पुस्किन–नतालियादेखि अमृता–इमरोजसम्मका पाँच प्रेमकथा

लैला–मजनू त मिथकका पात्र भइसके अब। आधुनिक समयमा पनि केही प्रेमी–प्रेमिकाहरूका कथा कम रोमाञ्चक र आदर्शमयी छैनन्। जसमध्ये केही महान् प्रेमी–प्रेमिकाको प्रेमकथा प्रस्तुत गरेका छौँ।

नेपालभ्युज

पुस्किन–नतालियादेखि अमृता–इमरोजसम्मका पाँच प्रेमकथा

काठमाडौं । प्रेम, एक घनीभूत अनुभूति हो। गहिरो लगाव र समर्पणले व्याप्त भावना पनि हो, प्रेम। प्रेमबाट उब्जिन्छन्–दया, माया, करुणाभाव। अतिशयोक्ति नहोला, सिंगो संसार नै प्रेमको इन्जिनद्वारा नै सञ्चालित हुँदै आइरहेछ आजपर्यन्त। भारतका प्रसिद्ध साहित्यकार प्रेमचन्दले भनेका पनि छन्, ‘प्रेमको रोटीमा अमृत रहन्छ, चाहे त्यो गहुँको होस् वा बाजराको।’

प्रेमको अतल सागरमा डुबुल्की मार्ने महान् प्रेमी–प्रेमिकाहरूका कथा पढेका छौँ हामीले। मिथकीय, सुदूर पूर्ववर्ती र वर्तमान समयसम्मका। लैला–मजनू, हीर–राँझा, सोहनी–महिवालजस्ता महान् प्रेमीका कथाले साहित्य, सिनेमा, कला संसारमा यथेष्ट स्थान पाउँदै आएका छन्। अझै पनि आदर्श प्रेमी–प्रेमिकाको उदाहरण दिनुपर्‍यो भने यिनै पात्रहरूलाई अघि सार्ने गरिन्छन्।

लैला–मजनू त मिथकका पात्र भइसके अब। आधुनिक समयमा पनि केही प्रेमी–प्रेमिकाहरूका कथा कम रोमाञ्चक र आदर्शमयी छैनन्। जसमध्ये केही महान् प्रेमी–प्रेमिकाको प्रेमकथा प्रस्तुत गरेका छौँ।

१. अलेक्जेन्डर पुस्किन–नतालिया गन्जारोभा

रुसको महाकविका रुपमा लिइन्छ, अलेक्जेन्डर पुस्किनलाई। रसियन साहित्यलाई विश्वव्यापी तुल्याउन उनको धेरै ठुलो योगदान छ।

पुस्किनका प्रेमिका थिइन्, नतालिया गन्चारोभा। त्यतिबेला पुस्किन ३० वर्षका भइसकेका थिए। तर उनले मन पराए, १६ वर्षकी नतालियालाई। पुस्किन नतालियाको प्रेमसम्बन्धमा बाँधिए। उनीहरुबीचको प्रेम यति गहिरो थियो कि, पुस्किन नतालियालाई पाउनका निम्ति सिंगो संसारसँगै दुश्मनी मोल्न चाहन्थे। पहिलो पटक नतालियालाई भेट्दाको अनुभूति पुस्किनले यसरी शब्दबद्ध गरेका छन्, ‘जब मैले यिनलाई पहिलो पटक भेटेँ, मभित्र प्रेमको सागर उर्लेर आयो। मेरा अगाडि जताततै नतालिया नै नतालिया मात्र थिइन्।’

पुस्किन–नतालियाले वैवाहिक सम्बन्धमा जोडिने बेलामा धेरै बाधा र अड्चनको सामना गर्नु पर्यो। किनभने, त्यो बेला हैजाको महामारी सर्वत्र फैलिएको थियो। महामारीको त्रासले मानिसहरु बिहे गर्नै डराउँथे।
जुन बेला पुस्किनको विवाह भयो, त्यतिबेला उनीसँग चर्चमा जाने पैसा समेत थिएन। उनीहरुबिचको वैवाहिक सम्बन्धलाई रोक्नका लागि अनेक गलत हल्लासमेत फैलाइएको थियो। तर जति अफवाह फैलाइए पनि त्यसको नतालियाले खण्डन गदै आइन्।

पुस्किनले नतालियालाई कति धेरै प्रेम गर्थे भन्ने कुरा पुस्किनका कविता पढ्दा थाहा हुन्छ। उनले हरेकजसो कवितामा नतालियालाई प्रतीक र विम्बको संसारमा उभ्याएका थिए। पुस्किन लामो समय बाँचेनन्। पुस्किनको मृत्यु शुक्रबारको दिन भएको थियो। पुस्किनको मृत्यु भएपछि नतालियाले हरेक शुक्रबारलाई शोक दिवसमा रुपमा मनाउन थालिन् र सो दिन उनी भोजन पनि गर्दैनथिन्। र, हरेक शुक्रबार नतालिया पुस्किनको समाधिमा पुग्थिन् पनि।

पुस्किनको मृत्युपछि नतालियाले दोस्रो विवाह गरिन्। के भनिन्छ भने, पुस्किनको मृत्युपछि नतालियाको ओठमा कहिल्यै हाँसो छाएन। तर, मृत्युपश्चात पनि नताल्याले पुस्किनलाई जति प्रेम गरिन्, त्यसमा उनका दोस्रो पतिले कहिल्यै हस्तक्षेप गरेनन्। यतिसम्म कि, दोस्रो पतिले पुस्किनबाट जन्मिएका सन्तानहरुलाई पनि उत्तिकै स्नेह र माया दिएर हुर्काए।

२. ज्याँ पाल सार्त्र – सिमोन द बोउवा

महान् अस्तित्ववादी दार्शनिक थिए– ज्याँ पाल सार्त्र। सिमोन द बोउवा चाहिँ नारीवादी लेखिका। सार्त्र र बोउवाको प्रेमकथा निकै रमाइलो थियो।
सार्त्रको स्वभाव र चिन्तन कस्तो थियो भने उनी वैवाहिक सम्बन्धमा विश्वास राख्दैनथे। उनले जीवनमा धेरै महिलासँग सम्पर्क राखे। त्यसको कुनै गन्ती भएन। तर बोउवासँगको उनको अनौठो सम्बन्धको भने सदैव चर्चा भइरह्यो।

उनीहरुबीच एक किसिमको बौद्धिक सम्बन्ध थियो र जुन बाँचुन्जेलसम्म चलिरह्यो।

सन् १९२९ मा उनीहरुबिच संवाद भएको थियो, पहिलो पटक। त्यसपछि सम्बन्ध गहिरिँदै जाँदा सार्त्रले एकदिन बोउवासामु विवाहको प्रस्ताव राखे। तर सार्त्रको प्रस्ताव कति अनौठो थियो भने, दुई वर्षका लागि मात्रै विवाह गर्ने। तर, सिमोनले सार्त्रको बिहे–प्रस्तावलाई अस्वीकार गरिन्। उनले भनिन् कि, ‘मसँग विवाहका लागि दिने कुनै दाइजो छैन।’

वैवाहिक सम्बन्धमा नबाँधिए पनि सार्त्र–सिमोनबिचको प्रेमसम्बन्ध यति गहिरो थियो कि, उनीहरु बाँचुन्जेलसम्म भावनात्मक र बौद्धिक सम्बन्धमा आबद्ध भइरहे।

३. भ्ला.ई. लेनिन–क्रुप्सकाया
अक्टोबर क्रान्तिलाई बिसौँ शताब्दीको प्रमुख क्रान्तिको रुपमा लिइन्छ। त्यही क्रान्तिपछि नै विश्वमा अधिकांश मुलुकमा क्रान्तिको उभार देखियो। अक्टोबर क्रान्तिको नायक थिए– भ्ला. ई. लेनिन।
कम्युनिस्टहरूमा प्रेमको उत्कृष्ट उदाहरण दिनुपर्‍यो भने लेनिन र क्रुप्सकायाको प्रेमलाई उदाहरण दिने गरिन्छ।

उनीहरुबीच पहिलो पटक पार्टीको बैठकको बेला भेट भएको थियो। क्रुप्सकाया लेनिनको भाषण गर्ने शैली देखेर अत्यन्तै प्रभावित भइन्। त्यसयता बिस्तारै–बिस्तारै लेनिन र क्रुप्सकायाबिच प्रेम अंकुराउन र झाँगिदै जान थाल्यो।
तत्कालीन समय रुसमा जारको चर्को शासन थियो। सत्ता विरुद्ध लाग्नेहरुलाई कठोर सजाय दिन कालापानी पठाइने गरिन्थ्यो। लेनिनले जार शासनविरुद्ध संगठित आन्दोलन गरेको कुरा थाहा पाएपछि जार शासकले उनलाई गिरफ्तार गर्यो र सर्वियाको कालापानीमा पठाउने आदेश दियो।

त्यही समयताका क्रुप्सकाया पनि गिरफ्तारीमा परिन्। लेनिनलाई कालापानीको सजाय र क्रुप्सकायाको गिरफ्तारीपछि उनीहरुबिच हुर्किँदै गएको प्रेमको पालुवा राम्ररी मौलाउन पाएन। लेनिनको क्रुप्सकायाप्रतिको प्रेम यति सघन थियो कि, उनले क्रुप्सकायालाई पत्र लेख्दै भनिन् कि, ‘तिमी सर्विया आउन सक्छौ।’ सरकारसामु पनि लेनिनले आफ्नो कुरा प्रष्ट राखे, ‘मेरो र क्रुप्सकायाबिच प्रेम सम्बन्ध छ, उनलाई पनि सर्वियामा नै पठाइदिनू।’
लेनिनको प्रस्तावलाई सरकारले स्वीकार गर्यो र क्रुप्सकायालाई सर्वियामै पठाइयो। पछि दुवै वैवाहिक सम्बन्धमा बाँधिए। उनीहरुबीचको भावनात्मक र बौद्धिक सम्बन्ध आजीवन चल्यो।

४. एडवर्ड सप्तम–वैलिस

प्रेममा के त्यस्तो जादु छ, जसले छँदाखाँदाको उच्चपदीय जिम्मेवारी, मूल्य–मान्यताबाट मानिसलाई च्युत तुल्याउँछ ?

दुई दशकअघि नेपालमा दरबार हत्याकाण्ड हुँदा राजनीतिक प्रकरणसँगै प्रेम प्रकरणले पनि स्थान पाएको थियो, उत्तिकै। शताब्दीअघि बेलायतमा त्यस्तै भएको थियो। बेलायतका राजकुमार एडवर्ड सप्तम वैलिसको प्रेममा यति आकण्ठ डुबेका थिए कि, उनले राजगद्दी नै त्यागे।

इतिहासमा यस्ता घटना कमै हुन्छन्, जुन बेलायतको राजपरिवारभित्र भएको थियो।

राजकुमार एडवर्डको एक अमेरिकी महिला वैलिस सिम्पसनसँग घनिष्ठ प्रेमसम्बन्ध जोडिन पुग्यो। वैलिस विवाहित थिइन्, तर सम्बन्धविच्छेद भइसकेको। सन् १९३१ मा राजकुमार एडवर्डले वैलिसलाई एउटा पार्टीमा देखेका थिए, त्यो बेला वैलिसको पति अर्नेस्ट सिम्पसन पनि सँगै थिए। त्यो पार्टीमा देखेपछि राजकुमार एडवर्ड वैलिसप्रति औधी मोहित बने।

के हल्ला फैलियो भने, राजकुमार एडवर्ड वैलिससँग प्रेमको चक्करमा छन्। तर वैलिस धेरै नै चतुर महिला हुन् र उनले राजकुमारलाई फसाइन्। सन् १९३६ मा राजकुमार एडवर्डको पिता अर्थात् बेलायतको राजाको मृत्यु भयो। र, एडवर्ड सप्तम नयाँ राजा बने। जेजस्तो परिस्थिति सिर्जित भए पनि राजा एडवर्ड वैलिससँगै विवाह गर्न चाहन्थे।

नयाँ राजा भएपछि एडवर्डले केही जनकल्याणकारी काम गरे। तर त्यतिले मात्र जनता सन्तुष्ट थिएनन्। जनताले आवाज उठाउन थाले, ‘कि त विदेशी पत्नीलाई छाड, कि त सिंहासन।’ तर प्रेमको सामु सिंहासन तुच्छ लाग्यो, राजा एडवर्डलाई। उनले सिंहासन छाडे र वैलिससँग विवाह गरे।

५. अमृता प्रीतम–इमरोज

हरेक मानिसले आफ्नो जीवनको प्रेमकथालाई गोप्य राख्न चाहन्छन्। तर पन्जाबका प्रसिद्ध लेखिका अमृता प्रीतमले भने कुनै पनि प्रेमकथालाई राखिनन्, गोप्य। युवाकालीन समयमा उनी प्रेम गर्दथिन्, साहिर लुधियानवीलाई। प्रसिद्ध कवि, गजलकार साहिरलाई। तर, साहिरसँगको उनको प्रेम सम्बन्ध मात्र गफजस्तै भयो।

पछिल्लो समय उनको प्रेम–सहयात्री बने, इमरोज। इमरोज अर्थात् चित्रकारिताका प्रसिद्ध व्यक्तित्व।उमेरका हिसाबले अमृताभन्दा धेरै कान्छा थिए, इमरोज। आखिर, प्रेममा केही वर्ष वा दशकको अन्तरालले के नै फरक पार्थ्यो र ?

अमृता–इमरोजको प्रेमिल हाँगाबिँगा यति धेरै फैलिए कि, अमृताका हरेक पुस्तकको आवरणमा इमरोजको चित्र सिर्जना हुन्थे भने अमृताका हरेक चित्रमा इमरोजको अन्तःकरण। चित्रकारितासँगै कविता पनि लेख्थे, इमरोज। उनले अमृताको सम्झनामा लेखेको एक कविता–

‘लोग कह रहे हैं उसके जाने के बाद
तु उदास और अकेला रह गया होगा

मुझे कभी वक्त ही नही मिला
ना उदास होने का ना अकेले होने का…

वह अब भी मिलती है
सुबह बन कर शाम बन कर
और अक्सर नजमे बन कर

हम कितनी देर एक दूजे को देखते रहे है
और मिलकर अपनी अपनी नजमे जिन्दगी को सुनाते रहे है।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved