बिमा बोर्डले पैसा नदिँदा कोशी अस्पताल सञ्चालनमा समस्या, १७ करोड बक्यौता

बिमा बोर्डले पैसा नदिँदा कोशी अस्पताल सञ्चालनमा समस्या, १७ करोड बक्यौता

विराटनगर। नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत रकम नपाउँदा विराटनगरस्थित कोशी अस्पतालको सेवा प्रवाह चुनौतीपूर्ण बनेको छ।

स्वास्थ्य बिमा बोर्डले समयमै रकम उपलब्ध नगराउँदा अस्पताल सञ्चालनमा चुनौती थपिएको हो। बिमा बोर्डले रकम उपलब्ध गराउन आलटाल गर्दा कार्यरत कर्मचारीको तलब, अवकाशप्राप्त कर्मचारीको औषधि/उपचार तथा उपदान खर्च र अत्यावश्यक औषधि खरीदमा समेत कठिनाइ भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार बिमा बोर्डले विगतको अढाई वर्षदेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत रकम भुक्तानी गर्न बाँकी छ। मोरङमा १६ भदौ २०७६ देखि औपचारिक रूपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएको थियो। त्यसयता बिमा बोर्डले विराटनगरस्थित कोशी अस्पताललाई बिमा कार्यक्रमअन्तर्गत रकम भुक्तानी गरेको छैन।

बिमा बोर्डले अस्पताललाई झण्डै १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी देखिएको अस्पतालको प्रशासन फाँटका कर्मचारी नवराज लुइँटेलले बताए। उनले बोर्डबाट लामो समयदेखि बिमा कार्यक्रमअन्तर्गत रकम प्राप्त नहुँदा अस्पताललाई स्वास्थ्य सामग्री, ल्याबमा प्रयोग हुने केमिकल र आवश्यक औषधि खरिदमा समेत कठिनाइ भएको जानकारी दिए।

“हामीले टेण्डर निकालेर स्वास्थ्य सामग्री र औपधि खरिद गर्ने गरेका छौं। तर, अस्पतालसँग पैसा नभएको थाहा पाएपछि कसैले मागबमोजिम औषधि र स्वास्थ्य सामग्री आपूर्ति गर्न मान्दैनन्,” उनले भने, “अस्पतालको सेवा प्रवाह चुनौतीपूर्ण छ।”

बिमा बोर्डले अस्पतालको बक्यौता भुक्तानी नगर्दा कार्यरत कर्मचारीहरूले समेत समयमा तलब नपाउने लगायतका समस्या झेल्दै आएका छन्। असोजसम्म अवस्था सामान्य नै रहेपछि त्यसयता कर्मचारीहरूलाई तलब खुवाउन हम्मेहम्मे पर्न थालेको अस्पतालले जनाएको छ।

कोशी अस्पतालमा हाल अस्पताल विकास समितिमार्फत नियुक्ति पाएर काम गरिरहेका २६७ जना कर्मचारीहरू छन्। जसमा समयमै तलब नपाएर १७० जनाभन्दा बढी कर्मचारीहरूको अवस्था दयनीय बनेको छ।

बिमा बोर्डका कारण अवकाश प्राप्त कर्मचारीहरूको अवस्था पनि उस्तै बनेको कोशी अस्पतालको सर्जिकल वार्डमा काम गरेर अवकाश लिएकी कर्मचारी शकुन्तला कार्कीले बताइन्। भनिन्, “कार्यरत कर्मचारीको तलब त समयमा दिन सकिएको छैन। झन्, हामीजस्ता अवकाशप्राप्तको त कुरै नगरौं।”

कोशी अस्पतालमा अहिले नेपाल सरकारको २४९ र विकास समितिको २६७ गरेर कुल २१६ जना कर्मचारीहरू कार्यरत छन्। जसमा विकास समितिका कर्मचारीलाई पाल्न धौधौ भइरहेको अस्पतालले जनाएको छ। अस्पतालले राष्ट्रिय बिमा बोर्डलाई पटकपटक चिठी काटेर बक्यौता भुक्तानीका लागि आग्रह गरिरहेको भए पनि कुनै सुनुवाइ नभएको अस्पताल प्रशासन फाँटका कर्मचारी नवराज लुँइटेल बताउँछन्।

तर, यता स्वास्थ्य बिमा बोर्डले भने कोशी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमबापत रकम मागदाबी नै गरेको बताएको छ। अस्पतालको तर्फबाट बिल, भर्पाइसहित मागदाबी नै प्राप्त भएको बोर्डका शाखा अधिकृत सोभित रिजालले बताए।

पटकपटक सूचना निकाल्दा पनि अस्पतालले क्लेम नगरेको उनले दाबी गरे। “हामी बिल, भर्पाइबिनै जेल जाने गरी भुक्तानी दिन सक्दैनौं। भोलि बेरुजु देखिए अख्तियार लाग्न सक्छ। जे पनि हुन सक्छ। पैसा पाउन उहाँहरूले बिल पेश गर्नुपर्छ,” उनले भने, “कोशीकै कर्मचारीहरूको अकर्मण्यताका कारण उहाँहरूले भुक्तानी नपाउनुभएको हो।”

यता, कोशी अस्पतालले भने बोर्डलाई पत्र काटेर मागदाबी गरिसकेको दाबी गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved