प्रचण्डलाई बाबुरामको चुनौतीः लटरपटर कुरा नगर्नुस् कि साथ दिनुस् कि सरकार छाड्नुस्

नेपालभ्युज

प्रचण्डलाई बाबुरामको चुनौतीः लटरपटर कुरा नगर्नुस् कि साथ दिनुस् कि सरकार छाड्नुस्

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले संसदबाट एमसीसी पास गर्ने बेला आफूहरू बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिए। उनले एमसीसी सम्झौता संसदमा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनुपर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने दाबीसमेत गरे।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए। उनले आफूहरू संसदबाट स्पष्ट बहुमत पुर्‍याएर सो सम्झौता पारित गराउन लागिपरेको बताए।

एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो। उनले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औंल्याए।

भट्टराईले भने, “मैले प्रस्ट ढंगले भनेको छु- संसदमा पनि र बाहिर पनि मैले भनेको छु। फेरि पनि भन्न चाहन्छु– यो एमसीसी सहमतीबाट पछाडि हट्दा ठूलो संकट हामीसँग आइपर्दैछ। त्यसलाई राष्ट्रिय सहमति बनाएर जानुपर्छ। यसको निम्ति अब संसदमा स्पष्ट बहुमतले पारित गर्नुपर्छ। कोही मान्छे लटरपटर पारेर लौ यो हामी छोडिदिन्छौं, हामीचाँही बाहिर गईहाल्छौं। तपाई पास गर्नोस् भनेर झिनो मतले अब संसदबाट उपस्थितिको बहुमत। संसदमा ६८ जना भए कोरम पुग्छ। त्यसको आधा ३५ हुन्छ। अनि, ३५ जनाले पारित गर्ने ? यस्तो महत्वपूर्ण मुद्दा। हुँदैन। संसदको अहिलेको संख्या २७५ हो। भलै २७१ संख्या छ। यसको आधा १३८ हुन्छ। १३८ भन्दा माथि पुर्‍याएर नै यसलाई पास गर्नुपर्छ। त्योभन्दा तल लटरपटर कर्मकाण्ड गरियो भने जनतामाथि धोका हुन्छ। त्यसो गर्न पाइँदैन। मेरो विनम्र आग्रह छ। खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई। कित तपाईले यसलाई साथ दिनोस् १३८ पुर्‍याएर पारित गर्नोस्। होइने भने तपाई सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिरचाँहि राष्ट्रवाद भित्रचाँहि राष्ट्रघात गर्न पाइँदैन। पहिलो विकल्प, तपाईंले साथ दिनुहोस्। होइन भने तपाईं जानोस्, त्यसको ठाउँमा अर्को आउँछ। हामी बहुमत पुर्‍याएर पारित गर्छाै। हाम्रो स्पष्ट धारणा यो छ। लटरपटर कुरा हुँदैन।”

भट्टराईले नेपालले चीन, भारत र अमेरिकालगायत सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दिगो शान्तिका लागि काम गर्नुपर्ने दोहोर्‍याए। एमसीसी सम्झौता आफ्ना लागि नभई राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागि परेको पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved