मन्त्रिपरिषद्मै अड्कियो बालबालिकाको खोप किन्ने फाइल, १२ वर्ष मुनिकाले पाउने अनिश्चित

कोरोनाविरुद्धको खोप अभियान शुरु भएको १३ महिना पुगिसक्दा पनि ५ देखि ११ वर्षसम्मका बालबालिकाले खोप पाएका छैनन्। सरकारले धेरै पहिलेदेखि नै १२ वर्षमुनि उमेर समूहका बालबालिकालाई छिट्टै खोप दिने बताउँदै आए पनि अझै फाइल नै पास हुन बाँकी रहेको खुल्न आएको हो ।

मन्त्रिपरिषद्मै अड्कियो बालबालिकाको खोप किन्ने फाइल, १२ वर्ष मुनिकाले पाउने अनिश्चित

काठमाडौं। कोरोनाविरुद्ध खोप अभियान शुरु भएको १३ महीना पुगिसक्दा पनि ५ देखि ११ वर्षसम्मका बालबालिकाले खोप पाएका छैनन्। सरकारले धेरै पहिलेदेखि नै १२ वर्षमुनि उमेर समूहका बालबालिकालाई छिट्टै खोप दिने बताउँदै आए पनि अझै फाइल नै पास हुन बाँकी रहेको खुल्न आएको हो।

सरकारले धेरै पहिलेदेखि नै १२ वर्षमुनि उमेर समूहका बालबालिकालाई छिट्टै खोप दिने लक्ष्य रहेको बताउँदै आए पनि बल्ल खरीद प्रक्रिया शुरू हुन थालेको स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले जानकारी दिएको छ।

महाशाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाले खरीद प्रक्रियाका लागि महाशाखाले सबै फाइल तयार पारेर क्याबिनेटमा पठाइसके पनि त्यहाँबाट पास हुन भने  बाँकी रहेको बताए।

विश्व स्वास्थ्य संगठनले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर खोपलाई मात्र मान्यता दिएकाले नेपालमा पनि फाइजरको ८४ लाख डोज खोप आवश्यक पर्ने उनको भनाइ छ।
उनले भने, “यो उमेर समूहका लागि फाइजर खोप ल्याउने तयारी हाम्रो तर्फबाट पूरा तयारी गरेर क्याबिनेटमा पठाउका छौं त्यहाबाट पास हुनेबित्तिकै खोप आउन शुरु गर्छ, खोप कम्पनीले पनि आफ्नो तयारी गरिहेको छ, दुई महीनाभित्रै नेपालमा खोप आइसक्ने छ।”

उनका अनुसार, विश्वमै ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने खोपको माग निकै भएकाले अनुदानमा पाउनसक्ने अवस्था नरहेकाले नेपाल सरकारले विश्व बैंकसँगको सहायतामा यो खोप खरिद गर्न लागेको हो।

पाइपलाइनमा खोप

अमेरिकी सरकारले १२ वर्षमाथिका बालबालिकालाई लगाउन मिल्ने फाइजरको ९२ लाख डोज खोप अनुदानमार्फत प्रदान गर्न लागेको उनले बताए। ९२ लाख डोज खोप चैतको दोस्रो सातादेखि नै नेपाल ल्याइने तयारी रहेको समेत उनको भनाइ छ। त्यस्तै, ४० लाख डोज खोप चीन सरकारले पनि अनुदानमा उपलब्ध गराउन लागेको उनले बताए।

नेपालमा हालसम्म ४ करोड ६८ लाख ८२ हजार ८ सय डोज खोप आइसकेको छ। जसमध्ये १ करोड २० लाख खोप मात्र नेपाल सरकारले खरीद गरेको व्यवस्थापन महाशाखाले जनाएको छ।

कतिले लगाए कोरानाविरुद्ध खोप ?

सरकारले आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै जनसंख्या र १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई वैशाख मसान्तसम्म कोरोनाविरुद्धको खोप दिइसक्ने लक्ष्य राखेको छ।

नोपलमा खोप अभियान शुरु भए देखि हालसम्म तीन करोड ७२ लाख ३३ हजार ८७२ खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमध्ये पहिलो मात्रा खोप एक करोड ८२ लाख ९६ हजार ८७५ जनाले लगाएका छन् भने एक करोड ७५ लाख ४७ हजार २८१ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।

नेपालको कुल जनसंख्याको ७४ प्रतिशतले पहिलो र पूर्ण मात्रा ६० प्रतिशले लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। १८ वर्षमाथिका लक्षित जनसंख्याको ९१.६ प्रतिशतले एक मात्रा र पूर्ण मात्रा खोप ७९ प्रतिशतले लगाएका छन्।

त्यस्तै, लक्षित जनसंख्याको १२ वर्षमाथिका ८९ प्रतिशतले एक मात्रा र ४८ प्रतिशतले पूर्णमात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ। १७ फागुनसम्म ११ लाख ८९ हजार ७१६ जनाले अतिरिक्त मात्रा (बुस्टर डोज) लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

कति भण्डारण  ?

व्यवस्थापन महाशाखाका अनुसार १५ फागुनसम्म केन्द्र, प्रदेश र जिल्ला गरी ९४ लाख २७ हजार ९७९ मात्रा खोप र एक करोड ४३ लाख ९९ हजार चार सय सिरिञ्ज भण्डारण रहेको छ। प्रदेश १ मा १३ लाख ३२ हजार ३६२ खोप र ९ लाख ७९ हजार ७७ सिरिञ्ज भण्डारणमा रहेको छ।

तथ्यांकमा उल्लेख भएअनुसार मधेश प्रदेशमा पाँच लाख ६७ हजार ४८४ खोप र ४१ लाख चार हजार चार सय सिरिञ्ज भण्डारणमा रहेको छ। हेटौँडामा ३ लाख ६७ हजार १७१ खोप र ३ लाख ४२ हजार सिरिञ्ज भण्डारण रहेको छ।

बागमती प्रदेश (१० जिल्ला) सात लाख ३१ हजार ७८ खोप र १३ लाख ६३ हजार एक सय सिरिञ्ज भण्डारण छ।

गण्डकी प्रदेशमा दुई लाख ७७ हजार ४१५ खोप र दुई लाख ५६ हजार ५० सिरिञ्ज भण्डारण छ भने लुम्बिनी प्रदेशमा सात लाख ३६ हजार ३३० मात्रा खोप र नौ लाख छ हजार सिरिञ्ज छ।

कर्णाली प्रदेशमा चार लाख २८ हजार ९३० खोप र आठ लाख ३८ हजार ११५ सिरिन्ज छ, भने सुदूरपश्चिममा तीन लाख ४१ हजार १२९ खोप र सात लाख २८ हजार सात सय सिरिञ्ज भण्डारण छ।

त्यस्तै, सेन्टर स्टोर, टेकूमा ४६ लाख ४६ हजार ८० खोप भण्डारण छ। सेन्टर स्टोर पथलैयामा खोप भण्डार संख्या शून्य छ भने ९५ लाख ४२ हजार सिरिञ्ज भण्डारणमा रहेको छ।

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले कोरोना भाइरसबाट बच्नका लागि यसविरुद्धको खोप मात्र एक सर्वोत्तम उपाय रहेकाले सबैलाई खोप लगाउनुपर्ने बताइन्।

पूर्ण मात्रा खोप लगाएका १८ वर्षमाथिका सबै नागरिकले आफ्नो पालोअनुसार खोपको तेस्रो मात्र लगाउनुपर्ने समेत उनी बताउँछिन्। कोरोना संक्रमणमुक्त भएको एक महीनापछि खोप कोरोना संक्रमणमुक्त भएको एक महीनापछि कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved