एमसीसीविरुद्धका प्रदर्शनकारीमाथि म्याद गुज्रेको घातक रसायन प्रहार, मिति मेटेर पुरानो ‘टियर ग्यास’

काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले म्याद नाघेको अति घातक अश्रुग्यासको प्रहार गरेको छ। निषेधित क्षेत्रको घेरा तोड्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले दर्जनौँ सेल अश्रुग्याँसको प्रयोग गर्‍यो। प्रहरीले हानेको अश्रुग्याँसको खोलमा लेबल मेटेको भेटिएको हो।

एमसीसीविरुद्धका प्रदर्शनकारीमाथि म्याद गुज्रेको घातक रसायन प्रहार, मिति मेटेर  पुरानो ‘टियर ग्यास’

काठमाडौं।  काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले म्याद नाघेको अति घातक अश्रुग्यासको प्रहार गरेको छ।

निषेधित क्षेत्रको घेरा तोड्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले दर्जनौँ सेल अश्रुग्याँसको प्रयोग गर्‍यो। प्रहरीले हानेको अश्रुग्याँसको खोलमा लेबल मेटेको भेटिएको हो।

प्रदर्शनकारीले शुरुमा पानीको फोहरा हानेको थियो। पानी सकिएपछि प्रदर्शनकारीले निषेधित घेरा तोडेर संसद भवनतर्फ लगे। त्यसपछि प्रहरीले लगातार अश्रुग्यासको सेल प्रदर्शनकारीतर्फ फ्याँक्यो।

सो क्रममा कतिपय अश्रुग्याँसको सेलबाट ग्यास फुसुसु गर्दै थोरै मात्र निस्किएर निष्क्रिय भयो। म्याद सकिएका कतिपय अश्रृग्यासको सेलबाट राम्रोसँग ग्याँस ननिस्कने जानकारहरू बताउँछन्।

ग्यासको प्रभावले प्रदर्शनकारी तितरबितर भए। अश्रुग्याँस सेलको खोल जताततै देखिए। सो खोलमा हेर्दा बाहिर केही लेखिएको थिएन।

प्रहरीले यसअघि पनि म्याद गुज्रेका अश्रु ग्याँस प्रयोग गर्दै आएको थियो तर त्यतिबेला मिति रातो अक्षरमा लेखेको स्पष्ट देखिन्थ्यो तर अहिले भने सोही पुरानै अश्रुग्याँसको सेलको बाहिर रहेको लेबल मेटेर प्रयोग गरिएको आशङ्का छ। यसअघि पनि १२ वर्षअगाडि नै म्याद सकिएको अश्रुग्यास प्रयोग हुँदैआएको थियो।

गत २४ असोजमा रुपन्देहीको मोतीपुरमा सुकुम्वासीको आन्दोलनमा पनि म्याद सकिएको अश्रुग्यास प्रयोग भएको थियो। तीनका म्याद सन् २०१० मार्च सम्म मात्र थियो। त्यसअघि चितवनमा सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रबी लामिछाने पक्राउ परेका थिए। रबीको पक्षमा भएको आन्दोलनमा समेत प्रहरीले म्याद सकिएको अश्रु ग्याँस हानेको पुष्टि भएको थियो। तीनका म्याद पनि उही सन् २०१० मार्च सम्म मात्र थियो।

राष्ट्रिय मानवअधिकार आयोगले समेत यस विषयमा अनुसन्धान गरेको थियो। संविधान जारी हुनुअघि र पछि भएका आन्दोलनको अध्ययन गरेको थियो। २०७३ सालमा सार्वजनिक गरेको एक प्रतिवेदनमा विभिन्न प्रदर्शनमा भीड नियन्त्रण गर्ने वेलामा प्रहरीले म्याद सकिएका अश्रुग्याँस प्रयोग गरेको उल्लेख छ।

अहिलेको एमसीसीविरुद्धको आन्दोलनमा समेत सोही अश्रुग्यासको सेलको बाहिर खोलमा लेखिएको मिति मेटेर प्रयोग गरिएको प्रहरी स्रोतले बताएको छ।

नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘‘अहिले हामीसँग सुरक्षा पर्याप्त अश्रुग्यास छैन। २०६३ सालमा किनिएका अश्रुग्यास छन्। त्यही रहेको स्टकबाट हामीले प्रयोग गरिरहेका छौँ। प्रयोग गरेपछि ग्यासका सेल सडकमै हुन्छन्। मिति सकिएको भनेर प्रश्न उठाइँदै आइएकाले यसपालि बाहिरको लेबल मेटेका हौँ।’’

प्रहरीले यसअघि प्रयोग गरेको म्याद नाघेको अश्रुग्याँस र अर्कोतर्फ बुधबारको प्रदर्शनमा प्रयोग गरिएको अश्रुग्याँस

सरकारले दङ्गा नियन्त्रणका सामग्रीहरू उपलब्ध नगराएको परिणमास्वरुप प्रहरीले म्याद गुज्रिएको सामान चलाउनुपरेको भीड नियन्त्रणमा लामो समय बिताएका पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन्। पुराना सामान चलाएको भनेर आलोचना नहोस् भनेर मिति मेट्न बाध्य भएको हुनसक्ने मल्ल बताउँछन्। उनले भने, ‘‘मलाई लाग्छ, प्रहरीले दङ्गा नियन्त्रणको लागि चाहिने सामान गृह मन्त्रालयसँग मागेको हुनुपर्छ तर समयमै सामान उपलब्ध नगराउँदा पुरानै सामानले काम चलाउन बाध्य भएको हुनसक्छ। यसमा प्रहरीको भन्दा मन्त्रालयको दोष छ।’’

नेपाल प्रहरीका प्रवक्ता विष्णुबहादुर केसीले भने नयाँ अश्रुग्यास प्रयोग गर्न निर्देशन भएको दाबी गरे। नियतबश लेबल नमेटेको बताउँदै उनले आफैँ मेटिएको हुनसक्ने बताए। उनले भने, ‘‘अश्रुग्यासका सेल प्रदर्शनहरूमा मात्र प्रयोग हुने हो। हुँदा यदाकदा समस्या देखिएको हुनसक्छ तर के भएको रहेछ हामी बुझ्ने छौँ। जहाँसम्म लाग्छ नयाँ सेल प्रयोग गर्न निर्देशन दिइएको छ।’’ म्याद सकिएको अश्रु ग्याँस तत्काल नष्ट गर्दै आएको उनले बताए।

अहिले पनि १२ वर्षअगाडि नै म्याद सकिएको अश्रु ग्याँस प्रयोग हुनुले जनस्वास्थ्यको रक्षा गर्ने दायित्व बोकेको प्रहरीले तीनै नागरिकको जनस्वास्थ्यमाथि कति खेलभाँड गरिरहेको भन्ने देखिएको कतिपयले टिप्पणी गरेका छन्। यसले हरेक वर्ष खरिद हुने भनिएको अश्रुग्याँसको समेत शङ्का उत्पन्न छ।

बुधबारको प्रदर्शनमा बानेश्वर चोकमा प्रयोग गरिएको अश्रुग्यास

 

कतिपय व्यापारीले मिति सकिएका उपभोग्य बस्तुलाई पुन अर्को मिति टाँसेर बिक्री गरेका खबर बेलाबखत आइरहन्छ। उपभोक्ताको स्वास्थ्यमा हानि पुर्‍याएको भन्दै त्यस्ता व्यापारीलाई प्रहरीले मुद्दा चलाउँदै आएको छ। अरूले बदमासी गर्दा पक्राउ गरेर मुद्दा चलाउने प्रहरीले नै विष समान म्याद गुज्रेका घातक रसायन प्रयोग गरेको भेटिएको छ।

अश्रुग्याँस सेलको म्याद गुज्रिएपछि खोलमा रहेको लेबल मेटेर प्रयोग गरी सर्वसाधारणको स्वास्थ्यमा ठूलो हानी पुर्‍याएको भेटिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved