अनि प्रदर्शनकारीको घेराबाट यसरी बाँच्न सफल भएर पाँच प्रहरी (भिडिओसहित)

प्रहरी ज्यान जोगाउन भाग्दै थिए। एक पसलमा आधा सटक खुलेको भेटिएपछि त्यही छिरे। प्रहरी सटरभित्र छिरेपछि प्रदर्शनकारीहरूले सटरमा हान्न थाले। सटर खोलेर केही प्रदर्शनकारी भित्र छिरे। प्रहरीलाई कुटपिट गर्न थाले। पसल समेत तोडफोड गरे। पसल सञ्चालिकाले प्रहरीलाई छेकेर बचाउने प्रयत्न गरेकी थिइन्।

नेपालभ्युज

अनि प्रदर्शनकारीको घेराबाट यसरी बाँच्न सफल भएर पाँच प्रहरी (भिडिओसहित)

काठमाडौँ। एमसीसी अनुदान सहायता सम्झौता प्रतिनिधिसभामा पेस भएपछिको आन्दोलनमा पाँच जना प्रहरीले बालबाल ज्यान जोगाएका छन्। आइतबार संसदमा सरकारले एमसीसी टेबल गरेपछि रणभूमिसरह देखिएको बानेश्वरमा भाग्यवश टिकापुर घटना दोहोरिएन। संविधान जारी हुनुअघि ७ भदौ २०७२ मा कैलालीको टिकापुरमा सात जना प्रहरीलाई भाला रोपेर र जलाएर हत्या भएको थियो।

आइतबार भने बुद्ध नगरमा प्रहरीमाथिको आक्रमणपछि निकै बेरपछि स्थानीयले आएर उद्धार गरे। सँगै प्रहरीको थप बल आएपछि प्रदर्शनकारी भागे। भाग्यवश पाँच जना प्रहरीको ज्यान बाँच्यो।

प्रहरी र एमसीसीको विरोधमा आन्दोलन गर्न सडकमा उत्रिएका प्रदर्शनकारीबीच दिनभरजसो घम्साघम्सी परिरहेको थियो। कहिले प्रहरीलाई ढुङ्गा हानेर प्रदर्शनकारीले लखेट्थे। कहिले प्रहरीले लखेटेर भीड तितरबितर पाथ्र्याे। फेरि केहीबेरमा भीड एकै ठाउँमा आएर प्रहरीमाथि आइलाग्थ्यो। आन्दोलनले उग्र रूप लिएपछि प्रहरीले नियन्त्रणका लागि प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गर्नुका साथै पानीको फोहोरा फ्याँक्यो। सोही क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भए। प्रदर्शनमा सत्तारुढ माओवादी केन्द्र र नेकपा समाजवादीसहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।

एमसीसी टेबल भएकाले प्रदर्शनकारी अघिल्ला दिनमाभन्दा आक्रोशित देखिन्थे। सडकपेटीका ब्लकदेखि निर्माणाधीन घरका इँटा र फलाम लगेर प्रहरीमाथि आक्रमण गरिरहे। अपराह्न चार बजेतिर प्रहरीले अश्रृग्यास प्रहार गरेपछि भीड तितरबितर भयो। केही अल्फाबिटाबाट भित्र बुद्धनगर छिरे। केही कृणटावर पछाडि भागे। केही बबरमहल पुलतिर दायाँबायाँ लागे।

अल्फाबिटा भवनबाट दक्षिणतर्फको बाटो भागेका केही प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा हान्न छाडेन। भिड सानो भए पनि आक्रोश धेरै देखिन्थ्यो। सडक छेउमा निर्माणाधीन घर र सडक भएकाले इँटा र ढुङ्गाको दुख थिएन। प्रदर्शनकारीले लगातार ढुङ्गा बर्साएपछि प्रहरी खेद्दै अल्फा बिटासम्म आयो।

केहीबेर दुवैपक्षबीच घम्साघम्सी पर्‍यो। पछि प्रदर्शनकारी बुद्धनगरतर्फ गल्लीतर्फ भागे। एकैछिनपछि बुद्धनगरतिरबाट हतारिँदै आएका कसैले खबर पर्‍यो। प्रहरीका अनुसार ती त्यत्तिले भनेका थिए ‘‘अलि पर पुलिसलाई कसैले कुटिरहेको छ।’’ यो खबर सुनेपछि आफ्नो साथीको ज्यान जोगाउन भन्दै प्रहरीको एक टोली बुद्धनगर भित्र छिरे।

टोलीमा पाँच जना प्रहरी थिए। उनीहरू अलि पर पुगेपछि प्रदर्शनकारी वरिपरिका गल्ली गल्लीबाट निस्किए। ढुङ्गा र इँटा बर्सन थाले। कसैले छतबाट समेत प्रहरीलाई ढुङ्गा हाने। प्रहरी ज्यान जोगाउन भाग्दै थिए। टाढाबाट आएको ढुङ्गा र इँटाबाट बच्न आश्रय लिने ठाउँ पाए। भाग्दै गर्दा एक पसलमा आधा सटक खुलेको भेटिएपछि प्रहरी त्यही छिरे।

हातमा ढुङ्गा र इँटा बोकेका आन्दोलनकारीले उनीहरूलाई पछ्याइरहेका थिए। प्रहरी सटरभित्र छिरेपछि प्रदर्शनकारीहरूले सटरमा हान्न थाले। सटर खोलेर केही प्रदर्शनकारी भित्र छिरे। प्रहरीलाई कुटपिट गर्न थाले। भित्र पसल समेत तोडफोड गरे। त्यो पसल बुटिक रहेछ। बुटिक सञ्चालिकाले प्रहरीलाई छेकेर बचाउने प्रयत्न गरेकी थिइन्।

तर उनीलाई समेत आक्रमण गरे उनी चिच्याउँदै सडकमा गुहार माग्न आइन्। लगतै वरपरका स्थानीय आए। प्रदर्शनकारीलाई लखेटे। सँगै प्रहरीको अर्को टोली आउँदै गरेको देखेपछि प्रदर्शनकारी भागे। पछि थाहा भयो ‘प्रहरीमाथि कुटपिट भइरहेको’ भन्ने सूचना षड्यन्त्र रहेछ। प्रहरीलाई बोलाएर कुटपिट गर्ने योजनाका साथ बोलाइएको प्रहरीले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved