नेपाली युवा र चिनियाँ युवतीको प्रेमकथा

बसपार्कमा भेटिएकी युवतीसँग चारपटक बिहे!

बसपार्कमा भेटिएकी युवतीसँग चारपटक बिहे!

बेइजिङ । कुनै व्यक्तिको बिहे कतिपटक हुन्छ अथवा बिहेको समारोह कतिपटक आयोजना हुने गर्छ?

सहज रुपमा उत्तर आउँछ एकपटक।

हुनसक्छ सम्बन्ध बिच्छेद भयो भने अर्को बिहेको फेरि समारोह आयोजना हुन सक्छ। तर बेहुलाबेहुली उही अनि बिहेको समारोह चाहिँ चारपटक!

अलिक अचम्म लाग्दो हुन सक्छ। चीनमा विगत १८ वर्षदेखि बसिरहेका हेटौँडाका रोशन श्रेष्ठले भने चारपटक बिहेको समारोह आयोजना गरेका छन्। त्यतो त उनको प्रेम कहानी अझै रोचक छ। चीन आएको चार महिना मात्र भएको थियो रे। उनी चिनियाँ फिट्टो नबुझ्ने अनि अंग्रेजी बुझ्ने चिनियाँ पाउन मुस्किल। त्यस्तो बेला जुन चिनियाँ युवतीले उनलाई बसपार्कमा अनुवाद गर्न सघाइन् अन्ततः उनी युवतीसँग उनको मन पनि अनुवाद भयो।

अर्थात् भनिन्छ नि पहिलो हेराइमै प्रेम! त्यो पनि अन्तर्राष्ट्रिय प्रेम। नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानमा नयाँ दूतका रुपमा रहेका छन् रोशन श्रेष्ठ र यु श्वे।

हेटौँडाका रोशन श्रेष्ठ एमबीए गरेर चीनको पूर्वी क्षेत्रमा पर्ने च्याङ्सी प्रान्तको नानचिङ मेडिकल विश्वविद्यालयमा विदेशी विद्यार्थी सम्बन्ध विभागमा कार्यरत छन्।

सन् २००४ को सुरुमा रोशन श्रेष्ठ हनान प्रान्तको चौङचौ विश्वविद्यालयमा काम गर्न आएका थिए। भाषा लगायतका विषयको कठिनाइले गर्दा उनी केही समय काम गरेर नेपाल फर्किए। नेपाल फर्किएको केहीपछि नानचिङ मेडिकल विश्वविद्यालयले उनलाई काम गर्न बोलायो। पहिलोपटक भाषाको समस्याले दिक्क मानेर फर्किएका श्रेष्ठ दोस्रोपटक उही चुनौति लिन तयार भए र सन् २००४ को जुनमा नानचिङ मेडिकल विश्वविद्यालयमा काम गर्न चीनमा आए।

सन् २००४ को सेप्टेम्बर ३० तारिख एउटा कार्यक्रममा सहभागी भएर उनी चङचौबाट नानचिङ फर्कने क्रममा थिए। भोलिपल्ट अक्टोबर १ तारिख हो र चीनमा राष्ट्रिय दिवसका अवसरमा एक साता लामो विदा छ भन्ने कुरा श्रेष्ठलाई थाहा थियो। चीनमा आएको चार महिना मात्र भएको थियो। त्यसकारण उनलाई यो थाहा थिएन कि राष्ट्रिय दिवसको सुनौलो सप्ताहमा रेल तथा विमानको टिकट पाउन महाभारत हुन्छ।

चङचौबाट नानचिङ फर्कने रेल तथा विमानको टिकट उनले पाएनन्। विमानस्थलका एकजना कर्मचारीले उनलाई सुझाव दिए ‘शाङहाई जाने विमानमा एउटा टिकट छ। तिमी त्यसमा शाङहाई जाऊ अनि त्यहाँबाट नानचिङ जान सक्छौ। किनभने शाङहाईबाट नाचिङ नजिकै छ।’

त्यही सुझावलाई शिरोधार्य गर्दै उनी शाङहाई गए। विमानबाट शाङहाई ओर्लिएर रेल स्टेसनमा पुग्दा त्यहाँ मान्छेको बाढी देखेर श्रेष्ठ अतालिए। उनी टिकट काउन्टरसम्म पुग्नै सकेनन्। एकजना सुरक्षाकर्मीले रेलको टिकट पाउन संभव नहुने भएकाले बसबाट नानचिङ जान भनेपछि उनी बसपार्क गए।

बसपार्कबाट नानचिङ जाने नियमित बस सबै छुटिसकेका रहेछन्। थुप्रै मान्छे बसपार्कमा उभिरहेका थिए। श्रेष्ठ टिकट काउन्टरमा गए। काउन्टरको मान्छेले चिनियाँ भाषामा च्याङ च्याङ र चुङचुङ गर्दै केही भन्यो। श्रेष्ठले केही पनि बुझेनन्। नजिकै एकजना युवती उभिरहेकी थिइन्। श्रेष्ठले ती युवतीलाई भने ‘कृपया तपाईंलाई अंग्रेजी भाषा आउने भए मलाई सहयोग गर्नु हुन्छ कि?’

संयोगले ती युवती अंग्रेजी भाषामा जानकार रहिछन्। उनले काउन्टरमा गएर कुरा गरिन्। काउन्टरको मान्छेले २० जना यात्री भएमा रिजर्भ गरेर एउटा बस नानचिङ लान सकिने बताएको उनले भनिन्। क्वाङ्सीमा जन्मिएर त्यहीँ नर्सिङ पेशा गरिरहेकी ती युवती यु श्वे थिइन्। उनी आफ्ना बुबाआमालाई भेट गर्न नानचिङ जानका लागि उक्त बसपार्कमा पुगेकी रहिछन्।

उनीहरु २० जना भएपछि एउटा बस नानचिङका लागि छुट्यो। नानचिङको बसपार्कमा युवती युका बुबाआमा उनलाई लिन गएका थिए। युवती पहिलोपटक नानचिङ आएकी थिइन्। छुट्ने बेलामा युले रोशनलाई फोन नम्बर दिएर केही सहयोग चाहियो भने भन्नु म अनुवाद गरिदिउँला भनिन्।

रोशनले तुरुन्तै जवाफ दिए ‘तपाईं पहिलोपटक नानचिङ आउनु भएको छ। अब बिदा पनि छ। म तपाईंलाई नानचिङ घुमाएर सहयोग गर्न सक्छु। आवश्यक पर्‍यो भने मलाई कल गर्नुहोला।’

रोसन आफ्नै काममा लागेका थिए। सेप्टेम्बर ३ तारिख युले फोन गरेर भनिन् ‘मलाई नानचिङ घुमाउने हैन?’

भोलिपल्ट ४ तारिख श्रेष्ठले चिनियाँ युवतीलाई नानचिङ घुमाइ दिए। बेलुका रोशनले एउटा भारतीय रेष्टुरेन्टमा लगेर नेपाली खाना खुवाए। त्यो रेष्टुरेन्टको मालिक चाहिँ नेपाली थिए। रोशनको आतिथ्यमा पहिलोपटक नेपाली खाना खाएकी युलाई नेपाली खाना पटक्कै मिठो भएन।

केही दिनपछि चिनियाँ युवती यु क्वाङसी फर्किइन्। नयाँ वर्षका अवसरमा युले श्रेष्ठलाई क्वाङ्सी घुम्न बोलाइन्।

नानचिङ र क्वाङ्सीको भेटले दुवैजनामा गहिरो मित्रता बसिसकेको थियो। एकवर्षपछि सन् २००५ को अन्तमा युलाई उनका बुबाआमाले नानचिङमै बोलाए। श्रेष्ठ काम गर्ने मेडिकल विश्वविद्यालय भएकाले डिनसँग अनुरोध गरेर युलाई त्यहीँ जागिर मिलाइ दिए।

अब त उनीहरुबीचमा दैनिक भेट हुन थाल्यो। भेट बाक्लिएपछि मित्रता पनि प्रेममा परिणत भयो। आफू चिनियाँ परम्परामा हुर्किएको भन्दै युले आफ्ना बुबाआमाको अनुमतिमा मात्र प्रेम गर्ने र त्यो प्रेमलाई बिबाहमा परिणत गर्नै पर्ने सर्त राखिन्।

एक साँझ युसँगै उनका बुबाआमालाई पनि खाना खान बोलाएर श्रेष्ठले युलाई आफूले प्रेम गर्ने गरेको बताए। युले आफ्नी आमालाई त पहिले नै बताएकी थिइन् तर बुबालाई बताउन सकेकी थिइनन्। युका बुबा फराकिलो सोच भएका व्यक्ति भएकाले सहजै अनुमति दिए। तर उनीहरुले एउटा अड्को थापे। क्वाङ्सीमा युका बाजेबोजु छन्। उनीहरुले अनुमति दिए मात्र।

बाजेबोजुकोमा कुरा पुगेपछि बाजेबोजुले सर्त राखे ‘नातिनीले विदेशी केटा खोजिछे। अब यो विदेशीले पाल्छ कि पाल्दैन। सबैभन्दा पहिले उसको चीनमा घर भयो भने नातिनी दिने नत्र हुँदैन।’

रोशनलाई फसाद पर्‍यो। हेटौँडामा जन्मिएर हुर्किएका रोशनले काठमाडौँमा त घर बनाउन सकेका थिएनन्। अब चीनको सहर त्यो पनि नानचिङमा घर! नानचिङ चीनको पुरानो राजधानी हो र चीनका महङ्गा सहरमा दोस्रो श्रेणीमा पर्नेगर्छ।

त्यतिबेला रोशन विश्वविद्यालयको अपार्टमेन्टमा बस्थे। उनको तलव पाँच हजार चिनियाँ युआन थियो। उनले दुई वर्षमा लगभग एक लाख चिनियाँ युआन जोगाइसकेका थिए। सस्तो दुई बेडरुमको घर किन्नलाई कम्तिमा पाँच लाख चिनियाँ युआन निकाल्नु पर्ने भयो। रोशनले आफूसँग भएको १ लाख चिनियाँ युआन तिरेर बाँकी बैंक लोनमा घर किन्ने बिचार गरे। तर चिनियाँ बैंकले विदेशीलाई लोन नदिने हुनाले प्रेमिका युका नाममा घर किने र हरेक महिना किस्ता तिर्न थाले।

घर किनेको देखेपछि बाजेबोजुले युलाई रोशनसँग बिहे गर्ने स्वीकृति दिए। चिनियाँ अभिभावकबाट त स्वीकृति पाए तर नेपाली अभिभावक? रोशनले त्यतिन्जेल घरमा चिनिया युवतीसँग प्रेममा रहेको र घर पनि किनिसकेको कुरा सुनाएकै थिएनन्।

सन् २००७ को दशैँमा रोशनले युलाई लिएर नेपाल गए। चिनियाँ साथी भनेर परिचय गराए। नेपालमा बिहे गर्नका लागि केटी खोज्ने काम गरिरहेका थिए रोशनका बुबाले। आलटाल गरेर रोशन चीन फर्किए। अर्को वर्ष सन् २००८ मा पनि युलाई साथमै लिएर गए र डराइ डराइ भने ‘उनी मेरी प्रेमिका हुन्। म त उनैसँग बिहे गर्ने’।

रोशन भन्छन् ‘बुबाआमाले चित्त दुखाउनुभयो। जेठो छोराले विदेशी बुहारी ल्याउन खोज्यो भनेर गुनासो गर्नुभयो। कसैगरे पनि बिहे गर्न अनुमति दिनु भएन।’

रोशनले प्रेमिका युलाई यो कुराको सुइँको पनि दिएनन्। उनीहरु चीन फर्किए।

चीनमा सँगै बस्न थालेको दुई वर्षभन्दा बढी भएको छ। ससुरालीतिर रोशनलाई ज्वाइँ भन्न थालेका छन् तर नेपालमा त अवस्था त्यसको उल्टो थियो। रोशन भन्छन् ‘चीन फर्किएपछि आमाले सधैँ फोनमा छोरा तँ त्यही केटी बिहे गर्ने होस् र? भन्दै सोध्नुहुन्थ्यो।’

धेरैपटकको कुराकानीपछि आमाको मन पग्लियो। आमाले नै बुबालाई पनि सम्झाएपछि रोशनलाई युसँग बिहे गर्न अनुमति भयो। अनि सन् २०१० मा नेपाल पुगेर रोशनले युलाई सिँन्दुरपोते लगाए। नेपालमा औपचारिक बिहे भएपछि क्वाङ्सी प्रान्तमा रहेका बाजेबोजुकामा पुगेर दोस्रोपटक उनीहरुले बिहे गरे। अनि नानचिङ फर्किएर साथीभाइ र स्टाफहरु भेला गरेर तेस्रोपटक बिहे गरे। त्यति मात्र हो र! अन्तिमपटक युका मामाघरमा गएर चौथोपटक बिहे गरे उनीहरुले।

नेपालमा एकपटक र चीनमा तीनपटक बिहे गरेर चौका हानेका रोशनका लागि बिहेबाट गज्जबको फाइदा भयो। सन् २००६ मा किनेको घरको उनी किस्ता तिरिरहेका थिए। चीनमा बिहे गर्दा बेहुलाबेहुलीलाई रातो खाममा हालेर दक्षिणा दिने चलन छ। यस्तो दक्षिणालाई चिनियाँ भाषामा ‘होङपावो’ भनिन्छ। चीनमा तीनठाउँमा भएको बिहेको समारोहले थुप्रै ‘होङपावो’ सङ्कलन भयो। त्यही पैसा एकमुष्ठ तिरेपछि रोशनको घरको लोन पनि चुक्ता भयो।

बिहे गरेको दुई वर्षपछि सन् २०१२ मा रोशन र युको पहिलो सन्तानको रुपमा छोरीको जन्म भयो। छोरीको चिनियाँ नाम यु मिनसी हो भने नेपाली नाम रोजिलिन श्रेष्ठ। सन् २०१७ मा उनीहरुको दोस्रो सन्तानको रुपमा छोरा जन्मिए। छोराको चिनियाँ नाम यु मिनछङ राखेको र नेपाली नाम जसन श्रेष्ठ रहेको रोशन सुनाउँछन्।

सुरुमा दुई बेडरुमको घर लिएका रोशनका लागि चारजनाको परिवार भएपछि त्यो साँघुरो भयो। सन् २०१८ मा उक्त घर बेचेर तीन बेडरुमको अर्को घर लिए।

हरेक दशैँमा रोशन आफ्ना परिवार लिएर नेपाल जाने गर्थे। उनका छोराको भातख्वाइ कार्यक्रम पनि नेपालमै सम्पन्न भएको थियो। तर कोभिड महामारीका कारण विगत अढाइ वर्षदेखि उनी नेपाल जान पाएका छैनन्। छोरीलाई नेपालमा लगेर बेल विवाह गराउने र गुफा राख्ने सोच बनाएका छन्। त्यही समयमा छोराको ब्रतबन्ध गर्ने सोचाइ पनि राखेका छन् उनले। बुबाआमाले पनि तारन्तार फोन गरिरहेका छन् तर परिस्थिति अनुकूल नहुँदा नेपाल जान नसकेको गुनासो रोशनको परिवारमा।

चीनमा हरेक वर्ष ठूलो परिवर्तन हुन्छ। रातारात भौतिक पूर्वाधारका काम हुन्छन्। चीन बसेको १८ वर्ष पुग्न लाग्दा हरेक वर्ष जे कुरा पनि नयाँ लाग्छ रोशनलाई। उनी चीनलाई देखेर जसरी आश्चर्यचकित हुन्छन् उस्तै आश्चर्य मान्छिन् उनकी श्रीमतीले नेपाल देखेर। जतिपटक नेपाल गए पनि सडकका खाल्डा त उस्तै देख्छिन् रे उनी। लोड सेडिङले गर्दा बेलुका चार्जमा राखेको मोबाइल बिहानसम्म पनि चार्ज नहुँदा रोशनकी श्रीमती युले सार्‍है झन्झट मानेको उनी सुनाउँछन्।

कुराकानीको अन्तिममा रोशनले भने ‘अँ मेरी श्रीमतीले पहिलोपटक नेपाली खानेकुरा खाँदा पटक्कै मन पराएकी थिइनन्। अहिले त उनी चिनियाँभन्दा नेपाली खानेकुरा मन पराउँछिन्। हामी घरमा सधैँ नेपाली खानेकुरा पकाएर खान्छौँ। नेपालबाट प्रेसरकुकर र मम बनाउने भाँडो पनि ल्याएको छु। खुकुरी र मन्दिर पनि घरमा राखेको छु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved