युवा छँदा

जेलबाटै खारिएका विद्रोही ‘बोस’

नेपालभ्युज

जेलबाटै खारिएका विद्रोही ‘बोस’

‘जुन मानिस फूल देखेर काँप्छन्
तिनीहरूले छिट्टै काँडा पाउने छन्।’
-सुभाष चन्द्र बोस

विश्व इतिहासमा यस्ता केही घटना भए, जसको रहस्य आजसम्म सुल्झिएका छैनन्। इतिहासकै गर्तमा पुरिएका छन्, आजपर्यन्त। विश्वास-अविश्वास, दुवै अवस्था मौजुद छन्।

तिनैमध्ये एक हुन्, भारतीय स्वतन्त्रता संग्रामका नायक सुभाष चन्द्र बोसको स्थिति। अंग्रेज शासकहरूबाट भारत स्वतन्त्र हुनुभन्दा दुई वर्षअघि सन् १९४५ मा जापानको ताइहोकु एयरपोर्टमा उनी चढेको विमान दुर्घटनाग्रस्त भयो र त्यहीँ नै ‘मृत्यु भयो’ भनिन्छ। उनको जीवन र मृत्यु अझैसम्म अनुत्तरित नै छन्। उनको मृत्यु विमान दुर्घटनामा भयो वा ब्रिटिस सरकारको नजरबन्दीमा ?

भारतलाई अंग्रेज शासकको कब्जाबाट मुक्त तुल्याउन महात्मा गान्धी, मोतिलाल नेहरू, जवाहरलाल नेहरूसँगै अग्रमोर्चामा उभिएका थिए, बोस। सन् १८९७ मा जन्मिएका बोसले अल बंगाल युथ लिगको अध्यक्षको जिम्मेवारी सम्हाल्दा मात्र २६ वर्षका युवा थिए। जब बोसको अध्यक्षतामा युग लिग गठन भयो, त्यो सिंगो भारतको युवा शक्तिका निम्ति प्रेरणाको स्रोत बन्न पुग्यो। उनको मत थियो, ‘एउटा युवक संगठनको उद्देश्य यो हुनुपर्छ, युवा शक्ति कुनै राजनीतिक दलको केवल सहायक इकाई वा आन्दोलनकारी उपकरणको रुपमा प्रयोग हुनसक्छ। तर त्यसको प्रमुख लक्ष्य देशका युवा वर्गको दैहिक, मानसिक, आध्यात्मिक, बौद्धिक एवं मनोवैज्ञानिक दृष्टिले समुन्नत तुल्याउने हुनुपर्छ।’

युवा लिगको अध्यक्ष भएपछि उनले बंगालका हरेक जिल्ला र इलाकाहरूमा युवायुवतीलाई संगठित तुल्याए। युवाहरूको क्लब र संघहरू गठन गर्नमा जोड दिए। उनको सक्रियता व्यापक हुँदै गयो। सन् १९२३ को अन्त्यतिर उनले पार्टीको महत्वपूर्ण जिम्मेवारी पनि पाए- बंगाल प्रदेश कांग्रेस कमिटीको महासचिव।

सन् १९२४ मा कलकत्ता नगर निगमको चुनाव भयो। उक्त चुनावमा स्वराजवादी देशबन्धु कलकत्ताको पहिलो नगरप्रमुखमा चुनिए। देशबन्धुको आग्रहमा बोस निगमको मुख्य कार्यकारी अधिकारी अर्थात् निगम प्रशासनको प्रमुखमा चयन भए। कलकत्ता नगर निगमा स्वराजवादीहरूको बाहुल्य रहन पुग्यो। उनीहरूले सुरुमा नागरिक अधिकार, प्रगति र स्वतन्त्रताका लागि घोषणापत्र तयार गरे र त्यसपछि खादी पहिरेका नागरिकहरू बने- सरकारी पोशाकवाला नागरिक। अर्को महत्वपूर्ण कार्य त, बिट्रिस शासक/प्रशासकहरूका नाममा राखिएका सबैजसो सडक र उद्यान-पार्कहरूका नाम भारतीय विभूतिहरूका नाममा राखियो।

निगम प्रशासन प्रमुख बनेपछि बोसले केही नयाँ कदम चाले। जसमा उच्चपदस्थ अंग्रेजहरूका सम्मानार्थ त्यसअघि आयोजना हुँदै आएका सभा-समारोह गर्न बन्द गरे। बरु, कलकत्तामा आउने राष्ट्रवादी नेताहरूलाई सत्कार गर्ने परम्परा बसाले। त्यही समय, नागरिकलाई चेतनशील बनाउने हेतुले ‘कैलकटा म्यूनिसिपल गजेट’ नामक साप्ताहिक प्रकाशन शुरु गरे। भारतीय उत्पादनको प्रवद्र्धनका लागि व्यावसायिक संग्रहालय स्थापना गरे।

नगर प्रशासनको प्रमुख हुँदा उनले एउटा उदाहरणीय काम गरे। त्यो थियो- आफ्नो पारिश्रमिकको आधा रकम दान। आधा चाहिँ उनले जीवन निर्वाहका लागि स्वीकारे।

कलकत्ता नगर निगममा निर्वाचित भएपछि स्वराजवादीहरूले चालेका कदम र बोसले गरेका नयाँ नयाँ निर्णयप्रति अंग्रेज शासक किन प्रशन्न हुन्थ्यो र ? अन्ततः २५ अक्टोबर १९२४ मा उनलाई गिरफ्तार गरियो। गिरफ्तारी गर्दा भनिएको थियो, ‘मिस्टर बोस, १८१८ को तृतीय व्यवस्थाअन्तर्गत मसँग तिम्रो गिरफ्तारीको वारेन्ट छ।’

बोसलाई गिरफ्ता गर्दा अंग्रेजले ‘क्रान्तिकारी षड्यन्त्र’ भएको आक्षेप लगाइएको थियो र त्यो षड्यन्त्रको योजनाकार उनलाई नै ठानिएको थियो। बोसको गिरफ्तारीपश्चात् कलकत्ताका नगरप्रमुख देशबन्धुले कडा शब्दमा अंग्रेज सरकारको निन्दा गर्दै भनेका थिए, ‘देशप्रेम यदि अपराध हो भने म पनि अपराधी हुँ।’

केही समय बरहामपुर जेल र कलकत्ताको लालबजारस्थित प्रहरी चौकीमा राखेपछि उनलाई पुर्‍याइयो- बर्मा (म्यान्मार) को माण्डले जेलमा। जुन जेलमा त्यसभन्दा पहिले लोकमान्य तिलक र लाला लाजपत रायलाई पनि बन्दी बनाइएको थियो।

बर्मास्थित माण्डले जेलमा रहँदा बोसले आफ्नो ज्ञान र अध्ययनको धरातललाई निकै फराकिलो तुल्याए। जेलमा रहँदा उनले दर्शन, इतिहास, धर्म, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्रदेखि रवीन्द्र संगीत, साहित्य, कला, संस्कृतिको विशद अध्ययनका आफूलाई निमग्न तुल्याए। त्यहाँ उनले बर्माको इतिहास र राजनीतिबारे पनि अध्ययन गरे।

सन् १९२६ मा विधानमण्डललाई भंग गरेर नयाँ चुनाव घोषणा गरियो। बंगाल कांग्रेसले कलकत्ता निर्वाचन क्षेत्रबाट बोसलाई प्रत्यासी बनायो। उनका प्रतिद्वन्द्वी निकै शक्तिशाली थिए तर आफ्ना प्रतिद्वन्द्वीलाई पराजित तुल्याएर जिते। विधानमण्डलको निर्वाचन जिते पनि उनको कैद भने सकिइसकेको थिएन।

बोस विधानमण्डलमा चुनिँदा २९ वर्षका लक्का जवान थिए।

बर्माको मांडले जेलमा रहँदा उनको स्वास्थ्य बिग्रँदै गयो। अझ, जेल यति अव्यवस्थित थियो कि, उनले साथीहरूसँग मिलेर जेलको अव्यवस्था विरुद्ध अनसन नै बस्नु पर्‍यो। बन्दीहरूको अनसन लम्बिँदै जाँदा उनलाई जेलमुक्त गर्न सरकार बाध्य भयो। जेलमुक्त भएपछि सन् १९२७ मा उनी भारत फर्किए र कांग्रेसको महासचिव बने।

बोस र महात्मा गान्धीबीच विचारमा मतभेद थियो। त्यही बेला उनले भनेका थिए- ‘दुई नेहरू (मोतिलाल र जवाहरलाल) लाई खुशी तुल्याउने गान्धीको कदम मलाई उचित लागिरहेको छैन।’ तर सन् १९३० मा गान्धीले शुरु गरेको ‘नमक कानून तोडो आन्दोलन’ मा भने उनले सहभागिता जनाए। त्यो आन्दोलनमा सरिक भएका उनले फेरि जेल जीवन गुजार्नु पर्‍यो।

भारतमा अंग्रेज विरुद्ध आन्दोलन चर्किदै थियो। केही विद्रोहीलाई अंग्रेज सरकारले फाँसी दिन थाले। जसमा भगतसिंहलाई फाँसी दिइयो। भगतसिंहलाई फाँसीबाट जोगाउन बोसलगायत स्वतन्त्रताप्रेमीहरूले अथक प्रयत्न नगरेका होइनन्। तर उनीहरूको प्रयत्न निरर्थक रह्यो।
त्यो बेला गान्धी र अंग्रेज सरकारबिच सम्झौता भएको थियो। बोसले भने जेलबाटै उक्त सम्झौताको तीव्र विरोध गरे। जेलमा रहेकै बेला बोसको स्वास्थ्यस्थिति फेरि बिग्रियो। त्यो बेला जेलमा रहँदै उनी कलकत्ता नगर निगमको नगरप्रमुखमा निर्वाचित भएका थिए। जेलबाटै नगरप्रमुखको जिम्मेवारी निर्वाह गरिरहेका थिए।

केही वर्षपछि उनी जेलबाट रिहा भए। रिहा भएपछि उनले अंग्रेज विरुद्ध एउटा प्रदर्शनमा भाग लिए। तर उनलाई अंग्रेजका सैनिकहरूले धेरै नराम्ररी पिटे र फेरि जेल जीवन भोग्न बाध्य तुल्याइयो। जेलमा उनको स्वास्थ्यस्थिति फेरि पनि बिग्रियो। थप उपचारका लागि स्विट्जरल्याण्ड जानुपर्ने अवस्था सिर्जित भयो। उपचारका निम्ति स्विट्जरल्याण्ड गएको बेला उनको भेट जर्मनीका तत्कालीन शासक मुसोलिनीसँग भयो। केही वर्षको स्विट्जरल्याण्डमा रहँदा उनी स्वस्थ भए र स्वदेश फर्किए।

सन् १९३८ मा गुजरातको हरिपुरामा कांग्रेसको अधिवेशन हुँदा उनी अध्यक्षमा चुनिए। उनले अधिवेशनमा अध्यक्षीय भाषण गर्दा त्यसको खुबै प्रशंसा गरियो। उनले त्यो भाषणमा अंग्रेज शासकलाई लल्कार्दै भनेका थिए, ‘हामीले अंग्रेजबाट पूरै स्वतन्त्रता हासिल नगरी विश्राम लिनु हुँदैन।’

भारतमा कांग्रेसको अध्यक्षमा चयन हुँदा उनी ४० वर्ष हाराहारीका युवा थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved