प्रिय कथा

डोरी

र, मैले कथा अन्त्य गर्न लागुन्जेलमा पूर्णमान एउटा हार्डवेयर पसलमा पुगेर भन्दै थियो, ‘साहूजी ! एउटा एकदमै सस्तोचाहिँ छेस्किनी दिनोस् न। त्यति बलियो चाहिँदैन, चर्पीमा लगाउने त हो नि !’

डोरी

(रचनागर्भ- चर्पीको ढोकामा तुन्द्रुङ्ग एउटा प्लास्टिकको डोरी झुन्डिएको थियो। त्यही डोरीलाई हातले समातेर चर्पीको ढोका बन्द गरी टुक्रुक्क बस्नु पर्थ्यो। केही महिना त्यस्तो अनुभव गरेपछि सिर्जना भएको कथा हो- ‘डोरी’।

यो कथामा त्यो ढोका वास्तविक हो भने यसभित्रका पूर्णमान, बिजूलगायतका सबै पात्रहरू काल्पनिक हुन्।

थोरै पैसा खर्च गरेर ढोकामा छेस्किनी लगाउनभन्दा त्यही डोरीले काम चलाइरहेको एउटा अनौठो आनीबानी देखिरहेथेँ र कथाको बुनोट मनमनै सिर्जना गरेँ।

यो २०५२ सालको कुरा हो तर मलाई राम्ररी सम्झना छ- यो पूर्ण कथा बनाउन मलाई एक हप्ता लागेको थियो। लेखेपछि त्यतिखेर साझा प्रकाशनबाट छापिने साहित्यिक पत्रिका ‘गरिमा’ लाई प्रकाशनार्थ दिएको थिएँ। ‘गरिमा’ को पूर्णाङ्क १५५ (२०५२ कात्तिक अङ्क) मा ’डोरी’ प्रकाशित छ।

भाइ विवश वस्तीले ‘तपाईको एउटा कथा हाम्रो अनलाइनलाई दिनोस् न’ भन्दा मैले यही कथा सम्झेँ। यो कथा सम्झेपछि प्लास्टिकको डोरी समातेर टुक्रुक्क बस्नुपर्ने ढोका पनि सम्झेँ।

२०५२ सालको त्यो समय र अहिले २०७८ को यो समयमा धेरै नै परिवर्तनहरू भइसकेका छन्। २०५२ सालमा नाम नसुनेको इन्टरनेट नामको प्रविधिले अहिले २०७८ मा आएर पूरा विश्वमा साम्राज्य बढाएको छ। छापाका साहित्यिक पत्रिकाहरू हराउँदै जान थालेका छन्। अनलाइन पत्रिकाहरूको जगजगी छ।

जिन्दगी तर साहित्यमै बितिरहेको छ। प्रविधि नयाँ-नयाँ स्वीकार गर्दै साहित्यको जय मनाइँदै छ।)

कथाको शीर्षक— डोरी।

डोरीको पनि कहीँ कथा हुन्छ ?

तर यो कथा डोरीकै हो- करिब तीन फिट लामो प्लास्टिकको डोरी। त्यो डोरी हरियो रङ्गको थियो। एउटा अव्यवस्थित ढोकामा झुन्डिएको थियो, किलामा बाँधिएर। अर्कोतिर भित्तामा एउटा फलामको डन्डी घुसारिएको थियो र ढोका लगाउन डोरी त्यो फलामको डन्डीमा अड्काउनुपर्थ्यो।

प्लास्टिकको डोरी डन्डीमा अड्काउन गाह्रो थियो किनभने चिप्लो हुनुको कारण त्यो पूर्णतः अड्किँदैनथ्यो। त्यसैले भित्र बस्ने मान्छे सधैँ सचेत हुनुपर्थ्यो- ह्वात्त कसैले ढोका खोलि नहालोस्।
सचेत यस कारण हुनुपर्थ्यो कि, डोरी झुन्डिएको त्यो ढोका पूर्णमानको घरको चर्पीको ढोका थियो।

सचेत चर्पीभित्र बस्नेले मात्र होइन, भित्र जान चाहनेले पनि हुनुपर्थ्यो। कि त जुत्ता बजार्दै जानुपर्‍यो, नभए गीत गुन्गुनाउँदै जानुपर्‍यो। बिस्तारै गई ढोका खोल्ने हो भने त दुवै जनालाई लाजमर्दो !
अब तपाईं नै भन्नोस् न- पूर्णमान भित्र हुँदा उसकी बुहारीले ढोका खोली भने ? अथवा आमाचाहिँ हुँदा छोराले ढोका खोल्यो भने ? एउटा आशङ्का नि !

तर हरियो डोरी तीन फिटको झुन्डिरहेकै छ- निष्प्राण। पूर्णमानलाई चलेकै छ। उसका श्रीमती, छोरा, बुहारी र छोरीलाई पनि चलेकै छ।

एक दिन बरु ज्वाइँलाई चाहिँ आपद् परेको थियो, पहिलो दिन।

भर्खर-भर्खर आएका थिए नवविवाहित छोरी-ज्वाइँ पूर्णमानको घरमा। ज्वाइँ चर्पीभित्र गएर छेस्किनी खोज्छ त नदारत !

डोरी !

डोरी कहाँ अड्काउने कहाँ अड्काउने, एकदमै अलमलमा परेको थियो। र, अनि त्यो डोरी हातमा समाएर बसेको थियो ऊ चर्पीमा।

त्यस दिन पूर्णमानको ज्वाइँले पूर्णमानकी छोरीसँग पूर्णमानको कन्जुस्याइँको बारेमा टीकाटिप्पणी गरेको थियो। लोग्नेस्वास्नीबिच ठाकठुक पनि परेको थियो।

यद्यपि पूर्णमान कन्जुस छैन। राम्रै लुगा लगाएर हिँड्छ, राम्रै खाएर हिँड्छ। लुगा त अझ पूर्णमानले भन्दा पूर्णमानकी स्वास्नीले पो लगाउँछे त- ठ्याक्कै पैँतीस सय जाने साडी। त्यो पैँतीस सय जाने साडी किन्नलाई पैसा दिँदा पूर्णमानलाई निकै सास्ती भएको थियो- मानसिक।

करिब आठ चोटि गनेको थियो उसले ती दरा-दरा नोटहरूलाई। गन्न त उसले आफूले सँगालेर राखेको रुपियाँलाई कति गन्ने गरेको छ कति। साँधी छैन।

बढेको पनि होइन। घटेको पनि होइन। तर गन्न चाहिँ छोडेको होइन। पूर्णमानले चोर औंलालाई जिब्रोमा दल्दै पैसा गनेको पूर्णमानको सानो नाति बिजूले हेरिरहने गर्छ र भन्छ‘ ‘बाजे ! मलाई पैसा दिनोस् न। मोमो खान्छु।’

‘धत्, खानु हुन्न मोमो। बोसो हुन्छ, छ्या !’ पूर्णमान झट्पट् पैसा लुकाउँछ।

‘नाइँ, खान्छु के।’ नाति जिद्दी गर्छ। बाजेचाहिँ झट्पट् सेफमा ताल्चा मार्छ।

हो, मोमो खानु हुन्न। बोसो हुन्छ। जे भए तापनि सेफभित्र राखेको पैसाबाट त झन् हुँदैन।

हरेक बिहान एकपल्ट पूर्णमान सेफको पैसा गन्छ। हरेक साँझ पनि गन्छ। बिटाका बिटा राखिएका नोटहरू मुसार्छ। आश्वस्तताको सास फेर्छ।

र, चर्पीको ढोकामा प्लास्टिकको डोरी झुन्डिएको झुन्डिएकै छ।

बूढीमाउ ३-४ हजार पर्ने सारी लगाएर ट्याक्सी चढ्छिन्। चढेकै छिन्।

नाति ‘मोमो खाऊँ’ भन्दै नै छ। बाजे ‘बोसो हुन्छ खानु हुन्न’ भनेर पन्छेको पन्छेकै छ।

र, पूर्णमानको छोरो ?

पूर्णमानको छोरो छ फेरि अनौठाको। पूर्णमानले छोराको निम्ति एउटा कोल्डस्टोर पसल थापिदिएको छ। छोरो गोज्याङ्ग्रो छ, त्यसैले बुहारी पनि ऊसँगै पसलमा बस्छे। पसलमा राम्रो व्यापार छ। हरेक साँझ पसलमा भएको पैसा उनीहरूले पूर्णमानलाई बुझाउन ल्याउनुपर्छ।

छोरो गोज्याङ्ग्रो छ, तर बुहारी बाठी छे। व्यापार भएको सबै पैसा बुझाउँदिन घरमा। अलिकति आफ्नो लागि पनि छुट्ट्याउँछे। ज्यादै बाठी छे, ‘व्यापार अलि घट्दै छ’ भन्ने गुनासो गर्छे। तर सुटुक्क केही पैसा आफ्नो पोल्टोमा हाल्छे।

पूर्णमानका छोरा-बुहारी पनि त्यही चर्पी प्रयोग गर्छन् र चर्पीको ढोकामा प्लास्टिकको डोरी झुन्डिएको छ।

पैसा खर्च गर्नुपर्‍यो भने मानसिक सास्ती पाउँछ पूर्णमानले। राम्ररी थाहा छ, घरका सबै जनालाई; त्यो फुच्चे बिजूलाई समेत।

त्यसैले त एक दिन बिजूले आफ्नो बाजेलाई भनेको थियो, ‘बाजे ! तपाईंसित कत्तिका पैसा छ हगि ?’

‘छ छ। चुप लाग्।’ पूर्णमानले नाक चेप्य्राउँदै गाली गरेको थियो।

‘किन जम्मा मात्र पारिराखेको त ? खर्च पनि गर्नोस् न।’

‘किन खर्च गर्ने ? किन ?’ रिसले आफ्नो नाक मुठ्याउँदै पूर्णमान बम्केको थियो, ‘खर्च गर्‍यो भने त सिद्धिइहाल्छ नि !’

‘खर्च गरेन भने झन् ढुसी पर्ला नि त !’ ताली बजाउँदै हाँस्यो बिजू।

पूर्णमान गम्भीर भयो र बिजूलाई आफ्नो नजिकै बोलायो। उसको टाउको मुसार्‍यो। माया गरेझैँ गाला पनि मुसार्‍यो र भन्यो, ‘हेर्, यी सब जम्मा पारेको तेरै निम्ति हो। तँ पछि ठुलो हुन्छस्। तँलाई पढाउनुपर्छ। तेरो बाउ हेर् त्यस्तो गोज्याङ्ग्रो छ।… आफूसँग पैसा छ भन्ने विचार मात्रले पनि मलाई कति आनन्द लाग्छ।’

यसरी बुढाले आफ्नो टाउको र गाला मुसारेकोमा बिजू दङ्ग पर्‍यो, ‘कति माया गर्छ बाजेले मलाई। हो त नि, पैसा सेफमै भएको राम्रो।’

तर बुढाले चाहिएको चीज पनि किनिदिँदैन। खान मन लागेको खानेकुरा पनि खान दिँदैन। ‘बोसो हुन्छ। धत् !’

आइसक्रिम खाऊँ भन्यो भने ‘चिसो लाग्छ’ भन्ने। मोमो खाऊँ भन्यो भने ‘बोसो हुन्छ’ भन्ने। चकलेट खाऊँ भन्यो भने ‘दाँत कीराले खान्छ’ भन्ने। पैसा खर्च गर्नपर्‍यो कि त नाना थरीका बहानाहरू। त्यस्तो पैसा पनि के त, नभएकै जाती।

तर त्यस दिन टाउको र गाला मुसारेर पूर्णमानले बिजूलाई सिटी बज्ने चकलेट खानलाई पैसा पनि दिएको थियो। पूरा दस रुपियाँ।

‘मासु खानु हुँदैन, मुटुको रोग हुन्छ’ भन्ने बुढोले त त्यो दिन बिजूलाई ‘ल, कलेजो ल्याएर तारेर खाऔँ’ भनी आधा किलो कलेजोको निम्ति पैसा पनि दिएको थियो।

बिजू दङ्ग परेको थियो। खसीको दुई टुक्रा कलेजो खान पाएको हुनाले त्यो दिन बिजूको गोज्याङ्ग्रो बाबु पनि दङ्ग परेको थियो। सबै दङ्ग परेका थिए।

तर यो कुरा त्यो एक दिनको मात्र कुरा हो। प्रायजसो त पूर्णमान मासु, चकलेट खान पैसा खर्च गर्दैगर्दैन।

बिजूलाई चाहिँ मोमो खान एकदमै मन पर्छ। घरछेउमै मोमोपसल खुलेको छ एउटा नयाँ र फुच्चे बिजू मोमो कसरी खाने भन्ने ध्याउन्नमै हुन्छ।

एक दिन बिजूका बाबु र आमा पसल गएका थिए। बज्यैसँग मोमो खान पैसा माग्दा ‘छैन’ भनी दिइनन्। बाजेले त झन् दिने कुरै भएन। तर मन चाहिँ मोमो खानेमै थियो।

त्यसपछि बिजूले एउटा जुक्ति गर्ने विचार गर्‍यो, घरमा भएका पुराना अखबारहरू बेचेर त्यसबाट आएको पैसाले मोमो खाने। घरको हरेक कोठाका पुराना अखबारहरू बटुलेर ठिक्क पार्‍यो उसले। अखबारको सानो मुठो नै तयार भयो तर त्यसलाई बाँध्ने केले ? उसले घरको हरेक कोठामा अखबार बाँध्ने चीज खोज्यो तर भेटेन।

डोरीसोरी केही भेटिन्छ कि भनेर उसले हरेक कोठा चहार्‍यो। भान्छामा खोज्यो, बैठकमा खोज्यो, पलङमुनि खोज्यो, बाकसमाथि खोज्यो तर भेटेन। अन्ततः झल्याँस्स चर्पीको ढोकाको डोरी सम्झ्यो, पल्याकपुलुक हेर्दै गयो। बालबुद्धि र मिहिनेतले निकै समय लगाएर डोरी निकाली छाड्यो। अखबार बाँध्यो।

‘खाली सिसी, पुरानो कागत।’ आवाज सुन्नासाथ उफ्रियो ऊ र अखबार लगेर त्यसलाई बेचिदियो।

बिजूले त्यो दिन एक प्लेट मोमो खाने पैसा पायो। ऊ दङ्ग थियो। मनमनै विचार गर्दै थियो, ‘त्यसैले पो किताबमा बलभन्दा बुद्धि ठुलो हुन्छ भनी लेखेको रहेछ त !’

बिजूले मोमोको पहिलो डल्ला मुखमा हाल्दा उता घरमा पूर्णमान चर्पीभित्र छिर्‍यो। अभ्यस्त हातले फलामको डन्डीमा डोरी बाँध्न खोज्दा डोरी उसले भेटेन त्यहाँ।

ऊ छक्क पर्‍यो। भुइँतिर हेर्‍यो। ढोकाबाहिर हेर्‍यो। माथि हेर्‍यो। तल हेर्‍यो। तर डोरी अहँ, थिएन त ! चर्पीको प्यानको खोपिल्टोमा समेत हेर्‍यो। तर डोरी पाउन सकेन।

अनि ऊ झोक्कियो, ‘चर्पीको डोरी खोई ?’

डोरी खोई ?
चर्पीको ढोकाको डोरी खोई ?
स्वास्नीलाई सोध्यो।
‘थाहा छैन। जे पनि मलाई मात्र भन्नुहुन्छ।’
बिजूलाई सोध्यो, जो भर्खर घरभित्र पसेको थियो।
‘के थाहा मलाई ?’

आखिरमा तीनै जना मिलेर घरभरि अर्को डोरीको खोजी भयो। बिजूलाई त थाहा थियो घरमा डोरी छैन भनेर। तर उसले पनि खोजेझैँ गर्‍यो। पूर्णमान र उसकी स्वास्नीले चाहिँ कुना-कुनामा खोजे एक टुक्रा डोरी।

तपाईंहरू जाबो डोरीको पनि कहीँ कथा हुन्छ ? भन्नुहुन्छ, तर त्यो घरमा कतै पनि एक टुक्रा डोरी भेटिएन।

पूर्णमान निराश भयो। उसको अनुहार कालोनीलो भयो। स्वास्नीलाई सोध्यो थाकेर, ‘एई ! तीन-चार फिट डोरीको कति पर्ला हँ ?’

बुढी हाँसी, ‘केको डोरी नि अब ? एउटा छेस्किनी नै किनेर ल्याउनोस्। बेकारमा लोभ गर्नुहुन्छ।’

पूर्णमानले पनि अब डोरीको सट्टा छेस्किनी नै किन्ने विचार गर्‍यो।

र, मैले कथा अन्त्य गर्न लागुन्जेलमा पूर्णमान एउटा हार्डवेयर पसलमा पुगेर भन्दै थियो, ‘साहूजी ! एउटा एकदमै सस्तोचाहिँ छेस्किनी दिनोस् न। त्यति बलियो चाहिँदैन, चर्पीमा लगाउने त हो नि !’

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved