषा र महोत्तरीमा त्रिपक्षीय भीन्डत

नेपालभ्युज

नेपाली कांग्रेस अधिवेशनमा धनुषा र महोत्तरीमा त्रिपक्षीय भीन्डत

जनकपुरधाम। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत धनुषाको सभापति पदका लागि सभापतिमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्।

पार्टीको निर्वाचन तालिकाबमोजिम बिहीबार जनकपुरधामस्थित कांग्रेस पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवा पक्षबाट एक जना र संस्थापनइतरबाट २ जनाले उम्मेदवारी दिएका हुन्। देउवा पक्षबाट वर्तमान जिल्ला उपसभापतिसमेत रहेका सन्तोष यादवले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

संस्थापनइतर समूहबाट सभापतिका लागि क्षीरेश्वरनाथ नगरपालिकाका मेयरसमेत रहेका योगेन्द्र पजियार र पूर्वसंविधान सभा सदस्य रहेका दिनेश प्रसैला यादवले उम्मेदवारी दर्ता गराएका छन्। पजियार विमलेन्द्र निधि पक्षधर हुन्। प्रसैला शेखर कोइराला पक्षधर हुन्।

देउवा पक्षका उम्मेदवारका यादवलाई पार्टीका प्रभावशाली नेता तथा सहमहासचिव महेन्द्र यादव, पूर्वसांसद आनन्द ढुंगाना, सांसद स्मृति नारायण चौधरी र पार्टीको मधेश प्रदेश अध्यक्ष कृष्ण यादव सक्रिय छन्।

त्यसैगरी धनुषा जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा, सुरेन्द्र प्रसाद चौधरी, गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएका छन्।

त्यस्तै कांग्रेसको धनुषा सचिव पदमा ९ जनाले उम्मेदवारी दिएका छन्। सचिवका लागि नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर, धीरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत(साधु), दीपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले उम्मेदवारी दिएका छन् भने सहसचिव पदमा ६ जनाले उम्मेदवारी दिएका छन्। सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजय कुमार यादव र साकिर राइन लगायत ६ जनाले उम्मेदवारी दिएका छन्।

धनुषामा फागुन २३ गते चुनाव हुँदै छ।

महोत्तरीमा पनि त्रिपक्षीय भिडन्त

नेपाली काँग्रेस महोत्तरीको नेतृत्व चयनका लागि भोलि २० फागुनमा हुन लागेको निर्वाचनमा त्रिपक्षीय भीडन्त हुने भएको छ।

जिल्ला सभापतिको लागि यहाँ तीन जना मैदानमा उत्रिएका छन्। नेता रामचन्द्र पौडेल पक्षधर प्यानलबाट बजरङ्ग नेपाली र पार्टी सभापति शेरबहादुर देउवा पक्षधर प्यानलबाट नागेश्वर यादव र सुशील यादवले उम्मेदवारी दिएका छन्। पौडेल पक्ष कै केहि नेताले देउवा प्यानलका उम्मेदवार नागेश्वर यादवलाई समर्थन गरिरहेको स्थानीय कार्यकर्ताको भनाइ छ।

पौडेल समूहका भनेर चिनिने रामचन्द्र तिवारी र किरण यादवले देउवा समूहका उम्मेदवारलाई समर्थन गरेपछि पौडेल प्यानलबाट उम्मेदवारी दिएका बजरङ्ग नेपालीलाई जित्न कठिन हुने उनीहरूको दावी छ। तर, आफ्नै प्यानलका उम्मेदवारलाई रामचन्द्र र किरणले किन असहयोग गरिरहेका छन् भन्ने बिषय नेता कार्यकर्ताबीच चर्चामा छ। पौडेल समूहकै छलफलबाट उम्मेदवार बनेका नेपालीलाई अन्तिम समयमा आएर धोका हुन लागेको पौडेल समुहको निष्कर्ष छ।

‘अधिवेशन त निश्चित भयो तर, आफ्नै प्यानलका नेताहरुले धोक्का दिने स्थिति बन्दैछ’ काँग्रेस महोत्तरीका सचिव शम्भु पाठकले भने। पौडेल प्यानलमा समेत रहेका पाठकले बजरङ्ग नेपालीले जित्ने निश्चित हुँदाहुँदै रामचन्द्र तिवारी र किरण यादवले विपक्षी प्यानलमा लविङ्ग गरेको आरोप लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved