विवेकशील साझा छाडेका हमाल भन्छन्: यो मेरो अन्तिम उम्मेदवारी हो

मेयरमा जितेपछि कुनै पनि सरकारी सेवासुविधा नलिने प्रतिवद्धता उनले गरेका छन्।

नेपालभ्युज

विवेकशील साझा छाडेका हमाल भन्छन्: यो मेरो अन्तिम उम्मेदवारी हो

धनगढी। धनगढीका उद्योगी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्।बिहीबार धनगढीमा आयोजित घोषणा सभामा हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता तथा व्यवसायी हमाल अघिल्लो स्थानीय चुनावमा पनि स्वतन्त्र उम्मेदवार उठेका थिए। त्यसपछि विवेकशील साझा पार्टी प्रवेश गरेका उनले मंगलबार मात्रै पार्टीबाट राजीनामा दिएका थिए। राजीनामा दिएलगत्तै उनले धनगढी उपमहानगरपालिकाको स्वतन्त्र उम्मेदवारमा उठ्ने घोषणा गरेका हुन्।

कार्यक्रममा हमालले ‘धनगढी मोडल’ स्थापित गर्न फेरि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए।

‘‘मेयरमा मेरो जित भएपछि म धनगढी उपमहानगरपालिकाबाट एक रूपैयाँ पनि लिन्न,’’ घोषणा सभामा हमालले भने, ‘‘धनगढी उपमहानगरपालिकाको गाडी पनि चढ्दैन। मेयरले पाउने कुनै लाभ लिँदैन। निस्वार्थ रूपमा काम गर्छु।’’ उनले अहिले व्याप्त भ्रष्टाचारको प्रवृत्तिलाई मेयर भएपछि कल्याणकारी प्रवित्तिमा कायम गरेर देखाउने घोषणा गरे।

अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका हमालले अन्तिम पटक उम्मेदवारी दिएको बताए। उनले भने, ‘‘मलाई जे दिएको हो, यही धनगढी र सुदूरपश्चिमले दिएको हो। अब यो माटोको सम्मान गर्दै मैले पाँच वर्ष धनगढीलाई निस्वार्थ सेवा दिने योजना बनाएको छु।’’

घोषणा सभामा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले हमालको अभियानमा राष्ट्रिय दायित्व सम्झेर सहभागी भएको बताए। उनले ‘धनगढी मोडल’ स्थापित गर्ने हमालको सपना पूरा गर्न नि:शुल्क साझेदारी गर्ने बताए। ‘‘गोपाल हमालको अभियानलाई धनगढीवासीले सफल पार्नु हुनेछ भन्ने विश्वास छ,’’ उनले भने, ‘‘उहाँको जित भए देशभरी नै नयाँ र सकारात्मक सन्देश जान्छ।’’

हमालले कैलाली उद्योग वाणिज्य संघको नेतृत्व गर्दा आफ्नो कार्यकाल (२०६३–६६)मा संघलाई देशकै उत्कृष्ट शाखा बनाएका थिए। दिनेश ग्रूपका नामबाट सुदूरपश्चिममा सञ्चालित उनका व्यापार व्यवसायमा ६ सय बढीले रोजगारी पाएका छन्। सुदूरपश्चिमलाई सम्भावनाको क्षेत्रका रूपमा परिचित गराउन उनले सुन्दर सुदूरपश्चिम अभियान थालेका थिए।

कार्यक्रममा व्यवसायी प्रकाश भट्टले स्वागत मन्तव्य राखेका थिए भने सुदूरपश्चिम समाज कोरियाका पूर्वअध्यक्ष तथा व्यवसायी धर्मराज जोशीले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को अध्यक्षमा सिद्धराज पनेरु, वडा नम्बर ५ मा पमराज भट्ट ‘प्रभास’, वडा नम्बर १४ मा यम लामिछाने र वडा नम्बर १५ मा कमलबहादुर ढाटले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved