जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर : दरबन्दी ६, नियुक्त एक मात्र

भवनका लागि अझै भेटिएन जग्गा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर : दरबन्दी ६, नियुक्त एक मात्र

काठमाडौं। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरमा ६ जना डाक्टरको दरबन्दी भए पनि एक जना मात्र छन्। सेवाग्राहीको चाप बढे पनि पर्याप्त दरबन्दी पूरा नहुँदा सेवा दिन नपाइएको स्वास्थ्य केन्द्रका सूचना अधिकारी अशोक कुमार झाले बताए।

गत आर्थिक वर्षको पुस मसान्तसम्म जम्मा पाँच हजार एक सय ८६ जना सेवाग्राहीले सेवा लिएकोमा उक्त संख्या वृद्धि भएर चालु आर्थिक वर्षको हालसम्म आइपुग्दा सात हजार आठ सय नौ जना पुगेका छन्।

तर जनशक्ति अभावका कारण सेवा दिन समस्या भइरहेको झाले बताए। “जनशक्ति अभाव हुँदा प्राविधिकहरूले प्रशासनको समेत जिम्मा लिनुपर्ने अवस्था छ।”

भएका जनशक्तिले एक जनाले तीन वटा क्षेत्रको सम्म जिम्मेवारी लिनुपर्ने बाध्यता रहेको उनले बताए। हाल स्वास्थ्य केन्द्रमा ६ जना स्थायी र आठ जना करारका कर्मचारी छन्। गत आर्थिक वर्षमा स्वास्थ्य केन्द्रबाट १० हजार तीन सय जनाले सेवा लिएका थिए भने चालु वर्ष यो संख्या बढ्ने देखिएको छ।

स्वास्थ्य केन्द्रमार्फत सेवामा विस्तार गरेसँगै सेवाग्राही बढेको झा बताउँछन्।

“सेवा विस्तार भएपनि उहि कर्मचारीले काम गर्नु पर्दा पर्याप्त सेवा दिन नसकेको हो,” उनले भने। एक जना डाक्टरले एक दिनमा करिब ५० जना सेवाग्राहीलाई हेर्नुपर्ने अवस्था छ। कोरोना महामारीको बीचमा पनि सेवा लिन आउनेहरूको संख्या झनै बढेको छ।

चालु आर्थिक वर्षमा तत्कालिन सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले ९५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने संघीय सरकारले ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यस्तै स्थानीय सरकारबाट प्रतिक्षालय निर्माण र ओपिडी कक्ष निर्माणको लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

भवनका लागि भेटिएन जग्गा

गत आर्थिक वर्षमा तत्कालिन सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले स्वास्थ्य केन्द्र अस्पताल निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेपनि जग्गा नभेटिँदा अहिलेसम्म काम बढ्न सकेको छैन।

“सरकारी भवन निर्माणका लागि सार्वजनिक जग्गा नै चाहिने हुनाले केही ढिलाई भएको हो,” झाले भने “हामीले ३-४ ठाउँमा जग्गा हेर्‍यौं तर कानूनी प्रावधानका कारण अहिलेसम्म टुंगो लगाउन सकेका छैनौं।” बजेट छुट्याइएको दुई वर्ष हुनै लाग्दासमेत भवन निर्माणको काम बढ्न नसकेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved