सोलुखुम्बुमा कुटपिटबाट एक जनाको ज्यान गयो

नेपालभ्युज

सोलुखुम्बुमा कुटपिटबाट एक जनाको ज्यान गयो
सांकेतिक तस्वीर

सोलुखुम्बु। माप्यदूधकोशी गाउँपालिका-१ बुम्बुरीमा कुटपिटबाट एक जनाको ज्यान गएको छ। आइतबार राति अन्दाजी ११ बजे स्थानीय ४५ वर्षीय वाङ्दी शेर्पाको कुटाइबाट सोही ठाउँका अन्दाजी ५२ वर्षीय दानु शेर्पाको ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार वाङ्दी सोही ठाउँकी एक ५७ वर्षीया महिलालाई जबर्जस्ती करणी गर्न राति ११ बजेतिर महिलाकै घरमा पुगेका थिए। तर महिलाले चिच्याएर कराएपछि छुट्याउन पुगेका दानुलाई वाङदीले दाउरा तथा काठको चिरपटले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

घटनापछि दानुलाई वाङदीले घटना स्थल नजिकैको भीरबाट फालेको बताइएको छ। शव घटनास्थलबाट करिब २५ मिटर टाढा फेला परेको प्रहरी निरीक्षक ढकालले बताए। घटनामा संलग्न वाङ्दीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टपार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved