सत्ताको आडमा मन्त्री यादवले दम्भ देखाइन्ः सीके राउत

नेपालभ्युज

सत्ताको आडमा मन्त्री यादवले दम्भ देखाइन्ः सीके राउत

जनकपुरधाम। जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ताको आडमा मन्त्री रेणु यादवले दम्भ देखाउन खोजेको आरोप लगाएका छन्। साथै उनले किसानको माग पूरा नभएसम्म पछि नहट्ने बताएका छन्।  राउतले मन्त्रीको अभिव्यक्ति आपत्तिजनक र किसान आन्दोलनलाई दबाउने मनशायले आएको पनि प्रतिक्रिया दिएका छन्।

बुधबार ‘बलिदानी दिवस’का अवसरमा आयोजित सभामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री यादवले २०६३ को ‘गौर नरसंहार’ को उदाहरण दिँदै हिंसा भड्काउने खालको अभिव्यक्ति दिएकी थिइन्। उक्त अभिव्यक्तिप्रति राउतले जवाफ दिएका हुन्।

मन्त्री यादवले ‘तुफानसँग भिड्न आए तपाईंको (सीके राउत) उही हालत हुनेछ जे गौरको राइस मिलमा भएको थियो।’ भनेकी थिइन्। यद्यपि मन्त्री यादवले पछि सीके राउतलाई सचेत मात्र बनाएको बताएकी थिइन्। 

मन्त्री यादवको अभिव्यक्तिप्रति लोसपाका प्रमुख सचेतक परमेश्वर साहले पनि लोकतन्त्रमा सबैलाई आफ्नो माग राख्ने, शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार भएको बताउँदै उनले त्यस्तो आन्दोलनलाई दबाउने हिसाबको धाकधम्की पूर्ण अभिव्यक्त व्यक्त गरिनु गलत भएको बताएका छन्।

पछिल्लो केही समययता जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबीच जुहारी चलेको छ। जनमतका कार्यकर्ताहरूले जनकपुरधाममा खानेपानीका कर्मचारीलाई दुर्व्यहार गरी घुमाउँदा जसपाले विरोध गरेको थियो।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले मधेशको मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो। जसलाई जनमत पार्टीले प्रशंसा गरेको थियो। जसपाले भने अख्तियारको कामको चर्काे विरोध गरेको थियो।

त्यसैगरी जनमत पार्टीले केही दिन देखि किसान आन्दोलन गर्दै बन्द, हडताल र प्रदर्शन गर्दै आएको छ। यस किसान आन्दोलनको विरोधमा जसपाले सप्तरीमा प्रदर्शन गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved