‘तिमी केटीहरूलाई त बिहे गरेपछि आनन्दै हुन्छ’

घरमा आर्थिक समस्या चलिरहेको थियो। दिदीले भन्नुभयो, ‘‘नानीको ठाउँमा कोही छोरा भएको भए त उसले पनि कमाइहाल्थ्यो नि‌।” तर घरमा आफैले व्यवहार सबै सम्हालेको बिर्सनुभएछ।

‘तिमी केटीहरूलाई त बिहे गरेपछि आनन्दै हुन्छ’

सानैदेखि घोकाइयो- महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन्। यिनले समान अधिकार पाउनुपर्छ भन्दै समानताका अधिकारहरू धेरै नै पढियो र रटियो, तर घर र व्यवहारमा भने समानता सबै शुन्य।

छोरालाई बोर्डिङ र छोरीलाई स्कूल पठाउने प्रवृतिमा सामान्य फेरबदल पनि हुँदै गएको छ, समान स्कूलमा पढाउनुपर्छ भन्ने चेतनाको विकाश हुँदै गएको देखिन्छ। तर बालबालिकाको पहिलो स्कूल मानिने घरमा नै बालिकाहरू अझै पीडित छन्। छोरा स्कूलबाट फर्केर खेल्न, रमाउन तथा होमवर्क गर्न थाल्छ, छोरीले भने सानैदेखि घर-व्यवहार सिक्नुपर्छ भन्ने मानसिकता समाजमा व्याप्त छ। जसकारण छोरीहरूलाई खेल्न र छोराहरूले जसैगरी पढ्न बन्देज छ। सानैदेखि छोरीलाई आमासँगै भान्सामा सघाउने वा अरु नै केही घरायसी काम सिकाउने गरिन्छ। दिन बित्दै जान्छ, उनले धेरै कुरा सिक्छिन्। स्कूलमा सिकेको र घरमा भइरहेको भिन्नता बारे सुनाउँछिन्। तर मुखमुखै लाग्ने भएकी असभ्य महिलाको उपमा पाउँछिन्।

एक महिलाले सय पुरुष बराबर जिम्मेवारी उठाउनपर्छ भन्ने समाजको चेतना छ। घरमा मात्र सीमित होइन महिलालाई बाहिर पनि केही गर्ने अवसर दिने कुरा दर्शाइएका समानताका थुप्रै उदाहरण सुन्छौँ। यही सन्देश फैलाउँदै हिँड्ने बुवाआमा पनि तमाम हुनुहुन्छ। तर तिनैको घरमा छोरीले काम गरिरहेको बेलामा भाइले सघाएन भन्दै गुनासो गर्दा आमा भन्नुहुन्छ, ‘‘छोरो हो नगरेर पनि पुग्ने हो, त्यही पनि धन्न गर्छ।” समानताको वकालत गर्दै हिँड्नेहरूमा पनि स्पष्ट पितृसत्तात्मक आकृति देखिन्छ।

अस्ति गाडीमा हिँडिरहेको बेला किनारमा बसेका एकजना दाजुले भन्नुभयो, ‘‘पुरुषहरूलाई पनि दु:ख छ, सिँगो घरको जिम्मेवारी हुन्छ।”

‘‘जिम्मेवारी महिलाको पनि त हुन्छ,” मैले भनेँ।

‘‘महिलालाई त आनन्दै छ नि, बिहे गरेर गयो श्रीमानले कमाइहाल्छ। अनि के को टन्टो?” उहाँले पुरुष अहम्का साथ भन्नुभयो। मैले भने, ‘‘महिलाले कमाएपछि पुरुषलाई पनि त टन्टो हुँदैन नि।” तर उहाँ महिला जिम्मेवार हुन्छन् भन्ने स्वीकार्न तयार हुनुभएन र जिम्मेवारीको एकमुस्ट ठेक्का परेको जस्तो दाबी गर्दै बाटो लाग्नुभयो।

समस्या उहाँमा होइन, घर घरबाटै शुरु भएको छ। केही समस्या भएर काम गर्न असहज हुँदा पनि दाजुभाइलाई अह्याउँदा अटेर गरेपछि आमाहरूले नै भन्ने गरेको सुनिरहेकै हो, ‘‘छोरो हो, कमाउँछ। छोरीले नगरेर भयो।”

एकदिन फेरि अर्को साथीसँग त्यस्तै कुरा भयो।

‘‘के गर्नु २० कटेपछि जिम्मेवारीको भारीले थिच्दो रहेछ,” यो भनिराख्दा उसले महिलाले जिम्मेवारी नबुझ्ने बताइहाल्यो, ‘‘तिमीहरू बुझ्दैनौ। तिमीहरूलाई त के छ र! बिहे गरेपछि श्रीमानले पालीहाल्छ, आनन्दै।”

मैले भनेँ, ‘‘जिम्मेवारी महिलालाई पनि उस्तै हुन्छ। आत्मनिर्भर भएर बाँच्न सक्छौँ हामी।”

‘‘आत्मनिर्भर हुनु राम्रो हो तर हामी पुरुषलाई जस्तो तिमीहरूलाई हुँदैन नि, पुरुषका त सबै रहर मारिन्छन्,,” उसले भन्यो।

‘‘हाम्रो जस्तो समाजमा रहर त सबैका मारिन्छन्,” उसले बुझ्न चाहेन। दोहोर्‍यायो, ‘‘पुरुषका चाहना मारिन्छन्।”

घर, समाज र विद्यालयमै यस किसिमका विभेद व्याप्त छन्। आफैसँग पढिरहेको साथीको सोचमा पनि कुनै भिन्नता नपाउँदा मन खिन्न भयो। शिक्षा व्यवाहरिक रूपमा लागू हुँदैन र कागजमै सीमित हुन्छ भने त्यसबाट परिवर्तनको अपेक्षा राख्न सकिएला र?

घरमा आर्थिक समस्या चलिरहेको थियो। दिदीले भन्नुभयो, ‘‘नानीको ठाउँमा कोही छोरा भएको भए त उसले पनि कमाइहाल्थ्यो नि‌।” तर घरमा आफैले व्यवहार सबै सम्हालेको बिर्सनुभएछ। दोष दिदीको पनि होइन। सानैबाट पढ्न जे पढेपनि जिम्मेबारी सधैँ पुरुष र महिलाबिच छुट्याएर सिकाइएको छ। बाबाले अफिस र आमाले घर सम्हाल्नैपर्ने बताइएको छ।

बच्चाले स्कूलमा धेरै कुरा सिक्छ। तर घर आउँदा भान्सामा आमाले मात्र काम गरिरहेको र बाबाले घरको केही पनि काममा नसघाएको देख्दा पढ्न जे पढेपनि घर सम्हाल्ने जिम्मा महिलाको मात्र रहेछ भन्ने छाप बस्छ। आफूभन्दा ठूलो व्यक्तिले जे गर्‍यो बच्चाहरू त्यही त सिक्ने हो। तर यदि जापानमा जस्तै आफ्नो काम र सरसफाइ आफैँ गर्नुपर्ने कुरालाई व्यवहारिक पाठ्यक्रममा अनिवार्य गराइयो भने केही हदसम्म सुधार हुन्थ्यो होला।

जब घरका सबै सदस्य घुमघाम गरेर फर्कन्छन् तब थकित त सबै हुन्छन्। यदि कुनै परिस्थितिमा महिलासँगै घरका सबै बिरामी हुँदा पनि भान्सा सम्हाल्नेमा महिलालाई नै अघि सार्न खोजिन्छ। जस्तो कि महिलालाई त थाक्ने र बिरामी हुने अधिकार पनि छैन।

घरमा बाबाआमापछि छोरा मात्र सन्तान होइन भन्ने कुरा किन बिर्सिन्छ? के छोरी मात्र भएको घरमा आर्थिक व्यवहार चलेको छैन? पहिलो सन्तान छोरी भएको घरमा पहिलो जिम्मेबारी छोरीमाथी आउनुपर्ने होइन? जिम्मेवारी फरक ठूलो र सानोबीच हुन्छ तर छोरा र छोरीबिच होइन।

जब महिला र पुरुष एक अर्काकोनिम्ति वैकल्पिक भन्दै पढ्छौँ भने व्यवहारमा उतार्न किन गार्हो? बिहेपछि पुरुष कमाउने भए महिलाको जीवन सुखमय हुन्छ सोच्नेले महिला पनि पढेकी र कमाउने भएपछि पुरुषको घर सुखमय हुन्छ भन्ने कुरामा किन हेक्का राख्न नसकेको?

ज्वाईँ कमाउने छन् , छोरीले जति पढेको भए पनि जति राम्रो ग्रेड ल्याएको भए पनि छोरीको काम घर सम्हाल्ने नै हो भनेर स्थापित गर्न खोजिन्छ। घर व्यवहार धान्न, छोराछोरी हुर्काउनका लागि तयार पारेर अझै पनि छोरीहरूलाई त राम्रो जागिरे श्रीमान पाउनका लागि मात्रै तयार गरिने गरेको छ। यस्तो शिक्षाको के काम ?

पुरुष शिक्षित भए ऊ एक्लै शिक्षित,महिला शिक्षित भए पूरै घरपरिवार शिक्षित हुन्छ भनेर ठूला प्रवचन दिनेले पनि त्यसलाई व्यवहारमा उतारेको देखिन्न। महिला र पुरुषलाई विस्तारै शिक्षा दिन थालिए पनि उनीहरूलाई पछि के बनाउने भनेर पहिल्यै निर्धारण गरेको छ समाजले र त्यहीअनुसार तयार पारिरहेको देखिन्छ। छोरीले पनि जिम्मेवारी बहन गर्न सक्छ र जे गर्न पनि सक्षम छ भनेर हाम्रो समाज मानसिक रूपमा तयार भएको देखिन्न। राम्रो पढेर दीक्षित भएका महिलाहरूसमेत बिहेपछि घरमै थुनेर बन्धनमा राखिएका छन्।

डाक्टर, मास्टर, इन्जिनियर बन्छु भन्ने सपना देखेका महिलाहरू पुरुषसँग जोडिएर आउने ‘डाक्टर्नी’, ‘मास्टर्नी’, ‘इन्जिनियर्नी’ मा सीमित बनाइएको छ।

किताबी ज्ञानमा मात्रै नभएर जबसम्म वास्तवमै व्यवहारिक रूपमा यी पक्षलाई स्वीकार हाम्रो समाजले गर्दैन तबसम्म विभेद अन्त्य हुँदैन। रहर, चाहना, थकान, बिमार आदिसँगै घरपरिवारका हरेक कुरामा समान कर्तव्य हुन्छ र गर्नुपर्छ भन्ने सोच विकाश नभएसम्म महिलाहरूका सपना र जीवनमाथि पूर्णविराम लाग्छ। परिवारमा महिलाले मात्रै त्याग गर्नुपर्छ र घर व्यवहार सम्हाल्नुपर्छ भन्ने मानसिकता हटाउन घरबाटै, तपाईंबाटै अभियान थाल्न जरुरी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved