बागमतीमा ९३ प्रतिशतलाई खोप, दुई जिल्लामा जनसंख्याभन्दा बढी वितरण

काठमाडौं र ललितपुरमा शतप्रतिशतभन्दा धेरै जनसंख्याले खोप पाएको तथ्यांकमा उल्लेख छ। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले काठमाडौंमा ११० प्रतिशत र ललितपुरमा १२० प्रतिशत जनसंख्याले खोप लगाएको देखाएको छ।

बागमतीमा ९३ प्रतिशतलाई खोप, दुई जिल्लामा जनसंख्याभन्दा बढी वितरण

हेटौंडा। बागमती प्रदेशमा १८ वर्ष माथिका ९३ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन्।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयकाअनुसार आइतबारसम्म प्रदेशका ९२ दशमलव ९ प्रतिशत नागरिकले दोस्रो डोज खोप लगाएका छन्। यस्तै, १८ वर्ष माथिका ९६ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाएको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक वसन्त अधिकारीले जानकारी दिए।

मन्त्रालयले अघिल्लो जनगणना अनुसारको तथ्यांकलाई आधार मानेर खोपको विवरण तयार गरेको उनले बताए। काठमाडौं र ललितपुरमा शतप्रतिशतभन्दा धेरै जनसंख्याले खोप पाएको तथ्यांकमा उल्लेख छ। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले काठमाडौंमा ११० प्रतिशत र ललितपुरमा १२० प्रतिशत जनसंख्याले खोप लगाएको देखाएको छ।

‘‘सरकारले शुरुमा १८ वर्ष माथिका जनसंख्यालाई खोप दिने भनेको थियो। यस आधारमा बामगती प्रदेशमा ९३ प्रतिशतले दुबै डोज खोप लगाइसकेका छन्,’’ मन्त्रालयका प्रवक्ता समेत रहेका अधिकारीले भने,‘‘तर यो तथ्यांक अघिल्लो जनगणनाको हो। यो जनगणनाको तथ्यांकका आधारमा हामीले अद्यावधिक गर्दैछौं। काठमाडौं र ललितपुरका अघिल्लो जनगणनामा समेटिएको १८ वर्ष माथिका नागरिक सबैले खोप लगाइसकेका छन्। यस आधारमा दुई जिल्लाको तथ्यांक बढी देखिएको हो।’’ बागमती प्रदेशमा नुवाकोट जिल्लामा सबै भन्दा कम खोप लगाइएको छ। मन्त्रालयकोतथ्यांक अनुसार १८ वर्ष माथिका ५५ प्रतिशत नागरिकले मात्रै दोस्रो मात्रा खोप लगाएका छन्।

दोलखामा ८० प्रतिशत, सिन्धुपाल्चोक ६८ प्रतिशत, रसुवामा ९५ प्रतिशत, धादिङमा ७४ प्रतिशत, भक्तपुरमा ९७ प्रतिशत, काभ्रेपलाञ्चोकमा ७६ प्रतिशत, रामेछापमा ८३ प्रतिशत, सिन्धुलीमा ६४ प्रतिशत, मकवानपुरमा ८५ प्रतिशत र चितवनमा ८० प्रतिशत नागरिकले दोस्रो मात्रा खोप लगाएका छन्। ‘‘खोप अभियानलाई अझै व्यापक बनाएर शतप्रतिशत पुर्‍याउने मन्त्रालयको लक्ष्य हो,’’ उनले भने,‘‘यसका लागि मन्त्रालयले खोपको पहुँच कम भएको स्थानीय तहमा अभियान नै लिएर गएको छ। खोपको अभाव छैन। स्थानीय तहसँगको समन्वयमा हामीले खोप अभियानलाई व्यापकता दिएका छौं।’’

यस्तै, आइतबारसम्म १२ देखि १७ वर्ष उमेर समूहका २४ प्रतिशत बालबालिकाहरुले दोस्रो मात्रा खोप पाएका छन्। रामेछापमा यो खोप पहुँच सबै भन्दा धेरै छ। रामेछापका १२–१७ वर्ष उमेर समूहका ८६ प्रतिशतले दोस्रो मात्रा खोप पाएका छन्। सबै भन्दा कम काठमाडौंका बालबालिकाले खोप पाएका छन्। काठमाडौंका १ दशमलव ७१ प्रतिशत बालबालिकाले मात्रै दोस्रो मात्रा खोप पाएका छन्। ललितपुरका ५ र भक्तपुरका ४३ प्रतिशत बालबालिकाले दोस्रो मात्रा खोप पाएका छन्।

दोलखामा ५० प्रतिशत, सिन्धुपाल्चोक ५८ प्रतिशत, रसुवामा ५७ प्रतिशत, धादिङमा ७२ प्रतिशत, नुवाकोटमा ६० प्रतिशत, काभ्रेपलाञ्चोकमा १० प्रतिशत, सिन्धुलीमा ७ प्रतिशत, मकवानपुरमा ६६ प्रतिशत र चितवनमा ६ प्रतिशत बालबालिकाले दोस्रो मात्रा खोप लगाएका छन्। ‘‘बालबालिकालाई लगाउने खोप भने केही कम देखिएको छ,’’ प्रवक्ता अधिकारीले भने,‘‘मन्त्रालयले यसका लागि काम गरिरहेको छ। संघीय सरकारले नै माघ १६देखि २० गतेसम्म खोप अभियान सञ्चालनकै लागि विद्यालय खुलाएको हो। अब फागुन लागेपछि विद्यालयहरु खुलेका छन्। हामीले विद्यालयमा नै खोप लगाउने प्रवन्ध गरेका छौं। यो संख्या अब बढ्छ।’’

बुस्टर डोज लगाउने ८ प्रतिशत

बागमती प्रदेशमा अतिरिक्त खोप लगाउनेको संख्या ८ प्रतिशत मात्रै छ। कोरोनाको तेस्रो लहर आएपछि सरकारले अतिरिक्त खोप अभियान शुरु गरेको थियो। शुरुआतमा ज्येष्ठ नागरिक, दीर्घरोगी तथा अग्रपंक्तिमा खटिएकाहरुलाई अतिरिक्त मात्रा खोप दिइएको हो। यस कारण पनि बुस्टर डोज लगाउनेको तथ्यांक कम देखिएको उनले बताए। ‘‘फागुन पहिलो सातादेखि अतिरिक्त खोप सबैलाई दिने सरकारको तयारी छ,’’ उनले भने,‘‘यसको पनि अभियान नै लिएर हामी जान्छौं। स्थानीय तहको सहकार्यमा यसको पहुँच पनि बढाउने मन्त्रालयको तयारी छ।’’

मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी काठमाडौं र ललितपुरका १३/१३नागरिकले अतिरिक्त खोप पाएका छन्। दोलखामा १.३ प्रतिशत, सिन्धुपाल्चोक ४.२ प्रतिशत, रसुवामा ३.३ प्रतिशत, धादिङमा २.६ प्रतिशत, भक्तपुरमा ९.२ प्रतिशत, नुवाकोटमा ३ प्रतिशत, काभ्रेपलाञ्चोकमा ३.३ प्रतिशत, रामेछापमा ६.८ प्रतिशत, सिन्धुलीमा १.४ प्रतिशत, मकवानपुरमा ३.८ प्रतिशत र चितवनमा ६.६ प्रतिशत नागरिकले अतिरिक्त मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved