यी हुन् भ्यालेन्टाइनमा पोखराका प्रेमिल गन्तव्य

प्रेम दिवसका कारण आन्तरिक पर्यटकीयस्थलमा प्रेमिल जोडी देखिन थालेका छन्। प्रेमिल गन्तव्यका रूपमा प्रख्यात पोखरा झन गुलजार नहुने कुरै भएन। फेवातालको पानीलाई साक्षी राखेर होस् वा शान्ती स्तुपाको पवित्र स्थललाई छोएर, जिन्दगी कटाउने वाचा गरिरहेका भेटिन्छन् यहाँ जोडीहरू।

यी हुन् भ्यालेन्टाइनमा पोखराका प्रेमिल गन्तव्य

राजधानीभन्दा केही पर… प्रकृतिको सुन्दर च्यादर ओढेर बसेको छ पोखरा। प्रेम दिवसका कारण आन्तरिक पर्यटकीयस्थलमा प्रेमिल जोडी देखिन थालेका छन्। प्रेमिल गन्तव्यका रूपमा प्रख्यात पोखरा झन गुलजार नहुने कुरै भएन। फेवातालको पानीलाई साक्षी राखेर होस् वा शान्ती स्तुपाको पवित्र स्थललाई छोएर, जिन्दगी कटाउने वाचा गरिरहेका भेटिन्छन् यहाँ जोडीहरू।

आधुनिक पुस्ता प्रेम व्यक्त गर्ने वातावरणसहितको डेटिङ स्पोट खोजीमा छन्। मान्छेहरूको धेरै चाप नहोस्, जसले गर्दा रोमान्स गर्न, मायालुसँग जिस्कन, कुराकानी गर्न यस्ता गोप्य ठाउँ तन्नेरीको रोजाइमा पर्ने गर्छन्। पोखरा, आफैमा प्रेमिल ठाउँ हो। यहाँ थुप्रै यस्ता ठाउँहरू छन्, जहाँ दिनहूँ युगल जोडीहरू माया साँटिरहेका हुन्छन्।

तर डेटिङमा पुग्दा प्रेमलाई ठूलै अपराध जसरी हेर्ने हाम्रो समाजको नजर नबदलिएकाले विभिन्न समस्याले सताउने गरेको पनि केही जोडी व्यथा पोख्छन्। समय मिलाउनुपर्ने, कसैले देख्नेबित्तिकै शंकाको घेराभित्र परिहालिने आदि समस्या निकै हुने गरेको छ। अहिले डेटिङमा रमाउने युवायुवती कि त रेस्टुरेन्ट कि फिल्महलमा थन्किन बाध्य छन्। पामेमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका राजन सुवेदीले आजकल युगल जोडीहरू पहिलाको तुलनामा कम आउने बताउँछन्।

‘‘खै के भयो कुन्नि! आजकल पहिलाको तुलनामा निकै कम जोडीहरू आउने गरेका छन्,’’ उनले भने, ‘‘अहिले कोभिडले गर्दा समग्र होटेलको व्यापार नै छैन भन्दा पनि हुन्छ।’’

फेवातालको किनार, पावर हाउस, पामे, सराङकोट, डेभिड फल्स, माटेपानी गुम्बा, शान्ति स्तूपा, बसुन्धरा पार्क, भद्रकाली, हेम्जा, पुम्दीभुम्दी, माछापुच्छ्रे भ्यू टावर, पोखराको फूलबारीबाट भलाम जाने सडकमा पृथ्वीनारायण क्याम्पस परिसर, सेतीको डिल तथा काली खोलाको डिलमा गाला र कुम जोड्दै प्रेम साटासाट गरिएका दृश्य देख्न सकिन्छ। यी बाहेक पोखरा बजार भन्दा अल्ली पर बेगनास ताल वरपर पनि रमाउने ठाउँ छन्। त्यस्तै पोखराबाट २५ किलोमिटर कुदेर अल्ली पर धम्पुसको गाउँले परिवेशमा पनि युगल जोडीको आकर्षण हुने गरेको पाइन्छ। दिउँसोको तुलनामा साँझ त्यहाँ मस्ती गर्नेहरू बढी हुन्छन्।

केही गन्तव्यहरू :

लभ्ली डाँडा

नाम नै लभ्ली भएर पनि हुन सक्छ पोखराको पुरानो मायालु भेटिने गन्तव्य हो लभ्ली डाँडा। पर्स्याङमा अवस्थित लभ्ली डाँडा प्रेममा बाधिनेहरूका निम्ति उत्कृष्ट रमणीय स्थल हो। चिसो हावाको वेगसँगै युवायुवती डाँडा चढ्ने गर्छन्।
माछापुच्छ्रे हिमाल र पोखराको सेरोफेरो हेर्दै डाँडाको टुप्पोसम्म प्राय: जोडीहरू पुग्ने गर्छन्। लभ्ली डाँडा प्रेम गर्नेहरूको पहिलो घुम्ने गन्तव्य हो। तर बिहान मोर्निङवाक जानेबाहेक उति साह्रो युवायुवतीको जोडी बाधेर बसेको भेटिँदैन। सुरक्षाको दृष्टिले पनि कतिपय जोडीहरू घेराबन्दीमा भएको खबर आउने गरेकै हुन्थ्यो। अहिले त माया गर्ने डाँडाको सुन्दरतामा ह्रास ल्याउने काम भइरहेको छ। त्यहाँ विभिन्न घर, भवन बन्ने क्रम पनि बढेको छ।

पामे

पछिल्लो समय पोखराको व्यस्त ठाउँ बनेको छ, पामे। पोखराको लेकसाइडस्थित हल्लनचोकबाट पामे जाने सडकमा आफ्ना मायालुसँग मस्त जोडी बग्रेल्ती देखिन्छन्। यहाँ सुन्दर फेवाताल, वरिपरिका डाँडाकाँडा अनि आकाशमा उडिरहेका प्याराग्लाइडिङ हेर्दै बसाइलाई अविस्मरणीय बनाउन सकिन्छ। पामे जाने यो मार्गमा स्थानीय युवा–युवतीदेखि पोखरा घुम्न आएकाहरूसमेत यहाँ आ–आफ्ना प्रेमी–प्रेमिकासँग भेटिन्छन्।

सराङकोट

सूर्योदय र सूर्यास्त हेर्न मात्र होइन, पोखरा आसपासको सौन्र्दय नियाल्न पनि यहाँ पुग्न जोडीहरू लालायित रहन्छन्। पोखराबाट सराङकोट जाने सडकका विभिन्न घुम्तीमा हरेक दिन यस्ता गतिविधि भैरहेका हुन्छन्। यो हाइवेमा आफ्ना मायालुसँग मस्त जोडीहरू छ्यापछ्याप्ती भेटिन्छन् भने कलेज ड्रेसमै रोमान्स गर्ने टिनएजरको संख्या पनि उस्तै हुन्छ।

फूलबारी-भलाम

भलाम जाने सडकमा पृथ्वीनारायण क्याम्पस परिसर, सेतीको डिल तथा काली खोलाको डिलमा गाला र कुम जोड्दै प्रेम साटासाट गरिएका दृश्य देख्न सकिन्छ। दिउँसोको तुलनामा साँझ त्यहाँ मस्ती गर्नेहरू बढी हुन्छन्।

काहुँडाँडा

यहाँबाट हिमाल प्रस्टसँग देख्न सकिन्छ। पोखरा बजारबाट सात किमी टाढा रहेको काहुँ डाँडामा धरहरा रहेको छ। जहाँ पुगेर हिमाल र पोखरा बजारलाई पृष्ठभूमिा राखेर कयौं जोडीहरू सेल्फी लिइरहेका हुन्छन्।

पावर हाउस

बिरौटाबाट केही तल झरेपछि फेवा पावर हाउस आउँछ। पावर हाउस झर्ने सिँढीहरूमा गएर फोटो खिच्नेहरू थुप्रै भेटिन्छन्। त्यहाँ पार्क पनि रहेको छ। त्यहाँबाट पनि हरियाली मनोरम दृश्यहरू देखिने हुँदा प्रेमी/प्रेमिकाहरू मनोरञ्जन लिने गरेको पाइन्छ। शहरबाट अल्ली शान्त र रमणीय ठाउँ भएकोले पनि युगल जोडी एक न एकचोटी त्यहाँ पुग्ने गरेका हुन्छन्।

रेस्टुरेन्ट–फिल्महल

प्रेमदिवसका बेला आफ्ना प्रेमी–प्रेमिकासँग डेटिङ जाने रहर सबैलाई हुन्छ, तर एकान्त स्थलहरू सुरक्षित नहुँदा उनीहरू दिक्क पनि छन्। स्थानीय मात्र होइनन्, मुलुकका विभिन्न भागबाट पनि युगल जोडीहरू आफ्नो प्रेमलाई बलियो पार्न डेटिङ स्थल खोज्दै पोखरा आउँछन्, तर सुरक्षाको चिन्ता उनीहरूमा पनि छ।

चियाएर बस्नेहरू उनीहरूको एकान्त भंग गर्ने अनेक प्रयत्न गर्छन्। कतिपय डेटिङ स्थलमा मारपिटसमेत हुने गरेको सुनिन्छ। त्यही भएर डेटिङ जोडीहरू बिच्किएका छन्। एकान्त र रमणीय ठाउँहरू डेटिङ स्पटका लागि असुरक्षित बन्दै गएपछि जोडीहरू होटल–रेस्टुराँ तथा चलचित्र हलतिर धाउन थालेका छन्।

अन्य

सिद्धार्थ हाइवे अन्तर्गत पर्ने पोखरा भ्यू प्वाइन्ट, माछापुच्छ्रे भ्यू प्वाइन्ट लगायतमा पनि पुगेको भेटिन्छ। स्याङ्जाको भालुपहाडसम्म पनि आफ्ना प्रेमी–प्रेमिकासँग समय बिताउनेहरू पनि त्यत्तिकै हुन्छन्। पछिल्लो समय निकै चहलपहल बढ्ने ठाउँका पुम्दीकोटको शिवमूर्ति पनि आकर्षण हुने ठाउँ हो। याम्दी घट्टेखोला, नौडाँडा, लुम्ले आदि विभिन्न ठाउँमा प्रेमलील जोडीहरू फेला पर्छन्। राखी मिजुरे सडकअन्तर्गत टाइगरटप डाँडा पनि मायालु जोडीहरूको पुग्ने गन्तव्य हुन्। सेती नदी, फुर्सेखोला किनार, महतगौडा, ढुङ्गेसाँघु आदि।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved