राष्ट्रियसभा निर्वाचनपछि सत्तागठबन्धनको भविष्य अनिश्चित

वर्तमान सत्तागठबन्धन तीन तहकै निर्वाचनसम्म जाने कि राष्ट्रियसभा निर्वाचनपछि भत्कने हो भन्ने कुरामा कांग्रेस निर्णयक देखिएको छ।

राष्ट्रियसभा निर्वाचनपछि सत्तागठबन्धनको भविष्य अनिश्चित
फाइल तस्वीर

काठमाडौं। राष्ट्रियसभाको १२ माघमा हुने निर्वाचनपछि वर्तमान सत्तारुढ गठबन्धनको भविष्य अनिश्चित देखिन थालेको छ। गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका एकथरि नेताहरूले गठबन्धन राष्ट्रियसभा निर्वाचनसम्मका लागि मात्रै भएको बताउन थालेका छन्।

तर, सत्ता–गठबन्धनका अन्य घटकहरु विशेष गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत–समाजवादीका अध्यक्ष माधव नेपाल भने आगामी तीन तहको निर्वाचनसम्म यो गठबन्धन कायमै राखेर अघि बढ्नुपर्नेमा जोड दिँदैआएका छन्।

सत्ता–गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यसबारेमा अहिलेसम्म सार्वजनिक टिप्पणी गरेका छैनन्।

कांग्रेस नेताहरुले भने गठबन्धन सरकार चुनावसम्मको भएको बताउँदै अगामी तीन तहको निर्वाचनमा कांग्रेस एक्लै बढ्नुुपर्नेमा जोड दिँदैआएका छन्।

राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनले समझदारी गरेपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति पार्टीमै प्रश्नहरु उठेका थिए। पार्टीको पदाधिकारी बैठकमा देउवाले अहिले गठबन्धन राष्ट्रियसभा निर्वाचनसम्मका लागि मात्रै बनेको प्रष्टोक्ति दिनुपरेको थियो।

हुनत माओवादी, नेकपा (एस), जनमोर्चा र जसपा नेपालसँग सहकार्य गरेर गत २९ असारमा देउवा प्रधानमन्त्री बने। यसको भविष्यबारे संशय बढेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पटक–पटक सार्वजनिक कार्यक्रमहरुमा यो गठबन्धन टुटाउने चलखेल चलिरहेको दाबी गरेका थिए।

प्रचण्डको यस्तो दाबी र कांग्रेस नेताहरुले राष्ट्रियसभा निर्वाचनपछि कांग्रेस एक्लै जाने अभिव्यक्तिले कतै राष्ट्रियसभा निर्वाचनपश्चात् सत्ता–गठबन्धन भत्किने त होइन भन्ने आशंका उब्जिएको छ।

प्रधानमन्त्री देउवानिकट कांग्रेस नेताहरु भने पछिल्लो केही समययता यस विषयमा सार्वजनिक रुपमा टिप्प्णी नगरे पनि देउवाइत्तर पक्षका नेताहरुले भने यस विषयमा लगातार बोलिरहेको देखिन्छ।

राजनीतिक वृत्तमा राष्ट्रियसभा निर्वाचनपश्चात् सम्भावित दुुई दृश्यबारेमा छलफल चलेको देखिन्छ। एउटा, वर्तमान सत्ता–गठबन्धन नै कायम राखेर स्थानीय तहसहित तीन तहको निर्वाचनसक्ने। दोस्रो अहिलेको सत्ता–गठबन्धन नै भत्काएर देउवा एमालेको धापमा आउँदो वैशाख जेठभित्र पहिले संघीय निर्वाचनको घोषणा गर्ने।

सरकारका प्रवक्तासमेत रहेका देउवानिकट कांग्रेस नेता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारेमा बोल्न चाहेन। नेपालभ्युजको सम्पर्कमा आएका कार्कीले यस विषयमा अहिले नै प्रतिक्रिया दिन हतार नगर्ने बताए।

कांग्रेस उपसभापति धनराज गुुरुङले राष्ट्रियसभा निर्वाचनपछि कांग्रेस तीन तहको नर्वाचनमा जाने गरी रणनीति बनाएर अघि बढ्ने दाबी गरे। गुुरुङले भने, “पहिला कुन निर्वाचन गर्ने भन्ने सरकार र निर्वाचन आयोगको कुरा हो तर हामी पार्टीगत रुपमा निर्वाचनको तयारीमा अब लाग्नुपर्छ।”

“अर्को वर्षभरिमा तीन तहको निर्वाचन गर्नैपर्ने व्यवस्था छ,” गुुरुङले भने, “त्यही भएर अब सक्दो चाँडो हामी रणनीति बनाएर अगाडि बढ्नुपर्छ।”

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको रणनीति भन्ने अर्को छ। उनी निकट स्रोतका अनुुसार, देउवा आउँदो जेठभित्र पहिला संघीय निर्वाचन गराउन चाहन्छन्। उनी गठबन्धन पनि भत्काउन तयार छन् तर त्यसका लागि एमालेको समर्थनको सुनिश्चिता खोजिरहेका छन्। एमाले पनि स्वस्थ प्रतिस्पर्धा गर्ने गरी कांग्रेससँग सहकार्य चाहन्छ।

देउवानिकट स्रोतका अनुसार, आफूले अहिलेको सत्ता–गठबन्धन भत्काएको खण्डमा प्रचण्ड गएर एमाले अध्यक्ष ओलीसँग फेरि मिल्ने त होइनन् भन्नेमा पनि देउवालाई डर छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved