उपल्लो डोल्पाबासीले पाएनन् कोरोनाविरुद्धको खोप

उपल्लो डोल्पाबासीले पाएनन् कोरोनाविरुद्धको खोप

डोल्पा।महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्ध लगाइने खोप उपल्लो डोल्पाका सर्वसाधारणले पाएका छैनन्। बाह्र वर्षदेखि १७ वर्षसम्मका बालबालिकाले मोडर्ना खोप र १७ वर्षमाथिका सर्वसाधारणले भेरोसेल, ६० वर्षमाथिका सर्वसाधारणलाई बुस्टर खोप अन्य पालिकामा लगाइरहेको भए पनि उपल्लो डोल्पाका तीन पालिकाका कुनै पनि सर्वसाधारणले खोप लगाउन पाएका छैनन्।

स्वास्थ्य सेवा कार्यालय डोल्पाले यही १०-१३ माघसम्म गतेसम्म खोप लगाउन मध्य र तल्लो डोल्पाका सर्वसाधारणलाई मात्र सूचना निकालेको छ। उपल्लो डोल्पामा खोप लगाउन नसकिने भन्दै कार्यालयले सूचनामा उल्लेख गरेको छ।

सीसीएमसीको बैठकले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाइ खोप लगाउनका लागि विद्यालय खोल्ने निर्णय गरिएको थियो। सीसीएमसीसीले निर्णय गरे पनि उपल्लो डोल्पामा विद्यार्थीले यो समयमा खोप नपाउने भएका छन्। ७ माघदेखि सरकारी  सेवाका लागि खोप कार्ड अनिवार्य गरिए पनि खोप नपाएपछि डोल्पाका सर्वसाधारण सरकारी सेवाबाट पीडित हुने भएका छन्।

भारी हिमपातका कारण उपल्लो डोल्पाका सर्वसाधारणले कोभिडविरुद्धको खोप लगाउन पाएका छैनन्। उपल्लो डोल्पामा खोप लिएर तीन पालिकाका सर्वसाधारणलाई लगाउन नसक्ने अवस्था आएपछि यहाँका सर्वसाधारण खोपविहीन बन्नुपरेको हो। हिमपातका कारण उपल्लो डोल्पा बन्धकजस्तै भएको छ। बाटो हिउँले पुरिदिएपछि कुनै पनि सेवा उपल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन्।

त्यस्तै अन्य बालबालिकालाई लगाइने नियमित खोप, सुरक्षित सुत्केरी सेवा कात्तिकदेखि फागुन मसान्तसम्म नै बन्द छ। शे–फोक्सुण्डो, छाकाताङसुङ र डोल्पोबुद्ध गाउँपालिकाभित्रका सर्वसाधारण हिमपात र चिसोका कारण पाँच महीना सदरमुकाम दुनैलगायत देशका विभिन्न ठाउँमा जाने काम पूर्णरूपमा ठप्प हुने गर्दछ। त्यस्तै ती पालिकामा खटिने स्वास्थ्यकर्मी, महिला स्वयंसेविकले समेत खोप नपाएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक टेकबहादुर गुरुङले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved