प्रदेश १ को नाम ‘किरात-लिम्बुवान-मधेस-शेपालुङ’ राख्न जसपाको प्रस्ताव

नेपालभ्युज

प्रदेश १ को नाम ‘किरात-लिम्बुवान-मधेस-शेपालुङ’ राख्न जसपाको प्रस्ताव

विराटनगर। जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किरात-लिम्बुवान-मधेस-शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ।

पछिल्लो समय प्रदेश नं १ को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किरात-लिम्बुवान-मधेस-शेपालुङ प्रदेश’ राख्नुपर्ने बताएको हो।

जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले आज विज्ञप्ति जारी गरी प्रदेश नामकरण सम्बन्धमा २०७७ साल असोज २३-२४ गते नै निर्णय गरिएको स्मरण गराउँदै प्रदेश नं १ को नामकरण पहिचानका आधारमा नै हुनुपर्दछ भन्नेमा जसपा स्पष्ट र प्रतिबद्ध रहेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ- “मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पृष्ठभूमि, पहिचानको मागलाई सम्बोधन गर्दै प्रदेश नं १ लाई ‘किरात-लिम्बुवान-मधेस-शेपालुङ प्रदेश’ नामकरण गर्नुपर्दछ।” पूर्ण सङ्घीय नेपाल निर्माणका लागि जसपाले निरन्तर सडक र सदनबाट दबाब दिने कार्य गरेको र आफ्नो सरकार रहेको मधेस प्रदेशमा कार्यान्वयनसमेत गरेर देखाएको विज्ञप्तिमा जनाइएको छ।

हाल प्रदेशको नामकरणबारे भइरहेको बहस र छलफलले राजनीतिक सरगर्मी ल्याएको भन्दै जसपाले पछिल्लो राजनीतिक घटनाक्रमहरूलाई स्वागतयोग्य भन्दै गम्भीरताका साथ लिएको उल्लेख छ।

आज नै प्रदेश नं १ सरकारले प्रदेशको नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ। मुख्यमन्त्रीको कार्यालय विराटनगरमा डाकिएको सर्वदलीय बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरू, संसदीय दलका नेताहरू सहभागी हँुदैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved