‘कान्ति’को जनरलदेखि उत्कृष्ट बाल अस्पतालसम्मको यात्रा

अस्पतालले काँचुली भने तत्कालीन जापानिज प्रधानमन्त्री राइतारो हासिमोटो नेपाल आएपछि मात्रै फेर्‍यो। उनले जापान सरकारको तर्फबाट अस्पताल निर्माणका लागि आर्थिक सहयोग गरे, यहीकारण अस्पतालको आईसीयूमा अहिले पनि उनकै नाम राखिएको छ।

‘कान्ति’को जनरलदेखि उत्कृष्ट बाल अस्पतालसम्मको यात्रा

काठमाडौं। दुई वर्ष पहिले नवलपरासीको मध्यमवर्गीय परिवारमा जन्मिएकी शोभा महतोको दिशा र पिसाब गर्ने ठाउँ एकै थियो। सामान्यभन्दा केही फरक स्वास्थ्य समस्यासहित जन्मिएकी उनी अरुभन्दा केही भिन्न रूपमा जन्मिएकी थिइन्। परिवारले छोरा हो कि छोरी छुट्याउन सकेन। त्योभन्दा पनि ठूलो समस्या उनी निरन्तर रोइरहनु थियो।

परिवारले केही समय पर्खिएर ठूलो अस्पताल लैजाने योजना बनाएको थियो, तर उनी लगातार बिरामी पर्न थालिन्। परिवारले भरतपुर अस्पताल लग्यो, अस्पतालले आफूले नसक्ने भन्दै कान्ति बाल अस्पताल रिफर गर्‍यो।

कान्ति अस्पतालले सबै जाँच गरेर लिंग पत्ता लगायो, छोरी। र शल्यक्रिया गरेर दिशा र पिसाब फेर्ने ठाउँ भिन्न बनाउनुपर्ने बतायो। दुई वर्ष पूरा भएपछि मात्रै शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएको थियो। गत १८ कार्तिकमा शोभा २ वर्ष पूरा भएपछि चिकित्सकहरूले पेटबाट प्वाँल बनाएर दिशा गर्ने ठाउँ बनाइदिएकोमा त्यसको तीन महीनापछि गत सोमबार पुन: शल्यक्रियामार्फत उनको मलद्वार र यौनाङ्ग छुट्याइएको छ।

हाल अस्पतालको गहन उपचार कक्षमा उपचार भइरहेको शोभाकी आमा आशा र हजुरआमा छलकुमारी उत्साहका साथ उनलाई पर्खिरहेका देखिन्थे। हजुरआमा छलकुमारीले भनिन्, “जन्मेदेखि नै शोभाको पिसाब र दिशा गर्ने ठाउँ नै एकै थियो, उपचारका लागि धेरै दौडधुप भयो, छोरा-बुहारीले निकै दुख पाए र यो अस्पताल आएपछि नातिनीलाई सजिलो भयो। बच्चा हुने पाठेघर पनि छुट्याएको छ।” त्यस्तै खुशी व्यक्त गर्छिन् आमा आशा। भन्छिन्, “छोरीको निकै पिरलो लागेको थियो, अब सबै ठीक भयो।”

जनरलदेखि कान्तिसम्मको यात्रा

६० वर्षअघि रसियन सरकारको सहायतामा जनरल अस्पतालका रूपमा स्थापना भएको थियो कान्ति। त्यसको सात वर्षपछि कान्ति बाल अस्पतालका रूपमा त्यसलाई स्तरोन्ति गरिएको थियो। तर अस्पतालले काँचुली भने तत्कालीन जापानिज प्रधानमन्त्री राइतारो हासिमोटो नेपाल आएपछि मात्रै फेर्‍यो। उनले जापान सरकारको तर्फबाट अस्पताल निर्माणका लागि आर्थिक सहयोग गरे, यहीकारण अस्पतालको आईसीयूमा अहिले पनि उनकै नाम राखिएको छ।

यसरी अस्पतालले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा नेपाल सरकारले बाल रोग विशेषज्ञको दरबन्दी खुलाउँदै विशेषज्ञ टोली अस्पतालमा पठाउन थाल्यो र ल्याब, रेडियोलोजिस्ट जस्ता सेवा थपिँदै गए। तर, पछिल्लो २० वर्षयता सरकारले नयाँ दरबन्दी नखुलाएपछि अस्पतालले काठमाडौंको जनसंख्या बढ्दै गएकाले पछिल्लो समय प्रभावकारी सेवा दिन सकिरहेको छैन। ‘‘काठमाडौंको जनसंख्या बढ्दै गयो तर सरकारले विगत २० वर्षयता नयाँ दरबन्दी खुलाउन सकेको छैन”, अस्पतालका निर्देशक डा. अजित रायमाझीले बताए।

बिहीबार ६० औँ वार्षिक उत्सव मनाउँदै गर्दैगर्दा निर्देशक रायमाझीले अस्पतालले देशभरबाट रिफर भएर आएका बालबालिकाको उपचार मात्रै नगरेर आवश्यकताअनुसार जिल्लामा विगत १७ वर्षदेखि विशेषज्ञ डा. पनि पठाउँदै आएको बताए।

वीर (न्याम्स) अस्पतालअन्तर्गत रहेर कान्ति अस्पतालले बर्सेनी १२ जना बाल चिकित्सक उत्पादन गरिरहेको छ। त्यसरी तयार भएका चिकित्सकलाई अस्पतालले देशका अन्य स्थानमा पठाउने गरेको छ।

अहिले सातै प्रदेशका विभिन्न जिल्लामा कान्तिले पढाएका चिकित्सकहरू रहेको निर्देशक डा. रायमाझीले बताए। कान्तिले उत्पादन गरेका चिकित्सक बागलुङ, सुर्खेत, मेची, नेपालगञ्ज र डडेलधुरालगायतका स्थानसम्म पुगेको जानकारी उनले दिए।

थप स्तरोन्नति गर्दै

देशकै एक मात्र केन्द्रीय बाल अस्पतालका रूपमा रहेको कान्ति बाल अस्पतालले २० ओटाभन्दा बढी बालरोगको उपचार गरिरहेको छ। आईसीयू, इर्मेजेन्सी, शल्यचिकित्सक र चिकित्सकको दरबन्दी बढाए थप सेवा विस्तार गर्न सकिने उनको भनाइ थियो।

अहिले अस्पताल बाल क्यान्सर सेवा प्रवाहमा पनि अब्बल बनेको दाबी अस्पतालको छ। विगत २५ वर्षदेखि अस्पतालले क्यान्सरको उपचारका लागि २८ शैय्या छुटाएकोमा पछिल्लो समय ती शैय्या भरिभराउ हुने गरेको निर्देशक डा. रायमाझीले बताए।

अस्पतालले एक महीनामा २० देखि २५ क्यान्सरका बिरामीको उपचार गरिरहेकोमा ती उपचार विभिन्न दातृ निकायको सहयोगमा नि:शुल्क हुने गरेको  जानकारी उनले दिए।

कान्तिको कोभिडसँगको जुधाई

अस्पताल भर्ना भएका बिरामीहर मध्ये २ प्रतिशत जतिको मृत्यु हुने गरेकोमा कोभिडको सयममा थोरै वृद्धि भएको निर्देशक डा. रायमाझीले बताए। निर्देशक डा. रायमाझी भन्छन्, “कोभिड उच्च बिन्दुमा पुगेको बेला ननकोभिड बिरामीहरूलाई उपचार गर्नुपर्ने चुनौती एकातिर छँदै थियो भने अर्कोतिर कोभिड भएका बालबलिकालाई पनि अस्पतालले सेवा दिनु परेपछि झनै चुनौती थपिएको थियो तर पनि हामीले सक्दो सेवा दियौं।” अस्पतालमा अहिलेसम्म ३८४ जना कोरोना बिरामी भर्ना भएकोमा तीमध्ये ३६५ जना निको भएर घर फर्किएको उनले बताए।

“संक्रमित बालबालिकाहरूको सेवा गर्दा धेरै चिकित्सक पनि संक्रमित भए सरसफाइकर्मी कान्छीमाया पौडेलको मृत्यु भयो, त्यो बेला अस्पतालमा निकै दु:ख र क्षति ब्यहोर्‍यो, यसबाहेक अन्य चुनौतीको सामना हामीले गरेकै हो”, उनले भने।

सुपर स्पेशलिस्ट मल्टिसिस्टम इन्फलामेटोरी सिन्ड्रोम (एमआईएससी) का बिरामी ढिलोगरि अस्पताल आउने गरेकोमा त्यस्ता बिरामीको मृत्युदर अलि बढी रहेको उनले बताए। समयमै अस्पताल आए ती बिरामीको सफल उपचार हुने उनको भनाइ थियो। एमआईएससी कोभिडपछि देखिने एक प्रकारको जटिल समस्या हो। अस्पतालमा ९९ जना यस्ता बिरामी भर्ना भएकोमा २१ जनाको मृत्यु भएको उनले बताए।


Comment

One thought on “‘कान्ति’को जनरलदेखि उत्कृष्ट बाल अस्पतालसम्मको यात्रा

  1. Read my autobiographical book “NIYATI & ANUBHUTI” ti know about past history of KANTI CHILDREN’S HOSPITAL
    Available @ Educational Book House. Jamal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved